एक जना मेरा मित्र हुनुहुन्छ। उहाँको तार्किक प्रतिभा तीक्ष्ण छ। धाराप्रवाह बोल्नुहुन्छ। अनेक विषयहरूमा गहिरो ज्ञान पनि राख्नुहुन्छ।
एक दिन गफगाफका क्रममा भन्नुभयो — मेरा विचारहरू लेख्न मन लाग्छ। तर जब म लेख्न बस्छु, दुई–तीन वाक्य वा एक अनुच्छेदमा पुगेपछि मेरो कलम अड्किन्छ। लेख्ने कुरा नै आउँदैन। के भएको होला?
जानेको कुरा किन लेख्ने बेलामा नफुरेको? समस्या के हो? कहाँ रोकिन्छन् ती तर्क र विचारहरू? केले रोक्छ?
शब्दहरू दोहोरिइराख्छन्, आएका विचारहरू हराउँछन् र के लेख्ने भन्ने छेउ–टुप्पो हराउँछ।
विद्यार्थीहरू पनि माथिल्लो कक्षामा पुग्दा कुनै मौलिक लेखन गर्न थाले भने यही समस्या आउँछ। गृहकार्य गर्न कठिन हुन्छ र पाठ बुझाउन अरूको सार्ने वा अन्य स्रोतबाट बौद्धिक चोरी गर्ने गम्भीर प्रवृत्ति विकास हुन सक्छ।
म यो लेखमा लेखन रोकिनुका पछाडि रहेका तथ्यहरूको विश्लेषण गर्ने छु। समाधानको प्रारम्भिक रूपरेखा दिनेछु। आशा छ, विद्यालय, शिक्षकहरू र अन्यलाई पनि उपयोगी हुने छ।
यस्तो कठिनाइ भएका शिक्षितहरू धेरै भेटिन्छन्। यसलाई 'लेखन अवरोध' (राइटर्स ब्लक) भनिन्छ। यो एउटा मानसिक स्थिति हो जहाँ विचार अभिव्यक्ति रोकिन्छ र तर्क शून्यताको आभास हुन्छ। विचारको सुरू, मध्य र अन्त्यको गडबडी हुन्छ।
यस्तै किसिमको समस्या पठनमा पनि हुन्छ। यसलाई पठन दुःसाध्यता भनिन्छ। कुनै किताब पढ्न बस्यो, दुई–चार पाना पल्टायो, अनि किताबलाई सधैंका लागि थन्क्यायो। पढ्ने मन हरायो। फेरि अर्को किताब प्रयास गर्दा पनि त्यही समस्या बल्झियो। स्व–अध्ययनको बाटो अलमलियो। यो सदाका लागि कठिन कर्म बन्यो। यो पठन सहनशीलता अभावको अवस्था हो।
गुणस्तरीय विद्यालयहरूले यस्ता कठिनाइहरू पछि विकास नहून् भनेर प्राथमिकदेखि माध्यमिक तहसम्म नै यसलाई शैक्षिक कार्यक्रमको केन्द्रमा राख्छन्। यो विद्यालयको साक्षरता कार्यक्रम वा 'लिटरेसी' अन्तर्गत पर्छ।
उल्लेख्य के छ भने, साक्षरता भनेको अक्षर चिन्ने र लेखपढ गर्न सक्ने मात्र होइन। साक्षरताको विस्तृत अर्थ छ।
साक्षरता भनेका पढ्ने, लेख्ने, सुन्ने र बोल्ने सीपहरूको एकीकृत क्षमता हो। भाषालाई गहिरो रूपमा बुझ्न सक्ने, विचारहरू अभिव्यक्त गर्न सक्ने, तार्किक भएर व्याख्या गर्न सक्ने, प्रभावकारी सञ्चार गर्न सक्ने, अर्थपूर्ण प्रतिक्रिया दिन सक्ने एक महत्वपूर्ण जीवन उपयोगी खुबी हो।
अर्को भाषामा भन्दा, कुनै व्यक्तिमा उपर्युक्त चारमध्येका कुनै एक वा अन्य सीपको अभाव भएमा साक्षरताको समस्या भन्न सकिन्छ।
ओइसिडीको अध्ययनले १२ प्रतिशत शिक्षित समुदायले मात्र 'लेभल–४' साक्षरता पार गरेको देखाउँछ, जसले विश्लेषणयुक्त लेखन गर्न सक्छन्।
स्तरीय लेखन 'लेभल–५' पार गरेका ४ प्रतिशत वा कमले मात्र गर्न सक्छन्। लगभग ६८ देखि ७० प्रतिशत (स्नातकोत्तर सहित) 'लेभल–२' र 'लेभल– ३' मै रहन्छन्।
यसर्थ लेखन क्षमता भएका मानिसहरू समाजमा उल्लेख्य रूपमै थोरै छन्।
