फिनटेक शृंखला- ८

उनीहरूको जीवनमा सन् २०१६ एउटा टर्निङ प्वाइन्ट बन्यो।
त्यो बेला भारतको बेंगलुरू प्रविधि क्रान्तिको केन्द्र बन्दै थियो। सिसा र स्टिलले घेरिएका कर्पोरेट भवनहरूभित्र भारतको नयाँ डिजिटल अर्थतन्त्रले आकार लिँदै थियो। प्रविधिमा आकर्षण र लगानी दुवै बढ्दो थियो।
बेंगलुरूले ठूला लगानीकर्ता, कर्पोरेट हाउसहरू र भारतभरिबाट आफ्नो भविष्य प्रविधिमा अजमाउन चाहने हजारौं युवा तानिरहेको थियो।
बेंगलुरूमा नयाँ नयाँ कम्पनीहरू जन्मिरहेका थिए।
सबैभन्दा चम्किलामध्ये एक थियो — फ्लिपकार्ट, भारतको अग्रणी इ–कमर्स प्लेटफर्म।
फ्लिपकार्टले मोबाइलको एउटा क्लिकमा मानिसहरूका घर घरमा सामान पुर्याइरहेको थियो। भारतका लाखौं मानिसलाई उसले पहिलो पटक डिजिटल कारोबारको अनुभव दिइरहेको थियो। मानिसहरू मोबाइलबाट सामान किन्न, पैसा तिर्न र प्रविधिमा विश्वास गर्न सिक्दै थिए।
अरू प्रविधि कम्पनीहरूमा जस्तै फ्लिपकार्टमा पनि भारतका विभिन्न सहरहरूबाट आएका सयौं युवा काम गर्थे।
तीमध्ये चार जना थिए — ललित केशरे, हर्ष जैन, नीरज सिंह र इशान वंशल।
ललित मध्य प्रदेशको जबलपुरको ग्रामीण परिवेशबाट आएका थिए।
उनले सानो आम्दानी र अनिश्चित भविष्यको अर्थ नजिकबाट देखेका थिए। आकाशको बादल र मनसुन जत्तिकै अनिश्चित हुन सक्थ्यो किसान परिवारको आर्थिक जीवन। एउटा खराब मौसमले किसानको वर्षभरको हिसाब बिगार्न सक्छ भन्ने कुरा उनले सानैमा बुझेका थिए।
पढाइमा उनी तेज थिए। भारतकै कठिन मानिने आइआइटी बम्बेबाट उनले इन्जिनियरिङ पढेका थिए।
नीरज भने सेनाको अनुशासनबीच हुर्किएका थिए। बुबाको सरूवासँगै एउटा क्यान्टनमेन्टबाट अर्कोमा सर्दै उनको बाल्यकाल बितेको थियो।
उनको रूचि सानैदेखि कम्प्युटरमा थियो। विद्यालयका किताबहरू उनलाई पट्यारलाग्दा लाग्थे, तर कम्प्युटरको स्क्रिनले तान्थ्यो। सफ्टवेयर कोडिङ उनले आफै सिकेका थिए। किशोरावस्थामै आर्मी क्यान्टिनका लागि डिजिटल बिलिङ सफ्टवेयर बनाइदिएका थिए।
तेस्रा युवा हर्षको आर्थिक र शैक्षिक पृष्ठभूमि अलि फरक थियो। उनले आइआइटी दिल्ली र अमेरिकाको युसिएलए जस्ता प्रतिष्ठित संस्थामा पढेका थिए।
उनी अब्बल इन्जिनियर थिए, तर उनलाई प्रविधि सँगसँगै मानिसहरूमा पनि गहिरो रूचि थियो। मानव मनोविज्ञान र मानिसहरूका कथाहरूमा उनको विशेष चासो थियो।
अनि इशान अंक र वित्तीय हिसाबकिताबका खेलाडी थिए। उनले बिट्स पिलानी र एक्सएलआरआई जमशेदपुरबाट फाइनान्स पढेका थिए। उनी ठूला कम्पनीहरूको खरिद–बिक्री अर्थात् मर्जर एन्ड एक्विजिसनको हिसाब मिलाउने काम गर्थे।
इशानले कर्पोरेट संसारको त्यो चमक देखेका थिए, जहाँ पैसाले प्रायः पैसालाई नै तान्थ्यो— एउटा कम्पनीले अर्को कम्पनी किन्थ्यो, गाभ्थ्यो वा आफ्नो साम्राज्य विस्तार गर्थ्यो।
