संयुक्त अरब इमिरेट्स (युएई)ले आफ्नो देशमा रोक्का रहेको इरानको अर्बौं डलर फुकुवा गर्ने तयारी गरेको छ।
बैंकिङ प्रणालीमा रोक्का गरिएको इरानको अर्बौं डलर युएईले फुकुवा गर्न लागेको भनेर अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले चार जना उच्च स्रोतलाई उद्धृत गरेर समाचार लेखेको छ।
युएईले इरानसँगको तनाव कम गर्न र अमेरिका-इरान युद्ध अन्त्यका लागि जारी वार्तालाई निष्कर्षमा पुर्याउन सहयोग गर्नका लागि कम्तिमा १० अर्ब डलर फुकुवा गर्ने तयारी गरेको हो।
यसमध्ये ३ अर्ब डलर पहिल्यै फुकुवा गरिसकेको भनेर दुई उच्च स्रोतले बताएको रोयटर्सले लेखेको छ।
यो तयारीबारे जानकार अर्का स्रोतले फुकुवा गर्ने रकम २० अर्ब डलरसम्म हुन सक्ने पनि बताएको छ। फुकुवा गर्ने सहमति युएईमाथि इरानले मिसाइल तथा ड्रोन आक्रमण नगर्ने सर्तमा भएको पनि ती उच्च अधिकारीले बताएका छन्।
दुबईका बैंकहरूमा वर्षौंदेखि ठूलो मात्रामा इरानको निक्षेप रहेको मानिन्छ। अमेरिकी प्रतिबन्धका कारण तीमध्ये धेरै रकम रोक्का गरिएको छ।
अमेरिका र इसराइलले फेब्रुअरी २८ मा इरानमा हमला गरेपछि इरानले युएईसहित मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डालाई लक्ष्य गरेर हमला गरेको थियो।
इरानी हमलाका कारण दुबईका होटलहरू खाली भएका थिए। विदेशी कामदार तथा व्यावसायी पनि पनि युएई छाड्न बाध्य भएपछि दुबईको सुरक्षित व्यावसायिक छवि धमिलिएको थियो।
इरानले पनि युद्ध अन्त्यका लागि अमेरिका र उसका सहयोगी मुलुकमा रोक्का गरिएको अवस्थामा रहेका आफ्नो सम्पत्ति फुकुवा गरिनुपर्ने सर्तलाई प्राथमिकताका साथ राख्दै आएको छ।
युएईको अहिलेको तयारी दुवै पक्षले आफ्नो रेड लाइन ननाघी समाधान निकाल्ने माध्यम हुन सक्ने सम्झौताबारे जानकारी राख्ने एक स्रोतले रोयटर्सलाई बताएका छन्।
यसबाट इरानले युद्ध क्षतिको क्षतिपूर्ति पाएको दाबी गर्न सक्नेछ भने अमेरिकाले आफूले कुनै रकम नतिरेको भन्न सक्नेछ। आबुधाबीले पनि आफ्नो सुरक्षा सुनिश्चित गर्दै दुबईको व्यापारिक हैसियत जोगाउन सक्नेछ।
अर्का स्रोतका अनुसार रकम खुला गरेबापत इरानले यूएईमाथिको मिसाइल तथा ड्रोन आक्रमण रोक्ने, गुप्तचर जानकारी आदान–प्रदान गर्ने र आर्थिक सहकार्य पुनर्निर्माण गर्ने सहमति जनाएको छ।
रोयटर्सका अनुसार इरानले यस्तै व्यवस्था गर्न कम्तीमा अन्य दुई खाडी मुलुकसँग पनि सम्पर्क गरेको छ।
कतारी मिडिया अल जजिराले युएई र इरानबीच पछिल्लो केही सातादेखि नै वार्ता भइरहेको थियो। गत साता इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर्स (आइआरजिसी)का अधिकारीहरू नै आबुधाबी पुगेर युएईका राष्ट्रिय सुरक्षा सल्लाहकार तथा उपशासक शेख तहनुन बिन जायदे अल नाह्यानसँग भेट गरेका थिए।
उनीहरू शेख तहनूनकै अतिथि गृहमा बसेको पनि उल्लेख गरिएको छ। त्यसपछि यूएई अधिकारीहरू तेहरान पुगेर सहमतिका प्राविधिक पक्षमा छलफल गरेको भनेर अल जजिराले लेखेको छ।
युएईले इरानको अर्बौं डलर खुला गर्ने खुलासा हुँदा अमेरिका र इरान युद्ध अन्त्यका लागि अन्तिम चरणको वार्तामा छन्।
दुवै पक्षले सम्झौताका लागि अहिलेसम्मकै नजिक रहेको बताएको अमेरिकी अखबार द न्युयोर्क टाइम्सले जनाएको छ। यद्यपि वार्ता अत्यन्त संवेदनशील अवस्थामा रहेको र अन्तिम क्षणमा विफल हुने जोखिम अझै रहेको टाइम्सले लेखेको छ।
युद्ध अन्त्यका लागि पाकिस्तान र कतारले मध्यस्थकर्ताको भूमिका खेलिरहेका छन्। पाकिस्तानी प्रधानमन्त्री शेहबाज शरिफले आगामी चौबिस घन्टाभित्र सम्झौता हुन सक्ने बताएका छन्।
उनले सम्झौतामा विद्युतीय हस्ताक्षर हुने र अर्को सातासम्ममा प्राविधिक तहको वार्ता हुने तयारी भएको भनेर आफ्नो सामाजिक सञ्जालमा लेखेका छन्।