पठन र लेखन बाहेक अन्य साक्षरता (लिटरेसी) पनि छन्। तीमध्येका प्रमुख गणितीय साक्षरता (न्युमरेसी), डिजिटल साक्षरता, आर्थिक (फाइनान्सियल साक्षरता), भावनात्मक, सामाजिक साक्षरता इत्यादि हुन्। प्रगतिशील शिक्षाले साक्षरताको पारम्परिक साँघुरो परिभाषाको परिधिलाई विस्तृत बनाएको छ।
वयस्कका पठन र लेखनका कठिनाइको सुरूआत पूर्वप्राथमिक विद्यालयदेखि नै हुन्छ र समय क्रममा त्यही जटिलताका रूपमा विकास हुन्छ।
शैक्षिक क्षेत्रको यो अति नै महत्त्वपूर्ण पक्षको मूल विद्यालय–शिक्षामै रहन्छ। र, यो विशेषतः प्राथमिक–शिक्षामा विकसित हुन्छ। यसलाई विद्यालयको साक्षरता कार्यक्रम अन्तर्गत पठन र लेखन दुवै सन्तुलित रूपमा समावेश गरी समानान्तर लगिन्छ।
पठनले शब्दज्ञान बढाउँछ, व्याकरण सुदृढ बनाउँछ, विषयवस्तुको ज्ञानलाई गहिराइमा पुर्याउँछ र लेखनको संरचना उजागर गर्छ। लेखनले हिज्जे शुद्ध गर्छ, शब्दका ध्वन्यात्मक चिनारी दिन्छ, तर्क संगठित गर्छ र व्याकरणलाई वास्तविक जीवनको प्रयोगमा ल्याउँछ।
यसरी पठन र लेखन अन्योन्याश्रित बन्दै भाषा–ज्ञानलाई गहिरो बनाउँछन्। यति मात्र होइन, पठन र लेखन, यी दुई क्षमताले विद्यार्थीका वैचारिक सक्षमताको आधार खडा गर्छन्।
लेखन सुदृढ गर्न प्रशस्त अनुसन्धान गरिएका छन्। यीमध्येका एक प्रसिद्ध अध्येता लुसी क्यालकिन्सले लेखन सीपको अवधारणालाई व्यावहारिक बनाउन यसको प्रक्रियालाई अत्यन्तै प्रभावकारी ढंगले सुसंगठित गरेकी छन्।
उनले लेखन सीपको विकासमा सुझाएको विधिलाई लेखकको कार्यशाला (राइटर्स वर्कशप) मा संरचनात्मक तरिकाले प्रस्तुत गरेकी छन्। यसमा लेखनलाई पाँच चरणबद्ध प्रक्रियामा राखिन्छ। ती हुन्— पूर्वलेखन, खेस्रा निर्माण, संशोधन, सम्पादन र प्रकाशन।
उनको लेखन अध्ययनका इकाइहरू विश्वका प्रायः सबै स्तरीय विद्यालयमा प्रयोग गरिन्छन्, जसमध्ये प्राथमिक तहमा व्यक्तिगत वृत्तान्त, विवरणात्मक लेखन, कथात्मक वृत्तान्त र व्याख्यात्मक लेखनलाई केन्द्रमा राखिन्छ।
यस प्रक्रियामा लेखनलाई चिन्तन, वैचारिक विकास र अन्वेषणलाई सँगसँगै लगिन्छ र लेखनलाई चौतर्फी पूर्णता दिइन्छ।
लुसी क्यालकिन्सको अध्ययनले अध्यापनका धेरै प्रभावकारी पक्ष समेट्छ। जस्तै, विद्यालय तहको शिक्षामा विद्यार्थीहरूले लेखन गर्दा शिक्षकलाई उत्कृष्ट काम देखाउने नभई तिनका लेखनलाई वास्तविक पाठकहरूतर्फ लक्षित गरिन्छ।
उनी भन्छिन्, 'विद्यार्थीलाई सिकारूका रूपमा मात्र कहिल्यै नलिनू। यसको सट्टा उनीहरूलाई लेखकको स्थान दिनू ताकि विचारहरू बिना रोकटोक अभिव्यक्त गर्ने मौका मिलोस्।'
विद्यार्थीलाई शिक्षकको सैद्धान्तिक मार्गदर्शनले मात्र पुग्दैन। उनीहरूलाई लेखनको निर्देशन गर्ने शिक्षक स्वयं पनि लेखनमा र लेखनको आधारभूत संरचनात्मक खाकामा कुशल हुनपर्छ।