फ्लिपकार्टको विशाल सागरमा भारतका फरक फरक पृष्ठभूमिबाट आएका यी चार भँगाला मिसिएका थिए।
उनीहरू केवल साधारण जागिरे थिएनन्। कम्पनीको महत्त्वपूर्ण जिम्मेवारी सम्हालिरहेका उच्च तहका अधिकारी थिए।
ललित फ्लिपकार्टमा सिनियर प्रोडक्ट म्यानेजमेन्ट भूमिकामा थिए। कम्पनीको महत्त्वपूर्ण मार्केटप्लेस र नयाँ सुरू हुन लागेको हाइपरलोकल डेलिभरी सेवा 'फ्लिपकार्ट क्विक' अघि बढाउने जिम्मेवारीमा उनको भूमिका थियो।
हर्ष पनि प्रोडक्ट म्यानेजमेन्टको भूमिकामा थिए। उनको काम एपमा ग्राहक कसरी बढाउने, उनीहरूलाई कसरी टिकाइराख्ने र डिजिटल मार्केटिङका नयाँ तरिका कसरी प्रयोग गर्ने भन्ने रणनीति बनाउनु थियो।
नीरज फ्लिपकार्टको इन्जिनियरिङ टिममा थिए। सप्लाई चेन (आपूर्ति शृंखला), अर्डर व्यवस्थापन र ग्राहकको पैसा सुरक्षित फिर्ता गर्ने प्रणालीजस्ता भित्री प्राविधिक संरचनामा उनको महत्त्वपूर्ण भूमिका थियो।
इशान सम्हाल्थे कर्पोरेट डेभलपमेन्ट। उनको काम सम्भावित कम्पनीहरू किन्ने, साझेदारी खोज्ने र फ्लिपकार्टको व्यापारिक साम्राज्य फैलाउन वित्तीय रणनीति मिलाउने थियो।
यी चारै जना आफ्नो जीवनको सुरक्षित र सुखद मोडमा थिए। प्रतिष्ठित ओहोदा थियो। राम्रो तलब थियो। भविष्यको आश्वासन थियो। अनि गोजीमा फ्लिपकार्टको बहुमूल्य सेयर थियो।
तर उनीहरूको मन यत्तिमै अडिएको थिएन।
कार्यालय समय सकिएपछि वा सप्ताहन्तमा यी चार युवाको ठेगाना फेरिन्थ्यो।
उनीहरू बेंगलुरूका क्याफे र कफी शपहरूमा जम्मा हुन्थे। कफीको कप समातेर घन्टौं बहस गर्थे।
बहस फ्लिपकार्टको कामबारे हुँदैनथ्यो।
बहस हुन्थ्यो— भारतको मध्यम वर्गको आर्थिक भविष्यबारे।
उनीहरूले एउटा कुरा प्रस्ट देखिरहेका थिए— फ्लिपकार्टले मानिसहरूलाई मोबाइलबाट खर्च गर्न सिकायो। उसले मानिसहरूलाई डिजिटल कारोबारमा विश्वास गर्न सिकायो। तर कमाइबाट बचेको पैसा कसरी सही ठाउँमा लगानी गर्ने, भोलिका लागि सम्पत्ति कसरी बनाउने भन्ने कुरा फ्लिपकार्टले सिकाउँदैन थियो।
अरू कसैले पनि यो काम सजिलो गरी सिकाइरहेको थिएन।
आम मानिसको पसिनाको कमाइ कि त खर्च भएर सकिन्थ्यो, कि बैंकको साधारण खातामा थोरै ब्याज कमाएर थन्किन्थ्यो। यसरी थन्किएको पैसाको मूल्य पनि महँगीको रापमा बिस्तारै पग्लिँदै जान्थ्यो।
थोरै कमाउने र थोरै बचत गर्ने भारतीयहरूका लागि लगानीमार्फत सम्पत्ति बढाउने सरल, विश्वसनीय र पहुँचयोग्य बाटो थिएन। कहाँ, कसरी लगानी गर्ने र सम्पत्ति बढाउने भन्ने निर्णय उनीहरूका लागि कठिन थियो।
सेयर बजार र वित्तीय लगानीको संसार धेरै बुझिनसक्नुको थियो। लगानीको संसार मुम्बई वा दिल्लीका धनी र जानकार मानिसहरूको मात्र पहुँच भएको क्लबजस्तो देखिन्थ्यो।
