लगभग केही वर्ष अगाडि +२ सकियो, ती बेलाका यादहरू अझै झलझली दिमागमा आइनै रहन्छन्। सेक्सन ‘एफ वान’ भुइँतलामै थियो। त्यसको पछाडि टेबल टेनिस बोर्ड, कुनै पनि पिरियड खाली हुने बित्तिकै हामी झ्याल नै नाघेर टेबल टेनिस खेल्न पुगिसकेका हुन्थ्यौँ।
हरेक वर्ष गुगल फोटोले देखाइदिने मेमोरीले यता कता मनमा खुम्चिएर बसेका यादहरू फेरि उब्जिन्थे।
एका बिहानै ग्रुपमा मेसेज आउँछ— ‘रियुनियन गरौँ।’
सबै जनाको सहमतिमा गोदावरीको एउटा रिसोर्टमा एक हप्ता पछिपछि भेट्ने पक्का भयो। भेट्ने दिन चाँडै आइसक्यो, म सर्लक्क सजिएर गोदावरीतिर लागेँ। म त्यहाँ पुग्दा नपुग्दै लगभग सबै जना आइसकेका थिए। मेरै पर्खाइमा रहेछन्। म मुसुक्क मुस्कुराउँदै भित्र छिरेँ।
सबै जना कति ठुला भएका! एक-दुई जनाको त बिहे नै भइसकेको, केटाहरूको गालाभरि नै दाह्री आइसकेको। बिछोडिएका प्रेमीहरू भने त्यहाँ कतै देखिँदैनथे।
साथी गौतमलाई त्यही भिडमा यता-कता भेटेँ। सानै थियो पहिले त, अहिले कति बुढो भएको! कक्षाको पहिलो बेन्चमा सँगै बस्थ्यौँ, गणित र भौतिक शास्त्रका समस्या हल गर्न हामीबिच होडबाजी नै चल्थ्यो। +२ पछि परिस्थितिको ऋणले थिचेर पढाइ छोडेछ अनि अझैसम्म विदेश जाने तयारीमै जुटेको थियो।
एक छिन ऊ र म घर, परिवार र भविष्यका कुरामा रमिरहेका थियौँ। त्यत्तिकैमा पछाडिबाट मधुरो स्वरमा आवाज आयो— ‘अमृत’।
पछाडि फर्किएँ र एकोहोरो हेरिरहेँ— निशा पो रहिछे। ऊ मतिर फर्केर मुसुक्क हाँसी। म उसका आँखामा एकटक हेरिरहेँ। कुनै अप्सराभन्दा कम थिइन ऊ! हामी दुई जना त्यो भीडबाट अलिक टाढा गयौँ।
‘के गर्दै छौ आजकल?’ मैले सोधेँ।
‘चितवनमा कृषि पढिरहेकी छु अनि तिमी? किताब लेखेर सक्यौ त? के थियो रे त्यसको नाम?’
‘एकोहोरो प्रेम! किताबको प्रमुख पात्र नै तिमी थियौ। अनि तिमी गएदेखि खासै लेखेको छैन।’
‘म बाहेक यत्रो वर्ष अरू कुनै पात्र भेटेनौ त?’
‘भेट्ने सबै कहाँ आफ्नो हुन्छन् र? चाहेको पो हो— आफ्नो हुने।’
त्यत्तिकैमा उताबाट पदम ठट्यौलो पारामा बोल्दै आयो— ‘बिछोडिएका परेवाका जोडीहरू फेरि भेटिए है!’
हामी सबै जनाले एकछिन कुरा साटासाट गर्यौँ, नाच्यौँ, फोटो खिच्यौँ अनि बिदा भयौँ।
निशा करिब एक महिनाको लागि काठमाडौँ आएकी रहिछे। ऊसँग फेरि भेट्ने बाचा गरेर म पनि बिदा भएँ।
दुई दिनपछि निशासँग भेट्ने कुरा भयो। उसकै सहमतिमा हामी लगनखेलकै एउटा क्याफेमा भेट्ने भयौँ।
‘के लिने?’
‘कफी मात्रै।’
मैले वेटरलाई बोलाएँ, एउटा अमेरिकानो र एउटा क्यापुचिनो अर्डर गरेँ। उसले चितवन गइसकेपछिका केही गफहरू सुनाउन थाली— चितवनको गर्मी, एक्लोपन अनि कोही नहुँदाको अभाव पोख्दै थिई।
‘मानिसहरू केही पाएपछि आफ्नालाई बिर्सिएर टाढिन्छन्। सर्वस्व पाए जसरी सबै बिर्सिदिन्छन्। तिनीहरूका लागि त के आफ्नो, के अर्काको?’ भन्दै म भुनभुनाउन थालेँ।
‘तिमी सम्झन्छौ र अझै ती दिनहरू?’ उसले सोधी।
‘जब कोही मानिसले जीवन नै सुम्पिएको हुन्छ, कसरी बिर्सन्छ होला र ऊ?’
कुरा घुमाउन उसले फेरि मलाई सोधी— ‘तिमीलाई सबैभन्दा मन पर्ने कुरा के?’
