PLAYERS TO WATCH
अनुहारमा एउटा सुन्दर मुस्कान, खुट्टामा फुटबलको अद्भुत लय र नसा-नसामा ब्राजिलियन फुटबलको ऐतिहासिक डिएनए, भिनिसियस जुनियर आजको आधुनिक फुटबलको सबैभन्दा उत्कृष्ट नमूना हुन्।
क्यानडा, मेक्सिको र संयुक्त राज्य अमेरिकामा अर्को साता सुरू हुने फिफा विश्वकपमा ब्राजिलका सम्पूर्ण समर्थकहरूको नजर उनैमाथि रहनेछ। ब्राजिलले सन् २००२ देखि विश्वकपको स्वर्ण ट्रफी चुम्न सकेको छैन। यो २४ वर्ष लामो प्रतीक्षालाई समाप्त पार्दै ऐतिहासिक छैटौं पटक विश्वविजेता बन्ने दाउमा रहेको ब्राजिलका लागि भिनिसियस जुनियर सबैभन्दा ठूला अस्त्र हुन्।
रियो दि जेनेरियोको मेट्रोपोलिटन क्षेत्रमा पर्ने साओ गोन्सालोमा जन्मिएका भिनिसियसको यात्रा निकै प्रेरणादायी छ। उनी सानै उमेरमा फुटसलको मैदानमा आफ्नो प्रतिभाका कारण चिनिएका थिए। उनको बाल्यकाल गरिबी र अभावमा बितेको थियो। उनका बुबा भवनमा काम गर्नका लागि अर्कै राज्य साओ पाउलोमा काम गर्थे भने आमाले उनलाई अभ्यासमा लैजाने र हेरचाह गर्ने गर्थिन्।
आर्थिक कठिनाइका कारण उनले सुरुवाती दिनमा निकै संघर्ष गर्नुपर्यो। उनलाई फुटबल एकेडेमीसम्म पुग्न र तालिम लिन गाह्रो हुँदा उनको क्लब फ्लामेङ्गोले नै स्कूल ब्याग र जुत्ताको व्यवस्था गरिदिएको थियो।
घरबाट प्रशिक्षण केन्द्र नजिक हुनका लागि उनी आफ्ना काका उलिसससँग बस्न गएका थिए। फ्लामेङ्गोको एकेडेमीमा फुटसलबाट घाँसे मैदानको फुटबलमा प्रवेश गरेपछि उनले पछाडि फर्केर हेर्नुपरेको छैन।

मात्र १६ वर्षको उमेरमा फ्लामेङ्गोको सिनियर टोलीबाट डेब्यू गरेका भिनिसियसलाई लगत्तै स्पेनिस महारथी रियाल मड्रिडले अनुबन्ध गर्यो। त्यसपछि उनको करिअरले यसरी फड्को मार्यो कि उनले कहिल्यै पछाडि फर्केर हेर्न परेन। क्लब करिअरमा उनको उचाइँ यसरी बढ्यो उनी अहिले विश्वकै उत्कृष्ट खेलाडीमा पर्छन्।
तीन पटक ला लिगा र दुई पटक युइएफए च्याम्पियन्स लिग जितेका उनले दुवै च्याम्पियन्स लिगको फाइनलमा गोल गरेर आफ्नो निर्णायक क्षमता प्रमाणित गरिसकेका छन्।
सन् २०२४ भिनिसियसका लागि एउटा ऐतिहासिक वर्ष सावित भयो। उनले सन् २००७ मा काकाले जितेपछि पहिलो पटक ब्राजिलका लागि 'फिफा द बेस्ट' को अवार्ड जिते। रियाल मड्रिडलाई च्याम्पियन्स लिग, स्पेनिस लिग र स्पेनिस सुपर कप जिताउन उनको भूमिका अतुलनीय रह्यो। विशेषगरी बार्सिलोनाविरुद्धको फाइनलमा ह्याट्रिक गर्नु र फिफा इन्टरकन्टिनेन्टल कपमा गोल्डेन बल जित्नुले उनलाई विश्वकै उत्कृष्ट सावित गर्यो।
