काठमाडौं सहरका भित्ताहरूमा केही समययता एउटा अनुहार ठाउँ ठाउँमा देखिन थालेको छ — ढाका टोपी लगाएको, मन खोलेर हाँसिरहेको एक वृद्धको चित्र।
त्यो चित्रमुनि लेखिएको हुन्छ — 'खुसी बन'।
न कुनै प्रचारको बोर्ड, न कुनै औपचारिक अभियान। तर यो चित्र यस्तो छ, जसले जो कोहीलाई एकछिन रोकिएर सोच्न बाध्य बनाउँछ — चित्रमा देखिएको व्यक्ति को हो? यसले दिन खोजेको सन्देश के हो? किन यस्तो सन्देश सहरभरि फैलाइँदैछ?
धेरैलाई यो चित्र साहित्यकार भैरव अर्यालको हो कि भन्ने लागेको थियो। यसबारे सामाजिक सञ्जालमा चर्चा पनि भएको थियो।
तर ढाका टोपीमा सजिएर दिल खोलेर हाँसिरहेका यी व्यक्ति भैरव अर्याल होइनन्।
उनी साहित्यकार वा कलाकार पनि होइनन्।
उनी एक आम मानिस हुन्, जो केही समयअघि काठमाडौं महानगरपालिकामा सरसफाइको काम गर्थे। उमेरले ८० वर्ष नजिक पुगेपछि अहिले आफ्नै घरमा आराम गरिरहेका छन्।
नेवार समुदायका उनले आफ्नो नाम भने सार्वजनिक गर्न चाहेका छैनन्।

हामीले यो चित्रबारे थाहा पाउन यसका चित्रकार किरण तुलाधरसँग कुरा गरेका थियौं।
'धेरैलाई यो चित्र कुनै प्रसिद्ध लेखक वा साहित्यकारको हो कि भन्ने लागेको रहेछ। तर होइन। यो तपाईं-हामीजस्तै एक आम मान्छेको हो,' उनले भने, 'उहाँ अहिले ८० वर्ष पुग्नुभयो। पहिले काठमाडौं महानगरमा सरसफाइको काम गर्नुहुन्थ्यो, अहिले घरमै आराम गर्नुहुन्छ।'
उनले अगाडि भने, 'उहाँले आफ्नो नाम सार्वजनिक नगर्न भन्नुभएको छ। त्यसैले म उहाँको परिचय खोल्दिनँ। यति मात्र भन्न सक्छु, उहाँ काठमाडौंको नेवार समुदायको हुनुहुन्छ।'
किरणले यो चित्र बनाउनुको कारण र उनीसँग चिनजान कसरी भयो भनेर पनि हामीलाई बताए।
उनी किरणको साथीका बुबा हुन्। जस्तोसुकै दुःख आइपरे पनि सधैं हाँसिरहने उनको बानीले नै चित्र बनाउन प्रेरित गरेको किरण बताउँछन्।
उनले सडक किनारका भित्ता र खम्बाहरूमा यो चित्र बनाउन सुरू गरेको ६ वर्ष भयो।
२०७६ सालको अन्त्यतिर जब कोरोना महामारीका कारण धेरैले आफ्नो आफन्त गुमाए, मान्छेको दैनिकी फेरियो, समाजमा निराशा र डर बढ्दै गयो, तब किरणले आशाको सन्देश छर्न हाँसिरहेको मुहार–चित्र बनाउने निधो गरेका थिए।
लकडाउन खुलेपछि उनले यसको निम्ति तयारी अघि बढाए।
सबभन्दा पहिला त, कसको चित्र बनाउने भन्ने प्रश्न तेर्सियो।
किरण र उनका साथीहरूले आ–आफ्नै फोटो खिचे र त्यही फोटोका आधारमा चित्र बनाउने सुर कसे। तर उनीहरूलाई आफ्नो हाँसो त्यति हँसिलो लागेन।
'कोरोना महामारीले ल्याएको निराशा चिर्न जुन खालको आशावादी मुस्कानको खोजीमा थिएँ, त्यो मुस्कान मैले आफू वा आफ्ना साथीहरूमा पाउन सकिनँ,' किरणले भने।
त्यही क्रममा उनी एकदिन आफ्ना एक निकट साथीको घरमा पुगे। त्यहाँ उनले साथीका बुबालाई हाँसिरहेको देखे।
उनको हाँसो ठ्याक्कै त्यस्तै थियो, जुन किरणले खोजिरहेका थिए।
यस्तो हाँसो, जसले अगाडिको मान्छेलाई हाँस्न बाध्य बनाउँछ!
