'मेरो दाइ नेपालमा कलेज चिफ हुनुहुन्छ, तिमीहरू बिहे गर्छौ?'
मारियामा माट्युले एकदिन ठट्टैठट्टामा एलियामालाई भनिन्।
उनीहरू भारतको केरलामा बिएससी पढ्दै थिए। छात्रावासको एउटै कोठामा बस्थे र दुईबीच एकदमै मिल्ती थियो।
मारियामाले ठट्टैमा भनेकी भए पनि एलियामाले गम्भीर रूपमा लिइन् र साथीको प्रस्तावमा स्वीकृति जनाइन्।
त्यसपछि त मारियामालाई के चाहियो!
उनले आफ्ना दाजु जर्ज जोनलाई चिठी लेखिन् र साथमा एलियामाको फोटो पनि पठाइदिइन्।
चिठीमा भनेकी थिइन्, 'मेरो साथी बिछट्टै राम्री छे। पढाइ पनि राम्रो छ। सधैं राम्रो नम्बर ल्याउँछे। तपाईं र उसको जोडी एकदमै मिल्छ दाइ!'
जर्ज जोनले जबाफ लेखे, 'आमाबुबाले मान्नुभयो भने म सहमत छु।'
मारियामाले आमाबुबालाई पनि राजी गराइन्।
कुरा अघि बढ्यो।
जर्ज जोन र एलियामाले बिहे गरे।
यो २०१८ सालको कुरा हो। बिहेको एक महिना नबित्दै जर्ज र एलियामा पोखरा आए। त्यति बेला जर्ज २८ वर्षका थिए, एलियामा २३।
यहाँबाट जर्ज र एलियामाको जिन्दगीमा नयाँ अध्याय सुरू भयो।
दक्षिण भारतीय उनीहरूले नेपाललाई आफ्नो नयाँ मुलुकका रूपमा अपनाए।
भारतीय नागरिकता त्यागे, नेपाली नागरिकता लिए।
यो दम्पती अहिले पोखरामा अवकाश जीवन बिताउँदैछ।
हामी कुरा गर्दैछौं जर्ज जोन दम्पतीको — उनै जर्ज जोन, जसले पोखरामा पृथ्वीनारायण (पिएन) क्याम्पसको निब राखे।
बिहे गरेर पहिलोपटक पोखरा आउँदा एलियामाले यो ठाउँ कम्तीमा आफ्नो गृहनगर केरलाजस्तै होला भन्ठानेकी थिइन्। पोखरा भने ग्रामीण अवस्थाबाट निस्केकै थिएन।
बसोबास एकदमै पातलो थियो। पालिखे चोकभन्दा अगाडि मात्र केही पसल थिए। अहिलेको व्यस्त न्यूरोड र लेकसाइडमा पनि फाट्टफुट्ट मात्र घर थिए। बाँकी उपत्यका चउर नै चउर थियो।
'अहिले पोखरा जस्तो छ, केरला त्यही बेला थियो; सहरमा जन्मे-हुर्केको मान्छे सिधै गाउँ आएर बस्नुपर्दा कस्तो भयो होला!' एलियामाले ६२ वर्ष पुरानो अतीत सम्झिँदै भनिन्, 'म त मिठो खानुपर्ने मान्छे, पोखरामा भने गतिलो खानेकुरासमेत पाइन्थेन। तरकारी खेती थिँदै थिएन भन्दा हुन्छ। त्यत्रो फराकिलो फाँट किन बाँझै राखेको होला भनेर म छक्क पर्थेँ। म काठमाडौं जाने मान्छेसँग तरकारी मगाउँथेँ।'
'मासु पसलधरि एउटै थिएन। गाउँमा एक-दुई महिनाको फरकमा खसी काटिन्थ्यो। गाउँलेहरूले भाग लगाउँथे। त्यही भागबाट किनेर ल्याउनुपर्थ्यो,' उनले अगाडि भनिन्, 'केरलामा हुँदा समुद्री माछा खुब खाइन्थ्यो, यहाँ पाइँदै नपाइने। तालको माछा त थियो, तर त्यो पनि बिहानै हवाईजहाजबाट काठमाडौं पठाइने हुँदा विरलै किन्न पाइन्थ्यो।'
जहाँसम्म जर्ज जोनले निब राखेको पृथ्वीनारायण क्याम्पसको कुरा छ, त्यसको हालत देखेर त अत्यास नै लागेको एलियामा बताउँछिन्।
भन्नलाई त जर्ज क्याम्पस प्रमुख थिए, तर त्यो क्याम्पस नाम मात्रको थियो।
'त्यो बेला म पढ्ने कलेजमा दुई-तीन हजार विद्यार्थी थिए। जर्ज नेपालमा क्याम्पस चिफ छन् भन्ने सुन्दा कम्तीमा चार-पाँच सय विद्यार्थी त होलान् भन्ने लागेको थियो,' एलियामाले हाँस्दै भनिन्, 'यहाँ आएर हेर्छु त, क्याम्पस बनाउन बाँसको छाप्रो हाल्दै रहेछन्। उदेकै लाग्यो मलाई त!'