यही समस्या कसरी समाधान गर्ने भन्नेबारे ललित, हर्ष, नीरज र इशान बेंगलुरूका क्याफेहरूमा घन्टौं छलफल गर्थे।
लामो छलफल र छटपटाहटपछि उनीहरूले अन्ततः एउटा साहसी निर्णय गरे— फ्लिपकार्ट छाड्ने।
उनीहरूले यो पनि निर्णय गरे— भारतीयहरूलाई खर्च गर्न होइन, लगानी गर्न सघाउने कम्पनी खोल्ने।
सन् २०१६ मा उनीहरू सबैले फ्लिपकार्ट छाडे। यो उनीहरूका लागि भावनात्मक रूपमा कठिन र वित्तीय रूपमा जोखिमपूर्ण निर्णय थियो।
त्यो बेलासम्म फ्लिपकार्ट भारतको सबभन्दा मूल्यवान प्रविधि कम्पनीमध्ये एक भइसकेको थियो। उनीहरूसँग फ्लिपकार्टको बहुमूल्य सेयर थियो।
त्यो सेयरको एउटा सर्त थियो— कम्पनीमै बसे मात्र सेयर परिपक्व भएर उनीहरूको नाममा सर्थ्यो। बीचमै छाडे सेयर गुम्न सक्थ्यो। कर्पोरेट भाषामा यस्तो अवस्थालाई 'गोल्डेन ह्यान्डकफ्स' अर्थात् 'सुनौलो हतकडी' भनिन्छ।
यी चार युवाले फ्लिपकार्टको त्यो 'सुनौलो हतकडी' सँग अनिश्चित भविष्यको स्वतन्त्रता साटे।
जागिर छाडेपछि उनीहरूले बेंगलुररुमा एउटा सानो कोठा भाडामा लिए।
नयाँ कार्यालयको पहिलो बिहान उनीहरूका लागि अनौठो सन्नाटा लिएर आयो।
बेंगलुरूको सडकमा सदाझैं मानिस र गाडीहरूको हतारो थियो। त्यो सानो कोठाभित्र भने समय टक्क रोकिएजस्तो लाग्थ्यो।
फ्लिपकार्टमा झैं चौबीसै घन्टा भइरहने चहलपहल त्यहाँ थिएन। न मानिसहरूको भीड थियो, न लगातार बजिरहने फोन!
त्यो सुनसान कोठामा कहिलेकाहीँ चारै जनाका परिवारको फोन आउँथ्यो। आवाजमा माया हुन्थ्यो, सँगसँगै चिन्ता।
सानो कोठाको भित्तामा झुन्डिएको एउटा सेतो बोर्ड रित्तो थियो। मानौं आउने भविष्य पनि त्यही बोर्डजस्तै खाली थियो— लेखिन बाँकी।
त्यो रित्तोपन र मानसिक दबाबबीच पनि उनीहरूको हुटहुटी कमजोर भएन। उनीहरूले आफ्नो क्षमता, कल्पनाशीलता र सपना मिसाएर एउटा प्रोडक्ट बनाए।
त्यो 'रोबो–अड्भाइजरी' मा केन्द्रित प्रोडक्ट थियो। अर्थात्, प्रविधि र तथ्यांकका आधारमा लगानीकर्तालाई लगानी सम्बन्धी सुझाव दिने स्वचालित प्रणाली।
उनीहरूको कल्पना थियो— प्रविधिले लगानीको जटिलता घटाउनेछ, डेटा र अलगोरिदमले मानिसलाई सही निर्णय लिन सजिलो बनाउनेछ।
प्राविधिक हिसाबले त्यो उनीहरूका लागि ठूलो उपलब्धि थियो।
उनीहरू आफ्नो प्रोडक्टसँग दंग परे।
तर बजारले पत्याएन।
आम प्रयोगकर्ताले त्यसलाई आफ्नो जीवनभरको बचत सुम्पिने भरोसायोग्य साथीका रूपमा लिन सकेनन्। लगानीका लागि उनीहरूलाई चतुर मेसिन मात्र होइन, बुझिने भाषा, पारदर्शिता र भरोसाको अनुभव चाहिएको थियो।
पहिलो प्रोडक्ट नचलेपछि चार युवाको मिहेनत खेर गयो। आत्मविश्वास गम्भीर रूपमा हल्लियो।
उनीहरूको नयाँ कार्यालयको कोठा रित्तो मात्र रहेन, एउटा गम्भीर प्रश्न पनि उभियो— अब के गर्ने?