मैले भनेँ— ‘अस्पताल।’
‘किन?’— ऊ अचम्म मान्दै सोधी।
‘किनभने अस्पतालले मलाई फेरि बाँच्न सिकायो, औँल्याउन लागिसकेको जीवनमा फेरि हाँसो ल्यायो। त्यहाँ भेटिएका अधुरा मुहारहरूले त मलाई बाँचेको मूल्य नै सिकाए।’
यो कलेजपछिको हाम्रो पहिलो भेट थियो। उसमा पहिलेदेखि नै केही खास थियो— गहिरो आँखा, शान्त मुस्कान अनि सुरिलो शब्दमा आत्मा मिसिएको जस्तै।
अब भने हाम्रो भेट निरन्तर जसो नै हुन थाल्यो— कहिले लगनखेल, कहिले बानेश्वर, त कहिले पुल्चोक। हामी प्रायजसो चिया गफ गर्थ्यौँ— जीवन, सपना, विफलता, परिवार र प्रेमबारे।
एक दिन उसले अचानक मलाई सोधी— ‘तिमीलाई म कस्ती लाग्छु?’
मैले भनेँ — ‘तिमी मलाई असारको झरी जस्ती लाग्छौ, जसले मनबाटै भावना उब्जाउँछ। तिमी फूलको सुवास हौ, सधैँ नजिक भएर पनि कहिल्यै कब्जा गर्न नसकिने।’
अनि उसले लजाउँदै भनी— ‘र तिमी त्यस्तो अस्तित्व हौ जसले जीवनको आरम्भदेखि अन्त्यसम्म साथ दिन्छ।’
हामी सँगै हाँस्थ्यौँ। कहिले मौन भइदिएर पनि सबै कुरा बुझ्थ्यौँ। हाम्रो त्यस मौनतामा पनि प्रेम बोल्थ्यो। तर न हाम्रो सम्बन्धको कुनै नाम थियो, न त अधिकार नै।
एक दिन पुल्चोकका गल्लीमा निशा र म डुल्दै थियौँ। त्यत्तिकैमा एउटा नौलो तर परिचित अनुहार देखेँ। आफ्नै अनुहार ऐनामा हेरेझैँ एकोहोरो हेरिरहेँ, हिँडाइ र बोली पनि उस्तै— रमा पो रहिछे।
+२ सकियो, सहर छुट्यो, हामी छुट्यौँ। रमा बुटवल फर्की, साथी श्याम जापान पुग्यो, नरेश लोक सेवाको अठोट लिएर पढ्न थाल्यो। म भने ‘आईओएम’को इन्ट्रान्सको तयारीमा जुटेँ। तर शंखमुल चोकको सानदार मःम हामीबाट कहिल्यै छुटेन, न त बुद्धनगरका गल्लीहरू। न त हरेक शनिवार युएन पार्कमा क्रिकेट खेल्न छुट्यो, बुद्धनगर चोकको त्यो पिंक कलरको होस्टेल— हाम्रो लागि सधैँ अनि सबैको याद बनेर बसिदियो।
केही वर्षअघि +२ पढ्ने बेला हामी तीन जना— श्याम, नरेश अनि म त्यही बुद्धनगरको साँघुरो होस्टेलमा भेटेका थियौँ। रमा ती दुईको कलेज साथी थिई। उनीहरू बानेश्वर पढ्थे भने म लगनखेलमा। म हिँड्दै पाटनको बाटो बुद्धनगरसम्म आउँथेँ। उनीहरू मलाई लिन प्रायःजसो पाटनसम्म आइपुग्थे। अनि सँगै लिभरपुलको ओरालोमा रहेको जिया क्याफे पुग्थ्यौँ।
आज रमा र म फेरि मनमनै एक पटक युएन पार्क, पाटन, जिया क्याफे र सानदार मःम घुम्यौँ। साथी श्याम र नरेशलाई खुब सम्झ्यौँ। अनि चार जना सँगै बानेश्वरका ती गल्लीमा पुनः फर्किने आशा र बाचा गर्यौँ।
रमा हतारमा थिई, धेरै कुरा गर्न नपाउँदै फेरि भेटौँला भन्दै मसँग बिदा मागेर गई हाली। निशा र म अब बिस्तारै अपनत्वको गहिराइमा डुब्न थालिसकेका थियौँ। तर उसको फर्किने दिन नजिकिइसकेको थियो। सायद यस पटकको लागि यो हाम्रो अन्तिम भेट थियो। उसैलाई लोकेसन छान्न लगाएँ, पाटनकै एउटा पुरानो कल्चरल क्याफेमा भेट्ने तय भयो। म पुग्दा नपुग्दै ऊ आइसकेकी थिई। रातो कुर्था-सुरुवालमा सजिएकी, उसलाई कुनै परी भन्दा फरक पर्दै न थियो।
‘के हो, जाने हो त आजै?’ मैले केही ठट्यौलो स्वरमा सोधेँ।
‘लाने हिम्मत छ भने गइदिउँला नि!’ उसले हाँस्दै भनी।
केही बेरपछि उसले अलिकति झस्किएर भनी— ‘अब म चितवन फर्किने बेला भयो।’
मेरो सास रोकिए झैँ भयो।
‘मलाई एक्लै छोडेर बस्न सक्छौ?’ उसका ती शब्दहरू चिसा भए पनि मन भने तातो थियो १५० को ब्लड प्रेसर भए जस्तो।
मैले विस्तारमा उसलाई सम्झाएँ— ‘भेट र बिछोड संसारको नियम हो। जिन्दगीमा हामी धेरै मानिसहरूसँग भेट्छौँ। कसैले साथ, त कसैले याद सदाका लागि दिएकै हुन्छन्। भेटिएका सबै मानिसलाई अँगाल्न पनि सकिँदैन। तर मनको कुनै कुनामा उनीहरूको याद सदाको लागि हुन्छ।’
अब हामी आँखामा केही गहिराइ र मनमा पीडाको मुस्कान लिएर बिदा भयौँ। मैले हर्षित रूपमा एउटा किताब लेख्ने बाचा गरेँ— उसैलाई नै अर्पण हुने गरी।