जति उदेक लागे पनि एलियामाले पोखरालाई त्यसरी नै अपनाइन्, जसरी जर्ज जोनलाई जीवनसाथीका रूपमा अपनाएकी थिइन्।
जर्जले चाहिँ पोखरालाई कसरी अपनाए त? दक्षिण भारतको केरलाका जर्ज पोखरामा क्याम्पस चिफ भएर कसरी आइपुगे?
यो कथा २००९ सालबाट सुरू हुन्छ, जति बेला नेपालमा भर्खर भर्खरै प्रजातन्त्र आएको थियो। नेपालीहरू राणा शासनको जकडबाट मुक्त भएका थिए।
त्यही बेला जर्ज जोन र उनका तीन जना साथी कलेजको छुट्टी सदुपयोग गर्दै केरलाबाट उत्तर भारत घुम्न निस्के।
उनीहरूले यसअघि दुईचोटि उत्तर भारतका विभिन्न ठाउँ चहारिसकेका थिए। २००६ सालमा नेपाली सिमानासम्म आएर फर्के। त्यो बेला भारतीयहरूले पनि बिनाअनुमति नेपाल छिर्न पाउँथेनन्।
त्यसको अर्को वर्ष २००७ सालमा रक्सौलबाट नेपाल छिरे र वीरगन्ज हुँदै अमलेखगन्जसम्म आइपुगे।
अमलेखगन्जबाट उत्तरतर्फ ठडिएका अग्ला अग्ला पहाडी तथा हिमाली शृंखलाले जर्जको मन मोहित पारेको थियो। तर त्यो बेला काठमाडौं उपत्यका छिर्ने साइत जुरेन।
तेस्रो भ्रमणमा भने जर्ज र उनका साथीहरू अमलेखगन्जबाट ट्रक चढेर भीमफेदी पुगे र भीमफेदीबाट हिँडेरै काठमाडौं उपत्यका छिरे।
जसै उनको पाइलाले काठमाडौं टेक्यो, उनको मन यहीँ बाँधियो।
नयाँ भूगोल चिन्ने हुटहुटीले समुद्री किनारसँग नाभी जोडिएका जर्ज जोनलाई हिमालको देश ल्याइपुर्यायो। यहाँको हावापानी, रहनसहन र जीवनशैलीमा उनी यस्तरी रत्तिए, सँगै आएका साथीहरूलाई केरला पठाएर आफू यहीँ बस्न थाले।
'दुई-चार दिन घुम्न आएका थियौं, घुम्दाघुम्दै दुई महिना बितेको पत्तै भएन। साथीहरू फर्कौं भन्न थाले, मेरो मन यहीँ अड्कियो। उनीहरूलाई फर्काइदिएँ, म यहीँ बसेँ,' ९२ वर्ष नाघिसकेका जर्जले हामीसँगको लामो कुराकानीमा भने, 'अहिले ती साथीहरू कोही अमेरिका छन्, कोही अस्ट्रेलिया। म चाहिँ नेपाल छाडेर कतै जान सकिनँ।'
त्यतिखेर नेपाललाई नै आफ्नो कर्मभूमि बनाउने अठोट गर्दा जर्जको मनमा पोखरा आएर क्याम्पसको जग हाल्छु भन्ने कल्पनासम्म थिएन।
उनी सुरूमा काठमाडौंको न्यूरोडस्थित 'माई सप ड्राई क्लिनर्स' मा हिसाबकिताब हेर्ने काम गर्थे। पछि टाइप राइटिङ पनि गरे। त्यसैबीच तत्कालीन नेपाल नेसनल कलेज (हाल शंकरदेव क्याम्पस) का प्राध्यापक नरेन्द्रबाबु बस्नेतसँग भेट भयो।
भेट्नुको कारण चाहिँ नरेन्द्रबाबुको घरमा भएको टेनिस कोर्ट थियो। जर्ज टेनिसका सोखिन थिए। काठमाडौंमा टेनिस खेल्ने ठाउँ कहाँ छ भनेर खोजीनिती गर्दै जाँदा उनी नरेन्द्रबाबुको सम्पर्कमा पुगेका थिए।
टेनिसको निहुँमा भेटघाट बाक्लिँदै गएपछि चिनापर्ची बढ्दै गयो।
नरेन्द्रले थाहा पाए — जर्जले केरलामै फिलोसोफीमा स्नातक गरिसकेका थिए। उनमा लेखपढको हुटहुटी अत्यन्तै धेरै थियो।
'तिमी यो उमेरमा पढाइ चटक्कै छाडेर किन जागिरमा मात्र भुल्छौ,' १९ वर्षका जर्जलाई नरेन्द्रले भने, 'तिमीलाई समस्या पर्दैन भने हाम्रो कलेजमा भर्ना भएर पढ्न थाल। दिनभरि जागिर खाऊ, साँझ ६ देखि ९ बजेसम्म पढ्न आऊ।'
