सोमबार साँझ पौने ५ बजेको थियो।
मध्यपुर थिमि नगरपालिका–१, मनोहरा सुकुम्बासी बस्तीमा आफ्ना केही सामान बोरामा हाल्दै थिइन्, ५० वर्षीया छिरिङ तामाङ।
सामान खाँद्न उनी पटक पटक बोरा उचाल्दै, भुइँमा पछार्दै थिइन्।
केही बेरसम्म उनले यही प्रक्रिया दोहोर्याइरहिन्।
बोराको मुख बाँध्न मिल्ने भएपछि धागोले बाँधेर एक साइडमा राखिन्। त्यसपछि पर्खालमा थुचुक्क बसिन्।
पर्खालमा बसेर एकटक आफ्नो अगाडि रहेको कुखुराको खोर नियालिरहिन्।
उनीसँग माउ र चल्ला गरी करिब २५ वटा कुखुरा छन्। तीमध्ये भाले–पोथी गरी ८ वटा माउ छन् भने १५ वटाजति चल्ला छन्।
'एउटा पोथीले अबको दुई–तीन दिनमा चल्ला कोरल्थ्यो। हिजो वैशाख १३ गते नै आएर घर भत्काइदिए,' उनले भनिन्, 'कुखुरा ओथारो बस्नै नपाएपछि अब के होला र? १२–१३ वटा अन्डा त्यसै खेर गयो।'
छिरिङले दुई–चार पैसा जोहो गर्न कुखुरा पाल्दै आएकी थिइन्। १०–१५ वर्षदेखि कुखुराबाटै आर्जित पैसाले नुनतेल खान पुर्याएकी थिइन्। तर अहिले न कुखुरा पाल्ने ठाउँ छ, न आफू बस्ने टुंगो छ भन्दै उनले आँखाभरि आँसु भरिन्। अनि, आँसुलाई आफ्नो पोल्टामा खस्न नदिई कुर्ताको फेरले आँखा मिचिन्।
'यो कुखुरालाई कतै व्यवस्थापन गर्न पाए डेरा खोज्न हिँड्थेँ,' उनले भनिन्, 'यसै छाड्दा मलाई पाप लाग्ला!'
उनी आफ्ना कुखुरालाई कुकुरले खाइदेला भन्ने डरले आइतबार रातभर कतै गइनन्। आफ्ना श्रीमान् पेमा तामाङसँग भत्काइएको घर अगाडि कुखुरा कुरेर बसिरहिन्।
घर भत्काइएपछि उनका सामान टेन्टमुनि लगेर राखिएका छन्। तर त्यहाँ कुखुरा राख्ने ठाउँ नभएको उनी बताउँछिन्।

सिन्धुपाल्चोकका उनीहरू दुवैले सानै उमेरमा बा–आमा गुमाएका थिए। सुन्दर भविष्यको कल्पना गर्दै सहर छिरेका उनीहरूको यतै भेट भयो। एकअर्काका सारथि बने।
मासिक रूपमा कोठा भाडा तिरिरहनुपर्ने झन्झटले उनीहरूलाई मनोहराको सुकुम्बासी बस्तीसम्म पुर्यायो।
२०६५ सालमा १ लाख ५० हजार रूपैयाँमा एउटा फराकिलो टहरा किनेर उनीहरू बस्न थाले।
'त्यति बेला जस्ताले बारिएको एउटा फराकिलो टहरा थियो,' छिरिङले भनिन्, 'यहाँ सरकारले भत्काउँदैन, पछि लालपुर्जा दिन्छ भनेपछि किनेका थियौं।'
ज्याला मजदुरी गरेर त्यही टहरालाई ब्लकको गाह्रो लगाए र एउटा घरको आकार दिए।
त्यही घरमा उनले छोरा जन्माइन्, हुर्काइन्।
अहिले त्यही छोरा १२ कक्षा पढ्छन्।
यसपालि घर भत्काइनु र छोराको परीक्षा एकै समयमा सुरू भयो। त्यसले छिरिङलाई थप तनावमा पार्यो। अहिले चिनेजानेका आफन्तकहाँ राखेर परीक्षा दिन लगाइरहेको छिरिङ बताउँछिन्।
उनले छुट्टिने बेला हामीसँग भनेकी थिइन्, 'बरू यी लोकल कुखुराहरू किन्ने कोही मान्छे छ भने खोजिदिनुस् न! माउ–चल्ला सबै बेच्छु। पैसा पनि हुन्छ, छुट्कारा पनि पाइन्छ!'
