नुवाकोट एउटा ऐतिहासिक ठाउँ हो। नेपाल र चिन युद्ध बिरामको सम्झौता भएको ठाउँ बेत्रावती नदी पनि यही पर्दछ। त्यसै गरी नेपालको मुख्य व्यापारिक नाका रसुवागढी तथा प्रसिद्ध तीर्थस्थल गोसाईंकुण्ड र प्रसिद्ध हिमाल लाङटाङ र गणेश हिमाल जाने द्वार पनि यही हो।
म नुवाकोटको त्रिशूली बजारको जलविद्युत गृह हेर्न २०३३ सालतिर स्कुलको विद्यार्थी हुँदै गएको सम्झन्छु। त्यसपछि २०५५ सालतिर नेवा भन्ने संस्थामा काम गर्दा बन तथा भू-संरक्षण कार्यालय रसुवाका प्राविधिकहरूलाई खानेपानीको प्राविधिक पक्ष समेटेर एक हप्ते तालिम दिन गएको सम्झन्छु। त्यसैले नुवाकोट मेरो मन मस्तिष्कमा डुलिरहन्छ।
६/६ महिनामा ‘अक्सफाम’ भन्ने गैर सरकारी संस्थाको मिटिङ जिल्लामा हुन्थ्यो र त्यही मुताबिक नुवाकोटको विदुरमा हुने पालो पनि आयो। यो पटक नुवाकोट मैले साइकलमा जाने बिचार गरेँ त्यो मिटिङमा भाग लिन। गाडीमा पटक-पटक गइसकेको हुँदा पनि यो मनमा आएको हुनु पर्छ अलि फरक अनुभवको लागि।
मैले मेरो सुपरभाइजर क्रिशलाई यो प्रस्ताव राखेँ र उसले तत्कालै समर्थन जनायो। क्रिश होडर इङ्ग्लिस थिए। उनी साह्रै राम्रो तथा मिलनसार थिए। त्यसैले उनलाई सबैले मन पराउँथे। उनकी श्रीमती ‘मेरी स्टप्स’ भन्ने संस्थामा नेपालमै काम गर्थिन्।
क्रिश होडर र मेरो एउटा कुरा साझा थियो, साइकल चलाउने रुचि। म पनि दैनिक साइकलमै अफिस आउजाउँ गर्थेँ। ऊ पनि साइकलमै। धेरै पटक साइकलिङ सँगै गरेको थिएँ जस्तै- कुलेखानी, दक्षिण ललितपुरको भारदेउ। साइकलको कारण मित्रता भिन्न प्रकारको थियो, अलि अनौपचारिक पनि।
२०७२ को भूकम्पले यो जिल्ला पनि नराम्ररी प्रभाव परेको थियो। म २०१५ को अक्टोबरबाट २०१९ को जुलाईसम्म अक्सफाममा खानेपानी तथा सरसफाइ कार्यक्रमका प्रमुखको हैसियतमा भूकम्प पुनर्निर्माण कार्यक्रममा कार्यरत थिएँ। सो कार्यक्रम ३ करोड युरोको सहयोग राशिबाट देशका ७ वटा जिल्ला (नुवाकोट, गोरखा, धादिङ, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर र भक्तपुर ) मा खानेपानी, आयआर्जन लगायतमा काम गर्थेँ।
अक्सफाममा क्षमता वृद्धिका लागि भनेर विभिन्न देशका विज्ञहरू खटाइएका थिए। मैले उनीहरूलाई खटनपटन गर्नु पर्थ्यो। म अन्तर्गत ७ जना विदेशी विज्ञले क्षमता वृद्धिमा सहयोग पुर्याउँथे। ती मध्ये विदेशीहरू डोई- फिलिपियन, थोमस- इङ्लिस, क्याथरिन- क्यानेडियन सम्झन्छु। ती विदेशीहरूको कार्य क्षमता राम्रो थियो। साथै उनीहरूको काम धेरै छरितो थियो। उनीहरूको कामको गतिलाई समेट्न र कामको चापले गर्दा म घरमा पनि आएर राती ९ बजेसम्म काम गर्नु पर्थ्यो। म फ्रीलेन्सको हैसियतमा रहँदा अहिले कति आनन्द जस्तो लाग्छ, त्यस्तो दौडधूप गर्न नपरेकोले।