त्यो बेला नेसनल कलेज स्थापना भएको एक वर्ष मात्र पुगेको थियो। विद्यार्थी एकदमै कम थिए। जर्जलाई नरेन्द्रको प्रस्ताव राम्रै लाग्यो।
उनी अंग्रेजी साहित्य विषय लिएर प्रवीणता तह भर्ना भए र २०१६ सालमा अंग्रेजी साहित्यमै स्नातकोत्तर गरे।
यसबीच उनले माई सप ड्राई क्लिनर्सको हिसाबकिताब छाडेर स्कुल-कलेजका विद्यार्थीलाई ट्युसन पढाउन थालिसकेका थिए। अंग्रेजीमा स्नातकोत्तर गरेपछि त उनीसँग ट्युसन पढ्नेहरूको भिड नै लाग्यो।
त्यही भिडमा थिए — पोखराको अमरसिंह स्कुलका शिक्षक विमलबहादुर थापा।
उनी स्नातकको प्राइभेट जाँच दिँदै थिए। जर्जसँग ट्युसन पढ्ने क्रममा उनको अध्यापन शैली, बानीबेहोरा र नेपालप्रतिको मायाले प्रभावित भए।
जाँच सकिएपछि उनले जर्जलाई भने, 'पोखरामा कलेज खोल्ने तयारी हुँदैछ, शिक्षक पाइएको छैन। तपाईंजस्तो शिक्षक पाइयो भने हामी धन्य हुने छौं। कृपया पोखरा आइदिनुपर्यो।'
जर्जले ठाउँको ठाउँ जबाफ दिन सकेनन्, भने, 'म सोचेर विचार गरौंला।'
जर्ज एकचोटि पोखरा आइसकेका थिए। काठमाडौंभन्दा धेरै सानो ठाउँ भएकाले उनको चित्त परेको थिएन। त्यसमाथि यतै काम गर्ने र यतै बसोबास गर्ने प्रस्तावमा उनले खासै रूचि देखाएनन्।
विमलले भने हत्ते हाले।
एक दिन होइन, दुई दिन होइन; दिनहुँ पोखरा आउन कर गरिरहे।
जर्ज सुने नसुन्यै गरिदिन्थे।
आखिरमा धेरैचोटि कर गरेपछि जर्जलाई पनि एकचोटि हेरेर आऊँ भन्ने सोच आयो।
उनले विमललाई 'हुन्छ, म आउँछु' भन्ने जबाफ दिए।
यति भन्नु मात्र के थियो, केही दिनमै ६ महिनाको नियुक्तिपत्र काठमाडौं आइपुग्यो। उनलाई क्याम्पस प्रिन्सिपलको पद दिइएको थियो। मासिक तलब २७५ रूपैयाँ, मासिक भत्ता २५ र प्रिन्सिपल भत्ता ५० गरी जम्मा ३५० रूपैयाँको तलब-सुविधा तोकिएको थियो।
नियुक्तिपत्रका साथमा ९० रूपैयाँ पेस्की पनि पठाइएको थियो।
तुरून्तका तुरून्त नियुक्तिपत्र र पेस्की पठाइनुको कारण के भने, विमलका दाजु शिवबहादुर थापा पोखरा नगरपालिकाका अध्यक्ष थिए। पोखरामा शिवसहित जम्मा चार जना स्नातक पास रहेछन्। ती चार जना मिलेर कलेज खोल्न कस्सिएका थिए। सञ्चालक समितिका अध्यक्ष शिवबहादुर नै थिए।
नियुक्तिपत्र र पेस्की नै हात परेपछि जर्जलाई पोखरा नगई सुखै भएन।
छ महिना त हो नि भनेर मन भुलाउँदै उनले जहाजको टिकट काटे। पेस्कीको ६४ रूपैयाँ काठमाडौं-पोखरा जहाज भाडामा गयो, बाँकी पकेट खर्च बचाए।
'त्यति बेला भारतीय रूपैयाँमा टिकट किन्नुपरेको थियो,' उनले सम्झिए, 'सय भारू बराबर १२८ नेरू हुन्थ्यो। काठमाडौं-पोखरा जहाज भाडा ५० भारू पर्थ्यो।'
यसरी जर्ज जोन पृथ्वीनारायण इन्टर कलेजका प्रिन्सिपल बनेर २०१७ भदौ १६ गते पोखरा ओर्लिए।
त्यसै दिन साँझ कलेज सञ्चालक समितिको बैठक बस्यो।
नवनियुक्त प्रिन्सिपल जर्जले भोलिपल्ट अर्थात् भदौ १७ देखि नै विद्यार्थी भर्ना खोल्ने निर्णय गराए।
कलेज चलाउन २५ हजार रूपैयाँ जम्मा भइसकेको छ भन्ने जर्जलाई काठमाडौंमै जानकारी दिइएको थियो। तर त्यस्तो होइन रहेछ। कलेज खोल्न चन्दा दिने भनेर कबोल मात्र गरिएको रहेछ। त्यसमा पनि १७ हजारको मात्र कागज गरिएको थियो। पैसा चाहिँ उठेको थिएन।
