अमेरिकी अखबार 'न्यूयोर्क टाइम्स' ले शुक्रबार एउटा नयाँ भिडिओ सार्वजनिक गर्यो।
लाङटाङको उच्च हिमाली भिरबाट हिमनदी र चट्टानी पहाडको विशाल भाग खसिरहेको देखिने त्यो भिडिओ भोटेकोशी–त्रिशूलीमा आएको विनाशकारी बाढीको कारण दर्शाउने एक महत्त्वपूर्ण दृश्य प्रमाण हो।
न्यूयोर्क टाइम्सका अनुसार २६ वर्षीय पर्यटक गाइड जिहा यिती र उनको पदयात्री टोलीले बुधबार बिहान उक्त भिडिओ खिचेका थिए।
उनीहरू तिब्बतस्थित एक दृश्य अवलोकन केन्द्र (अब्जर्भेसन डेक) तर्फ उकालो चढ्दै थिए, जहाँबाट सीमापारि नेपालतर्फका हिमाली शृंखला प्रस्ट देखिन्थे।
त्यस दिन बिहानको हुस्सु हटेपछि 'साङ्बु री' हिमालको मनमोहक चुचुरो र हिमनदी देखिएको थियो।
अब्जर्भेसन डेकमा पुगेर उनीहरूले आ–आफ्नो क्यामरा निकाले र फोटो/भिडिओ खिच्न थाले।
उनीहरूको ध्यान त्यहाँबाट देखिने नेपालतर्फको हिमशृंखलामा थियो, जुन लाङटाङ क्षेत्रमा पर्छ।
भिडिओ खिचिरहँदा ती पदयात्रीले नेपालतर्फको हिमाली भेगमा एकपछि अर्को ठूलो गर्जन सुने। सुरूमा उनीहरूले चट्याङ परेको भन्ठानेर बेवास्ता गरे। पछि तिब्बती समय अनुसार बिहानको ठिक १०:५० बजे त्यो भेगमा बम पड्केझैं ठूलो आवाज आयो।
'हिमालभित्रै बम विस्फोट गराइएजस्तै भयंकर ठूलो आवाज आएको थियो,' जिहालाई उद्धृत गर्दै न्यूयोर्क टाइम्सले लेखेको छ।
उनका अनुसार आवाज आएको केही मिनेटसम्म हिमपहिरोको भीषण गर्जनले त्यहाँको वातावरण थर्कमान भएको थियो।
उनीहरूले हिमपहिरो आउनुअघि र पछि खिचेका भिडिओ तुलना गर्दा लाङटाङको लिरूङ हिमालको उत्तरी भिरालो पाखामा रहेको विशाल हिमनदी र त्यसमुनिको चट्टानी पहाड कसरी खसेका थिए भन्ने प्रस्ट देखिन्छ।
त्यहाँ हिमनदीको एउटा भाग मात्र हराएको छैन, हिमनदी मुनि रहेको ठूलो चट्टानी भागसमेत गायब भएको छ।
भिडिओमा चट्टान, बरफ र धुलोको विशाल बादल खोँचतिर झरिरहेको देखिन्छ। सुरूमा एकचोटि फुटिसकेपछि पनि हिमनदी र बरफका टुक्रा खस्न रोकिएका छैनन्। ती लगातार खसिरहेकै देखिन्छन्।
चिनियाँ पदयात्रीहरूको टोलीले हिमनदीका साना–साना टुक्रा हिमालको भिरालो धरातलबाट लगातार तल खसिरहेको दृश्य क्यामरामा कैद गरेको छ।
उच्च हिमाली भेगको सुनसान ठाउँमा भएको हिमनदी परिवर्तनको त्यो घटनाले कति भयावह परिणाम ल्याउँदैछ भन्ने ती पदयात्रीहरूले सोचेका थिएनन्।
तर जसै उनीहरू तल ओर्लिए, उनीहरूलाई त्यसको परिणाम आकलन भयो।
उनीहरूले सडक अवरूद्ध भइरहेको देखे।
र, सँगसँगै सुने — हिमपहिरो र त्यसपछिको बाढीले पुर्याएको महाविनाशका खबरहरू।
त्यही टोलीका अर्का एक पदयात्रीले हिमनदी फुटे लगत्तैको क्षण क्यामरामा कैद गरेका थिए। उनले खिचेको भिडिओमा धूलो र भग्नावशेषहरू तीव्र गतिमा तल उपत्यकातर्फ बगिरहेको देखिन्छ।
न्यूयोर्क टाइम्सको भिडिओसहित पछिल्ला दुई दिनमा सार्वजनिक अरू नयाँ भिडिओ, भू–उपग्रह तस्बिर र वैज्ञानिक विश्लेषणहरूले यो विनाशकारी घटनाको सुरूआती केही मिनेटका चित्र पहिलेभन्दा छर्लंग भएका छन्।
न्यूयोर्क टाइम्सको भिडिओमा हामीले जे दृश्य देख्यौं, पछिल्ला भू–उपग्रह तस्बिर अध्ययन गरेका वैज्ञानिकहरूले पनि यही निष्कर्षतर्फ संकेत गरिरहेका छन् — त्यस दिन बिहान लाङटाङको लिरूङ हिमालको उत्तरी भिरालो पाखामा बरफ मात्र फुटेको थिएन, हिमनदीको विशाल भाग र त्यो हिमनदी मुनिको चट्टानी पहाडको ठूलो हिस्सा फुटेर तल खसेको थियो। (हामीले यसबारे हिजोको स्टोरीमा चर्चा गरेका छौं। हेर्नुहोस्: लाङटाङमा हिमनदी सहितको पहाड कसरी खस्यो? वैज्ञानिकहरू के भन्दै छन्?)
