रूपन्देहीको तिलोत्तमामा निर्माण गरिएको स्केट पार्क तथा सामुदायिक केन्द्र सञ्चालनमा आएको छ। तिलोत्तमा नगरपालिका-४ डिंगरनगरस्थित तिनाउ नदी उकास क्षेत्रमा स्केट एड नेपाल फाउण्डेसनले पार्क निर्माण गरेको हो।
तिलोत्तमा नगरपालिकासँगको अनुमतिमा करिब १० कठ्ठा क्षेत्रमा निर्माण गरिएको पार्कमा ४० लाख लगानी भएको स्केट एड नेपालले जनाएको छ।
इन्डोर स्केट पार्क बनाउने उद्देश्यले सुरु गरिएको पार्कको पहिलो चरणको काम सम्पन्न भई शनिबार उद्घाटन गरिएको हो।
शनिबार लुम्बिनी प्रदेशका प्रदेश प्रमुख अमिक शेरचन र तिलोत्तमा नगरपालिकाका नगर प्रमुख बासुदेव घिमिरेले संयुक्त रुपमा पार्कको उद्घाटन गरे।
त्यस्तै पार्कमा निर्माण गरिएको शिलालेखको भने नगरप्रमुख घिमिरे र स्केट एड इन्टरनेशनलका संस्थापक अध्यक्ष प्रोफेसर टिटस् डिटम्यानले अनावरण गरेका थिए।
.jpg)
प्रदेश प्रमुख शेरचनले स्केट पार्क निर्माण हुनु नेपाली र लुम्बिनीबासीका लागि गर्वको विषय भएको बताए।
तिलोत्तमा नगरपालिकाका नगरप्रमुख बासुदेव घिमिरेले स्केट पार्कले खेल क्षेत्रमा नयाँ आयाम थप्ने बताए। स्केट एड इन्टरनेशनलका संस्थापक अध्यक्ष टिट्स डिटम्यानले स्केट बोर्ड आफैंमा साहसी खेल भएकोले यसबाट बालबालिकाहरुले लाभ लिन सक्ने बताए।
स्केट एड नेपालका अध्यक्ष जागृत पहाडीले स्केट पार्कको पहिलो चरणको काम सकिएकाले अब नियमित रूपमा प्रशिक्षण र खेल प्रतियोगिताहरू आयोजना गरिने बताए। पहाडीले यो पार्क नेपालमै समुदाय स्तरबाट निर्माण गरिएको पहिलो इन्डोर स्केट पार्क भएको दावी गरे।
बाहिरी मुलुकमा लोकप्रिय बनेको स्केट खेल नेपालमा पनि नयाँ पुस्ताका बीचमा लोकप्रिय बन्ने उनले बताए। ‘यूरोप, अमेरिका लगायतका देशका युवावर्गमा यो खेल निकै लोकप्रिय छ, नेपालमा भर्खर मात्र आरम्भ भए पनि युवावर्गले मन पराउनुहुने छ,’ उनले भने।
एसियन प्रतियोगितामा समावेश रहेको यो खेलमा नेपालले विभिन्न प्रतियोगितामा भाग लिदै आएको छ। सन् २०१६ मा थाइल्याण्डमा भएको मेन्स च्याम्पियन सिपमा नेपाली मिलन शाह च्याम्पियन, २०२१ मा भारतमा भएको प्रतियोगितामा समिक्षा राई महिलातर्फ च्याम्पियन र मेन्स च्याम्पियनसिपमा गजेन्द्र बर्देवा प्रथम भएका थिए। अध्यक्ष पहाडीका अनुसार काठमाडौं, धरान, पोखरा, बुटवलमा गरि नेपालमा स्केट खेलका २ सय बढि खेलाडी छन्।
पहाडीले पहिलो चरणमा स्केट पार्क मात्रै निर्माण गरि सञ्चालनमा ल्याईए पनि दोस्रो र तेस्रो चरणमा पार्कलाई इन्डोर बनाउने आफूहरूको योजना रहेको बताए। चार पाँच महिनामै पहिलो चरणको काम पुरा गरि सञ्चालनमा ल्याईएको पार्क निर्माणमा फ्रान्स, जर्मनी, क्यानडा, स्पेन, जापान, भारत तथा नेपालका समेत ६० जना बढी स्केट खेल प्रेमिहरुले श्रमदान समेत गरेको उनले बताए।
आगामी एक वर्ष भित्र सम्पन्न गर्ने लक्ष्य राखिएको इन्डोर स्केट पार्कमा करिब साढे दुई करोड लागत अनुमान गरिएको छ। स्केटका लागि पार्क निर्माणमा तिलोत्तमा नगरपालिका, वडा कार्यालय र स्थानीयको समेत महत्वपूर्ण सहयोग रहेकोले निःशुल्क रूपमा बालबालिकाका लागि प्रशिक्षण सञ्चालन गरिने स्केट एड नेपालले जनाएको छ।
स्केट पार्कमा विभिन्न तालिम एवं होस्टेल, कार्यक्रम हल, पुस्तकालयसमेत निर्माण गरि निःशुल्क सेवा प्रदान गर्ने अध्यक्ष पहाडीले बताए।
दक्षिण एशियामै स्केट खेललाई व्यवसायिक बनाउने अभियानमा लागेका पहाडीको मेहनतका देखेर स्केट खेलका संस्थापक अध्यक्ष स्ट्रिट डिमेनले नेपालमा स्केट खेल भित्राउन र व्यवसायिक बनाउन सहयोग गरेका थिए।