अफ्रिकाको लगभग माझैमा अवस्थित प्रजातान्त्रिक गणतन्त्र कंगोमा फैलिएको इबोला भाइरसको नयाँ संक्रमणले बजाइदिएको खतराको घन्टीको असर पूरै अफ्रिकासँगै एसियाको माझतिर रहेको नेपालसम्मै पर्न थालेको छ।
कारण— कंगो र इबोला फैलिन थालेका छरछिमेकका देशमा हजारौं नेपाली विभिन्न पेसामा खटिएका छन्।
इबोला संक्रमण फैलिएको प्रजातान्त्रिक गणतन्त्र कंगो र छरछिमेकका देशमा करिब २,२०० नेपाली सेना खटिएकाले नेपालमा चिन्ता बढेको हो। राष्ट्र संघीय मिसनमा खटिएका नेपाली सेना र सुरक्षा अधिकारीका अतिरिक्त अफ्रिकाका विभिन्न देशमा नेपालीको बाक्लिँदो उपस्थिति र नेपाल आउजाउ गरिरहने अफ्रिकीको बढ्दो संख्याका कारण नेपालले थप सतर्कता अपनाउनुपर्नेमा स्वास्थ्यविदहरूले जोड दिएका छन्।
पछिल्लो इबोला संक्रमण लगत्तै नेपाल सरकारले सीमा नाकामा निगरानी लगायत आवश्यक सावधानी अपनाइसकेको नेपाली सेना र स्वास्थ्य मन्त्रालयका अधिकारीहरूले जनाएका छन्।
तर अफ्रिकाबाट नेपाल आउजाउ गर्ने मानिसको संख्या पछिल्लो समयमा निकै बढ्न थालेको तथ्यलाई ध्यान दिँदै नेपाल सरकारले अझै धेरै पूर्वतयारी र सावधानीका कदम चाल्नुपर्ने सुझाव विज्ञहरूले दिएका छन्।
नेपालमा चिन्ता बढ्नुको कारण यस्तो छ — इबोला भाइरसको नयाँ प्रजाति बुन्डिबुजोको प्रकोप गत अप्रिलदेखि प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा फैलिन थालेको हो। पछिल्लो संक्रमणका कारण हालसम्म करिब २०० मानिसको मृत्यु भइसकेको छ भने कंगो र उसका छिरछिमेका देशमा समेत गरी कम्तीमा ८५० जना संक्रमित भइसकेका छन्।
यो भाइरस संक्रमितको रगत वा वान्ता जस्ता तरल पदार्थका माध्यमबाट स्वस्थ मानिसमा फैलिएको पाइएको छ। यसको निदान वा रोकथामका लागि निश्चित औषधि र खोप बनिसकेको छैन।
संक्रमितमध्ये करिब आधाको ज्यान लिने इबोलाको नयाँ संक्रमणको औसत मृत्युदर ५० प्रतिशत जति छ। इबोलाको नयाँ संक्रमण फैलिन थाले लगत्तै विश्व स्वास्थ्य संगठनले केही दिनअघि विश्व स्वास्थ्य संकट घोषणा गरिसकेको छ। लगत्तै नेपालका विमानस्थल र सीमानाकामा निगरानी तथा सतर्कता अपनाउन थालिएको हो।
पटक पटक इबोला भाइरस संक्रमण भोग्दै आएको प्रजातान्त्रिक गणतन्त्र कंगोमा सन् २०१८ यता २३०० भन्दा बढी मानिसको ज्यान गइसकेको छ।
पछिल्लो विवरण अनुसार इबोला भाइरसका नयाँ संक्रमित कंगोको छिमेकी देश युगान्डामा समेत भेटिइसकेका छन्। अफ्रिकी स्वास्थ्य अधिकारीहरूको पछिल्लो बैठकले थप १० देश इबोला फैलिने जोखिममा रहेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
तिनमा एंगोला, बुरून्डी, मध्य अफ्रिकी गणतन्त्र, गणतन्त्र कंगो, इथियोपिया, केन्या, रूवान्डा, दक्षिण सुडान, तान्जानिया र जाम्बिया पर्छन्।
अफ्रिकामा नेपाली, नेपालमा अफ्रिकी
इबोलाको नयाँ प्रजातिको संक्रमण फैलिएको प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमा झन्डै १००० नेपाली सेना संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा कार्यरत छन्।
कंगोको उत्तरी छिमेकी देश मध्य अफ्रिकी गणतन्त्र पनि त्यही हाराहारीमा नेपाली सेना खटिएका छन्। केही नेपाली सैनिक दक्षिणी सुडानमा पनि खटिएका छन्।
ती देशहरू पनि संक्रमणको उच्च जोखिममा छन्।
