कीर्तिपुर नगरपालिका–१० स्थित त्रिभुवन विश्वविद्यालय प्रवेशद्वारबाट करिब डेढ सय मिटर अगाडि बढ्दा 'राधास्वामी सत्संग व्यास नेपाल' को बोर्ड देखिन्छ।
रातो–सेतो रङले रंगिएका पिलर र कालो रङको ठूलो फलामे गेटबाट भित्र पस्दा कुनै भव्य भवनमा प्रवेश गरेजस्तो अनुभूति हुन्छ।
गेटसँगै जोडिएको एउटा घर पार गरेपछि ट्रस्टले छाएको ठूलो भवन देखिन्छ, जसको वरिपरि टेन्टले घेरिएको छ।
'घाम लाग्दा धेरै गर्मी हुन्छ, साँझ परेपछि लामखुट्टेले टोकेर सुत्नै सकिँदैन,' २४ वर्षीया अञ्जली पासवानले भनिन्, 'अगाडिको भाग खुला भएकाले हावाले शरीर नै सुन्निन्छ।'
उनी चार महिनाकी सुत्केरी हुन्। तेस्रो सन्तान जन्म दिएकी उनलाई थापाथलीको सुकुम्बासी बस्ती शनिबार भत्काइएपछि साँझ यहाँ ल्याइएको थियो।
उनका सासु–ससुरासहित सात जनाको परिवार यहीँ बसिरहेको छ। उनीहरू २०६३ सालदेखि थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आएका थिए। विवाहपछि अञ्जली पनि त्यहीँ बस्न आएकी हुन्।

बारामा जन्मे–हुर्केकी अञ्जली विवाहपछि श्रीमानसँग सुकुम्बासी बस्तीमा बस्न थालेकी थिइन्। उनी त्यहाँ बसेको सात वर्ष भयो।
शनिबार घर भत्काइने भएपछि उनका सासु–ससुरा र श्रीमान दिनभर डेरा खोज्दै हिँडे, तर कतै पाएनन्।
'कतै–कतै कोठा पाइए पनि निकै महँगो थियो। त्यसपछि महानगरले उठाएर दशरथ रंगशालामा लग्यो,' उनले भनिन्, 'त्यहाँबाट होटल लैजाने वा सत्संगमा ल्याउने कुरा भयो। यहाँ राम्रो छ भनेपछि हामी यहीँ आयौं। यो त टेन्टले बारिएको ठाउँ रहेछ।'
भवनको एक कुनामा 'फ्यामिली २७' भनेर कागज टाँसेर छुट्याइएको ठाउँमा उनी बसेकी छन्। वरिपरि उनका केही सामान र बच्चाका लागि राखिएको कोक्रो छ। भुइँमा म्याट र केही ओछ्यान बिछ्याइएको छ। उनी शनिबार रातिदेखि यहीँ बसिरहेकी छन्।
'साँझ खाना खाएपछि फेरि आइतबार बिहान १२ बजेतिर प्याकिङ खाना खायौं,' उनले भनिन्, 'सानो बच्चा भएकाले अलि गाह्रो भयो, नत्र खासै समस्या थिएन।'
'यहाँबाट अन्तै लैजाने भनिएको छ। अब राम्रो ठाउँमा लैजान्छन् भन्ने आशा छ,' उनले थपिन्।
उनीहरूलाई यहाँ केही दिनका लागि मात्रै राखिएको जानकारी दिइएको छ। त्यसपछि सुरक्षित ठाउँमा सारिने आशामा उनी बसेकी छन्।
सरकारले व्यवस्था गरेको सुरक्षित स्थानमा जान उनलाई कुनै आपत्ति छैन।
त्यस्तै, दुई साताअघि मात्रै सात वर्षकी छोरी र पाँच वर्षको छोरालाई राम्रो शिक्षा दिने उद्देश्यले काठमाडौं आएकी जमुना थापा मगर पनि कीर्तिपुरको यही होल्डिङ सेन्टरमा बसिरहेकी छन्।
विवाहपछि लामो समयसम्म छोराछोरीलाई माइतीमै राखेर हुर्काएकी उनी अब सहरमा पढाउने सोचका साथ काठमाडौं आएको बताउँछिन्।
'राम्रो ठाउँमा पढाउने, छोराछोरीको भविष्य बनाउने सोच थियो,' उनले भनिन्, 'छोराछोरीलाई कहाँ पढाउने भनेर पनि तय भइसकेको थियो। तर अहिले त घर नै भत्कियो।'
