एक-दुई दिनभित्रै इरानको ऊर्जा पूर्वाधानरमा हमला गर्ने अमेरिकाको तयारी
अमेरिकाले इरानका ऊर्जा तथा पूर्वाधार क्षेत्रमा आक्रमण गर्ने तयारी गरेको छ।
उसले एक-दुई दिनभित्रै इरानको ऊर्जा पूर्वाधारहरूमा हमला गर्ने तयारी गरेको भनेर अमेरिकी अखबार वाल स्ट्रिट जर्नलले लेखेको छ।
राष्ट्रपति डोनाल्ड ट्रम्पले यो योजनालाई गम्भीरतापूर्वक सोचिरहेको पनि केही अधिकारीहरूलाई उद्धृत गर्दै जर्नलले लेखेको छ।
अमेरिकी अनलाइन एक्सियसका अनुसार शुक्रबार बसेको मन्त्रिपरिषद बैठकको सुरूवातमै ट्रम्पले इरानमाथि सम्भावित अमेरिको हमलाको संकेत दिएका थिए।
‘हामी उनीहरूलाई निकै कडा प्रहार गर्नेछौं। कुनै बेला उनीहरूले अब हामीले सहन सक्दैनौं भन्नुपर्ने अवस्था आउनेछ,’ उनले मन्त्रिपरिषद् बैठकमा भनेका थिए।
अमेरिकी आक्रमण बढ्दै जाँदा इरान कमजोर बन्दै जाने र अन्ततः उसको प्रतिरोध क्षमतासमेत घट्ने ट्रम्पको दाबी छ।
ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले पनि एक्सियससँग कुरा गर्दै राष्ट्रपति ट्रम्पले मन्त्रिपरिषद् बैठकमा भनेझैं अमेरिका विजयी हुने दाबी गरिन्।
‘राष्ट्रपति ट्रम्पको कार्यकालमा इरानले कुनै पनि हालतमा आणविक हतियार प्राप्त गर्ने छैन,’ उनले भनिन्।
यद्यपि ट्रम्पले सेनालाई अन्तिम आदेश भने दिइसकेका छैनन्।
अमेरिकाले आक्रमण गरेपछि इसराइल पनि त्यसमा सहभागी हुने सक्ने सम्भावना छ। पछिल्लो समय अमेरिका र इरानबीच हाना हान भए पनि त्यसमा इसराइल सहभागी भएको छैन।
अबको आक्रमणमा इसराइल सहभागी भए इरानले पनि इसराइलमाथि मिसाइल आक्रमण गर्न सक्ने जोखिम पनि रहेको अधिकारीहरूले बताएका छन्।
अमेरिकाले चाँडै नै हमला गर्न सक्ने सम्भावनाको पछाडि कारण पनि छ।
पछिल्लो समय इरानले निकै आक्रामक गतिविधि गरिरहेको भनेर एक अधिकारीले एक्सियससँग बताएका छन्। इरान तनाव बढाउनका लागि त्यति धेरै तयार भएको देखेर अमेरिकी अधिकारीहरू अचम्ममै परेका छन्।
ती अधिकारीका अनुसार बुधबार इरानले जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा अप्रत्यासित रूपमा मिसाइल प्रहार गर्यो। मध्यपूर्वका अरू ठाउँमा रहेको अमेरिकी अड्डाहरूमा पनि निसाना बनाइएको थियो।
बिहीबार नै हर्मुज जलमार्गबाट आवतजावत गर्ने व्यावसायिक जहाजहरूमाथि पनि आक्रमण भएको थियो।
अमेरिकाले अत्यधिक दबाब र चेतावनी दिँदा पनि इरानले हमला गरेर चिढ्याएको र थप द्वन्द्व बढाउन खोजेको भनेर ट्रम्पले अब इरानलाई उठ्नै नसक्नेगरी आक्रमण गर्ने विषयमा गम्भीर रूपमा विचार गरिरहेका छन्।
अघिल्लो महिना १३ दिनसम्म लगातार हमला गरेपछि ट्रम्पले नै सेनालाई रोकिन निर्देशन दिएका थिए। त्यतिबेला उनले इरानमा निशाना लगाउनुपर्ने ठाउँ नै बाँकी नरहेको दाबी गर्दै हतियार मात्रै खेर जाने भनेर आक्रमण रोक्न निर्देशन दिएका थिए।
तर पनि इरानले लगातार तनाव बढाउने क्रियाकलाप गरेपछि ट्रम्पले एक-दुई दिनभित्रै हमला गर्ने तयारी गरेका हुन्।
उनले यसअघि नै अमेरिकाले तेहरानसहित इरानका विद्युत् केन्द्र, ऊर्जा संरचना र पुलहरूलाई निशाना बनाएर आक्रमण गर्ने चेतावनी दिएका थिए।
अमेरिकाले चाँडै नै हमलाको तयारी गर्ने समाचारहरू सार्वजनिक भएपछि इरानी अधिकारीहरूले पनि त्यसमा जबाफ दिएका छन्।
इस्लामिक रिभोलुसनरी गार्ड कोर्प्स (आइआरजिसी) निकट तस्निम समाचार संस्थाले एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै अमेरिकाले आक्रमण गरे त्यो पागलपन हुने बताएका छन्।
‘उसले इरानका पूर्वाधारमा आक्रमण गर्यो भने हामीले व्यापक रूपमा प्रतिकार योजना बनाएका छौं। त्यो कार्यान्वयन गर्छौं। इसराइलका महत्त्वपूर्ण पूर्वाधार र मध्यपूर्वका अमेरिकी ऊर्जा पूर्वाधार पनि हाम्रो निशाना हुनेछ,’ ती अधिकारीले एक्सियससँग भनेका छन्।