भिडिओमा देखिने दृश्य विपदको सुरूआत मात्र हो। त्यसपछि हिमनदी र चट्टानी पहाडको त्यो विशाल थुप्रोले के गर्यो?
नयाँ वैज्ञानिक विश्लेषणले देखाएको कथा झन् डरलाग्दो छ।
सात मिनेटमा २० किलोमिटर पार गरेर केरूङ सीमा क्षेत्रसम्म
चिनियाँ समाचार संस्था सिन्ह्वाले सार्वजनिक गरेको विज्ञहरूको प्रारम्भिक विश्लेषण अनुसार विपदको सुरूआत नेपालतर्फ करिब ५,२०० मिटर उचाइको उच्च हिमाली भिरबाट भएको थियो।
विभिन्न वैज्ञानिक विश्लेषणमा यो उचाइ केही फरक देखिएकाले यसलाई अन्तिम मापन मान्न सकिँदैन। तर घटनाको क्रम लगभग स्पष्ट हुँदै गएको छ।
त्यस दिन उच्च हिमाली भिरबाट खसेको हिमनदी र चट्टानी पहाडको विशाल भाग तीव्र गतिमा तल झर्यो।
त्यसले बाटोमा हिमनदीहरूले छाडेका ढुंगा, माटो र गेग्रान आफूसँगै बटुल्दै गयो। र, सुरूको हिम–चट्टानको पहिरो क्रमशः गेग्रानयुक्त तीव्र बहावमा परिणत भयो।
त्यही गेग्रानयुक्त बहाव ल्हेन्दे खोलामा मिसिएपछि त्यसमा पानीको ठूलो परिमाण थपियो, र त्यो झन् ठूलो लेदो–गेग्रानयुक्त बाढी बन्यो।
सिन्ह्वाले सार्वजनिक गरेको एनिमेसनमा यो सुरूआती घटनालाई तीन चरणमा देखाइएको छ — हिम–चट्टान भत्किएको, गेग्रानयुक्त तीव्र बहावमा बदलिएको, र खोलामा मिसिएर विशाल लेदो–बाढी बनेको।
चीनको प्राकृतिक स्रोत मन्त्रालय अन्तर्गतका विज्ञहरूको प्रारम्भिक विश्लेषण अनुसार लेदो र गेग्रानयुक्त बहावको गति प्रतिसेकेन्ड करिब ५० मिटरभन्दा बढी पुगेको थियो।
अर्थात्, एक घन्टामा १८० किलोमिटरभन्दा बढी।
चिनियाँ विश्लेषणले नेपालतर्फको उच्च हिमाली क्षेत्रबाट सुरू भएको बहावले २० किलोमिटरभन्दा बढी दूरी करिब ७ मिनेटमा पार गरेको देखाएको छ।
यो ७ मिनेटको अनुमान चिनियाँ विज्ञहरूको मात्र होइन। अमेरिकाको 'प्लानेटरी साइन्स इन्स्टिच्युट' का वरिष्ठ वैज्ञानिक जेफ्री कार्गेलले उपलब्ध भिडिओ, भू–उपग्रह तस्बिर र भूकम्पीय तथ्यांकका आधारमा गरेको छुट्टै विश्लेषणले पनि लगभग यही निष्कर्ष दिएको छ।
कार्गेलका अनुसार उक्त बाढीले सुरूको २२ किलोमिटर दूरी ६ मिनेट ५० सेकेन्डमा पार गरेको थियो। उनले यसको औसत गति प्रतिघन्टा करिब १९३ किलोमिटर आँकेका छन्।
दुवै विश्लेषणको विधि ठ्याक्कै एउटै छैन। त्यसैले १८० वा १९३ किलोमिटर प्रतिघन्टालाई अहिले नै अन्तिम वैज्ञानिक मापन मान्नु उचित हुँदैन।
तर दुई फरक विश्लेषणले एउटा ठूलो तथ्यमा लगभग एउटै चित्र दिएका छन् —
