तीन नम्बर भवनको तेस्रो तला। कोठा नम्बर ३०२।
ढोकासँगैको झ्याल आधा खुल्लै थियो।
मध्याह्नको चर्को घामको रेखा भित्तामा परिरहेको देखिन्थ्यो। तर त्यो उज्यालोले कोठाको अँध्यारो चिर्न सकेको थिएन।
त्यही अँध्यारो कोठाको एक कुनामा दुई सन्तान च्यापेर सुतिरहेकी थिइन्, ३० वर्षीया बबिता घिसिङ।
उनको काखमा तीन महिनाको शिशु थियो भने छेउमै पाँच वर्षीय छोरा सक्षम मस्त निद्रामा थिए।
कोठाको ढोकामा उभिएर बिमला नेपालीले जसै आवाज दिइन्, बबिता जुरूक्क उठिन्। काखमा सुतिरहेको शिशु पनि ब्युँझियो। सक्षम पनि चल्मलाउँदै बिस्तारै उठ्न खोजे।
बबिताले 'नउठ बाबु' भन्दै छोरालाई समातिन्।
तर सक्षम मानेनन्।
उनी खाटबाट ओर्लिएर भुइँमा डुल्न थाले।
उनी कोठाभित्र हिँड्दै गर्दा घाँटीमा झुन्डिएको सास फेर्ने पाइपबाट निस्किएको 'स्वा... स्वा...' आवाजले कोठाको सन्नाटा चिर्दै थियो।
त्यही बेला बबिता तीन महिनाको शिशुलाई काखमा च्यापेर दूध चुसाउन थालिन्।
आमाको दूध खान पाएपछि एकछिन अघिसम्म पिल्पिलाउन थालेकी बच्चीको अनुहार उज्यालो भएर आयो।
काखेछोरीको उज्यालो मुहार देखेर बबिता पनि उज्यालिइन् र छोरीको अनुहार हेर्दै मुसुमुसु हाँसिरहिन्।
कोठामा आरामले पल्टिरहेका आमा, छोरा र छोरीको तन्द्रा भंग गरेकामा पछुताउँदै बिमलाले सुस्तरी ताली बजाएर दूध चुसिरहेकी नानीलाई खुसी पार्न खोजिन्।
कोठामा दिउँसोको सन्नाटा थियो। सक्षमको घाँटीमा झुन्डिएको पाइपबाट निस्किरहेको एकोहोरो स्वा... स्वा... बाहेक अरू केही सुनिएको थिएन।
यस्तो लाग्थ्यो, मानौं सक्षमको त्यही पाइपबाट सुकुम्बासी होल्डिङ सेन्टर खरिपाटीको यो सिंगो कोठाले सास फेर्दैछ!

भक्तपुरको चाँगुनारायण नगरपालिका-६ खरिपाटीस्थित विद्युत प्राधिकरण तालिम केन्द्रका दुई र तीन नम्बर भवनमा विस्थापित सुकुम्बासीहरू आश्रित भएको लगभग एक महिना पुग्न लाग्यो।
सुखले मान्छेलाई चिसो बनाउँछ, सम्बन्धमा दुरी बढाउँछ; दु:खमा मान्छे न्यानो हुन्छ, सम्बन्ध पनि गाढा बन्छ!
होल्डिङ सेन्टरमा आश्रित सुकुम्बासीहरूबीच अहिले यस्तै भइरहेको छ।
थापाथली, बल्खु, मनोहरा लगायत विभिन्न ठाउँमा बस्दा को हो, को हो सुकुम्बासीहरू विस्थापित भएर यहाँ आएदेखि एकअर्काका लागि म छु जस्ता भएका छन्।
बबिता र बिमलालाई नै हेरौं न!