तर उनीहरू हिम्मत हार्ने मानिस थिएनन्। आँट नभएको भए फ्लिपकार्टको राम्रो जागिर र सम्भावित करोडौंको सेयर छाडेर उनीहरू अनिश्चित यात्रामा निस्किने थिएनन्।
उनीहरूले निर्णय गरे— अब नयाँ बाटो हिँड्ने।
अनि सुरू भयो गहिरो आत्मसमीक्षा — किन चलेन त्यो सफ्टवेयर?
आम भारतीय लगानीकर्तालाई कुनै जटिल मेसिन चाहिएको थिएन। यो सरल सत्य उनीहरूले पहिलो प्रयासमा समात्न सकेनन्। उनीहरूले जटिल सफ्टवेयर बनाए, जुन उनीहरूको आफ्नै प्राविधिक आत्मसन्तुष्टिका लागि उपयोगी भयो। तर आम लगानीकर्ताको विश्वास जित्न सकेन।
यही आत्मसमीक्षाबाट 'ग्रो' (Groww) को वास्तविक बाटो सुरू भयो।
उनीहरूले बुझे— आम भारतीय लगानीकर्तालाई जटिल अलगोरिदम होइन, पसिनाको सानो बचत कहाँ राख्ने, कसरी बढाउने र कसरी सुरक्षित राख्ने भन्ने सरल बाटो चाहिएको थियो। लगानीको संसारमा छिर्ने सजिलो ढोक चाहिएको थियो।
पहिलो प्रोडक्ट असफल भएपछि ललित, हर्ष, नीरज र इशान फेरि त्यही सानो कोठामा फर्किए।
उनीहरूसँग कोड थियो। डेटा थियो। प्राविधिक सीप थियो। तर प्रयोगकर्ताको विश्वास थिएन।
त्यही उनीहरूको सबभन्दा ठूलो पाठ बन्यो।
ग्रामीण परिवेशबाट आएका ललितले सानो आम्दानी र अनिश्चित भविष्यबीच मानिसले पैसा कसरी जोगाएर राख्छ भन्ने नजिकबाट देखेका थिए। त्यो पैसा कसैले पनि मेसिनको भरमा मात्र छाड्दैन भन्ने उनले उनीहरूकै सफ्टवेयरको असफलताबाट छर्लंग देखे।
नीरज कोड लेख्न जान्दथे। अब भने उनले बुझे— कोड त्यतिखेर जीवन्त बन्छ, जब त्यसले प्रयोगकर्तालाई अलमल्याउँदैन, ढुक्क बनाउँछ। भरोसा दिन्छ।
हर्ष मानिसहरूको व्यवहार बुझ्न खोज्थे। किन कोही एप खोल्छ? किन बीचमै रोकिन्छ? किन पैसा हाल्नुअघि हात अड्किन्छ? किन बैंक खातामा सुतिरहेको पैसा सुरक्षित लाग्छ, तर म्युचुअल फन्ड वा अरू कतै लगानी गर्न डर लाग्छ?