सुरूमा त जर्जले दिक्क माने। तर छ महिनाका लागि अनुबन्ध भइसकेका उनले जसरी पनि त्यो अवधि पार लगाउनु थियो।
उनी कस्सिएर लागे।
पोखरेलीहरूमा उच्च शिक्षाको हुटहुटी कति धेरै रहेछ भने, भर्ना खुलेको पहिलो दिन नै १३ जना विद्यार्थी आए। लगत्तै ती १३ जनालाई पढाउन कक्षा सुरू गरियो। त्यो समय कलेजमा अध्यापक जर्ज मात्र थिए। उनले अंग्रेजी, अर्थशास्त्र र राजनीतिशास्त्र पढाए। नेपाली पढाउन देवीरमण शास्त्रीलाई अनुरोध गरियो। उनी तयार भए।
दुई जना अध्यापकद्वारा चार विषयको मात्र पढाइ हुने गरी पृथ्वीनारायण इन्टर कलेज सञ्चालनमा आयो।
कलेजको आफ्नो संरचना नभएकाले स्थानीय कन्या प्राथमिक स्कुलको कक्षाकोठामै उनीहरूले पढाइ सुरू गरे। दिनभरि स्कुल चल्थ्यो, साँझ ६ देखि ९ बजेसम्म कलेज।
पहिलो वर्षको अन्तिम परीक्षा दिने बेलासम्म ३० जना विद्यार्थी भर्ना भए। धेरैजसो पोखराका शिक्षक, कर्मचारी र निम्न वर्गका विद्यार्थी पढ्न आए। हुनेखानेका छोराछोरी पढ्नलाई काठमाडौं नै जान्थे। कलेजको मासिक शुल्क १० रूपैयाँ थियो। विद्यार्थीकै शुल्कबाट उनी र देवीरमण तलब खान्थे। जर्जको तलब ३५० थियो भने देवीरमणको सय रूपैयाँ थियो। नपुग रकम चन्दा उठाइन्थ्यो।
केही समयपछि पोखराकै नारायणस्थानमा रहेको एउटा खुला पौवामा कलेज सारियो।
२०१७ मंसिर १७ गते तत्कालीन मन्त्री सूर्यप्रसाद उपाध्यायले त्यही पौवामा कलेजको औपचारिक उद्घाटन गरे।
प्रारम्भिक अवस्थाको पृथ्वीनारायण क्याम्पस। तस्बिर स्रोत: सुनील उलक
उद्घाटन भएको महिनादिन नपुग्दै राजा महेन्द्रले सैनिक 'कू' गरेर प्रधानमन्त्री बिपी कोइरालालाई जेल हाले र पञ्चायती व्यवस्था सुरू गरे।
राजा महेन्द्रले शासन हातमा लिएपछि पोखरा नगरपालिकाका अध्यक्ष शिवबहादुर थापालाई बाग्लुङको बडाहाकिम बनाएर सरूवा गरियो।
जसको सक्रियतामा पृथ्वीनारायण कलेज सुरू भएको थियो, उनलाई नै पोखराबाट हटाइएपछि कलेजको चासो लिने कोही रहेन। सहयोग गर्छु भन्नेहरूले पनि हात झिके। प्रजातन्त्र मासिएर देशैभरि अन्यौल छाएका बेला कलेजको खबरधरि कसैले सोधेनन्।
जर्ज जोन अलमलिए। के गर्ने, कसलाई सोध्ने; केही थाहा थिएन।
त्यो बेला उनको नियुक्तिको म्याद सकिन दुई महिना बाँकी थियो। चाहेका भए कलेजको जिम्मेवारी पन्छाएर फर्किन सक्थे। उनलाई रोक्ने कोही थिएन।
'आफूले सुरू गरिसकेको काम यत्तिकै छाडेर हिँड्न मन मानेन,' जर्जले भने, 'जसरी हुन्छ केही न केही थिति बसाल्छु भन्ने निधो गरेँ।'
यही निधोपछि उनले कलेज सञ्चालनको दसवर्षे योजना बनाए। योजना कार्यान्वयन गर्न १० लाख रूपैयाँको बजेट निकाले। सोचेअनुसार काम भए पोखरामा नमूना कलेज चलाउन सकिन्छ भन्ने उनको विश्वास थियो। तर सञ्चालक समितिका सदस्यहरूले 'दुई जना शिक्षकलाई ४ सय ५० रूपैयाँ तलब खुवाउने हैसियत नभएका बेला १० लाख दिन सकिँदैन' भने।
पैसा नभएपछि खुला पौवामा कलेज भवन बनाउने योजना पनि सुरू हुन सकेन। पुसका चिसा रात पौवामा काट्न कठिन भएपछि कलेजको पढाइ फेरि कन्या स्कुलमै सारियो। विद्यार्थीहरू भने कलेजको आफ्नै भूमि र आफ्नै भवन चाहिन्छ भन्ने माग गर्दै थिए।