शिक्षकले विद्यार्थीका लेखनलाई स्थान दिनुपर्छ र तिनको सुधारात्मक मूल्यांकन गर्नुपर्छ। सुधारात्मक पक्ष आलोचना केन्द्रित हुन हुँदैन। यसो गर्दा विद्यार्थीहरूको विचार–लेखन हौसला कायम रहन्छ।
लेखनलाई भाषागत विषयमा मात्र सीमित राख्न नहुने सल्लाह लुसी क्यालकिन्स दिन्छिन्।
त्यसैले लेखनलाई पाठ्यक्रमको आरपार समन्वय गर्नुपर्छ।
यो भनेको लेखन सीपलाई भाषादेखि विज्ञान, सामाजिक शिक्षा र अन्य विषयमा पनि सुदृढीकरण गरिनुपर्छ। र, यसलाई भाषा शिक्षकको जिम्मेवारीका रूपमा मात्र लिनु हुँदैन।
यसरी लेखनलाई हरेक विषयमा प्रतिदिन अभ्यासका रूपमा अघि बढाउनुपर्छ।
विशेष गरी कक्षा १ देखि ३ सम्मका विद्यार्थीमा प्रयोग हुने निर्देशित लेखन (गाइडेड राइटिङ) लाई अर्को एक प्रमाणित विधि मानिन्छ। यो प्रक्रियामा विद्यार्थीका साना समूहलाई निर्देशित लेखनदेखि स्वतन्त्र लेखनतर्फ लगिन्छ। यसले लेखनमा कठिनाइ भएका विद्यार्थीलाई सहयोग पुग्ने अध्ययनहरूले देखाएका छन्।
निर्देशित लेखनका चरणहरू छन्। यसमा पनि लेखन कार्यशालाको शैलीमा 'मिनी–लेसन' (लघु–पाठ) को माध्यमबाट लेखन प्रक्रिया प्रारम्भ गरिन्छ।
जस्तै, कहाँबाट लेखको राम्रो सुरूआत गर्ने।
यसमा विद्यार्थीलाई ३ देखि ६ जनाको समूहमा राखिन्छ। विद्यार्थीहरूलाई सुझाव दिँदै, पृष्ठपोषणबाट लेखनलाई सवलीकरण गरिन्छ। र, उनीहरूलाई स्वतन्त्र लेखक बन्नेतर्फ निर्देश गरिन्छ।
लेखन सीपको विकास गर्दा यसका वर्ग (जनरा) हरूमा पनि उत्तिकै ध्यान दिन आवश्यक छ।
उदाहरणका लागि, विद्यार्थीलाई व्यक्तिगत वृत्तान्त लेख्न सिकाएपछि त्यसैलाई आधार मानेर जानकारीमूलक लेखन (इन्फर्मेसनल राइटिङ) तर्फ वा कथात्मक (फिक्सनल) लेखनतर्फ मार्गनिर्देशन दिनुपर्छ। यसले लेखनलाई विविधता प्रदान गर्छ र लेखनमा रूचि जगाउँछ।
लेखनका विकासात्मक चरणलाई केन्द्रमा राखेर फाउन्टास पिनेलले अघि सारेको लेखन अनुक्रम (राइटिङ कन्टिन्युम) अनुसन्धानबाट प्रमाणित अर्को उत्कृष्ट मापदण्ड हो, जसलाई गुणस्तरयुक्त प्रगतिशील विद्यालयहरूले प्रयोगमा ल्याउँछन्। यी मापदण्डले उमेरको आधारमा लेखनक्रम विकास गर्ने मार्गदर्शन दिन्छ।
बुझिराखौं, मापदण्ड भनेको कुनै कक्षा विशेष, उमेर वा तहमा विद्यार्थीले हासिल गर्नुपर्ने अपेक्षित सीप, ज्ञान वा कार्यक्षमताको स्तर हो र यसको प्रयोग मूल्यांकन, तुलना वा विशिष्ट उद्देश्य निर्माणमा प्रयोग गर्न सकिन्छ।
फाउन्टास पिनेलले पूर्वप्राथमिक तहदेखि माध्यमिक तहसम्म उमेरगत आधारमा, जसलाई कक्षागत आधारमा पनि ढाल्न सकिन्छ, लेखनका अनुक्रम दिएका छन्।
उदाहरणका लागि, कक्षा १ मा हुँदा (वा यो उमेरगत समय सीमाभित्र) लेखनको यतिसम्म विकास हुनुपर्छ भनेर तोकिएको छ। त्यो मापदण्डलाई विकास क्रमको खाकामा कक्षा २, ३, ४ गर्दै उँभोतर्फ लगिएको छ। तिनलाई आधार मान्दा लेखन सीपको क्रमिक 'स्क्याफोल्डिङ' हुने अध्ययनले देखाउँछन्।
विद्यालयहरूले आफ्ना साक्षरताका कार्यक्रममा यी मापदण्डलाई आधार मानेर लेखनलाई सजिलै अघि बढाउन सक्छन्। ती मापदण्डलाई लेखनको संरचनात्मक बनावटमा ढाल्न सक्छन् र अध्यापन योजनालाई पूर्णता दिन सक्छन्।