पहाडबाट खसेको विनाशले २० किलोमिटरभन्दा बढी दूरी पार गर्न एक घन्टा होइन, करिब ७ मिनेट मात्र लियो। र, त्यही ७ मिनेटभित्र रसुवागढी भन्सार नाका हुँदै नेपाल प्रवेश गर्यो।
हामीले बाढीको यो असाधारण गतिबारे त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागका सह–प्राध्यापक तथा हिमनदी विज्ञ सुदीप ठकुरीसँग पनि कुराकानी गरेका छौं।
'जुन ठाउँमा यो घटनाक्रमको सुरूआत भयो, त्यहाँबाट सीमानाका हुँदै भन्सारसम्म आइपुग्दाको गति हेर्दा बाढीको बहाव विश्वास गर्नै गाह्रो पर्छ। माथिल्लो भेगमा भुइँचालोको धक्का महसुस गरेको केही मिनेटमै रसुवागढीको भन्सार क्षेत्रसम्म बाढी आएर तहसनहस पारेको छ। टिमुरे लगायतका कतिपय उपत्यकामा चार मिनेटमै पानी भरिएको देखिन्छ। यसले पनि बाढी तीव्र गतिमा तल झरेको पुष्टि हुन्छ,' उनले सेतोपाटीसँग भने।
बाढीको यो असाधारण गतिका पछाडि उचाइ र गुरूत्वाकर्षण मुख्य कारण रहेको उनले औंल्याएका छन्।
'यो घटनाको सुरूआत ५ हजार मिटरभन्दा बढी उचाइमा भएको छ। बाटो जति धेरै ठाडो वा भिरालो भयो, बाढीको गति त्यति नै तीव्र हुन्छ,' ठकुरीले भने, 'पानीको आयतन र त्यसमा मिसिने विभिन्न पदार्थले सिर्जना गर्ने दबाबले पनि गति बढाउँछ।'
उनका अनुसार सुरूको गति जति धेरै छ, त्यो गति तल्लो भेगमा आइपुग्दा कम भएको छ र अझ तल झर्दा झन् कम भएको छ। यसले पनि सुरूआती गति तीव्र हुनुका पछाडि उचाइ नै एउटा मुख्य कारण देखिने उनको भनाइ छ।
वातावरण तथा जलवायु परिवर्तनमा अध्ययन गर्ने 'ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज' का संस्थापक निर्देशक उत्तमबाबु श्रेष्ठले बाढीको यो गतिलाई 'बुलेट ट्रेनको स्पिड' सँग दाँजेका छन्।
'ल्हेन्दे नदीको मुहानमाथि नेपाली समय अनुसार ८:३७ मा हिउँ, चट्टान र लेदोसहितको पहिरो गएको देखिन्छ। त्यो बाढी नेपाल–चीन सीमाको केरूङ पुग्दा नेपाली समय ८:४४ थियो। अर्थात्, सात मिनेटमा त्यो बाढी उत्पत्ति स्थानबाट करिब २२ किलोमिटर पार गरेर त्यहाँ पुगेको छ। भनेपछि त्यो बाढीको गति १८८ किलोमिटर प्रतिघन्टा छ। मानौं त्यो कुनै 'बुलेट ट्रेन' हो!' उनले फेसबुकमा लेखेका छन्।
उनका अनुसार सामान्यतया नेपालमा नदीको गति औसत १८ किलोमिटर प्रतिघन्टा हुन्छ। वर्षातको सिजनमा त्यो ५४ देखि ७२ किलोमिटर प्रतिघन्टा हुन्छ।
माथि खसेको पहिरो तल जाँदा किन झन् ठूलो भयो?
भोटेकोशी–त्रिशूली बाढीको अर्को ठूलो प्रश्न यही हो।
हिमनदी र चट्टानी पहाड त खस्यो, तर त्यसबाट यति विशाल पानी, हिलो, ढुंगा र गेग्रानको बाढी कसरी बन्यो?
