काठमाडौंका कृतन गौतम सन् २०१० मा जर्मनी गएका थिए। हाल उनी दक्षिण जर्मनीअन्तर्गत पर्ने म्युनिक सहरमा बसोबास गर्छन्।
कृतन वैज्ञानिक हुन्।
उनी प्रोटेभो बायो कम्पनीमा रिसर्च एन्ड डेभलपमेन्ट विभाग प्रमुख छन्। उनले त्यहाँ काम गरेको चार वर्षभन्दा बढी भयो।
यो कम्पनीले प्रोटिन उत्पादन, बायोटेक अनुसन्धान तथा वैकल्पिक खाद्य प्रविधिमा काम गर्दै आएको उनले जानकारी दिए। विशेषगरी कम लागतमा प्रोटिन उत्पादन गर्न सकिने प्रविधि विकासमा कम्पनी केन्द्रीत छ।
कम्पनीले ल्याबमा आधारित प्रोटिन र आर्टिफिसियल मिट (कृत्रिम मासु) जस्ता क्षेत्रमा अनुसन्धान गर्छ। यसको मुख्य उद्देश्य जनावर मार्न नपर्ने, वातावरणमैत्री र दीगो खाद्य प्रणाली विकास गर्नु रहेको कृतन बताउँछन्।
'म विशेषगरी आर्टिफिसियल मिट (कृत्रिम मासु) सम्बन्धी अनुसन्धानमै केन्द्रीत छु,' उनले भने।
यसबाहेक कम्पनीले बायोटेक्नोलोजी र प्रोटिन इन्जिनियरिङसँग सम्बन्धित अनुसन्धान, उत्पादन प्रक्रिया विकास तथा विश्वविद्यालयसँग सहकार्य गरेर अनुसन्धानमूलक परियोजनामा पनि काम गर्दै आएको छ।
अहिले कृत्रिम मासुलाई कसरी सस्तो र व्यावहारिक बनाउन सकिने विषयमा अध्ययन तथा परीक्षण गरिँदै आएको उनले जानकारी दिए।
यस्तो प्रविधिले पशु हिंसा घटाउन र वैकल्पिक खाद्य प्रणाली विकास गर्न सहयोग पुग्ने विश्वास गरिएको छ।
विश्वविद्यालयका विद्यार्थीहरू बायोटेक्नोलोजी, बायोसेल, प्रोटिन लगायत विषयमा थेसिस अनुसन्धानका लागि ल्याबमा आउने उनले बताए। यस्ता विद्यार्थीलाई सही मार्गदर्शन गर्ने जिम्मेवारी पनि कृतनको छ।
हालसम्म कम्पनीले कृत्रिम मासु उत्पादन तहमै पुगेर अनुसन्धान भने गरिसकेको छैन। अनुसन्धान गर्दा आएका नतिजा सम्बन्धित कम्पनी तथा संस्थालाई दिन्छ।
'हामी अनुसन्धानको अन्तिम चरणमा पुगेका छौं। यो कम्पनीले अनुसन्धान मात्रै गर्ने हो। उत्पादन चाहिँ अरूले नै गर्छ,' कृतनले भने।
कृतन यो कम्पनीमा काम गर्ने एक्ला नेपाली हुन्। ल्याबमा सात जनाको समूह छ। उनीहरू जर्मन, भारतीय, दक्षिण कोरियाली तथा चिनियाँ छन्। थेसिस गर्न आउने विद्यार्थी पनि अहिलेसम्म नेपाली नभएको कृतनले बताए।
कृतन जर्मनी जानुको मुख्य उद्देश्य उच्च शिक्षा नै थियो।
'पढाइमा तेज विद्यार्थीलाई छात्रवृत्ति हुन्छ। बस्ने र खाने खर्च विद्यार्थी आफैले व्यवस्थापन गर्नुपर्छ,' उनले भने।
उनले जेना विश्वविद्यालयबाट मोलिक्युलर मेडिसिन विषयमा स्नातकोत्तर गरेका हुन्। पढाइ क्रममा ल्याबमा दुई वर्ष पार्ट–टाइम काम गरे।
त्यसपछि मेडिकल फ्याकल्टीअन्तर्गत बायोकेमेस्ट्री विषयमा विद्यावारिधि (पिएचडी) सुरू गरे। पिएचडी क्रममा त्यहाँको स्थानीय सरकारबाट छात्रवृत्ति पाए।
