भदौ १० गतेको विनाशकारी बाढीले रसुवा, नुवाकोट र धादिङका केही पुराना गुल्जार बजारलाई बगरमा परिणत गरिदियो। क्षणभरमै खण्डहर बनेका ती बजार अब पुरानै ठाउँमा पुनर्स्थापित हुन सक्ला कि नसक्ला भन्ने गम्भीर प्रश्न खडा भएको छ।
लेदोसहित आएको बाढीले बगरमा परिणत गरिदिएका ठाउँमा बस्ती पुनर्स्थापना गर्नु भौगोलिक रूपले कति जटिल हो भन्ने पनि चासोको विषय बनेको छ।
बाढीको बितन्डाका कारण त्रिशूली किनारमा रहेका मानव बस्ती जगैदेखि सखाप भएका छन्। नदी किनारमा रहेका टिमुरे, स्याफ्रुबेसी, त्रिशूली बजार, तल्लो ढुंगे र बेत्रावतीका बस्ती व्यापक डुबान तथा कटानमा परेका छन्। बाढीको भीषण बहावले कतिपय ठाउँमा नदीको धार नै बदलिदिएको छ। यसले पनि घना मानव बस्ती भएका यी बजारको पुनर्स्थापनालाई चासोका साथ हेरिएको हो।
बाढीले पुर्याएको कुल क्षतिको विस्तृत मूल्यांकन भइसकेको छैन। तर लेदो र गेग्रान भरिएका यी बस्तीमा पुनः बस्ती बस्न सक्नेमा ठूलो शंका पैदा गरिदिएको छ।
सबभन्दा पहिला त्रिशूली बजारकै कुरा गरौं।
नुवाकोट जिल्लाकै सबभन्दा ठूलो र चल्तीको त्रिशूली बजारलाई यो बाढीले जुन अनुपातमा क्षति पुर्यायो, त्यसले यो बजार फेरि पहिलेकै लयमा फर्कन सक्छ कि सक्दैन भन्ने प्रश्न छ।
हामीले त्रिशूलीका स्थानीय जनप्रतिनिधि र स्थानीय बासिन्दासँग कुरा गर्दा त्रिशूली बजारको नदी किनारमा रहेको भाग पूरै लेदो भरिएर बगर बनेको छ। भिरालो सतहबाट तीव्र गतिमा बग्दै आएको नदीले त्रिशूली बजारमा व्यापक कटान र क्षति पुर्याएको छ।
नदीको तीव्र बहाव र अत्यधिक पानीका कारण भिरालो क्षेत्रबाट कटान गरी ल्याएका ढुंगा, लेदो र भग्नावशेषहरू यहाँ थुप्रिएका छन्। यसरी नदीले संरचना भत्काउने र पुर्ने दुवै काम एकैसाथ गरेको देखिन्छ।
विदुर नगरपालिका-१ का स्थानीय रमेश बस्नेतका अनुसार नदीको वारि र पारि रहेका त्रिशूली बजार र तल्लो ढुंगे बजार दुवैतर्फ ठूलो क्षति पुगेको छ। यी दुवै बजारमा कुनै पनि घर सग्लो अवस्थामा छैन। नदी किनारकै तल्लो त्रिशूली बजार त केही पनि बाँकी छैन भने अलि उचाइमा रहेको माथिल्लो बजार (पुरानो त्रिशूली) पनि आधा भागमा क्षति पुगेको छ।
'बाढीले बगाएर ल्याएको लेदो र हिलो १०० देखि ३०० मिटर माथि रहेको सडक सतहसम्म थुप्रिएको देखिन्छ,' उनले भने।
त्रिशूली र ढुंगे बजार रहेको विदुर नगरपालिका वडा नम्बर १ का अध्यक्ष लेनिन रञ्जित पनि नदी छेउमा बालुवा र ढुंगा भरिएकाले बस्ती पुनर्स्थापना कठिन देखिने बताउँछन्।