त्यस्तै, मनोहरा सुकुम्बासी बस्तीका ईश्वर परियार पनि दुईवटा गाई व्यवस्थापन गर्न नसकेर कतै जान सकेका छैनन्।
'वरपर घाँस पाउने भएकाले दुईवटा गाई पालेको थिएँ,' उनले भने, 'घरसहित गाईको गोठ पनि भत्कियो। गाईलाई अलपत्र छाडेर कहाँ हिँड्नू! यसलाई लिएर पनि कहाँ जानू!'
आइतबार डोजर घरसहित गोठ पनि भत्काइदिएपछि ईश्वरले त्यो दिनभर गाईलाई खाली ठाउँमा बाँधेर राखे। साँझ भक्तपुरकै एउटा गाई फार्ममा राखिदिन्छु भनेर पठाइदिएको उनी बताउँछन्।
भर्खर ब्याएको गाई भएकाले अरूलाई दूध पनि दिएन। त्यसैले बिहान–बेलुका पुगेर आफैले दूध दुहेको उनको भनाइ छ।
'एक रात राखेको पनि पैसा तिर्नुपर्ने थियो। तैपनि चउरमा छाड्न मन मानेन,' उनले भने, 'तर त्यहाँ पनि भोलिपल्टै लिन बोलाए। तपाईंको गाई लिन आउनू, यहाँ राख्न सक्दिन भन्यो। फेरि गाडीभाडा तिरेर ल्याउनुपर्यो।'
उनको एउटा सानो बाच्छी पनि छ। त्यसलाई चउरमा बाँधेर राख्दा कुकुरहरूले आक्रमण गर्लान् कि भन्ने उनलाई डर छ।
'आफ्नो त बिचल्ली भयो भयो, यी गाई–बाच्छीको पनि बिचल्ली हुने भयो,' ईश्वरले भने।
उनले शुक्रबार रातिदेखि सुत्न पाएका छैनन्। शुक्रबार घर भत्काउने डरले निद्रा लागेन। शनिबार राति बस्तीमा डोजर छिरेपछि सामान पोको पार्दैमा बित्यो।आइतबार बिहान साढे १० बजेतिर त घर भत्किहाल्यो।
यसबीच उनले धेरै ठाउँमा कोठा खोजिसके। कोठा पाइहाले पनि दुई–दुईवटा गाईलाई लिएर जान मिल्दैन भने। गाईलाई यसै छाडेर हिँड्न पनि सकेनन्। त्यही भएर घर भत्किएको दुई रातसम्म उनी यतै छन्।
ईश्वरको परिवारको आयस्रोत नै यही गाईमा टिकेको थियो। उनी गाईको दूध बेचेर दैनिक खर्च टार्थे। गोठको मलले तरकारी उब्जाउन पनि सजिलो थियो।

६८ वर्षीय आर्वी घले पनि २०६३ सालमा ७५ हजारमा दुई कोठा बन्ने टहरा किनेर यहाँ बस्न थालेका हुन्।
वितगमा नेपाली सेनामा आबद्ध उनी २०६१/६२ मा माओवादीले गाउँमा बस्न नदिएपछि काठमाडौं छिरेको बताउँछन्। त्यही बेला अलिअलि जम्मा गरेको पैसाले बस्ने छत किनेको उनको भनाइ छ।
काभ्रे कोसीपारीका घलेको कान्छो छोराको १० वर्षअघि दुर्घटनामा मृत्यु भयो। श्रीमती छैनन्। जेठो छोरा कपनमा बस्छ। सुकुम्बासी बस्तीमा आफू एक्लै बस्दै आएको उनी बताउँछन्।
'यहाँ २०७०/७१ सालमा १६ हजारमा टिभी किनेको थिएँ, त्यो निकाल्नै पाइएन,' उनले भने, 'अब कहाँ जाने, के गर्ने सोच्न बाँकी छ। सुकुम्बासी बस्तीबाट आएको भनेपछि कोठा पनि नपाइने रहेछ।'
'भत्काउनुभन्दा एक साताअघि मात्र थाहा दिएको भए कोठा खोज्ने समय हुन्थ्यो। सरकारले गरिबको पेटमा लात हान्यो,' उनले भने, 'सामान पोको पारेर त्रिपालले छोपेर राखिएको छ। न खान पाइएको छ, न छत छ, न ओछ्यान छ।'
उनी अहिलेसम्म कतै कोठा नपाएकाले पर्खालमा जस्ता राखेर त्यसकै मुनि सुतिरहेका छन्।
***