मिटिङमा झन्डै २० जना सहभागी थिए। ती सबै काठमाडौँबाट थानकोट, गल्छी हुँदै विदुर जाने भए। म र क्रिश साइकलमा टोखा, गुर्जे, छहरे, ढिकुरे हुँदै विदुर जाने तय भयो। टोखाबाट विदुर जाँदा गुर्जे भन्ज्याङसम्म उकालो पर्छ, त्यसपछि त ओरालै ओरालो हो। मन रोमाञ्चक थियो। पहिलो पल्ट साइकलमा काठमाडौँ खाल्डो बाहिर जान लागेकोले पनि होला। साइकलका केही औजार र जगेडा सामान पनि पोको पारियो ताकि सानोतिनो मर्मत आफै गर्न सकियोस्।
जाने दिन पनि आयो। बिहान बिहानै साइकललाई खोलेर गाडीको डिकीमा राखी रिङरोडको टोखा चोकसम्म श्रीमतीले पुर्याइदिइन्। त्यहाँ साइकललाई जोडजाड पारेर दुई चक्कामा उभ्यायौँ। क्रिश पनि छिनमै आइपुगे। दुई जनाले हात मिलायौँ र उत्सुकताका साथ अघि बढ्यौँ।
ग्र्यान्डी हस्पिटल, टोखा बजार, सपन तीर्थ हुँदै उकालो लाग्दै थियौँ। बाटो खेतको आली घुमे जस्तै घुमाउरो तथा नागबेली थियो। घरहरू पातलिँदै गएका अनि हरियालीले भरेको खेत देखा पर्न थाल्यो। हावा पनि चिसो चिसो भएको अनुभव हुँदै गयो। टोखा बजारबाट लगभग २ किमी अगाडि बढिसकेका थियौँ। म अघि अघि थिएँ, क्रिश पछि पछि।
अचानक दिनेश, दिनेश भनेर बोलाए क्रिशले। क्रिशको साइकलको पछाडिको चक्का पन्चर भएछ। छेउ लाएर साइकलको चक्का खोल्यौँ। अतिरिक्त ट्युब थियो। पन्चर वाला ट्युब निकालेर नयाँ ट्युब लगायौँ।
४५ मिनेटमा सबै काम सकियो। फेरि साइकल प्याडलिङ सुरु भयो। यो ठाउँ टोखाको नयाँ बस्ती रहेछ। टोखा शब्द तु:+ ख्यो नेवारी शब्दको जोड हो। तु: भनेको उखु र ख्यो भनेको खेत हो। भन्नै परेन, टोखा चाकु उत्पादनको लागि नेपालभरि प्रसिद्ध छ। टोखामा दुइटा प्रख्यात तीर्थस्थल पनि पर्दछ; चण्डेश्वरी र सपन तीर्थ।
टोखाको नयाँ बस्ती पनि कटेपछि झोर भन्ने ठाउँ आउँछ। झोरमा एउटा ठुलो झरना छ जहाँ काठमाडौँबाट निकै मानिसहरू रमाइलो गर्न जान्छन्, खास गरी वर्षा याममा।
हामी अगाडी बढ्दै गयौँ। बाटो उकालो लाग्दै गयौँ। जंगल भित्रबाट बाटो छिर्यो। रमाइलो! गाडी फ्याट्ट फुट्ट मात्र थियो, त्यस कारण त्यति डिस्टर्ब भएन। झोरबाट झन्डै ६० मिनेटको उकालो चढेपछि भन्ज्याङ आउँछ- गुर्जे भन्ज्याङ!
गुर्जे भन्ज्याङ पुगेपछि उत्तर तिरको हिमाली शृङ्खलाहरू नजिकै देखिन्छ। गणेश र लाङटाङ यहाँबाट देखिने प्रख्यात हिमालहरू हुन्। त्यसको अलि वर नुवाकोटको अग्ला डाँडाहरू देखिन्छन्। ती मध्ये घोप्टे भिर प्रख्यात छ। सन् १९९२ मा थाई एयरलाइन्सको जेट विमान दुर्घटना भएको अग्लो पहाड हो घोप्टे भिर। यो भिर दुप्चेश्वर महादेवको बाटो भएर गोसाईंकुण्ड जाने बाटोमा पर्छ– ११ हजार फिटको उचाइमा रहेको छ।
गुर्जे भन्ज्याङबाट काठमाडौँ खाल्डो पनि छर्लङ्गै देखिन्छ। गुर्जे भन्ज्याङ २०३० मिटरको उचाइमा अवस्थित भएकोले चिसो चिसो नै हुन्छ।
हामीले एउटा फोटो यहाँ खिच्यौँ, सम्झनाको लागि। अब त सररर बाटो ओरालो लाग्छ। बाटो स-साना बस्तीहरू हुँदै अगाडि बढ्छ। पहिलो बस्तीको नाम गुरुङ गाउँ हो। अनि अलि तल झरेपछि रमाइलो सानो बस्ती आउँछ जहाँ अक्सर चिया खान रोक्छन् र हामी पनि रोक्यौँ। बाटोमा चिया खादै जाँदा थकाइ पनि मेटिने, स्थानीय जनजीवन पनि अवलोकन गर्न पाइने!