इशानलाई वित्तीय संसारको भाषा थाहा थियो। अब उनी पनि बुझ्दै थिए— लगानी आम भारतीयसम्म पुर्याउने हो भने पहिले लगानीको भाषा नै बदल्नुपर्छ। आम मानिसको भाषामा बोल्नुपर्छ।
यो सबै अनुभवसँगै उनीहरूले नयाँ बाटो समाते। नयाँ रणनीति बनाए।
करिब ६ महिनापछि, सन् २०१७ मेमा, 'ग्रो' ले प्रत्यक्ष म्युचुअल फन्ड वितरण प्लेटफर्मका रूपमा आफ्नो सेवा सुरू गर्यो।
यो रोजाइ आफैमा अर्थपूर्ण थियो।
किनभने सिधै सेयर किन्नु नयाँ लगानीकर्ताका लागि डरलाग्दो कुरा थियो। कुन कम्पनीको, कहिले किन्ने, कहिले बेच्ने — यी निर्णय सजिला थिएनन्।
म्युचुअल फन्ड तुलनात्मक रूपमा सहज बाटो थियो — सानो रकमबाट सुरू गर्न सकिने। महिनैपिच्छे नियमित लगानी गर्न सकिने। जोखिम धेरै कम्पनी र क्षेत्रमा बाँडिने। प्रतिफल सुनिश्चित हुँदैन, तर जोखिम बाँडिने भएकाले नयाँ लगानीकर्ताका लागि यो सिधै सेयर किन्नुभन्दा तुलनात्मक रूपमा सहज बाटो मानिन्छ।
'ग्रो' ले सुरूमा आम भारतीय निश्चिन्त हुन सक्ने यही सहज बाटो समात्यो।
उसले मानिसहरूलाई सिकायो— लगानी धनीहरूका लागि मात्र होइन। लगानी गर्न लाखौं रूपैयाँ चाहिँदैन। सानो बचतबाट पनि सुरू गर्न सकिन्छ। महिनाको केही हजार रूपैयाँ, कहिलेकाहीँ केही सय रूपैयाँबाट पनि भविष्य निर्माणको यात्रा सुरू हुन सक्छ।
यसरी ग्रोले धेरै नयाँ लगानीकर्तामा डर घटाउने र भरोसा बढाउने काम गर्यो।
उनीहरूले बनाएको एपले म्युचुअल फन्डका नाम, प्रतिफल, जोखिम, खर्च र उद्देश्य सकेसम्म सरल रूपमा देखायो। प्रयोगकर्तालाई ब्रोकरको कार्यालयमा पुग्दा जुन सकस हुन्थ्यो, त्यसको ठाउँमा ग्रोले आम मानिसले बुझ्ने भाषामा बनेको सफा र सहज एप दियो।
ललित एपको सरलतामा केन्द्रित भए— पहिलो पटक खोल्ने प्रयोगकर्ता अलमल नगरी अगाडि बढ्न सक्छ कि सक्दैन?
सुरूमा उनीहरूले पहिलो महिनामा १०० ग्राहक ल्याउने लक्ष्य राखेका थिए। ६०० ग्राहक आए। यसले उनीहरूलाई संकेत दियो— यस पटक बाटो सही छ।
द इकोनोमिक टाइम्ससँग कुरा गर्दै ललितले भनेका छन्, 'ग्रोको लक्ष्य सेयर लगानीलाई सरल, पारदर्शी र रमाइलो बनाउनु थियो— त्यो पनि स्मार्टफोनबाटै सहज पहुँच हुने गरी।'
केवाइसी, खाता खोल्ने, फन्ड छान्ने, पैसा लगाउने र आफ्नो लगानीको अवस्था हेर्ने जस्ता सबै प्रक्रिया मोबाइलमै ल्याइयो। पुरानो प्रणालीमा जहाँ लगानी गर्न बिचौलिया, फारम र धेरै चरण पार गर्नुपर्थ्यो, त्यो सबै काम ग्रोले मोबाइलको स्क्रिनमा समेट्यो।
नीरज प्रणालीको मजबुतीमा केन्द्रित भए— धेरै मानिस एकै पटक आए पनि एप सहज चल्छ कि चल्दैन? प्रयोगकर्ताको पैसा र तथ्यांक सुरक्षित रहन्छ कि रहँदैन?
हर्ष प्रयोगकर्ताको मनमा केन्द्रित भए— मानिसहरू केवल एप डाउनलोड गर्दै छन् कि साँच्चै लगानी सुरू गर्दै छन्? उनीहरू डराइरहेका छन् कि ढुक्क भइरहेका छन्?
इशान व्यवसायको दिगोपनमा केन्द्रित भए— यो राम्रो विचार मात्र हो कि लामो समय टिक्ने वित्तीय संस्था बन्न सक्छ?