त्यही बेला राजा महेन्द्रले तेजबहादुर प्रसाईंलाई पोखराको अञ्चलाधीश बनाएर पठाए। उनी त्रिचन्द्र कलेजका प्राध्यापक थिए। भारत पढेर आएका थिए।
जर्जले अञ्चलाधीश प्रसाईंलाई भेटेर आफ्नो दसवर्षे योजना सुनाए।
उनी कलेजको आफ्नै जग्गा होस् भन्ने चाहन्थे। उनले दुई ठाउँमा जग्गा हेरेका थिए — अहिले महेन्द्रपुलमा सैनिक विद्यालय रहेको ठाउँ र गण्डकी अस्पताल भएको ठाउँ। यी दुवै ठूला र फराकिला चउर थिए। यीमध्ये कुनै एउटा चउर उपलब्ध भए कलेजलाई दीर्घकालीन रूपमा पूर्वाधार निर्माणको समस्या हुँदैन भन्ने उनको दलिल थियो।
अञ्चलाधीश प्रसाईं जर्जको योजनामा सहमत त भए, तर प्रस्तावित दुवै ठाउँ दिन मानेनन्। बरू त्यसको सट्टा भीमकालीको खुला चउर दिन राजी भए।
कलेज मात्र होइन, ८ कक्षा पास भएकाहरूलाई प्राथमिक तहको शिक्षण तालिम दिने स्कुल र संस्कृत पाठशाला पनि सँगसँगै हुने गरी जग्गा बन्दोबस्त गरियो। केही सार्वजनिक जग्गा थिए भने केही पोखराकै पराजुली परिवारका थिए। पराजुली परिवार कलेज स्थापना हुने भनेपछि आफ्नो जग्गा दान दिन तयार भएका थिए।
त्यसपछि कलेजका विद्यार्थीले भवन निर्माणका लागि चन्दा उठाउन सांस्कृतिक कार्यक्रम गरे, जसबाट १ हजार ८० सय रूपैयाँ उठेको जर्ज सम्झन्छन्।
'त्यति पैसाले आधुनिक भवन बनाउन त सम्भवै भएन। विद्यार्थीहरूले अर्को जुक्ति निकाले,' जर्जले भने, 'उनीहरू पोखरा आसपासका सबै घर गए र प्रत्येक घरबाट कम्तीमा एउटा बाँस र खर मागे।'
विद्यार्थीकै सक्रियता र श्रमबाट भीमकालीको खुला चउरमा २०१७ फागुनतिर बाँस र खरका छाप्रा बने। छाप्रो निर्माणमा जर्ज पनि विद्यार्थी सँगसँगै सरिक भएका थिए।
त्यो पृथ्वीनारायण कलेजको पहिलो आफ्नो संरचना थियो।
आफ्नो जग्गा र बाँस र खरको आफ्नै घर बनेपछि कलेजले पढाइका विषय थप्दै लग्यो।
यसै क्रममा २०१९ सालबाट विज्ञान, वाणिज्यशास्त्र र मानविकीका विभिन्न विषय पढाइ हुन थाले। त्यति बेलासम्म जर्जसँग बिहे गरेर एलियामा पोखरा आइसकेकी थिइन्। उनले विज्ञानका सुरूआती कक्षा लिइन्। पछि अमेरिकी सहयोगमा सञ्चालित 'पिस कोर' कार्यक्रमका स्वयंसेवीले थप कक्षा लिन थाले।
यसरी छाप्रोबाट सुरू पृथ्वीनारायण क्याम्पसको इतिहासमा २०२० साल एउटा महत्वपूर्ण कोसेढुंगा बनेर आयो।
त्यो वर्ष राजा महेन्द्र पोखरा भ्रमणमा आएका थिए। उनको अभिनन्दनका लागि क्याम्पस हातामै कार्यक्रम गरिएको थियो। त्यही कार्यक्रममा पहिलोपटक राजा महेन्द्रका आँखा छाप्राहरूमा गए।
उनले अभिनन्दनलगत्तै क्याम्पस भवन बनाउन एक लाख रूपैयाँ आर्थिक सहायता दिने निर्णय गरे। यो क्याम्पसलाई प्राप्त पहिलो सरकारी सहयोग थियो।
यही सहयोगबाट २०२१ सालमा पहिलो आधुनिक भवन बन्यो। त्यसको केही समयमा विज्ञान भवन बनाउन थप एक लाख रूपैयाँ सरकारबाट प्राप्त भयो।