यहाँ ल्याइनुभन्दा अगाडि उनीहरू एकअर्कालाई चिन्थेनन्। यहाँ पनि उनीहरू एकै घरमा बस्दैनन्। बबिता तेस्रो नम्बर घरमा बस्छिन् भने बिमला दोस्रो नम्बरको घरमा।
तर अहिले उनीहरू नङ र मासुजस्ता साथी बनेका छन्। एकअर्काको दु:खमा आडभर बनेका छन्। बबिताका दुई सन्तान बिमलालाई आफ्नै जस्ता लाग्छन्। बिमलाका छोरी र नातिनी पनि बबिताको परिवारसँग उत्तिकै झ्याम्मिन्छन्।
छोरीलाई दूध चुसाएपछि आँखा मिच्दै बबिताले भनिन्, 'टाउको दुखेर आँखाको गेडी नै निस्केला जस्तो भएको थियो। त्यसैले यिनीहरू (छोराछोरी) लाई सुताएर आफू पनि एकछिन निदाएको थिएँ।'
बिमला थकथकाउँदै उनको कुरा सुनिरहिन्। बेला बेला कोठाभित्र यताउता डुलिरहेका सक्षम बाहिर निस्केलान् कि भनेर ध्यान पनि दिइरहन्थिन्।
म चुपचाप बबिता र बिमलाको आत्मीयता निहार्दै थिएँ।
बबिताले थपिन्, 'त्यसै पनि राम्ररी निदाउन कहाँ पाइन्छ र! यसो आँखा लाग्ला जस्तो हुन्छ, छोरा बाहिर खेल्न जाला कि, कसैले उसको घाँटीको पाइप तान्देला कि भन्ने तर्कनाले झस्किहाल्छु। त्यसैले आफूलाई निद्रा लागे उसलाई पनि सँगै सुताउँछु।'
यतिञ्जेलमा आमाको दूध खाएर अघाएकी छोरी हात माथि माथि लैजाँदै, खुट्टा बटार्दै हाँस्न थालेकी थिइन्।
कोठाको माहोल बिस्तारै सहज हुँदै थियो। झ्यालबाट छिरेका घामका रेखाले कोठाको अँध्यारो बिस्तारै चिर्दै थियो।
छोरीको खितखित हाँसो र छोराको घाँटीको पाइपबाट निस्केको स्वा... स्वा.. बीच बबिताले मेरो परिचय सोधिन्।
अनि भनिन्, 'ए मेरो कुरा पो सुन्न आउनुभएको? कति सुनाउनू! म त यी भित्तासँग आफ्ना दु:ख पोख्दा-पोख्दै थाकिसकेँ।'
बबिताले पटक पटक भित्तालाई पोखेका र अहिले मलाई सुनाइरहेका दु:ख अनेक छन्। सबभन्दा ठूलो दु:ख चाहिँ दुई सन्तानकै छ।
तीन महिनाकी सुत्केरी उनी भन्छिन्, 'दुई बच्चालाई च्यापेर दायाँ-बायाँ फर्किँदा फर्किँदै रात बित्छ। छोरी रातभर भोकले रून्छिन्। मेरो दूधले पुग्दैन। पौष्टिक खानेकुरा नखाएकाले दूध कम आएको भन्छन्, होला त!'