बाटो स्तर उन्नति पनि हुँदै थियो। बाटोहरू ठाउँ-ठाउँमा ढलान हुँदै थियो। पहिलेभन्दा बाटो फराकिलो बनाइँदै थियो। यो मार्गलाई रसुवागढी नाकासम्म पुग्ने वैकल्पिक बाटोको रूपमा बिस्तार गर्ने योजना मुताबिक। साइकलको लागि बाटोमा अवरोधहरू थिएन। गाडी चाहिँ ठाउँ ठाउँमा पालै पालो गर्दै जानु पर्थ्यो।
झन्डै १ घण्टा ओरालो लागेपछि फेदैमा छहरे भन्ने बस्ती आउँछ। छहरेबाट लिखु खोलाको छेउ छेउ हुँदै फराकिलो बाटो लाग्छ विदुर तिर। खोलाको किनारमा ठुलो फाँट रहेछ जहाँ खेतीपाती राम्रै भएको देखियो किनभने यहाँको माटो मलिलो तथा सिँचाइको पनि सुविधा रहेछ, लिखुको पानी भएकोले। झन्डै १०-१२ किलो मिटर गुडेपछि ढिकुरे पुग्छ र एउटा पक्की पुल आउँछ। हामी पुल तरेर पारी लाग्यौँ।
बट्टार नजिक एउटा कोशेढुङ्गा छेउ फोटो खिच्यौँ। बट्टार पुगेपछि खुसी लाग्यो। मिटिङ र बसाइ दरबार भन्ने होटेलमा आयोजना गरेकोले सिधै त्यही गयौँ। हाम्रो अर्को टोली गल्छीबाट आएका पनि केही बेर अघि मात्र आइपुगेका रहेछन्। टोलीका साथीहरूले म र क्रिशलाई तारिफ गरे, त्यत्रो बाटो साइकलबाट आएको देखेर। म पनि मक्ख परेँ र अलि घमन्ड पनि लाग्यो, म बलियो छु भनेर होला!
मिटिङ दुई दिनको थियो। घनिभूत छलफल भयो। सुखद कुरो, मिटिङको पहिलो दिनमै मेरो पदोन्नति भएको खबर आयो। ठुलै जिम्मेवारी पाउँदा अलि मक्ख र थोरै घमन्डको महसुस पनि भयो।
यो नियात्रा लेखिरहँदा सम्झेँ, जागिर खाँदा कति तनाव हुने हरेक मोडहरूमा। तर अहिले कस्तो आनन्दको जीवन, मनमनै गुनगुनाएँ। त्यति बेलाको अनुभवले गर्दा बेलाबेलामा काम पाइनै रहेछु, आफ्नै समय अनुकूल गर्यो, ९-५ को समय तालिकामा बाँध्नु परेन। हाकिमले के भन्ला भनेर टेन्सन लिनु परेन। मैले नेदरल्यान्डमा पढ्दा चाइनिज साथीहरूलाई ‘हार् आर यु?’ भनेर सोध्दा ‘सो फार सो गुड’ भनेको मलाई अहिले लागु भइरहेछ। तर जागिर खादा पनि रमाइलो गर्दै खाइयो भन्ने लाग्छ मलाई।
हामीले विगतको समीक्षा र आगामी वर्षको योजना तयार गरेका थियौँ २ दिनको छलफलमा। बेलुका बेलुका रमाइलो कार्यक्रम हुन्थ्यो। बियर, रक्सी मज्जैले खाइन्थ्यो। एक प्रकारले रिट्रिट जस्तै थियो। माहौल अति नै रमाइलो थियो। दुई दिन बितेको पत्तो भएन।