यसरी सामुदायिक पहल तथा क्याम्पस प्रमुख बनेर आएका जर्ज जोन र विद्यार्थीहरूको सक्रियतामा निर्माण भएको पृथ्वीनारायण कलेज २०२८ सालमा सरकारीकरण भयो। पञ्चायत सरकारको 'नयाँ शिक्षा' नीतिअनुरूप यसलाई सरकारीकरण गरिएको थियो। त्यही नीतिअनुरूप शिक्षण तालिम स्कुल क्याम्पसमै गाभियो। संस्कृत पाठशाला चाहिँ हाइस्कुलमा परिणत भएको छ।
पृथ्वीनारायण क्याम्पस निर्माणमा पुर्याएको योगदानकै कारण जर्ज जोनलाई पोखरेलीहरू आज पनि 'पिएन क्याम्पसको संस्थापक' का रूपमा सम्मान गर्छन्। उनले पोखराका अन्य स्कुलमा पनि पढाए।
खासमा अध्यापन उनले पारिवारिक विरासतमै पाएका हुन्। उनका बुबा केरलामा हाइस्कुल शिक्षक थिए।
अध्यापनबाहेक जर्जले केही समय पत्रकारिता पनि गरे।
उनी केरलामै हुँदा हस्तलिखित पत्रिका निकाल्थे। दुई जना साथीसँग मिलेर निकालेको हस्तलिखित पत्रिकामा उनी लेख, रचना र कविता छाप्थे। आसपासका गतिविधि समाचारमा उतार्थे।
जर्जलाई लेख्न-पढ्नमा खुब रूचि थियो। त्यसैले सुरूआती दिनमा काठमाडौं बस्दा उनले 'पार्ट टाइम' पत्रकारिता पनि गरे। उनी केरलाबाट प्रकाशित हुने 'मनोरमा' पत्रिकामा नेपालका समाचार पठाउँथे। काठमाडौंको संस्कृति र स्थानीयहरूका कथादेखि तिब्बती शरणार्थीहरूबारे उनले खुब लेखे।
'चीनले तिब्बतमा शासन गरेपछि काठमाडौंमा तिब्बती शरणार्थी बढेका थिए। मैले काठमाडौंमा तिब्बती शरणार्थी आए भन्ने समाचार लेखेर मनोरमालाई पठाएँ,' उनले भने, 'त्यसपछि मनोरमाले मलाई नियमित समाचार लेख्न नियुक्तिपत्र नै पठाएको थियो, म भने क्याम्पस चिफको नियुक्तिपत्र बोकेर पोखरा आएँ।'
'घुम्दै घुम्दै काठमाडौं आएको मान्छे क्याम्पस खोल्न पोखरा आइपुग्नुभयो, अब सधैं नेपालमै बस्छु भन्ने सोच चाहिँ कहिले आयो?'
हाम्रो प्रश्नमा जर्जले भने, 'पोखरामा एक दशक बिताइसक्दा पनि जिन्दगीभरि यतै बस्छु भन्ने कुनै सोच थिएन। म त्यति बेलासम्म भारतीय नागरिक नै थिएँ।'
उनको यो सोच बदलियो २०२६ सालमा, जब उनले नै पढाएका विद्यार्थी गणेशबहादुर गुरूङले पोखराको नयाँबजारस्थित हाल प्रदर्शनी केन्द्र भएको ठाउँमा जग्गा किनिदिए। त्यति बेला उक्त जग्गाको मूल्य तीन हजार रूपैयाँ थियो।
'यो जग्गा तपाईंलाई हो गुरू, मैले यताउता गरेर पैसा तिरेको छु, पछि दिनुहोला,' गणेशले भनेको कुरा जर्जलाई अहिलेसम्म सम्झना छ।
पछि त्यही ठाउँमा जर्जले पैसा थपेर ९ हजार रूपैयाँमा थप जग्गा किने र १२ रोपनी पुर्याए।
त्यसैबीच जर्जसँगै काठमाडौं पढेका सूर्यप्रसाद श्रेष्ठ पोखराको सहायक अञ्चलाधीश बनेर आए। जर्जले पोखरामा बसेर क्याम्पस चलाइरहेको देखेपछि श्रेष्ठले यतैको नागरिकता लिन आग्रह गरे।
जर्ज पनि पोखरामा भिजिसकेका थिए। पोखरा र पोखरेलीहरू उनको आत्मामा बसिसकेका थिए। पत्नी एलियामाले पनि पोखरालाई अपनाइसकेकी थिइन्।
जर्जले एलियामासँग सल्लाह गरे र आफ्ना साथी सहायक अञ्चलाधीश श्रेष्ठलाई गएर 'हुन्छ' भने।
२०३२ सालमा जर्ज र एलियामाले भारतीय नागरिकता त्यागे र नेपालको अंगीकृत नागरिकता ग्रहण गरे।
नागरिकता लिएलगत्तै गणेशबहादुर गुरूङले जर्जलाई किनिदिएको नयाँबजारको जग्गा उनकै नाममा पास गरिदिए।