फाउन्टास पिनेलले ती विकासात्मक लेखन अनुक्रमका मूल्यांकनका आधार पनि तोकेका छन्, जसको प्रयोग गरेमा विद्यार्थीलाई पृष्ठपोषणका साथ मार्गनिर्देशन गर्न सकिन्छ।
माथि उल्लिखित बाहेक लेखनका अन्य शैक्षिक सिद्धान्त र अभ्यासहरू पनि छन्, जुन अध्यापनका लागि शिक्षणको केन्द्र परिभाषित गर्दै लेखन योजना संरचना गरिन्छ। विद्यालयहरूले तिनलाई प्रयोगमा ल्याएर लेखन कार्यक्रमलाई विशिष्टीकृत गर्न सक्छन् र लेखनलाई पूर्णता दिन सक्छन्।
लेखनको पनि एक प्रकारको बोली वा पारा हुन्छ, यसलाई 'भ्वाइस' भनिन्छ। यसमा पाठकले लेखकलाई नदेख्दा पनि उसको व्यक्तित्वको आभास गराउँछ, रङ देखाउँछ, एक शैली परिभाषित गर्छ, लेखकको ज्ञानको गहिराइ पनि प्रकट गर्छ। जब त्यो भ्वाइसले गहन स्वरूप लिन्छ, लेखन गहिरो र प्रभावशाली बन्छ। यस अवस्थामा लेखनको खाका प्राकृतिक बन्छ, लेखन स्वतः स्फुरण हुन्छ।
विद्यालयको लेखन योजनामा प्राथमिक तहदेखि नै भ्वाइसलाई समायोजन गरिन्छ र हरेक विद्यार्थीका विचारहरूमा भ्वाइसलाई विकसित गराउँदै लेखन प्रवाहमा मौलिकता दिइन्छ। यसले लेखन स्वाभाविक बन्छ।
बोल्ने र लेख्नेका संरचना फरक हुन्छन्, तसर्थ बोल्नेले लेख्न सक्छन् भन्ने हुँदैन।
मैले यो लेखको सुरूमा सन्दर्भ दिएका मेरा मित्रको पनि समस्या यही थियो!
उहाँसँग विचार थियो तर त्यसलाई लेखनको संरचनामा ढाल्ने खाका थिएन। अभिव्यक्त गर्ने लेखन सीप थिएन। भ्वाइसको विकास भइसकेको थिएन। केही लेखे पनि कनिकुथी लेखिएको प्रस्ट हुन्थ्यो।
यो कठिनाइको समाधान वयस्क हुँदा नहुने भन्ने होइन, यी दुवै सीप जीवनको कुनै पनि समयमा विकास गर्न सकिन्छ। इच्छाशक्ति र अभ्यास चाहिन्छ।
'सकुन्तला' महाकाव्य दस दिनमै र 'कुञ्जनी' एकै रातमा सिद्ध्याएका महाकवि लक्ष्मीप्रसाद देवकोटा भन्छन्, 'म कुनै शैलीका लागि लेख्दिनँ, जे मनमा आँउछ त्यही लेख्छु। म आफ्ना रचना सुधार्दिनँ, अझ राम्रो बनाउन खोज्दा त्यो झनै बिग्रिन्छ।'
संसारभर प्रसिद्ध जापानी लेखक हारूकी मुराकामी भन्छन्, 'म त मेरा कथालाई आफै बोल्न दिन्छुर म त बस लेख्छु मात्रै र बग्दै जान्छु।'
माथिका उदाहरणले लेखनको प्रवाह जनाउँछ। त्यस्तै प्रवाह विकास गर्नु विद्यालय साक्षरताको लेखन कार्यक्रमको लक्ष्य हो।
लेखन विद्यालयले दिने सीप मात्र होइन, विकास गर्नुपर्ने एक प्रमुख संस्कार पनि हो। यसले हाम्रा अहिलेका साना तर भविष्यका लेखकलाई आफ्ना विचार प्रकट गर्दा लेखनले आनन्द दिन सकोस्, विचारको शुद्धीकरण गरोस्, मन र भाषालाई अनुशासित बनाओस्, नियम, अभ्यास, अध्ययन र धैर्य विकास गरोस्।
***
(लेखक प्रविज्ञ रेग्मी एजुकेसन फर द नेक्स्टजेन र न्यू मिलेनियम स्कुल इमाडोल, ललितपुरका संस्थापक अध्यक्ष हुन्)
(प्रविज्ञ रेग्मीका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)