इसिमोडका हिममण्डल विज्ञ मोहम्मद फारूक आजमले 'काठमाडौं पोस्ट' सँग गरेको प्रारम्भिक अनुमान अनुसार सुरूमा खसेको हिम–चट्टानको परिमाण १० देखि २० करोड घनमिटरसम्म हुनसक्छ।
यसको वास्तविक परिमाण थप विस्तृत अध्ययनपछि मात्र यकिन हुनेछ। तर वैज्ञानिक विश्लेषणले एउटा कुरा स्पष्ट बनाउँदै छ — माथि लिरूङ हिमालको उत्तरी पाखामा खसेको हिमनदी र चट्टानी पहाड मात्र तलसम्म पुगेको थिएन। बहाव तल बग्दै गर्दा त्यो आफै ठूलो हुँदै गएको थियो।
कार्गेलको विश्लेषण अनुसार ठूलो उचाइबाट खसेको बरफ, पानी, लेदो र चट्टानयुक्त पदार्थ नागबेली गर्दै तीव्र गतिमा तल झर्दा त्यसमा रहेका केही बरफ बाटोमै पग्लिए। चट्टान र बरफ पहाडको खोँचमा ठोक्किए। तिनले बाटोमा पर्ने ढुंगा, माटो र पुराना हिमनदीले छाडेका गेग्रानहरूलाई आफूसँगै मिसाए।
यसरी विभिन्न पदार्थ मिसिएर बढ्दै गएको बहावमा पहिले लहेन्दे खोला र त्यसपछि भोटेकोशी–त्रिशूलीको पानी पनि थपियो।
यसले बाढीको परिमाण र वेग झन् ठूलो भयो। त्यही वेगका कारण नदीका किनार र सतहबाट थप माटो तथा ढुंगा बगाउन थाले।
हिमनदी विज्ञ सुदीप ठकुरी पनि बरफ र चट्टानी पहाड खसेर तल झर्ने क्रममा पानी, माटो, रूखबिरूवा लगायत पुराना हिमनदीले छाडेका अवशेषहरू पनि सँगसँगै बगेकाले बाढीको परिमाण ठूलो हुँदै गएको बताउँछन्।
त्यसैबीच माथिबाट खसेका बरफका ठुल्ठूला टुक्रा पग्लिनुका साथै बाटोमा पर्ने ठुल्ठूला चट्टानलाई काटेर आफूसँगै बगाउनुले पनि बाढीको परिमाण ठूलो भएको उनको भनाइ छ।
कार्गेलले यो घटनाको एउटा विशेषता औंल्याएका छन् — बहाव तल जाँदै गर्दा कमजोर मात्र भएन, केही चरणमा झन् ठूलो हुँदै गयो।
युनिभर्सिटी अफ रिडिङकी प्राध्यापक मारिया साहगेदानोभा र सम्बन्धित वैज्ञानिकहरूको पछिल्लो विश्लेषणले अर्को महत्त्वपूर्ण कुरा देखाएको छ।
उनीहरूका अनुसार सन् २०२५ को पुरेपु हिमताल बाढीले यही खोँचमा ठूलो परिमाणमा गेग्रान थुपारेको थियो। यसपालि तल झरेको हिम–चट्टानको बहावले ती पुराना गेग्रानसमेत आफूसँग मिसाएको हुनसक्ने उनीहरूको अनुमान छ।
यसले बुधबारको बाढीमा यति धेरै गेग्रान कहाँबाट आयो भन्ने प्रश्नको एउटा सम्भावित उत्तर दिन्छ।
त्यस्तै, अहिलेसम्मको अनुसन्धान र विश्लेषणले बाढीको सम्पूर्ण पानी कुनै पुरानो विशाल हिमताल फुटेर आएको देखाउँदैन। बरू यो बाढीमा हिमनदी, बरफ, पग्लिएको पानी, खोलामा पहिले नै रहेको पानी र बाटोभरि थपिँदै गएको माटो–गेग्रान मिसिएको देखिन्छ।
तर पानीको सम्पूर्ण स्रोत र परिमाण अझै वैज्ञानिक अनुसन्धानकै विषय हो।

नदी केही समय थुनिएको थियो?
उत्तरी सिरानदेखि तलसम्म भएका यी घटनाक्रमको बीचमा अर्को एउटा महत्त्वपूर्ण प्रक्रिया भएको हुनसक्छ – विशाल हिम–चट्टान खोँचमा पुगेपछि त्यसले नदी केही समय थुन्यो कि?