'अहिलेको अवस्था त बिजोगै छ। नदीले पहिलेको किनार नाघेर बस्तीलाई भत्काउँदै सडक पारिको भित्तासम्म बगर बनाइदिएको छ,' उनले सेतोपाटीसँग भने, 'नदी किनारका संरचनाहरू कहाँ थिए भनेर चिन्नै नसकिने स्थिति छ। त्रिभुवन त्रिशूली माध्यमिक विद्यालय कहाँ थियो भन्ने नै देखिने अवस्था छैन।'
यो क्षति हेर्दा बालुवा र लेदो भरिएको ठाउँ कहाँसम्म प्रयोग गर्न सकिएला भनेर अहिले नै भन्न नसकिने उनले बताए।
'तर पुरानो बस्ती हो, भौगोलिक रूपले कठिन भए पनि स्थानीयसँग विकल्प छैन। नदी किनारभन्दा माथिल्लो क्षेत्रमा जमिनको सतहबाट बालुवा र लेदो निकालेर बस्ती पुनर्स्थापना गर्न सकिन्छ भन्ने मलाई लाग्छ,' उनले भने।
त्रिशूली बजार नेपालको ऐतिहासिक र पुरानो व्यापारिक केन्द्र हो। तिब्बत र नेपालबीचको मुख्य व्यापारिक मार्गका रूपमा विकास भएको यो बजार पृथ्वीनारायण शाहले नेपाल एकीकरण गर्नुअघि नै भोट व्यापारको प्रमुख केन्द्र थियो।
व्यापारकै सिलसिलामा काठमाडौं उपत्यकाका नेवार समुदायका व्यापारीहरू त्रिशूली झरेका थिए। त्रिशूली बजारमा रहेको बाक्लो नेवार बस्ती त्यति बेला नै बसेको मानिन्छ। काठमाडौं उपत्यकाबाट बसाइँ सरेका नेवारहरूको 'साँघु बजार' का नामले समेत चिनिने ऐतिहासिक त्रिशूली बजार तत्कालीन समय धादिङ, नुवाकोट र रसुवाको प्रमुख साझा बजार थियो।
जसरी काठमाडौं उपत्यकाका प्रमुख नेवार बस्तीहरू डाँडाको टुप्पोमा गुजमुज्ज परेर बसेका छन्, पुरानो त्रिशूली बजार पनि डाँडाको माथि गुजमुज्ज परेको छ। नदी किनारमा सडक बनेपछि बस्ती पनि सडक पछ्याउँदै तल सरेको देखिन्छ। तर नदी किनारको बस्ती पनि आफैमा दशकौं पुरानो हो।
त्रिशूलीको मूल बजार नदीको वारिपारि नै विकास भएको छ। बाढीले पुल र सडक छेउका बस्ती पूर्ण रूपमा सखाप पारिदिएपछि उनीहरूको पुनर्स्थापना अन्यौलपूर्ण बनेको छ।
त्रिशूलीपछि कुरा गरौं, रसुवागढीदेखि बेत्रावतीसम्मको।
नेपाल-चीन सीमा नाकामा रहेको रसुवागढी क्षेत्र आफैमा मानव बसोबासका लागि अनुकूल ठाउँ थिएन। नाकाबाट करिब ३ किलोमिटर तल टिमुरे क्षेत्रमा मात्र केही सानो समथर जमिन थियो।
त्यहीँ करिब ८ हेक्टर क्षेत्रफलमा फैलिएको टिमुरेमा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट, बैंक, होटल र भन्सार यार्डजस्ता महत्त्वपूर्ण संरचनाहरू सञ्चालित थिए। नाकाका लागि टिमुरे नै सबथोक थियो।
तर बाढीपछि टिमुरेका केही घरका ढलान मात्र तस्बिर र भिडिओमा देख्न सकिने अवस्थामा छन्। बाँकी सबै संरचना पूर्ण रूपमा ध्वस्त भएका छन्।