अवार्ड थाप्दै गर्दा उनले भावुक भएर भनेका थिए, ‘साओ गोन्सालोको सडकमा खाली खुट्टा फुटबल खेल्दै गर्दा यो ठाउँसम्म पुग्छु भन्ने कुरा असम्भव जस्तै लाग्थ्यो। म गरिबी र अपराधको बीचमा हुर्किएको थिएँ, त्यसैले यहाँ उभिन पाउनु मेरो लागि सबैथोक हो।’
भिनिसियसको मुख्य विशेषता भनेको उनको तीव्र गति, प्राविधिक कौशल र कठिन समयमा गोल निकाल्न सक्ने क्षमता हो। ब्राजिलमा उनलाई 'मालवादेजा' वा ‘भयानक’ उपनामले चिनिन्छ। यो उपनाम उनलाई विपक्षी डिफेन्डरहरूलाई मैदानमा दिने सास्तीका कारण दिइएको हो।
रियाल मड्रिडमा उनले प्रतिष्ठित ७ नम्बरको जर्सी लगाउँछन्, जुन यसअघि क्रिस्टियानो रोनाल्डो र राउल जस्ता दिग्गजहरूले लगाएका थिए। उनले च्याम्पियन्स लिगमा ३४ गोल गरिसकेका छन्, जुन नेयमारपछि कुनै पनि ब्राजिलियन खेलाडीले गरेको सबैभन्दा धेरै गोल हो।
क्लब फुटबलमा सबै सम्भव उपलब्धिहरू हासिल गरिसकेका भिनिसियसका लागि अबको सबैभन्दा ठूलो चुनौती ब्राजिलको प्रसिद्ध पहेँलो जर्सीमा त्यस्तै सफलता दोहोर्याउनु हो। उनले १८ वर्षको उमेरमा राष्ट्रिय टोलीमा डेब्यू गरेका थिए, तर अहिलेसम्म ब्राजिलका लागि कुनै ठूलो अन्तर्राष्ट्रिय ट्रफी जित्न सकेका छैनन्।
उनले अहिलेसम्म ब्राजिलका लागि ९ गोल र ६ असिस्ट गरेका छन्। सन् २०२२ को कतार विश्वकपमा उनले राम्रो प्रदर्शन गरेका थिए। विशेषगरी दक्षिण कोरियाविरुद्धको गोल र रिचार्लिसनको 'गोल अफ द टूर्नामेन्ट' मा उनले दिएको पास सम्झनलायक थियो। तर, क्रोएसियासँगको क्वार्टरफाइनलमा बेहोर्नुपरेको हारले उनलाई अझै पनि पिरोल्ने गर्छ।
विश्वकप २०२६ का लागि ब्राजिल समूह 'सी' मा रहेको छ, जहाँ उसले मोरक्को, हाइटी र स्कटल्याण्डसँग प्रतिस्पर्धा गर्नेछ। यो विश्वकपमा उनको काँधमा नेयमारसँगै टोलीलाई नेतृत्व गर्ने जिम्मेवारी हुनेछ।
सन् २०२६ को विश्वकपको अर्को ठूलो चर्चाको विषय नेयमारको पुनरागमन हो। गम्भीर चोटपछि नेयमार टोलीमा फर्किँदा कतिपयले आलोचना गरे पनि भिनिसियसले उनको ठूलो सम्मान गरेका छन्। भिनिसियस भन्छन्, ‘नेयमार मेरो साथी मात्र होइन, उनी हाम्रो लागि एउटा आदर्श र नायक हुन्। उनले जीवनमा धेरै आलोचना र संघर्ष झेलेर आफूलाई प्रमाणित गरेका छन्।’