साहगेदानोभा र सम्बन्धित वैज्ञानिकहरूको पछिल्लो विश्लेषणले यही सम्भावना देखाएको छ।
उनीहरूका अनुसार लाङटाङ क्षेत्रबाट खसेको विशाल चट्टान, बरफ र गेग्रान खोँचमा पुगेपछि पुरेपु बाढीले पहिले थुपारेको पदार्थसँग मिसियो। त्यसले नदी केही समय अवरूद्ध गरेको हुनसक्छ।
यसरी बनेको अस्थायी प्राकृतिक बाँधका कारण पानी केही समय जम्मा भएको र पछि त्यो बाँध कमजोर हुँदा पानी र गेग्रान तीव्र गतिमा एकैचोटि तलतिर बगेको हुनसक्ने उनीहरूको अनुमान छ।
यो अनुमान पुष्टि भयो भने बुधबारको बाढी किन एकाएक अत्यन्त ठूलो भयो भन्ने बुझ्न महत्त्वपूर्ण प्रमाण हुनेछ। तर यसलाई अहिले नै अन्तिम निष्कर्ष भन्न मिल्दैन।
अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले पनि आफ्नो प्रारम्भिक विवरणमा यो अस्थायी बाँध फुट्ने प्रक्रियालाई घटनाको स्थापित मुख्य कारण भनेको छैन।
हामीले यसबारे हिमनदी विज्ञ सुदीप ठकुरीलाई सोध्दा उनले पनि बुधबारको घटनामा नदी थुनिएको थियो कि थिएन यकिन भन्न नसकिने बताए।
'माथिल्लो भेगमा भुइँचालोको कम्पन महसुस भएको केही मिनेटमै जसरी बाढी तल आइपुगेको छ, त्यो हेर्दा नदी थुनिएर ताल बनेको थियो भन्ने अनुमान पुष्टि हुँदैन। किनभने, ताल बन्ने र फेरि फुट्ने प्रक्रियाका लागि केही समय त लाग्छ। तर यहाँ त्यति समयको अन्तर छैन। हिमनदी र पहाड खसेको केही मिनेटमै बाढी आएको छ,' उनले भने।
यसबारे यकिन भन्न थप अध्ययन गर्नुपर्ने उनको भनाइ छ।
त्यसैले अहिलेलाई यति मात्र भन्न सुरक्षित हुन्छ —
हिमनदी र चट्टानी पहाड खस्यो, त्यसले बाटोमा ठूलो परिमाणका पदार्थहरू आफूसँग मिसायो, नदीमा प्रवेश गर्यो र त्यसपछि बहाव झन् ठूलो बन्यो।
सात मिनेटको विपद त्यहीँ सकिएन, दुइटा ताल बनायो
नयाँ भू–उपग्रह तस्बिरहरूले अर्को महत्त्वपूर्ण कुरा देखाएका छन् — पहाड खस्यो, बाढी तल गयो, तर त्यसले माथिको नदी प्रणालीलाई पुरानै अवस्थामा छाडेन।
हिम–चट्टान र गेग्रानले खोलाको बाटो मात्र थुनेन, त्यसको दिशा नै परिवर्तन गरिदिए।
पछिल्ला भू–उपग्रह तस्बिरमा कम्तिमा दुई नयाँ ताल वा जलाशय देखिएका छन्।
यी दुवैलाई पुरानै अर्थमा 'हिमताल' भन्नु उचित हुँदैन। किनभने, तीमध्ये कम्तिमा एउटा हिम–चट्टान र गेग्रानले नदी थुनेपछि बनेको प्राकृतिक बाँधको ताल हो।
अन्तर्राष्ट्रिय समाचार संस्था 'रोयटर्स' का अनुसार नेपालले शुक्रबारसम्म बाढीको स्रोत क्षेत्र आसपास बनेका दुईवटा जलाशय निगरानी गरिरहेको थियो। तीमध्ये एउटा ताल बिहीबार चिनियाँ टोलीले खिचेको हवाई दृश्यमा पनि देखिएको थियो।
उक्त दृश्यमा ठूलो परिमाणको धमिलो पानी प्राकृतिक बाँधको पछाडि जम्मा भइरहेको देखिन्थ्यो।
शुक्रबार प्राप्त भू–उपग्रह तस्बिरमा त्यही तालबाट पानी बाहिरिन थालेको देखियो।
तर त्यही समयमा अर्को माथिल्लो जलाशयको अवस्था फरक थियो।
रोयटर्सका अनुसार त्यो जलाशयको क्षेत्रफल पहिलोभन्दा ठूलो देखिएको थियो। शुक्रबार बिहानसम्म त्यसको स्पष्ट निकास देखिएको थिएन। बरू पानीको क्षेत्र बढिरहेको थियो।
यही कारणले त्यस क्षेत्रको जोखिम समाप्त भएको छैन भन्ने चिन्ता बढाएको थियो।
नेपाली भूगोलविद नितेश खड्काले पनि ड्रोन र भू–उपग्रह तस्बिरमा दुईवटा नयाँ ताल देखिएको बताएका छन्। उनका अनुसार, एउटा ताल माथिल्लो क्षेत्रमा पानी जम्मा भएर बनेको हो भने अर्को नदी गेग्रानले थुनिएपछि बनेको प्राकृतिक ताल हो।
न्यूयोर्क टाइम्सले सार्वजनिक गरेको पछिल्लो भिडिओमा पनि हिमनदी र चट्टानी पहाड खसेपछि माथिल्लो भूभागमा पानी जम्मा भएको नयाँ क्षेत्र देखाइएको छ।
