ललितपुरको हात्तीवनमा प्रहरीले गोली चलाएर तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको छ।
शनिबार साँझ ललितपुर महानगरपालिकास्थित हात्तिवन क्षेत्रमा तीन जना लागुऔषध कारोबारीलाई पक्राउ गरेको लागुऔषध नियन्त्रण ब्युरोका एसपी दुर्गाराज रेग्मीले जानकारी दिए।
दुई जना भारतीय नागरिक र एक जना नेपाली नागरिकलाई लागुऔषध ट्रामाडोलसहित नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा भारतको विहारका ३२ वर्षीय अहमद लड्न र ३३ वर्षीय महमद सद्दाम छन्। बारा सिम्रौनगढका ३५ वर्षीय जितेन्द्र पासवान पनि पक्राउ परेका हुन्।
प्रहरीले एउटा बाइक र एउटा कारलाई पनि नियन्त्रणमा लिएको छ। नियन्त्रणमा लिन खोज्दा भागेपछि प्रहरीले हवाइ फायर गरेको एसपी रेग्मीले बताए। बिएडी ९२०१ नम्बरको कारबाट ३० हजार क्याप्सुल ट्रामाडोल बरामद गरेको छ।
त्यस्तै बा ५२ प ४५६७ नम्बरको मोटरसाइकल पनि प्रहरीले नियन्त्रणमा लिएको छ।