तेस्रो दिन त फर्कने दिन! बिहान हामी नुवाकोटको दरबार परिसर साइकलमा जाने योजना बनायौँ। नुवाकोट दरबार एक ऐतिहासिक थलो हो। जम्मा ६ किलो मिटरको दूरीमा यो परिसर अवस्थित छ। यहाँको सात तले दरबार प्रख्यात छ। पृथ्वी नारायण शाहले नुवाकोटको दरबार बनाउन लगाएको कुरा इतिहासमा लेखिएको छ। नुवाकोट पहिले मल्ल राजाको पालामा काठमाडौँ राज्य अन्तरगत पर्दथ्यो। त्यस कारण यहाँको जात्रापात्राहरू काठमाडौँसँग मिल्दोजुल्दो छ। काठमाडौँका गुभाज्युहरू यहाँको मुख्य जात्रामा आएर पूजा गर्ने गरेको मैले देखिकै छु।
क्रिश र म साइकलबाटै काठमाडौँ फर्कने भयौँ। ढिकुरेसम्म साइकल एउटा पिकअप गाडीको डालामा राख्यौँ। ढिकुरेमा साइकल ओराल्यौँ। मेरो साइकलको गियर परिवर्तन गर्ने तार नै चुँडिएछ फलामसँग घिस्रिएर। अब त्यो जटिल समस्या थियो। यो तार जोड्न सकिएन भने साइकलको पछाडिको चक्का नै नचल्ने भएपछि आपत् हुने नै भयो नि। यो तार इस्पातको हुन्छ र कडा हुन्छ। बटारेर जोड्न निकै गारो छ।
नजिकै एउटा वर्कसपमा गएर पेन्चिसको सहयोगमा तारलाई मज्जाले गाँठो पारेर सबभन्दा तल्लो गियरमा राखेर चलाउने बिचार गरेँ। ढिकुरेबाट १९ किलोमिटर गुर्जे भन्ज्याङ २०३० मिटरको उचाइमा रहेको छ। तल्लो गियरमा राख्दा उकालोमा तान्न सजिलो भए पनि सारै बिस्तारै साइकल गुड्छ।
गुर्जे पुग्दा झमक्क साँझ परिसकेको थियो। १९ किलोमिटर उकालो चढ्न झन्डै ३ घण्टा लाग्यो। प्राविधिक गडबडी भए पनि त्यो उकालो पूरै चढ्दा कुनै बाधा भएन। जाडोको मौसम गुर्जेमा निकै चिसो थियो। साइकलले साथ नदिएको भए आपत् नै आइलाग्थ्यो- कहाँ खाने कहाँ सुत्ने? साइकललाई धन्यवाद दिएँ। लामो सास लिएँ। यो मेसिनरी सामानलाई पुज्ने प्रचलन पनि यही कृतज्ञ भएरै हो कि? मलाई मनमनै दसैँको नवमीमा साइकललाई पूजा गर्ने मनमा आयो।
गुर्जेबाट त सरर ओरालो लाग्यौँ।। टोखा पुग्दा नपुग्दै क्रिश रोकिए। साइकलमा केही गडबडी भएछ। प्याडल चलाए पनि पछाडिको चक्का नघुम्ने पो भएछ। क्रिशले खुट्टाले ठेलेर साइकल हाँक्न थाले। ओरालै भएर खासै समस्या भएन तर अप्ठ्यारो चाहिँ थियो नै। साइकललाई डालामा राख्दा हामी दुवै जनाको साइकलमा समस्या आएको मैले ठहराएँ।
जेनतेन ग्र्यान्डी हस्पिटल पुगियो। क्रिश त्यहाँबाट ट्याक्सी लिएर गयो। म ठमेलसम्म आएँ अनि गाडी मगाएर साइकल त्यसमा राखेर निवासतिर लागेँ।
समग्रमा यो यात्राको आफ्नै विशेषता थियो। मिटिङको लागि साइकलमा जानु नै यसको प्रमुख विशेषता थियो। यो नियात्रा लेख्न मलाई यही विशेषताले गर्दा झन्डै ६ वर्षपछि प्रेरणा मिल्यो। मेरो यो साइकल यात्रा सन् २०१८ साल तिरको हो। दोस्रो विशेषता भनेको म पहिलो पल्ट काठमाडौँ उपत्यका बाहिर लामो यात्रामा गएको साइकलमा। त्यसयता मैले थुप्रै साहसिक यात्रा गरिसकेको छु साइकलमै।