उसो त यहाँ होल्डिङ सेन्टरमा खानेकुराको दु:ख छैन। सबैले राम्रै खान पाइरहेका छन्। तर बिहान-बेलुकी दालभात र तरकारी पाइन्छ। दिउँसो चिया, बिस्कुट, चिउरा वा चाउचाउ खुवाइन्छ। तर यतिले सुत्केरी शरीरलाई पोषण पुग्दैन। अरूको खान्कीले सुत्केरी आमाको पेट त भरिन्छ, आँत भरिँदैन। आँत नभरिएसम्म आमाको दूध रसाउँदैन।
'यहाँ सबैलाई एउटै किसिमको खानेकुरा छ। म सुत्केरी हुँ भन्दै माग्न कहाँ जानु?' बबिताले गह्रुँगो आवाजमा भनिन्, 'छोरी दूध नपुगेर रून्छे। छोरा आँखाबाट ओझेल पर्नासाथ सास गयो कि भन्ने डर हुन्छ।'
यति भन्दै गर्दा उनका आँखा रसाएको प्रस्टै देखियो। उनले शिर माथि उठाएर आँखाका डिलबाट छचल्किन लागेका टिलपिल आँसु रोक्ने प्रयास गरिन्।
एकछिन अडिएर उनले अगाडि भनिन्, 'आफूले किनेर खान त हुन्थ्यो, तर साथमा एक रूपैयाँ छैन। श्रीमानले एक दिन कमाउनुभयो भने पैसा नसकेसम्म रक्सी खाएर बस्नुहुन्छ। यहाँ आएदेखि काम पनि खासै छैन। अलि अलि पैसाले बच्चाको डाइपर किन्न र उपचार खर्च त जुटाउनै सकेको छैन। यस्तोमा पौष्टिक खाना कसरी खानु?'
बबिताले जिन्दगीमा श्रीमानबाट पनि खासै सुख पाइनन्। दिनभरि साथीहरूसँग डुल्ने, राति रक्सी खाएर फर्किने, घुप्लुक्क सुत्ने, अनि बिहान उठेपछि घरबाट निस्किहाल्ने। छोराछोरी बिरामी परोस् वा अस्पताल लैजानुपर्ने होस्, उनलाई कुनै मतलब नभएको बबिता बताउँछिन्।
त्यही भएर घरको कामदेखि छोराछोरीको हेरचाहसम्म उनी एक्लैले गर्दै आएकी छन्। बल्खुमा बस्दा उनी सक्षमलाई बोकेरै अरूका घरमा काम गर्न जान्थिन्। त्यही पैसाले दुई छाक टर्थ्यो।
दोस्रो सन्तान गर्भमा रहेको थाहा पाएपछि उनले सक्षमलाई श्रीमानको गाउँ पठाइदिइन्। त्यहाँ सासू-ससुराले हेरचाह गरिदेलान् भन्ने आस थियो। तर एकदिन गाउँमा कसरी हो, विष खान पुगेछन्। उनलाई आलसतालस अवस्थामा उपचार गर्न काठमाडौं ल्याउनुपर्यो।
टिचिङ अस्पतालमा उपचार गर्दा गर्दै सक्षमले आफ्नो जीउमा जोडिएका उपकरणका तारहरू चुँडाइदिएछन्। त्यसपछि त उनको अवस्था झनै जटिल बन्यो।
सास फेर्नै गाह्रो परेपछि घाँटीमा प्वाल पारेर पाइप नै राख्नुपर्यो।
'त्यति बेला बाबुको सारा उपचार खर्च मेरो माइतीले गर्यो। रासनपानीदेखि अस्पतालसम्म सबै खर्च उतैबाट चल्यो,' उनले भनिन्, 'उसको उपचार अझै जारी छ। डाक्टरहरूले अपरेसन गरेर सास फेर्ने पाइप हटाउन सकिन्छ भनेका छन्। तर अपरेसन गर्नै दुई-तीन लाख रूपैयाँ लाग्ने रहेछ। त्यति पैसा कहाँबाट ल्याउनू!'
'पैसा भइदिएको भए तीन-चार महिनाअघि नै अपरेसन हुने थियो। पैसा नभएर बाबुको ज्यान जोखिममै छ। घाँटीमा पाइप जोडिएकाले पाँच वर्ष पुगिसक्दा पनि स्कुल पठाउन सकेको छैन। यहाँका अरू बच्चाहरू स्कुल जान्छन्। मेरो छोरालाई भने लैजान मानेनन्। बच्चाहरूले खेल्दाखेल्दै पाइप छोइदिए वा निकालिदिए भने ज्यान जान्छ भनेर सबै जना डराए। शिक्षकहरू डराएको देख्दा मलाई पनि हो कि जस्तो लाग्यो। त्यसैले आँखाबाट टाढा पठाउनै सकेकी छैन,' बबिताले एकै सासमा आफ्नो मनको गाँठो फुकाइन्।
मन रित्तिएर होला, अघिदेखि आँसुले भरिएका उनका आँखा पनि रित्ता भए!