यस्तो खुसी, जसले अगाडिको मान्छे जति दु:खी भए पनि आफ्नो दु:ख भुलेर खुसी हुन बाध्य बनाउँछ!
'मैले उहाँलाई सानै उमेरदेखि देख्दै आएको थिएँ। तर उहाँको हाँसोलाई त्यसअघि कहिल्यै नियालेर हेरेको थिइनँ,' किरणले भने, 'हाँसो आकर्षक लागेपछि मैले उहाँको फोटो खिचेर हेरेँ। त्यो फोटोमा केही डिजाइन थपथाप गर्दा झन् राम्रो देखियो।'
ती वृद्ध पारिवारिक कार्यक्रममा प्राय: ढाका टोपी लगाउने भएकाले किरणले नेपालीपन झल्काउन टोपीसहितकै चित्र बनाउने निर्णय गरे।
उनले यो चित्रमा अनुहार हुबहु उतारेका छैनन्, केही सिर्जनात्मक डिजाइन भरेका छन्।

सुरूमा चित्रको मुनि अंग्रेजीमा 'Be Happy' लेख्ने उनको योजना थियो। तर त्यसको सट्टा 'खुसी बन' लेखिएको छ। अंग्रेजीमा भन्दा नेपालीमा लेख्दा नेपालीपन झल्किने भएकाले यही राख्ने निधोमा पुगेको उनी बताउँछन्।
चित्रको डिजाइन तयार भएपछि किरण र उनका साथीहरूले चाबहिल पुल र छेउछाउका बिजुली खम्बाहरूमा पहिलो पटक बनाएका थिए।
दोस्रो चरणमा उनीहरूले चक्रपथ, कलंकी र कालिमाटी चोकमा त्यस्तै चित्र बनाए।
यसरी चित्र बनाउँदै हिँड्दा विभिन्न ठाउँमा प्रहरीले सोधपुछ गरेको किरण सम्झन्छन्।
सोधपुछ गर्न आउनेहरूलाई उनी चित्रको पछाडि लुकेको मर्म बुझाउँथे। त्यो सुनेर कतिपयले राम्रो काम भन्दै छाडिदिए, कतिपयले स्थानीय सरकारको अनुमति लिनुपर्ने बताए।
'हामीले जथाभाबी लेखेर फोहोर पारिएका भित्तामा आफ्नो चित्र बनाएका थियौं,' उनले भने, 'त्यसका बाबजुद स्थानीय सरकारको अनुमति लिएर मात्र काम गर्न भनेपछि साथीहरू अलि हच्किनुभयो।'
उनका साथीहरूमध्ये कतिपयले भर्खरै व्यवसाय सुरू गरेका थिए। चित्रका कारण व्यवसायमा असर पर्ला कि भनेर उनीहरू डराए।
त्यसबाहेक जसको चित्र हो, ती ८० वर्षीय वृद्धलाई चित्रकै निहुँमा प्रहरी कार्यालय डाकेर दु:ख दिइन्छ कि भन्ने डर पनि भयो।
यही डरले करिब एक सयवटा बनाएपछि थप चित्र बनाउन किरणले बन्द गरिदिए।
'हामीले दोस्रो लकडाउन खुलेपछि चित्र बनाउन सुरू गरेका थियौं। १०–१५ दिन बनाएपछि साथीहरूले काम रोकौं भन्नुभयो। सबैको सहमतिमा काम रोक्ने निधोमा पुग्यौं,' किरणले भने, 'त्यसपछि सबै आ-आफ्नै काममा व्यस्त भयौं।'
करिब ६ वर्षपछि २०८२ साउनको मध्यतिर उनी फिल्म क्षेत्रमा काम गर्ने सुशील न्यौपानेसँग मुस्ताङ घुम्न गएका थिए।
यात्राकै बीचमा व्यक्तिगत कुराकानी गर्दा 'खुसी बन' चित्रको प्रसंग चल्यो।
'सुशील भाइलाई त्यो काम मन परेछ। उनलाई यस्तो सडक–पेन्टिङमा रूचि भएकाले निरन्तरता दिन मलाई प्रोत्साहित गरे,' उनले भने, 'मुस्ताङबाट फर्किएपछि म फेरि फोटो र स्प्रे बोकेर सडकमा हिँड्न थालेँ।'
