४५ वर्षीया मन्दिरा तामाङ २१ वर्षदेखि सिनामंगलको गैह्रीगाउँस्थित सुकुम्बासी बस्तीमा बस्दै आएकी थिइन्।
यही बस्तीमा उनले दुई छोराछोरीलाई कक्षा १२ सम्म पढाइन्।
उनका श्रीमान घर निर्माणको काम गर्छन्। गलैँचा बुन्ने सीप सिकेपछि उनले घरमै मेसिन ल्याएर गलैँचा बनाउने काम गर्दै आएकी थिइन्।
शनिबार दिउँसो सरकारले बस्तीमा डोजर चलाएपछि उनको घर पनि बाँकी रहेन।
शुक्रबार महानगरको टोलीले बस्तीमा माइकिङ पनि गरेको थियो। बस्ती खाली गरिँदैछ भन्ने सूचना उनले पनि पाएकी थिइन्। तर त्यहीँका हर्ताकर्ताहरूले केही हुँदैन बस भनेर रोकेको उनी बताउँछिन्।
'सामान निकाल्छु भन्दा केही हुँदैन, यहीँ बस भनेर रोके,' उनले भनिन्, 'हामी आफैं निकालेर बेच्थ्यौं, तर निकाल्नै दिइएन।'
उनका अनुसार गलैँचा बुन्ने मेसिन र श्रीमानले घर बनाउने काममा प्रयोग गर्ने औजार डोजरले पुरिदिएको छ। '१५–२० हजारको सामान माटोमै गयो, जस्ता समेत निकाल्न पाइएन,' उनले भनिन्।
मन्दिरा २१ वर्षअघि हेटौंडा ब्यारेक क्षेत्रबाट बाढीले घर बगाएपछि काठमाडौं आइपुगेकी हुन्।
त्यसयता उनीहरूले सिनामंगलमै ज्याला मजदुरी गर्दै सानो कटरा बनाएर जीवन गुजारा गर्दै आएका थिए।
'चार जना बस्छौँ, दुई छोरालाई यहीँ बसेर कक्षा १२ सम्म पढाएँ, तर त्यसपछि पढाउन सकिनँ,' उनले सुनाइन्।
उनका श्रीमान घर निर्माणको काम गर्छन् भने उनी आफैं गलैँचा बुन्छिन्।
वर्षौंको कमाइ र पसिना लगाएर बनाएको बसोबास एकैदिनमा भत्किँदा उनीहरू अन्योलमा परेका छन्।
'अब जिन्दगीभर कमाएर बसेको ठाउँ नै भत्काइदियो, कहाँ जाने?,' उनले भनिन्।
हाल आफन्तको सहयोगमा बिरेन्द्रचोक माथि एउटा कोठा पाएको र त्यतै सर्ने तयारीमा रहेको उनले बताइन्।
उनी भन्छिन्, 'अब ज्याला गरेर भए पनि आफैं कोठा खोजेर बस्नुपर्छ।'