टिमुरेबाट धुन्चेतर्फ आउँदा दोस्रो मुख्य मानव बस्ती स्याफ्रुबेसी हो। लाङटाङ पदयात्रामा जाने पर्यटकहरूका लागि सुरूआती विन्दु मानिने यो ठाउँ लाङटाङ खोला र त्रिशूलीको संगमस्थल भएकाले यसको खोच केही फराकिलो थियो।
समथर जमिन नभई पाटापाटा परेको भिरालो भूबनोट रहेको यो बस्तीमा बाढीले भीषण कटान गरेको छ। बाढीले खोचमा रहेका बस्ती बगाएको छ भने माथिल्लो भागमा रहेका केही घर मात्र सुरक्षित देखिएका छन्।
त्यस्तै, तल्लो तटीय क्षेत्रमा पर्ने अर्को बजार बेत्रावती पनि त्रिशूली बजारजस्तै बाढीले ल्याएको लेदोले भरिएको छ। यहाँ पनि नदी किनारको बजार पूरै बगरमा परिणत भएको छ।
उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्यालका अनुसार २०७२ को भूकम्पपछि विस्थापित भई बेत्रावती बजार क्षेत्र, कैदलेटार र पैरेबेसीमा विगत ११ वर्षदेखि अस्थायी बसोबास गर्दै आएका झन्डै ३०० घरपरिवारका टहरा बाढीले बगाएको छ।
बगर बनेका ठाउँमा बस्ती पुनर्स्थापना कति सहज?
रसुवा बाढीको प्रत्यक्ष मार खेपेका यी क्षेत्रमा बस्ती पुनर्स्थापना अत्यन्तै जोखिमपूर्ण हुने विज्ञहरू बताउँछन्।
भूगर्भविद श्रीकमल द्विवेदी नदीले बाटो बनाएको ठाउँमा पुनः मानवीय बस्ती बसाल्नु प्राविधिक रूपमा उचित नहुने तर्क गर्छन्। अझ नदीले नयाँ बाटो बनाएका ठाउँमा फेरि बस्ती बसाउँदा भविष्यमा झन् ठूलो जोखिम निम्तिने उनी औंल्याउँछन्।
'अहिले बस्ती बसेका ठाउँहरू पनि इतिहासको कुनै न कुनै कालखण्डमा नदी नै बग्ने ठाउँ हुन्। नदी गहिरिँदै गएपछि ती ठाउँमा मानिस बस्न थालेका हुन्,' द्विवेदी भन्छन्, 'बेत्रावती भन्ने ठाउँ नदीले नै बनाएको 'बेसिन' हो। दुई नदीको संगममा कुनै समय बाढीले नै यो ठाउँ बनाएको थियो। अब फेरि त्यहाँ बस्नु भएन। त्यो ठाउँ नदीकै हो भन्ने कुरा मान्छेले बुझ्नुपर्छ।'
व्यावहारिक रूपमा भने पहाडी भूगोलमा सडक संरचना निर्माण भएसँगै बस्ती विकास रोक्न गाह्रो हुने द्विवेदी स्वीकार गर्छन्।
'चीनसँगको प्रमुख नाका भएकाले त्यहाँ सडक र अन्य पूर्वाधार बनाउनैपर्ने हुन्छ,' उनले भने, 'सडक संरचना बनेपछि मानव बस्ती स्वतः बढ्दै जानेछ। व्यावहारिक रूपमा यसलाई रोकेर रोक्न सकिँदैन। तर दीर्घकालीन रूपमा सुरक्षित बस्ती बसाउने हो भने सरकारले एउटा नीति लिनैपर्छ, आमजनतालाई पनि सुरक्षा जोखिमबारे सचेत गराउनुपर्छ।'
जलवायु विज्ञ अरूणभक्त श्रेष्ठ पनि बाढी प्रभावित क्षेत्रमा तत्कालै बस्ती पुनर्स्थापना गर्नु जोखिमपूर्ण हुने बताउँछन्।
तर नेपालको जस्तो हिमाली भूबनोटमा यस्ता घटनाले 'मानवीय बस्ती आखिर कहाँ राख्ने?' भन्ने ठूलो प्रश्न खडा गर्ने उनको भनाइ छ।
