राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अति राष्ट्रवादी भाषा मन नपराउने बताएका छन्।
भारत भ्रमणमा रहेका सभापति लामिछानेले मंगलबार त्यहाँको अखबार हिन्दुस्तान टाइम्समा लेख लेखेर नेपाल-भारत सम्बन्ध र कुटनीतिबारे आफू र पार्टीको धारणा सार्वजनिक गरेका हुन्।
'परम्परागत राजनीतिज्ञहरूले प्रयोग गर्ने अतिराष्ट्रवादी भाषालाई हामी मन पराउँदैनौं,' उनले लेखेका छन्।
'हामीले दिने विकल्प भनेको प्रमाणमा आधारित संवाद र चुनावी स्वार्थबाट मुक्त व्यवहारिक दृष्टिकोण हो,' उनले अगाडि लेखेका छन्।
उनले नेपाल भारत कूटनीतिलाई भू-राजनीतिक तनावबाट हटाएर विकास केन्द्रित कुटनीतिमा आधारित बनाउने चाहना पनि रास्वपाको रहेको बताएका छन्।
रास्वपासँग विदेश नीति परिवर्तन गर्न आवश्यक ठूलो शक्ति रहेको पनि उनको दाबी छ।
'हामी अतीतको बोझ बोकेका छैनौँ। हामी पुराना दुश्मनी वा कटुताले बाँधिएका छैनौँ। हामी सार्वभौम सम्झौताहरू र जनस्तरका अनौपचारिक सम्बन्धले जोडिएका छौँ, तर विगतका नेताहरूका साना स्वार्थ वा गोप्य समझदारीमा अल्झिएका छैनौं,' उनले लेखेका छन्।
लामिछानेले नेपालको आर्थिक रूपान्तरणका लागि भारत र विश्वलाई खुला दृष्टि र पारदर्शी उद्धेश्यका साथ हेर्ने बताएका छन्।
रास्वपा भारतसँगको सम्बन्धले अहिलेसम्म के उपलब्धि हासिल गर्यो भन्दा यसले के हासिल गर्न सक्थ्यो र भविष्यमा के बन्न सक्छ भन्नेमा ध्यान दिएर सुरूवात गर्न चाहने उनले बताएका छन्।
उनले केही प्रस्तावहरू पनि राखेका छन्—
रेलमार्ग
भारत विश्वकै ठूलो र तीव्र गतिमा बढिरहेको अर्थतन्त्रमध्ये एक रहेको र त्यसको साझेदार नेपाल पनि बन्न चाहेको रवि बताउँछन्।
भारतमा दैनिक १५ किलोमिटर रेलमार्ग बिच्छ्याउने काम भइरहेको र सोहीअनुसार प्रस्तावित रक्सौल-काठमाडौं रेलमार्ग बनाउने विषय उनले उठाएका छन्।
'जुन दिन ती १५० किलोमिटर रेलमार्ग जोडिन्छ, त्यसले व्यापार, पर्यटन, ढुवानी व्यवस्था र क्षेत्रीय सम्पर्कमा ठूलो परिवर्तन ल्याउनेछ। नेपाल केवल सिमाना जोड्न चाहँदैन; यी रेलमार्गले सम्पूर्ण अर्थतन्त्रलाई गति दिऊन् भन्ने चाहन्छ,' उनले भनेका छन्।
हवाई
उनले नेपालबाट भारतका विभिन्न ठाउँहरुमा सिधा उडान सञ्चालनको पनि प्रस्ताव गरेका छन्।
'हामीले भारतको हवाई क्षेत्रले ठूलो फड्को मारेको देखेका छौँ। के पोखरा र लुम्बिनीबाट दिल्ली, मुम्बई र बेंगलुरुजस्ता प्रमुख सहरमा सिधा उडान हुन सक्दैन?,' उनले लेखेका छन्।
आइटी
भारतको आन्ध्र र तेलंगानाले आइटी क्षेत्रमा गरेको प्रगतीबारे पनि लामिछानेले आफ्नो लेखमा उल्लेख गरेका छन्।
'हामी केवल आन्ध्र प्रदेश र तेलंगानाले सूचना प्रविधि (आईटी) क्षेत्रमा कसरी सफल वातावरण बनाए भन्ने बुझ्न मात्र चाहँदैनौँ। के हामी काठमाडौं–बेंगलुरु डिजिटल करिडोरको कल्पना गर्न सक्दैनौँ?,' उनले लेखेका छन्।
रासायनिक मल कारखाना
सभापति लामिछानेले नेपाल-भारत सीमा क्षेत्रमा रासायनिक मल कारखाना स्थापना गर्न तत्काल सहकार्य गर्नुपर्ने पनि उल्लेख गरेका छन्।
साथै आइआइटी र एम्स जस्ता संस्थाहरू नेपालमा पनि ल्याउने चाहना राखेका छन्।
प्रतिभाशाली नेपाली युवा पुस्ता र प्रशस्त स्वच्छ ऊर्जा र बढ्दो डिजिटल प्रणालीमा भारतको अझै विकसित प्रविधि क्षेत्रबाट सहयोग प्राप्त हुँदा यी क्षेत्रमा ठूलो परिवर्तन हुने उनको भनाइ छ।
'हामी डिजिटल भुक्तानी, फिनटेक (वित्तीय प्रविधि) र सिमापारि साना व्यवसायीलाई सशक्त बनाउने प्लेटफर्ममा सहकार्य गर्न चाहन्छौँ,' उनले लेखेका छन्।
नेपालको जलविद्युत्ले उदीयमान भारतका औद्योगिक क्षेत्रलाई ऊर्जा दिन सक्ने बताए।
'हामी छरिएको सिमापार व्यापारबाट अघि बढेर मजबुत र एकीकृत ऊर्जा बजारतर्फ जान आवश्यक छ,' उनले भनेका छन्।
टमाटरको मूल्य वा मेसिनरी सामानको आवतजावत अब सरकारी झन्झटले निर्धारण गर्नु नहुने पनि रविको धारणा छ। कठोर सीमालाई सहज बनाउन सीमानामा डिजिटल एकीकृत जाँच चौकी र उन्नत यातायात मार्ग आवश्यक रहेको उनले बताएका छन्।
पर्यटन
पर्यटनको सम्भावना पनि एक अर्कामा निर्भर रहेको उनले बताएका छन्।
'हामीले यस्तो पर्यटन मार्ग निर्माण गर्नुपर्छ, जसले विश्वभरका पर्यटकलाई प्रशासनिक झन्झटबिनै हाम्रो साझा सम्पदा अनुभव गर्न सकोस्,' उनले भनेका छन्।
उनले नेपाली खेलाडी र नेपाली रंगशालालाई कसरी आईपीएल फ्रेन्चाइजमा जोड्न सकिन्छ भन्ने विषयमा गम्भीर सोच पनि बनाइरहेका पनि बताएका छन्।
मुख्य समस्याहरूलाई बेवास्ता गरेर वा दबाएर साँचो मित्रता बनाउन नसकिने उनको भनाइ छ।
'यसका लागि सबैभन्दा महत्वपूर्ण आधार भनेको विश्वास हो, जसलाई अझ बलियो बनाउन आवश्यक छ,' उनले भनेका छन्।