यी चारै जनाले जुन लगन र मेहनतका साथ कम्पनीलाई हरेक कोणबाट बलियो बनाउन काम गरे, त्यसले ग्रोलाई एउटा बलियो आधार दियो।
भारतमा लाखौं मानिसले मोबाइलबाट सामान किन्न सिकिसकेका थिए। खाना अर्डर गर्न, ट्याक्सी बोलाउन, पैसा पठाउन र बिल तिर्न जानिसकेका थिए।
जब ग्रोले उनीहरूको बचतलाई सम्पत्तिमा बदल्ने डिजिटल बाटो देखायो, मानिसहरू त्यसतर्फ आकर्षित भए।
ग्रोले आम भारतीयलाई भन्यो— तपाईंको पैसा केवल बैंक खातामा सुतिरहनुपर्दैन। त्यो लगानी गर्न सकिन्छ। त्यो तपाईंको भविष्य बनाउन काम लाग्छ।
ग्रोको सन्देशले साना सहर, नयाँ कमाउने युवा, पहिलो पुस्ताका लगानीकर्ता र मध्यम वर्गका परिवारलाई छोयो। उनीहरूलाई तान्यो।
पहिलो जागिर खाएको युवा, जसको तलब ठूलो थिएन तर सपना ठूलो थियो; सानो सहरबाट महानगरमा आएको इन्जिनियर, जो महिनाको केही पैसा जोगाउन सक्थ्यो; परिवारमै पहिलो पटक म्युचुअल फन्डमा पैसा राख्न खोजिरहेकी छोरी; बैंकको फिक्स्ड डिपोजिटबाहेक अर्को बाटो नदेखेको मध्यमवर्गीय परिवार— यी सबैलाई ग्रोले आकर्षित गर्यो।
बिस्तारै भारतका हजारौं हजार मानिस र परिवार ग्रोमा आकर्षित भए। त्यहीँबाट लगानी गर्न थाले।
सह–संस्थापक तथा प्रविधि प्रमुख नीरजले पछि 'क्रेजी इन्जिनियर्स' सँगको अन्तर्वार्तामा भनेका छन्, 'ग्रोको मिसन भारतका सबै मानिसका लागि लगानीलाई पहुँचयोग्य बनाउनु हो। हरेक मानिस लगानीकर्ता हुन सक्छ भन्ने विश्वास दिलाउनु हो।'
फ्लिपकार्ट छाडेका चार युवाले यसरी लगानीको एप मात्र बनाएनन्, धेरै भारतीयको लगानीको मनोविज्ञान नै बदल्ने काम गरे।
सुरूमा म्युचुअल फन्डबाट अघि बढेको ग्रोले पछि सेयर कारोबार पनि सुरू गर्यो। त्यसपछि आइपिओ, इटिएफ, इन्ट्राडे ट्रेडिङ र अरू वित्तीय उत्पादन थप्दै गयो।
जति नयाँ कारोबार र उत्पादनर थपिँदै गए पनि ग्रोको मूल मन्त्र सधैं सरल नै रह्यो — लगानीलाई सरल, सस्तो र पहुँचयोग्य बनाउने।
ग्रो केही वर्षमै भारतको सबभन्दा ठूलो खुद्रा लगानी प्लेटफर्ममध्ये एक बन्यो। सक्रिय ग्राहक संख्याका आधारमा यो भारतको सबबभन्दा ठूलो स्टक ब्रोकरसम्म बन्यो।
सन् २०२५ को जूनसम्म ग्रोसँग नेसनल स्टक एक्सचेन्जमा करिब १ करोड २५ लाख ८० हजार सक्रिय ग्राहक थिए। यो भारतको एनएसई सक्रिय ग्राहकको २६.२७ प्रतिशत हिस्सा हो।
ग्रो र यस्तै प्लेटफर्महरूले भारतको वित्तीय संस्कृतिमा ठूलो परिवर्तन ल्याए।
भारतमा कमाउने र खर्च गर्ने ठूलो मध्यम वर्ग बनिसकेको थियो। तर लगानी गर्ने र सम्पत्ति बढाउने मध्यम वर्ग अझै सानो थियो। अर्थात् भारतमा आम मध्यम वर्गबीच लगानीको संस्कृति अझै बलियो बनिसकेको थिएन।