हाम्रो कुराकानीकै बीच सक्षम कोठाभित्र खेलिरहेकै थिए।
खेल्दा खेल्दै अचानक खोक्न थाले। दुई-चार पटक खोकेपछि बबिताले उनलाई खाटमा बसालिन्। खाटको छेउमा राखिएको मेसिनबाट सानो पाइप निकालेर सक्षमको घाँटीमा जोडिन्।
मेसिन जोडसँग गर्जियो।
एकैछिनअघि हाँसिरहेको बच्चाको अनुहार बिग्रियो। आँखा रसाए। रून खोजेजस्तो गरे।
'खोकी लाग्नासाथ पाइपभित्र अड्किएको खकार निकाल्नुपर्छ, नत्र सास फेर्न गाह्रो हुन्छ,' उनले भनिन्, 'त्यही भएर पनि उसलाई याद गरिरहनुपर्छ। तीन-चार पटकभन्दा बढी खोक्नेबित्तिकै यो मेसिन जोडेर खकार सफा गरिहाल्नुपर्छ। बल्खुमा बस्दा त राति राति अस्पताल दौडाउनुपर्थ्यो।'
उनले थपिन्, 'यहाँ आएपछि एक जना म्यामले मेसिन नै ल्याइदिनुभयो। त्यसले अलि सजिलो भएको छ। उहाँ त मेरो लागि भगवानजस्तै हुनुहुन्छ।'
उनले आफ्नो छोराको स्वास्थ्य समस्याबारे धेरैका अगाडि बिन्ती बिसाइसकेकी छन्। केही दिनअघि होल्डिङ सेन्टर हेर्न आएकी सांसद आशिका तामाङलाई पनि आफ्ना दु:ख बिसाइन्।
'मलाई अरू केही चाहिँदैन,' उनले दुई हात जोड्दै भनेकी थिइन्, 'मेरो छोराको अपरेसन गरिदिनुस्, उसको घाँटीबाट यो पाइप हटाइदिनुस्, मलाई अरू केही चाहिँदैन।'
उनले यही कुरा हामीसँग पनि भनिन्।
'म तीन महिनाकी सुत्केरी छु। भोकले रोइरहेकी सानी छोरीलाई भुलाउँदैमा मेरो हरेक रात यसै कट्छ। तर मलाई थकाइ लाग्दैन। भोक लाग्दैन। निद्रा नपुगेजस्तो पनि लाग्दैन। मान्छेको ध्यान नै अन्त सोहोरिएपछि भोक, निद्रा, थकाइ केही नलाग्ने रहेछ। मेरो सारा ध्यान यी दुई जना सन्तानको सास जोगाउनमा सोहोरिएको छ,' यसो भन्दै गर्दा बबिताको स्वर थरथर कामिरहेको थियो।
लामो कुराकानीपछि छुट्टिने बेला पनि उनले यही भनिन्, 'यहाँ मलाई सब ठिक छ। पौष्टिक आहार नपाएकोमा पनि कुनै गुनासो छैन। बस्, मेरा यी छोराछोरीको ज्यान बचाउन सरकारले सहयोग गरिदियोस्!'
बबिताका कुराले उनका नयाँ अभिन्न साथी बिमला छततिर हेर्दै टोलाइरहेकी थिइन्।
घामको किरण मत्थर हुँदै गएको थियो। कोठा बिस्तारै अँध्यारोमा डुब्दै थियो।
तीन नम्बर भवनको कोठा नम्बर ३०२ बाट बाहिर निस्कँदा मेरो कानमा सक्षमको घाँटीमा जोडिएको पाइपको आवाज एकोहोरो बज्दै थियो —
स्वा... स्वा... स्वा...!