'मासिक १५ सय युरो दिन्थे। बसेर, खाएर बढी नै हुन्थ्यो,' उनले भने।
पिएचडी पूरा गरेपछि कृतनले इम्युनो टुल्स नामक कम्पनीमा काम सुरू गरे। सो कम्पनी प्रारम्भिक चरणमै क्यान्सर पत्ता लगाउने अनुसन्धानमा केन्द्रीत थियो।
'विशेषगरी रगत परीक्षण मार्फत व्यक्तिमा क्यान्सर जोखिम छ कि छैन भन्ने अध्ययन तथा परीक्षण गरिन्थ्यो,' उनले भने।
त्यहाँ काम गर्ने क्रममा उनले क्यान्सर पहिचान सम्बन्धी तालिम तथा अनुसन्धान परियोजनामा संलग्न हुने अवसर पाए।
कामकै क्रममा उनी लेबनन, चीन, भारत, अस्ट्रिया, हंगेरी लगायत दसभन्दा बढी देश पनि पुगे।
उक्त कम्पनीमा कृतनले करिब साढे तीन वर्ष काम गरे। त्यसपछि कोरोना महामारीका बेला उनले नयाँ अवसर खोज्नुपर्यो। त्यसपछि उनी हाल कार्यरत कम्पनीमा आएका हुन्।
'आवेदन दिएपछि तीन चरणमा त अन्तर्वार्ता नै भयो,' उनले सुनाए।
कृतनका अनुसार उनको काम गर्ने वातावरण सहज र व्यवस्थित छ। बायोटेक कम्पनीहरूले मिलेर बालबालिकाका लागि किन्टरगार्डेन सञ्चालन गरेका छन्। काम गर्ने अभिभावकले आफ्ना बच्चालाई त्यहीँ राख्न सक्छन्।
भाषा भने मुख्य चुनौती भएको उनको अनुभव छ।
'जर्मन भाषा बोल्नैपर्छ, अंग्रेजी मात्रले सबै ठाउँमा काम चल्दैन,' उनले भने।
काम गर्ने संस्कृति पनि चित्तबुझ्दो रहेको कृतनले बताए। खुलापन र प्रत्यक्ष संवाद संस्कृतिले व्यक्तिगत तथा व्यावसायिक रूपमा अघि बढ्न मद्दत गरेको छ।
'जर्मनहरू राम्रो र नराम्रो दुवै कुरा स्पष्ट भन्छन्। त्यसले छिटो विकास हुने रहेछ,' उनले भने।
उनी सामाजिक कार्यमा पनि सक्रिय छन्।
कृतन सहितको टोलीले जर्मनीमा 'नेपाली रूट्स' नामक गैरनाफामूलक संस्था स्थापना गरेको छ।
यो संस्था विभिन्न क्षेत्रमा कार्यरत नेपालीहरूलाई एकआपसमा जोड्ने उद्देश्यले सञ्चालन गरिएको हो। कृतन संस्थाका संस्थापक अध्यक्ष हुन्।
'यहाँ नेपालीहरू धेरै ठूलो पदमा काम गर्छन्। तर त्यो कसैलाई थाहा छैन। नेटवर्किङका लागि संस्था खोलेका हौं,' कृतनले भने, 'त्यस्ता व्यक्तिबीच अनुभव आदानप्रदान गर्ने प्लेटफर्म हो यो।'
कृतनका अनुसार गत वर्ष यो संस्थाले जलवायु परिवर्तन विषयमा कार्यक्रम आयोजना गरेको थियो। आगामी जुलाई ४ मा नेतृत्व तथा उद्यमशीलता सम्बन्धी एकदिने कार्यक्रम आयोजना गर्ने तयारी छ।
हाल संस्थामा करिब ३५० जना जोडिइसकेका छन्। सक्रिय सदस्य भने ४० जना छन्। संस्थालाई स्थानीय सरकारको आर्थिक सहयोग रहेको उनले बताए।
त्यसैगरी, विद्यार्थीहरूलाई रोजगारीका अवसर खोज्न पनि संस्थाको नेटवर्क प्रयोग गरेर सहयोग गर्ने कृतनले बताए।
'आगामी दिनमा यो संस्थामा अन्य देशमा काम गर्ने प्रोफेसनलहरूलाई पनि जोड्ने लक्ष्य छ,' कृतनले भने।