ग्रो जस्ता प्लेटफर्महरूले लगानीको संस्कृति बनाउन ठूलो काम गरे। मासिक तलब खाने युवाहरूले पैसा जोगाएर एसआइपी (व्यवस्थित लगानी योजना) सुरू गर्न थाले। साना सहरका मानिसहरू पनि आइपिओ हेर्न र आवेदन दिन थाले।
पहिले बचत गरेर फिक्स्ड डिपोजिटमा पैसा राख्ने परिवारको खाना खाने टेबलमा पनि म्युचुअल फन्ड र सेयरको कुरा हुन थाल्यो। यो संस्कृतिको महत्त्वपूर्ण हिस्सा बन्न थाल्यो ग्रो।
तथ्यांकले त्यही भन्छ।
सन् २०२५ को वित्तीय वर्षमा भारतमा एसआइपीमार्फत म्युचुअल फन्डमा गएको रकममध्ये करिब प्रत्येक नौ रूपैयाँमा एक रूपैयाँ ग्रोमार्फत गएको थियो।
नयाँ पुस्ताले सुरू गरेको डिजिटल प्लेटफर्मका लागि यो असाधारण उपलब्धि हो।
ग्रो बढेर पछि सार्वजनिक कम्पनी बन्यो। कम्पनीको सेयर सूचीकृत हुँदा बजारले यसलाई केवल अर्को टेक कम्पनीका रूपमा हेरेन। लगानीकर्ताहरूले यसलाई भारतमा फैलिँदै गएको खुद्रा लगानी संस्कृतिको प्रतिनिधि कम्पनीका रूपमा लिए।
सन् २०२५ नोभेम्बरमा सार्वजनिक बजारमा सूचीकृत हुँदा ग्रोको मूल कम्पनी बिलियन ब्रेन्स गराज भेन्चर्सको बजार मूल्य करिब ७६१ अर्ब भारू, अर्थात् ८.६ अर्ब अमेरिकी डलर पुगेको थियो।
ग्रोको प्रभावलाई बाहिरका ठूला वित्तीय संस्थाहरूले पनि ध्यान दिएका छन्।
सन् २०२६ जनवरी १४ मा ग्रोमा लगानी घोषणा गर्दै स्टेट स्ट्रिट इन्भेस्टमेन्ट म्यानेजमेन्टकी प्रमुख कार्यकारी यि-ह्सिन हङले भनिन्, 'भारतमा आधुनिक लगानी उत्पादनतर्फको रूपान्तरण तीव्र छ र ग्रो एएमसी त्यसको अग्रपंक्तिमा छ। यसले लाखौं मानिसलाई लगानीमा पहुँच दिइरहेको छ।'
यसरी तथ्यांकले पनि ग्रोको सफलता स्पष्ट देखाउँछ।
तर ग्रोको योगदान यसको सफलता देखाउने तथ्यांकभन्दा ठूलो छ।
त्यसको वास्तविक योगदान त्यो पहिलो लगानीकर्ताको मनमा जोखिनुपर्छ, जसले पहिलो पटक मोबाइल खोलेर आफ्नो सानो बचत म्युचुअल फन्डमा राख्यो।
त्यसलाई त्यो युवाको आत्मविश्वासमा तौलिनुपर्छ, जसले आफ्नो तलब सानो भए पनि भविष्य सानो हुनुपर्दैन भन्ने विश्वास गर्न थाल्यो।
र, भारतका हजारौं ती परिवारको सोचाइमा आएको परिवर्तनमा जोखिनुपर्छ, जसले बुझे— पैसा केवल बैंकमा थन्क्याउने वस्तु होइन, सम्पत्ति निर्माण गर्ने साधन पनि हो।
यी चार युवाले काम गरेको फ्लिपकार्टले भारतलाई मोबाइलबाट खर्च गर्न सिकाएको थियो। फ्लिपकार्टबाट निस्किएर उनीहरूले यस्तो कम्पनी खोले जसले भारतका करोडौं नयाँ प्रयोगकर्तालाई मोबाइलबाट लगानी गर्ने बाटो देखायो।
उनीहरूको आँट र कल्पनाशीलता अन्ततः भारतीय समाजको एउटा ठूलो आकांक्षासँग जोडियो— सानो कमाइबाट पनि ठूलो भविष्य बनाउन सकिन्छ।
नेपालले ग्रोको कथाबाट के सिक्ने?