अस्टिन लर्ड लगायत वैज्ञानिकहरूले पनि सुरूमा हिम–चट्टान खसेर प्रभावित भएको क्षेत्र नजिकै नयाँ पानीको भाग बढिरहेको देखेका थिए। लर्डले न्यूयोर्क टाइम्ससँग त्यो जलाशयको आकार बढिरहेको र भविष्यमा त्यसको पानी माथिबाट चुहिन वा त्यसलाई थुनेको प्राकृतिक बाँध कमजोर भएर फुट्न सक्ने बताएका छन्।
यसले एउटा महत्त्वपूर्ण तथ्य देखाउँछ — बुधबार बिहानको सुरूआती सात मिनेटले तल्लो भेगमा विनाशकारी बाढी मात्र ल्याएन, त्यसले माथिल्लो हिमाली भूगोल नै फेरिदियो। नदीको बाटो पनि फेरियो।
कतै गेग्रान थुप्रियो। कतै पानी थुनियो।
र, नयाँ ताल पनि बने।

प्राकृतिक बाँधको तालमा २० लाखभन्दा बढी घनमिटर पानी
चीनको जलस्रोत मन्त्रालयले एउटा ठूलो प्राकृतिक बाँधको ताललाई विशेष निगरानीमा राखेको छ।
चिनियाँ अधिकारीहरूको प्रारम्भिक मापन अनुसार बिहीबार त्यसमा करिब १५ देखि २० लाख घनमिटर पानी जम्मा भएको थियो। अर्को तीन दिनमा थप करिब ३० लाख घनमिटर पानी त्यसमा जम्मा हुनसक्ने अनुमान पनि गरिएको थियो।
शुक्रबारसम्म तालमा २५ लाख घनमिटरभन्दा बढी पानी पुगेको चिनियाँ सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै रोयटर्सले जनाएको छ।
तर त्यसै दिन तालबाट पानी बाहिरिन पनि सुरू भयो।
पानी बाहिरिने क्रम बढेपछि बाढी प्रभावित क्षेत्रमा जारी उद्धार कार्य केही समय रोकिएको थियो, जुन पछि फेरि सुरू गरियो।
अर्थात्, प्राकृतिक बाँधले बनेको एउटा तालमा पानी जम्मा हुने मात्र होइन, त्यसको निकास प्रक्रिया पनि सुरू भइसकेको देखिन्छ।
तर यही कारणले जोखिम पूर्ण रूपमा सकियो भन्ने अवस्था छैन। किनभने, अर्को माथिल्लो जलाशयको निकास स्पष्ट भइसकेको छैन।
शनिबारसम्म आइपुग्दा भने प्राकृतिक बाँधले बनेको पहिलो तालको जोखिम केही घटेको देखिएको छ। रोयटर्सले शनिबार साँझ प्रकाशन गरेको नयाँ रिपोर्टमा नेपाल–चीन सीमा नजिकै हिमनदी भत्किएर बनेको अस्थायी तालको आकार घट्दै गएको उल्लेख गरेको छ। यसले बाढीको जोखिम कम भएको चिनियाँ अधिकारीहरूले बताएका छन्।
बिहीबारदेखि शनिबार बिहानसम्मका स्याटलाइट तस्बिरहरूका आधारमा चिनियाँ सरकारी प्रसारण संस्था 'सिसिटिभी' ले जलस्रोत मन्त्रालयलाई उद्धृत गर्दै भनेको छ, 'चीनको तिब्बत क्षेत्र र नेपालको सीमामा पर्ने दुई नदीको संगमस्थलमा बनेको उक्त तालको पानी बिस्तारै बाहिर बगिरहेको र जलाशय घट्दै गएको छ।'
शनिबार दिउँसोसम्म तालको पिँधको केही भाग देखिन थालेको सिसिटिभीले जनाएको छ।
चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार पुरेपु साङ्पो नदीमा बनेको उक्त ताल शनिबार बिहानसम्म करिब ९९ हजार वर्गमिटर (करिब १४ वटा फुटबल मैदान जत्तिकै) क्षेत्रफलमा फैलिएको थियो, जुन बिहीबारको तुलनामा २१ हजार वर्गमिटर कम हो।
यसरी तालको पानी क्रमशः बाहिरिइरहेकाले तत्काल बाँध फुट्ने जोखिम कम भएको चिनियाँ अधिकारीहरूको आकलन छ।
तर हिमनदी खसेको क्षेत्रको फेदीमा रहेको अर्को ठूलो जलाशय र आसपासको अस्थिर भूभागका कारण दोस्रो तहका विपदको जोखिम कायमै छ।
हामीले नयाँ ताल बनेको विषयमा पनि हिमनदी विज्ञ सुदीप ठकुरीसँग कुरा गर्यौं। उनले माथिबाट झरेका बरफ र चट्टान तल खोलामा आइपुगेपछि त्यसले खोलाको बहाव थुनेर दुईवटा नयाँ ताल बनेको बताए।
'यस्तो घटनामा बरफ र चट्टानका विशाल खण्डहरू कुनै खोलाको बहावसँगै बगेर अगाडि जान्छन् भने कुनैले खोलाका विभिन्न भागलाई थुनेर अस्थायी प्रकृतिका ताल बनाइदिन्छन्,' ठकुरीले सेतोपाटीसँग भने, 'बुधबार बिहानको घटनामा दुईवटा नयाँ ताल बनेको स्याटलाइट तस्बिरहरूबाट देखिएको छ।'
'के यी तालहरू जोखिमयुक्त छन्?'