तिनका अतिरिक्त विभिन्न रोजगारीको सिलसिलामा अफ्रिकी देशहरुमा करिब १० हजारदेखि १५ हजार नेपाली रहेको अनुमान छ। केन्या र तान्जानियामा सयौं नेपाली युवती तथा युवा मनोरञ्जन क्षेत्रमा कार्यरत रहन थालेको वर्षौं भइसक्यो। अहिले जोखिममा नरहेको नाइजेरिया र अन्य अफ्रिकी देशमा पनि थुप्रै नेपाली वैदेशिक रोजगारीका लागि पुगेका छन्।
साथै अफ्रिकाका विभिन्न देशस्थित राष्ट्रसंघीय र अन्य अन्तर्राष्ट्रिय निकायमा थुप्रै नेपाली कार्यरत रहेको बताइन्छ।
सुधिर रूपरेलिया युगान्डाको राजधानी कम्पालास्थित व्यापारी हुन्। युगान्डाका लागि नेपालका महावाणिज्यदूत समेत रहेका रूपरेलियाका आफ्ना होटल तथा व्यवसायमा मात्रै २०० भन्दा बढी नेपाली काम गरिरहेका छन्।
उनका अनुसार युगान्डामा इबोला संक्रमित देखिएपछि मानिसहरु केही आत्तिएपनि स्थिति सामान्य रहेको र मानिसहरुले आवश्यक सावधानी अपनाइरहेका छन्।
मंगलबार उनले भने, 'युगान्डाको स्वास्थ्य क्षेत्र इबोलाको जोखिमको सामना गर्न तम्तयार र उपकरणहरुले सुसज्जित छन्। हामीहरुले सरसफाइमा विशेष ध्यान दिइरहेका छौं र डराउनु पर्ने अवस्था छैन। अवस्था सामान्य छ। मानिसहरु विभिन्न सामूहिक क्रियाकलाप तथा उत्सवहरुमा समेत सामान्य हिसाबले सहभागी भइरहेका छन्।'
साथै पछिल्ला वर्षहरूमा विभिन्न अफ्रिकी देशहरूबाट पर्यटन तथा अन्य क्रियाकलापका लागि मानिसहरू नेपाल आउने गरेका छन्।
उनीहरूमध्ये केही ठमेल र पोखराका सडकमा घुमिरहेका वा नेपालका विभिन्न फुटबल क्लबहरूमा आबद्ध भई नेपालमै खेलकुदमा सक्रिय रहेको पाइन्छ।
सोमबार युगान्डाको राजधानी कम्पालामा ब्रिटिश प्रिमियर लिग फुटबल खेलमा आर्सेनलको जितपछि खुसीयाली मनाउँदै युगान्डाका फ्यानहरू। तस्बिर सौजन्य: सुधिर रूपरेलिया
नेपाली विज्ञको चिन्ताको कारण
इबोला संक्रमण बढेर विश्व स्वास्थ्य संकट घोषणा भएलगत्तै नेपाल सरकारले विभिन्न सीमानाकामा निगरानी बढाउँदै सतर्कता बढाएको संकेत गरिसकेको छ।
नेपालका स्वास्थ्यविदहरू भने इबोला प्रभावित अफ्रिकी देशमा नेपालीको बाक्लो उपस्थिति र नेपालमा अफ्रिकीहरूको आउजाउका कारण नेपाल समेत संक्रमणको जोखिममा रहेको मान्छन्।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डाक्टर बाबुराम मरासिनीका विचारमा इबोलाको सम्भाव्य प्रकोपको व्यवस्थापन गर्न र रोकथाम गर्न नेपाल सरकारले अझै पर्याप्त पूर्वतयारी गर्न सकेको छैन।
सन् २०१४ मा कंगोमै इबोलाको संक्रमण फैलिएको बेला नेपाल सरकारले गरेको जस्तो पूर्वतयारी अहिले हुन नसकेको उनको ठहर छ।
'त्यति बेला हामीले विभिन्न मन्त्रालयहरूसँग समन्वय गर्दै धेरै सतर्कता अपनाएका थियौं,' मरासिनीले भने।
उनले थपे, 'एक जना शंकास्पद अफ्रिकी नागरिकलाई विमानस्थलबाटै फर्काइदिएका थियौं। अहिले नेपाल आउने अफ्रिकीहरूलाई भिसा दिन कडाइ गरिएको वा अफ्रिकाबाट चुपचाप आएका नेपालीलाई २१ दिने क्वारेन्टाइनमा पठाउन थालिएको सुनिएको छैन।'
'हामीले भक्तपुरमा बनाएको क्वारेन्टाइन भवनमा अहिले सुकुम्बासीहरू राखिएको छ। हामीकहाँ पर्याप्त उपकरण पनि छैन। संक्रमित ओसार्न दुइटा छुट्टै खण्ड भएको डबल क्याब एम्बुलेन्स समेत छैन,' उनको चिन्ता छ, 'यस्तो अवस्थामा एक दुई जना इबोला संक्रमित नेपाल प्रवेश गरे भने त ठूलै समस्या निम्तिन्छ। सरकारले यस्तो जोखिमबारे जनचेतना जगाउन प्रचारप्रसारको काम थालेको खोइ?'