नेपालमा केही समय काम गरेर केरला फर्किन्छु भन्दाभन्दै जर्ज जोन र उनकी पत्नी एलियामा नेपाली नै भए।
पछि नयाँबजारमा सरकारले प्रदर्शनी केन्द्र बनाउने निर्णय गर्यो र धमाधम जग्गा अधिग्रहण गर्यो। जर्जको १२ रोपनी पनि अधिग्रहणमा पर्यो। यसबापत पाएको करिब ८० हजार रूपैयाँ मुआब्जाबाट उनले पोखराको उत्तमचोकमा १२ रोपनी जग्गा किने।
जर्ज जोन, एलियामा र उनका छोराछोरी अहिले पनि उत्तमचोकमै बस्छन्।
आफ्नो परिवारबीच जर्ज जोन र एलियामा। तस्बिर स्रोत: सुनील उलक
जर्जका एक छोरी र एक छोरा छन्। उनीहरू नेपालमै जन्मे, यहीँ हुर्के। छोरी विवाह गरेर चेन्नई पुगेकी छन्। छोरा भने पोखरामै छन्। बीचमा उनी सिंगापुर गएका थिए। अहिले फर्केर आएका छन्।
आजभन्दा ७३ वर्षअघि पर्यटकका रूपमा नेपाल छिरेर नेपाली नागरिक भएका जर्ज जोनलाई कयौंपटक उनका घरपरिवारले फिर्ता नबोलाएका होइनन्।
२०३६ सालमा त नेपालमा कमाउने जति सम्पत्ति केरलामै दिन्छु भनेर आमाले डाक्दा पनि चटक्क छाडेर जान नसकेको जर्ज सम्झन्छन्।
'अरूले धेरैचोटि बोलाए,' उनले भने, 'आमाले बोलाउँदा त गइनँ भने अरूले बोलाएर किन जान्थेँ!'
नेपाललाई नै तन-मन अर्पण गरेका जर्जले अन्तिम समयमा आफ्नी आमाको मुखधरि देख्न पाएनन्। दस वर्षअघि उनकी आमाको निधन भयो। जर्ज र एलियामा अन्तिमचोटि केरला गएको त्यही बेला हो। आमालाई श्रद्धाञ्जलि दिएर फर्केदेखि उनीहरू केरला गएका छैनन्। अब कहिले जाने भनेर योजना पनि बुनेका छैनन्।
छोरा यतिका वर्ष नेपाल बस्दा उनका आमाबुबा एकचोटि पनि आएनन्। जर्जका दुई भाइ र बहिनी भने आइसके। उनीहरू भारतमै बस्छन्।
पोखराको शिक्षा क्षेत्रमा जर्जको योगदान सँगसँगै एलियामाको पनि बराबर देन छ।
भारतबाट स्नातक पढेर नेपाल आएकी एलियामाले केही समय पृथ्वीनारायण क्याम्पसमा नि:शुल्क पढाइन्। पछि त्रिभुवन विश्वविद्यालयबाट स्नातकोत्तर गरिन् र भारतको पटना विश्वविद्यालयबाट नेपालका माछामाथि विद्यावारिधि पूरा गरिन्। उनी पृथ्वीनारायण क्याम्पसमै बायोलोजी विभाग प्रमुख पनि भइन्।
'म भर्खर आउँदा विद्यार्थीहरू क्याम्पसको निम्ति छाप्रो बनाउँदै थिए। मैले पनि स्वयंसेवकका रूपमा धेरै समय पढाएँ,' उनले भनिन्, 'सुरूमा त यहाँ बस्न दिक्क लागेको थियो। तर क्याम्पस निर्माणमा विद्यार्थीहरूले गरेको संघर्ष देखेर केरला फर्किन मन मानेन।'
उनलाई केरला फर्काउन सासू (जर्जकी आमा) ले पनि निकै कर गरेकी थिइन्। एलियामा फर्किन् भने जर्ज पनि फर्किन्छन् भन्ने उनको विश्वास थियो। तर उनले कहिले पनि जर्जलाई केरला फर्किऊँ भनेर भनिनन्।
पोखराको शिक्षा क्षेत्रमा एलियामाको सबभन्दा ठूलो योगदान पृथ्वीनारायण क्याम्पसमा महिला विद्यार्थीहरूलाई पढाउनमा हो।
क्याम्पस खुलेको लामो समय महिला विद्यार्थी पढ्न आएका थिएनन्। त्यो समय पोखरामा महिलालाई पढाउनुपर्छ भन्ने चेत नै फैलिसकेको थिएन। पढ्नेहरू पनि प्राथमिकबाट माध्यमिक तहसम्म उक्लने निकै कम हुन्थे। यस्तोमा अभिभावकलाई घच्घच्याएर, प्रेरित गरेर बालिकाहरूलाई स्कुल पठाउन र माध्यमिकसम्म पढेकालाई क्याम्पस भर्ना गराउन उनले सक्रिय भूमिका खेलिन्।