हाम्रो यो प्रश्नमा ठकुरीले भने, 'नदी थुनिएर बनेका ती तालको पानी जबसम्म बगेर जाँदैन, तबसम्म त्यसलाई जोखिमयुक्त नै मान्नुपर्छ। किनभने, त्यसले थुनेको प्राकृतिक बाँधको संरचना एकदमै कमजोर छ। माथिबाट खसेका बरफ र चट्टानहरू थुप्रिएर बाँध बनेकाले त्यसको पकड त्यति मजबुत हुँदैन। कुनै पनि बेला त्यो फुट्न सक्छ।'
पानीको रङ बदलिएको भन्दै चीनले दिएको सूचनाको अर्थ
शुक्रबार राति चीनबाट नेपालले अर्को सूचना पायो।
चीनले ल्हेन्दे खोलामाथि बनेको तालको रङ गाढा हुँदै गएकाले कुनै पनि बेला फुट्न सक्ने सन्देश परराष्ट्र मन्त्रालयलाई दिएको थियो।
'अस्तिदेखि बनिरहेको तालको रङ गाढा हुँदै गएको छ। अर्थात् यो फुट्न सक्छ,' चीनले पठाएको सन्देश उद्धृत गर्दै परराष्ट्र मन्त्रालय स्रोतले भन्यो, 'पानीको मात्रा ठूलो नभएकाले तल्लो तटीय क्षेत्रको खोलामा पानीको बहाव थोरै बढ्न सक्छ। तर ठूलो हुने सम्भावना छैन। तल्लो तटीय क्षेत्रका समुदायहरूले सावधानी अपनाउनु उत्तम हुन्छ।'
यहाँ विशेष गरी पानीको रङ गाढा हुँदै गएको उल्लेख गर्दै चीनले त्यसलाई सम्भावित थप बहाव वा प्राकृतिक बाँधमा भइरहेको परिवर्तनको संकेतका रूपमा हेरेर नेपालतर्फ सतर्कता अपनाउन भनेको हो।
तर यसमा एउटा महत्त्वपूर्ण वैज्ञानिक सावधानी आवश्यक छ — पानीको रङ गाढा हुँदै जानु मात्र ताल फुट्न लागेको निश्चित प्रमाण होइन।
पानीमा थप माटो–गेग्रान मिसिनु, नयाँ बहाव आउनु, बाँधको केही भाग क्षय हुनु वा अन्य कारणले पनि पानीको रङ बदलिन सक्छ।
त्यसैले चीनले रङ परिवर्तनलाई आफ्नो जोखिम मूल्यांकनको एउटा संकेतका रूपमा लिएको बुझ्न सकिन्छ। तर 'रङ गाढा भयो, त्यसैले ताल फुट्दैछ' भन्ने निष्कर्ष निकाल्न मिल्दैन।

फेरि खस्यो ५० हजार घनमिटर बरफ
यो भूभाग अझै स्थिर नभएको अर्को संकेत शुक्रबार देखियो।
चिनियाँ सैनिक ड्रोन टोलीको निगरानीमा प्राकृतिक बाँधको ताल आसपासको क्षेत्रतर्फ अर्को हिम–चट्टानी पहिरो गएको सिन्ह्वाले जनाएको छ।
चिनियाँ अनुमान अनुसार त्यसबाट करिब ५० हजार घनमिटर बरफ तथा गेग्रान ताल आसपास थपिएको थियो। त्यसपछि सम्बन्धित क्षेत्रमा फेरि जोखिम चेतावनी जारी गरिएको थियो।
यो तथ्य महत्त्वपूर्ण छ। किनभने, बुधबारको ठूलो पहिरोपछि पहाड तुरून्त स्थिर भएको छैन। मुख्य हिम–चट्टान भत्किएपछि पनि वरिपरिको कमजोर भूभागबाट थप बरफ र चट्टान खस्ने क्रम जारी रहन सक्छ। यसले बनेका प्राकृतिक बाँध र नयाँ जलाशयको अवस्था पनि फेरिरहन सक्छ।
त्यही कारण चिनियाँ टोलीले ड्रोनबाट बारम्बार उक्त क्षेत्र निगरानी गरिरहेको छ।
सिन्ह्वाको स्थलगत रिपोर्ट अनुसार केही ठाउँमा पहाडबाट लगातार ढुंगा खसिरहेका थिए। ताल र प्राकृतिक बाँधको अवस्था हेर्न ड्रोन करिब आधा–आधा घन्टामा उडाइएको थियो।
सात मिनेटमा आखिर के–के भयो?