टेकूस्थित शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पतालका संक्रामक रोग विशेषज्ञ डाक्टर शेरबहादुर पुनको चिन्ता उस्तै उस्तै छ।
'इबोलाको पछिल्लो संक्रमण निकै घातक छ र यो कुनै पनि बेला नेपाल आइपुग्ने जोखिम उच्च छ। यो सिधै विमानस्थलबाट आइपुग्नसक्ने जोखिम उच्च छ। भारतको बाटो पनि आइपुग्न सक्छ। किनभने केही वर्षअघि अफ्रिकाबाटै फैलिएको मंकिपक्स भाइरस संक्रमण भएका मानिस नेपालमा भेटिएको थियो। यस्तो फेरि नहोला भनेर भन्न सकिन्न,' उनले भने।
नेपाल सरकारको पूर्वतयारी अझै सबल हुन जरूरी रहेको उनी बताउँछन्।
'कोही इबोला संक्रमित नेपाल आइपुगिहाले कहाँ लगेर क्वारेन्टाइनमा राख्ने? टेकू अस्पतालमा कहाँ लगेर राख्ने? कसैको मृत्यु भइहालेमा के कस्तो विधि पालना गरेर अन्तिम संस्कार गर्ने? त्यसबारे गृहकार्य अझै सार्वजनिक भइसकेको जस्तो लाग्दैन। त्यसैले नेपालमा अझै उच्च स्तरको पूर्वतयारी आवश्यक छ,' उनले भने।
नेपाली सेना के गर्दैछ?
आफ्ना करिब १००० सैनिक शान्ति सेनाको रूपमा खटिएको प्रजातान्त्रिक गणतन्त्र कंगोको पूर्वी इटुरी प्रान्तमै अहिले इबोला संक्रमण फैलिएपछि नेपाली सेनाले उच्च सतर्कता अपनाएर काम गरिरहेको ब्रिगेडियर जनरल एवं प्रवक्ता राजाराम बस्नेतले बताए।
उनका अनुसार विमानबाट दैनिक हजारौं यात्रु आउजाउ गर्ने त्रिभुवन विमानस्थलमा सरकारसँग समन्वय गरेर एकीकृत हेल्थ डेस्क स्थापना भइसकेको छ। संक्रमण भित्रिन नदिन विभिन्न उपाय अवलम्बन गर्ने तयारी पनि सुरू भइसकेको छ।
नेपाल सरकारका एक स्वास्थ्य अधिकारीले भने अहिलेको इबोला संक्रमण भारतमा अझै नदेखिएकाले नेपाल धेरै चिन्तित हुन नपर्ने मिडियालाई बताइसकेका छन्।
उनले भने, 'कंगोको इटुरी प्रान्तको बुनिया, बेनी र मबिबीमा खटिएका नेपाली सेनालाई गस्ती तथा शान्तिस्थापना कार्यमा खटिने क्रममा उच्च सतर्कता अपनाएर अघि बढ्न निर्देशन दिइसकिएको छ। इबोला प्रभावित क्षेत्रमा खटिने सैनिकलाई त्यहीँ २१ दिन सम्म क्वारेन्टाइनमा रहेर मात्रै समूहमा मिसिने व्यवस्था मिलाइसकिएको छ।'
तीन महिनाअघि बदली भएका ती शान्ति सैनिक अर्को ९ महिना कंगोमै रहनेछन्।
'कोही कुनै कामविशेषले नेपाल आउनुपर्ने अवस्था भए उनीहरूलाई २१ दिन क्वारेन्टाइनमा राख्ने व्यवस्था मिलाइसकिएको छ। त्यसैले इबोलाबाट जोगिन र संक्रमण फैलिन नदिन नेपाली सेनाले गर्नुपर्ने सबै पूर्वतयारीका काम गरिसकेको छ। यसबारे हामी एकदमै गम्भीर र सजग छौं,' उनले भने।
***
(सुरेन्द्र फुयाल स्वतन्त्र पत्रकार हुन्। उनका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्।)
एक्सः @surendraphuyal