भिनिसियसले यो पनि स्पष्ट पारेका छन् कि टोलीमा नेयमारको स्थान सधैं विशेष रहनेछ। उनले भनेका छन्, ‘मैले कुन नम्बर लगाउँछु थाहा छैन, तर १० नम्बरको जर्सी नेयमारकै हुनेछ, यो त स्पष्ट नै छ।’
यसले भिनिसियसको नम्रता र सिनियर खेलाडीप्रतिको सम्मान झल्काउँछ। पेले, जिको, रोमारियो र रोनाल्डिन्हो जस्ता महान खेलाडीले लगाएको १० नम्बरको जर्सी नेयमारलाई सुम्पिने उनको इच्छाले ब्राजिलियन टोलीभित्रको एकतालाई पनि दर्शाउँछ।
भिनिसियसका लागि विश्वकप एउटा खेल मात्र होइन, यो करोडौं ब्राजिलियनहरूको सपना हो। उनी भन्छन्, ‘विश्वकप मेरो लागि सबैथोक हो। देशको प्रतिनिधित्व गर्नु र मानिसहरूको अनुहारमा खुसी ल्याउनु एउटा ठूलो जिम्मेवारी र गर्वको कुरा हो। यो अरू कुनै पनि कुराभन्दा फरक छ। यो शुद्ध भावना हो।’

मैदान बाहिर पनि भिनिसियस उत्तिकै सिर्जनशील छन्। उनले फुटबललाई समस्या समाधानको एउटा माध्यम मान्छन्। मैदानमा जसरी ड्रिब्लिङ गर्दा तुरून्त निर्णय लिनुपर्छ, जीवनमा पनि त्यस्तै सिर्जनशीलता आवश्यक पर्ने उनको बुझाइ छ। भिनिसियसले आफ्नो करियरमा अहिलेसम्म दुईवटा मात्र क्लब (फ्लामेङ्गो र रियाल मड्रिड) बाट खेलेका छन्। उनी म्यानचेस्टर युनाइटेडमा अनुबन्ध हुने निकै नजिक पुगेका थिए, तर अन्त्यमा रियाल मड्रिड रोजे। रियाल मड्रिडका लागि २१औं शताब्दीमा जन्मिएर डेब्यू गर्ने उनी पहिलो खेलाडी हुन्। उनी बार्सिलोनाविरुद्धको 'एल क्लासिको' मा गोल गर्ने सबैभन्दा कम उमेरका विदेशी खेलाडी हुन्, उनले लियोनल मेस्सीको रेकर्ड तोडेका थिए।
भिनिसियस जुनियर अहिले आफ्नो करियरको उच्च विन्दुमा छन्। रियाल मड्रिडका लागि उनले १४ वटा ठूला ट्रफी जितिसकेका छन् र लगातार हरेक सिजन २० भन्दा बढी गोल गरिरहेका छन्। अब उनको एउटै र अन्तिम लक्ष्य भनेको ब्राजिलको जर्सीमा विश्वकपको ट्रफी उचाल्नु हो।
सन् २०२६ को जुन १३ मा न्यु जर्सीको मेटलाइफ स्टेडियममा मोरक्कोविरुद्ध खेल्दा भिनिसियस केवल एक खेलाडीका रूपमा मात्र होइन ब्राजिलको आशा र भरोसाका रूपमा मैदान उत्रनेछन्। क्लब फुटबलमा 'जादू' देखाएका यी स्टारले अब देशका लागि विश्वकप जित्ने चुनौतीको सामना गर्नुपर्नेछ।
ब्राजिलका महान् खेलाडी रोनाल्डोले भनेझैं भिनिसियसको प्रभाव फुटबल मैदानभन्दा धेरै माथि छ। उनी संघर्ष, सफलता र ब्राजिलियन फुटबलको जीवन्त उत्साहका प्रतीक हुन्। संघर्षले आफ्नो भाग्य बदलेका भिनिले के सन् २०२६ मा आफ्नो देशको २४ वर्ष लामो उपाधि प्रतीक्षालाई अन्त्य गर्लान्?