अहिलेसम्म सार्वजनिक भिडिओ, भू–उपग्रह तस्बिर र वैज्ञानिक विश्लेषणलाई क्रमैसँग राख्दा सुरूआती घटना लगभग यस्तो देखिन्छ —
सबभन्दा पहिले लाङटाङ हिमाली क्षेत्रको उच्च भिरबाट पहाडको चट्टानी भाग र हिमनदी खस्यो।
चट्टान, बरफ र हिमनदी तीव्र गतिमा तल झरे।
बाटोमा माटो, ढुंगा र हिमनदीजन्य गेग्रान आफूसँग मिसाए।
यसले छोटो समयमै विशाल गेग्रानयुक्त बहाव बन्यो।
चिनियाँ र अमेरिकी वैज्ञानिकहरूको छुट्टाछुट्टै विश्लेषण अनुसार त्यसले २० किलोमिटरभन्दा बढी दूरी करिब ७ मिनेटमा पार गर्यो।
नदीमा पुगेपछि पानी र थप गेग्रान मिसिए।
बहाव झन् ठूलो भयो।
एक वैज्ञानिक अनुमान अनुसार बीचमा नदी केही समय थुनिएको र त्यसपछि त्यहाँ जम्मा भएको पानी बगेको पनि हुनसक्छ।
त्यसपछि बहाव ल्हेन्दे–भोटेकोशी हुँदै तलतिर दौडियो।
युएसजिएसका अनुसार प्रारम्भिक हिम–चट्टानको बहाव र त्यसबाट उत्पन्न बाढीको प्रभाव करिब १०० किलोमिटर तलसम्म फैलियो।
तर ती ७ मिनेटको सबभन्दा महत्त्वपूर्ण परिणाम बाढी तल पुगेर मात्र सकिएन। त्यो बहावले माथिको भूगोल नै परिवर्तन गरिदियो।
नदी थुनियो।
गेग्रानको नयाँ बाँध बन्यो।
कम्तिमा दुई नयाँ ताल बने। तीमध्ये एउटा तालबाट पानी बाहिरिएर शनिबारसम्म त्यसको आकार घटेको र तत्काल फुट्ने जोखिम केही कम भएको छ। तर अर्को माथिल्लो जलाशय र वरिपरिको अस्थिर भूभागको जोखिम अझै बाँकी छ।
यति मात्र होइन, त्यस क्षेत्रका पहाडबाट थप बरफ र चट्टान खस्ने क्रमसमेत देखिएका छन्।
त्यसैले लाङटाङमा पहाड र हिमनदी खसेपछिको '७ मिनेट' वास्तवमा ७ मिनेटमै सकिएको कथा होइन। त्यो ७ मिनेटले कयौं वर्षसम्म मेटिन नसक्ने मानवीय पीडा र भौतिक क्षति छाडेर गएको छ।
सँगसँगै, त्यही '७ मिनेट' ले बनाएका दुई नयाँ ताल र त्यस वरिपरिको अस्थिर पहाडले हामीलाई विपदको जोखिम अझै पूर्ण रूपमा सकिएको छैन भन्ने पनि सम्झाइरहेका छन्।
***
सम्पादकीय नोट — यो स्टोरीमा प्रयोग भएका कतिपय सामग्री खोज्न, व्यवस्थित गर्न र प्रारम्भिक मस्यौदा विकास गर्न एआई प्रयोग गरिएको छ। यसमा प्रयोग गरिएका तथ्य, दाबी र व्याख्या उपलब्ध प्राथमिक तथा विश्वसनीय स्रोतसँग पुनः जाँचिएका छन्। यो स्टोरीको अन्तिम लेखन र सम्पादन सेतोपाटी सम्पादकीय टिमको हो र यसको सम्पूर्ण जिम्मेवारी हाम्रै रहनेछ।