ग्रोबाट नेपालले मुख्य रूपमा तीन कुरा सिक्न सक्छ भन्ने हामीलाई लाग्छ।
यसको पाठ नेपाली फिन्टेक उद्योग, नेपाल राष्ट्र बैंक र धितोपत्र बोर्ड (सेबोन) का लागि विशेषगरी महत्त्वपूर्ण छन्।
फिनटेक कम्पनीका लागि – खर्चबाट सम्पत्ति निर्माणतर्फ कसले काम गर्न सक्छ?
नेपालका मुख्य फिनटेक कम्पनीहरू अहिले वालेट, क्युआर, बिल भुक्तानी, मोबाइल टपअप, मर्चेन्ट पेमेन्ट र पैसा पठाउने सेवामा केन्द्रित छन्। यी सबै आवश्यक छन् र यी सेवाले मानिसलाई मुख्यतः खर्च गर्न सजिलो बनाएका छन्।
ग्रोको कथाले भन्छ — फिनटेकको अर्को ठूलो सम्भावना सानो बचतलाई नियमित लगानीसँग जोड्नुमा र आम मानिसको सम्पत्ति बढाउनुमा छ। पहिलो जागिर खाएको युवा, विदेशबाट पैसा पठाउने परिवार, थोरै बचत गर्ने मध्यमवर्गीय घर — यी सबैका लागि सरल, पारदर्शी र कम लागतको लगानी प्लेटफर्म चाहिएको छ। त्यस्तो सरल र भरपर्दो प्लेटफर्म भयो भने वैदेशिक रोजगारीमा गएका कैयन युवा पनि लगानी गर्न आकर्षित हुन सक्छन्।
को बन्ला नेपालको 'ग्रो' जसले नेपालीलाई कसरी खर्च गराउने मात्र होइन, कसरी बचतलाई सम्पत्ति बनाउने भन्ने पनि सिकाउँछ।
नेपाल राष्ट्र बैंकका लागि – भुक्तानी पूर्वाधारलाई सुरक्षित वित्तीय नवप्रवर्तनतर्फ लैजाने
नेपाल राष्ट्र बैंकले डिजिटल भुक्तानी, वालेट, क्युआर, भुक्तानी सेवा प्रदायक, साइबर सुरक्षा र डिजिटल वित्तीय नवप्रवर्तनका क्षेत्रमा आधारभूत काम गरिसकेको छ।
अब त्यो पूर्वाधारलाई भुक्तानी सेवामा मात्र सीमित नराखी जिम्मेवार वित्तीय नवप्रवर्तनको अर्को चरणमा कसरी लैजाने?
बैंक–फिनटेक सहकार्य, डिजिटल केवाइसी, ग्राहकको पैसा र डेटा सुरक्षा, स्यान्डबक्स परीक्षण, जोखिम व्यवस्थापन र गुनासो सुनुवाइका स्पष्ट नियम बनाउने हो। नियम स्पष्ट भए निजी क्षेत्रले नयाँ सेवा बनाउँछ।
धितोपत्र बोर्ड (सेबोन) का लागि– सम्पत्ति निर्माणमा सघाउने कम्पनीहरूका लागि स्पष्ट र सुरक्षित बाटो खोल्ने
सेबोनले म्युचुअल फन्ड, सामूहिक लगानी योजना, ब्रोकर, मर्चेन्ट बैंकर र लगानीकर्ता शिक्षाका क्षेत्रमा संरचना बनाइसकेको छ। नेपालमा खुलामुखी म्युचुअल फन्ड र एसआइपी जस्ता उत्पादन पनि छन्।
अबको चुनौती यी उत्पादनलाई डिजिटल युगमा कसरी सुरक्षित, सरल र कम लागतमा आम लगानीकर्तासम्म पुर्याउने भन्ने हो।
सेबोनको अबको काम डिजिटल म्युचुअल फन्ड वितरण, सानो रकमको एसआइपी, अनलाइन केवाइसी, रोबो–अड्भाइजरी, जोखिम खुलासा, शुल्क पारदर्शिता र लगानी सल्लाहका स्पष्ट नियम बनाउने हो। सुरक्षित नवप्रवर्तन सम्भव हुने मैदान बनाउने हो।
***
सेतोपाटी फिनटेक शृंखलाका अन्य स्टोरीहरूः