यही भूमिकाका कारण एलियामाले पोखराको शिक्षा क्षेत्रमा छुट्टै नाम दर्ज गराएकी छन्।
यहाँ भर्ना हुने पहिलो महिला विद्यार्थी उर्मिला पन्त हुन्। काठमाडौंबाट विवाह भएर पोखरा आएकी उर्मिला कन्या क्याम्पसमा 'हेडमिस' थिइन्।
एलियामाले पृथ्वीनारायण क्याम्पसमा ३५ वर्ष अध्यापन गरेर अवकाश लिएकी हुन्। त्यसलगत्तै उनलाई पोखराकै अमरसिंह माविमा प्लस टू सञ्चालन गर्न र त्यसको प्रिन्सिपल बन्न सञ्चालक समितिका अध्यक्ष कृष्ण गुरूङले प्रस्ताव गरे। गुरूङ एलियामाकै विद्यार्थीसमेत थिए।
उनले पटक पटक प्रस्ताव लिएर आएपछि एलियामाले प्लस टू विज्ञानको नेतृत्व लिन सहमति जनाइन्। त्यति बेला पोखरामा प्लस टूतर्फ विज्ञान पढाउने कुनै स्कुल थिएन।
२०५७ सालमा सुरू गरेको प्लस टू विज्ञानमा पहिले तीन-चार जना विद्यार्थी थिए। पढाइ राम्रो र रिजल्ट पनि राम्रो हुँदै गएपछि विद्यार्थी संख्या बढ्न थाल्यो।
उनी अमरसिंह माविमा १९ वर्ष प्रिन्सिपल बनिन्। जति भन्दा पनि स्कुल सञ्चालक समितिले अवकाश दिन नमानेपछि नातिनीको बिहेको बहाना गरेर केरला गइन् र केही समय उतै बसिन्।
पछि सुटुक्क नेपाल आइन्। फेरि स्कुलले बोलाउला भनेर धेरै समय खबरै नगरेको उनी बताउँछिन्।
कुराकानीको आखिरीमा हामीले सोध्यौं, 'तपाईंहरूलाई केले रोक्यो त नेपालमा?'
जबाफमा जर्जले भने, 'नेपालीहरूको सहयोगी मनले। नेपालीहरूले देखाएको आत्मीयताले।'
'जता गए पनि, जसले पनि गुरू भनेर अभिवादन गर्छन्। पोखरामा उच्च शिक्षाको जग हालेका व्यक्ति भनेर माया र सम्मान गर्छन्। उहाँहरूको मायाले यस्तरी बाँध्यो, जो पहिले आफ्ना थिए, अहिले सबै पराईजस्ता भए; जो पराई थिए, ती सबै आफ्ना भए,' जर्जले भावुक हुँदै भने।
पोखराले आफूहरूप्रति देखाएको मायाको एउटा उदाहरण पनि दिइन् एलियामाले —
एकचोटि उनको खुट्टा भाँचिएर निजी अस्पताल भर्ना गरिएको थियो। आइसियूमा राखेर लामो समय उपचार गर्नुपर्यो। उपचारपछि डिस्चार्ज हुने बेला अस्पतालले पैसा लिन मानेन।
'किन नलिने?' उनले सोधिन्।
'तपाईं हाम्रो गुरूआमा हो,' अस्पताल प्रबन्धकले जबाफ दिए, 'तपाईंहरू नभएको भए हामीले कहाँ पढ्न पाउँथ्यौं, यो अस्पताल कसरी खोल्न सक्थ्यौं।'
'त्यस दिन मेरो आँखाभरि आँसु आएको थियो,' एलियामाले भनिन्।
नेपालीहरूबाट पाएको माया मात्र होइन, आफ्नो नेपाल बसाइले जीवन पनि अर्थपूर्ण भएको जर्ज र एलियामा बताउँछन्।
'पोखरा बसेर धेरै जनालाई शिक्षा दिन सकियो, धेरै जनाको माया पाइयो,' उनीहरूले भने, 'जिन्दगीमा योभन्दा ठूलो कुरा अरू के होला!'
मलयालम भाषामा केरलाको अर्थ हुन्छ — नरिवलको बगैंचा। जर्ज र एलियामाले समुद्री किनारमा रहेको नरिवलको बगैंचाबाट हिमालको काखमा रहेको पोखरासम्म अविश्मरणीय यात्रा गरे।
समुद्रबाट उड्दै आउने बादल हिमालमा ठोक्किएपछि नेपालमा मनसुनी वर्षा सुरू हुन्छ। जर्ज र एलियामाको जिन्दगी पनि त्यस्तै छ।
उनीहरू समुद्री किनारबाट उठेर नेपाल आइपुगे र पोखरामा शिक्षाको वर्षा गराए।
***