उनका श्रीमान किरण थापा मगर लामो समयदेखि सुकुम्बासी बस्तीमा बस्दै आएका थिए। उनकी आमाले उनलाई त्यहीँ हुर्काएकी थिइन्।
विवाहपछि जमुना लामो समय माइतीमै थिइन्। किरण ज्याला मजदुरी गर्छन्। यसपटक भने परिवारसँगै बस्ने निर्णय गरेर उनी काठमाडौं आएकी थिइन्।
'ओत लाग्ने ठाउँ भए पुग्छ, ज्याला मजदुरी गरेर छोराछोरीलाई पढाउँछौं भन्ने आशा थियो,' उनले भनिन्, 'आएको दुई साता पनि नबित्दै घर भत्काइयो।'
'अब के गर्ने टुंगो छैन। प्रहरीले जे भन्यो, त्यही गर्यौं,' उनले थपिन्। उनी 'फ्यामिली ३०' लेखिएको स्थानमा बसिरहेकी छन्।
काठमाडौंमा उनका कोही आफन्त छैनन्। तत्काल कोठा खोज्दा पनि कतै नपाएको उनले बताइन्।
थापाथलीमा उनका श्रीमान र देवरसहित पाँच जना बस्दै आएका थिए। अहिले उनीहरू सत्संगमै बसिरहेका छन्।
राजु घलान
मकवानपुर पुर्ख्यौली घर भएका राजु घलान २०६३ सालदेखि थापाथलीको सुकुम्बासी बस्तीमा बस्दै आएका थिए।
उनकी ७८ वर्षीया आमा कान्छीमाया घलान पनि सँगै बस्छन्। उनलाई आफ्नो पुर्ख्यौली घरको ठेगाना स्पष्ट थाहा नभए पनि मकवानपुर भएको सुन्दै आएका छन्।
'दुई दशकदेखि त्यहीँ बस्यौँ। त्यसैलाई आफ्नो घर ठानेका थियौं। त्यो पनि सरकारले भत्काइदियो,' उनले भने, 'बाढीले दुःख दिएपछि बल्ल बस्न लायक भएको थियो, फेरि भत्काइयो।'
उनले घर नछोड्ने सोच पनि बनाएका थिए, तर सरकारले अर्को ठाउँमा राख्ने भनेपछि छोड्न बाध्य भएको बताए।
'सरकारले सुरक्षित र बस्न मिल्ने ठाउँमा लगेर राखे जहाँ पनि बस्छु,' उनले भने, 'यहाँ खुला ठाउँमा बस्न अलि अप्ठ्यारो छ, तर केही दिनका लागि मात्र भनेकाले जसोतसो बसेका छौ+।'
ठूलो ट्रस्टको छानामुनि अञ्जली, जमुना र राजु मात्रै होइनन्, ५१ परिवार बसिरहेका छन्।
उनीहरूका लागि खानपानको व्यवस्था काठमाडौं महानगरपालिकाले गरेको छ। यहाँ अहिले बस्ने ठाउँको व्यवस्था मात्र गरिएको सत्संगका व्यवस्थापक गौतम थापाले बताए।
'हामीलाई बस्ने ठाउँ मिलाउन मात्र भनिएको छ, बाँकी काम महानगर र प्रहरीले गरिरहेका छन्,' उनले भने, 'हामीले आफ्नै तर्फबाट बिहान र दिउँसो चिया–बिस्कुट खुवाइरहेका छौं।'
शनिबार काठमाडौंको थापाथली र गैरीगाउँका सुकुम्बासी बस्ती हटाइएपछि सयौं परिवार अलपत्र परेका छन्। कतिपय आफन्तकहाँ गएका छन्, कतिले डेरा खोजेर सरेका छन्। कतै जाने ठाउँ नभएकाहरूलाई भने सरकारले सत्संग र नयाँ बसपार्क क्षेत्रका विभिन्न होटलमा राखेको छ।
काठमाडौंका विभिन्न स्थानका सुकुम्बासी बस्ती भत्काइएपछि रंगशालामा नाम टिपाउनेको संख्या ५४७ पुगेको छ।
दुई दिनदेखि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बसेर बागमती सभ्यता एकीकृत विकास समिति र उपत्यका विकास प्राधिकरणले सुकुम्बासी परिवारहरूको विवरण संकलन गरिरहेका छन्।
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
-1777210509.jpg)
-1777210508.jpg)
-1777210507.jpg)
-1777210507.jpg)