यसपालि उनी साँझपख चित्र बनाउने काम गर्थे। डिजिटल माध्यमबाट फोटो स्प्रे गरेर त्यसलाई भित्तामा टाँस्थे।
'हामीले त्यति बेला हाँडीगाउँबाट काम सुरू गरेका थियौं। जथाभाबी लेखेर फोहोर पारिएका भित्तामा चित्र बनाउन थाल्यौं,' किरणले भने, 'बिस्तारै सहरका धेरै चोक र पुलमुनि चित्रहरू देखिन थाले। सर्वसाधारणमा पनि यो चित्र कसको हो, किन बनाइयो भनेर कौतूहल बढ्दै गएको हामीले पायौं।'
भदौ २३ र २४ को जेनजी आन्दोलनपछि छाएको देशव्यापी अन्यौल र निराशाबीच 'खुसी बन' चित्र धेरैको नोटिसमा आयो।
निराशाको माहोलबीच आशा जगाउने यो चित्र कसले बनाएको हो भनेर सोधिखोजी हुन थाल्यो।
'हामीले बनाएको थाहा पाएपछि धेरै व्यावसायिक ब्रान्डले सहकार्य गर्न प्रस्ताव गरेका छन्,' किरणले भने, 'तर हामीले यो निस्वार्थ रूपमा गरेका हौं, त्यसैले अहिलेसम्म कसैसँग सहकार्य गरेका छैनौं।'

सडकका भित्तामा चित्र कोर्नु किरणको रूचि भए पनि उनी पेसागत रूपमा ध्वनि संयोजनको काम गर्छन्।
४३ वर्षीय किरण काठमाडौं महानगरपालिका–२ का स्थानीय बासिन्दा हुन्। बिबिएससम्म पढेका उनी सानैदेखि चित्रकला र संगीतमा रूचि राख्थे। गितार पनि बजाउँथे।
चित्रकला र गीत-संगीत सँगसँगै उनी एक बीमा कम्पनीमा जागिर पनि खान्थे।
त्यसै क्रममा 'किन मायामा यति धेरै' गीतमा ध्वनि संयोजनको अवसर पाए। त्यो गीतपछि ध्वनि संयोजन गर्न एकपछि अर्को प्रस्ताव आउन थाल्यो। किरण जागिर छाडेर पूर्णकालीन रूपमै यो क्षेत्रमा लागे।
अहिले यो भित्ते चित्रले किरणलाई पहिलेभन्दा धेरै लोकप्रियता दिएको छ। यही चित्रको सर्जकका रूपमा धेरैले चिन्न थालेको उनी बताउँछन्।
किरणका अनुसार एउटा चित्र बनाउन करिब ३०–३५ रूपैयाँ खर्च लाग्छ। पछिल्लो समय ४–५ हजार खर्च भइसकेको छ। यो रकम उनले साथीहरूबाट जुटाएका छन्।
चित्रको लोकप्रियता बढ्दै गएपछि कतिपयले आफ्नै घरको भित्तामा बनाउन आग्रह गर्न थालेको उनको भनाइ छ। यसले समाजसेवाका रूपमा सुरू गरेको यो काम बिस्तारै व्यवसायमा रूपान्तरण हुँदै गएको छ।
'अहिलेसम्म आफ्नै लगानीमा दुई हजारभन्दा बढी ठाउँमा चित्र बनाइसक्यौं,' उनले भने, 'अब यसलाई व्यवसायका रूपमा अघि बढाउने सोच छ।'
चित्र लोकप्रिय भएकाले टि–सर्ट र कि–रिङमा पनि प्रयोग गर्ने तयारी छ। त्यसबाट आएको आम्दानी सडक कुकुरहरूको उपचार, बन्ध्याकरण र खाना व्यवस्थापनमा खर्च गर्ने उनको योजना छ।
'मलाई दुई छाक खान त फिल्म र गीतमा साउन्ड हालेर पुग्छ। त्यसैले यसबाट आएको पैसा समाजसेवामा लगाउने विचार छ,' उनले भने।
किरण अहिले एभरेष्ट फिल्म एकेडेमीमा साउन्ड विषय पढाउने काम गर्छन्। पछिल्लो समय नेपालमा ध्वनि संयोजनको माग बढ्दै गएकाले यो विषय पढ्नेहरूलाई रोजगारीको सम्भावना उज्ज्वल रहेको उनको भनाइ छ।
***