'अहिलेका लागि त्रिशूली नदी किनारमा फेरि पनि बाढीको जोखिम उच्च छ,' श्रेष्ठले भने, 'समस्या के छ भने, हाम्रा पहाडी भूगोलमा सुरक्षित ठाउँहरू एकदमै कम छन्। हिमाली क्षेत्रको भूबनोट नै यस्तै जटिल छ।'
पृथ्वीको तापक्रम वृद्धिका कारण एक्कासि हुने यस्ता विपदका घटना बढिरहेकाले अब कस्तो ठाउँमा बस्ने र कस्तो ठाउँमा नबस्ने भन्नेबारे स्पष्ट र कठोर निर्णय गर्ने समय आइसकेको उनको तर्क छ।
हिमाली क्षेत्रमा एक्कासि भीषण पानी पर्ने र लेदो बाढी आउने क्रम बढेकाले यसले शताब्दीऔंदेखि मानिसहरू बस्दै आएका सुरक्षित मानिएका ठाउँहरूलाई समेत जोखिममा पारेको श्रेष्ठले उल्लेख गरे।
हुम्लाको तिलगाउँस्थित तिल्चुङ खोलामा आएको लेदो बाढी र अघिल्लो वर्ष सोलुखुम्बुको थामेमा आएको बाढीका घटनाले हिमाली भूबनोटमा बसोबास झन् झन् चुनौतीपूर्ण बन्दै गएको उनको भनाइ छ।
'अब घर वा अन्य संरचनाहरू बनाउँदा जलवायु परिवर्तनका कारण उत्पन्न हुन सक्ने जोखिमबारे अनिवार्य अध्ययन गर्नुपर्छ,' श्रेष्ठले भने, 'हामीले अब कतिसम्म जोखिम मोल्ने हो भन्ने निर्णय गर्नुपर्ने हुन्छ।'
यसका साथै पूर्वाधार निर्माणका परम्परागत शैलीहरूमा पनि परिवर्तन ल्याउनुपर्ने उनी औंल्याउँछन्।
उदाहरणका लागि, सामान्य पुलको सट्टा 'आर्क ब्रिज' बनाउँदा बाढीले पुर्याउने क्षति कम हुन सक्ने उनको भनाइ छ।
'हामीले मानव बस्ती र संरचना निर्माणको तौरतरिका बदल्नैपर्छ, किनकि जलवायु परिवर्तनले प्रकृतिको समग्र 'इकोसिस्टम' मै ठूलो फेरबदल ल्याइदिएको छ,' उनले भने।
हाल बाढीले पुर्याएको कुल क्षतिको मूल्यांकन भइसकेको छैन। सामान्यतया यस्तो विपदको समयमा तीन चरणमा काम हुने गर्छ — पहिलो चरणमा खोज तथा उद्धार, दोस्रो चरणमा विस्थापित तथा प्रभावितहरूलाई खाना, बस्ने र उपचारजस्ता मानवीय सहायता उपलब्ध गराउने काम हुन्छ भने तेस्रो चरणमा मात्रै क्षतिको अन्तिम तथ्यांक संकलन, पुनर्निर्माण र पुनर्स्थापनाका काम अघि बढाइन्छ।
तेस्रो चरणमा पुगेर पुनर्निर्माणको काम सुरू गर्दा बगर बनेका पुराना बस्ती कसरी पुनर्स्थापना गर्ने भन्नेबारे गम्भीर छलफल हुनुपर्नेमा विज्ञहरू जोड दिन्छन्।
'अहिले नै पुनर्स्थापनाको कुरा गर्नु अलि हतार हुन्छ। खोज, उद्धार, विस्थापितहरूका लागि सुरक्षित बसोबास लगायतका काम सम्पन्न गरेपछि जब हामी पुनर्निर्माणको चरणमा प्रवेश गर्छौं, तब बगर बनेका ठाउँमा बस्ती पुनर्स्थापना कसरी गर्ने भनेर भौगोलिक चुनौतीको बहस गराउनुपर्ने देखिन्छ,' भूगर्भविद द्विवेदीले भने।
***