बेइजिङ डायरी
गत साउन २९ गतेदेखि ३१ गतेसम्म चीनको राजधानी बेइजिङमा ३२ औं चीन अन्तर्राष्ट्रिय चिकित्सा उपकरण प्रदर्शनी तथा प्रविधि सम्मेलन भएको थियो।
शाङहाई सहयोग संगठनमा आबद्ध ६० भन्दा बढी देश तथा क्षेत्रका तीन सयभन्दा बढी प्रतिनिधिहरू सहभागी उक्त समारोहमा स्वास्थ्यसँग सम्बन्धित चिकित्सा विकास सेमिनार, एससिओ क्यान्सर रोकथाम तथा उपचार गोष्ठी, एससिओ सम्बन्धित चिकित्सा इमेजिङ तथा नेत्र विज्ञान जस्ता विषयमा अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा उच्च गुणस्तरीय विकास सम्मेलन तथा ८ औं बेल्ट एण्ड रोड मेडिकल रेस्क्यू सम्मेलन पनि आयोजना भएको थियो।
कार्यक्रममा कृत्रिम बुद्धिमत्ता स्वास्थ्य क्षेत्रमा ठूला मोडललाई पहिलो पटक छुट्टै प्रदर्शनी क्षेत्रका रूपमा राखिएको थियो। 'साझा स्वास्थ्य चुनौतीको सामना र साझा विकासका अवसरहरू' प्रमुख नारा बोकेको उक्त प्रदर्शनी तथा सम्मेलनमा स्वास्थ्य क्षेत्रमा नवीन अवधारणाका रूपमा प्यान प्रोसिड्युर प्रणालीका बारेमा जानकारी दिइएको थियो।
उद्घाटन सत्रमा चीनको राष्ट्रिय हृदय रोग केन्द्रका डा. फान सियाङपिनको टोलीले आविष्कार गरेको अल्ट्रासाउन्ड निर्देशित छालामार्फत हस्तक्षेपात्मक उपचारलाई प्यान प्रोसिड्युरका बारेमा डा. फानले छोटकरी जानकारी दिए।
छालामार्फत गरिने गैरविकिरण (रेडिएसनरहित) प्रक्रिया भएकाले विशेष गरी मुटु रोगको उपचारमा यसलाई सस्तो र छिटो तथा भरपर्दो उपचार विधि भनेर डा. फानले परिचय दिए।
यो प्यान प्रोसिड्युर चीनको राष्ट्रिय हृदय रोग केन्द्र र चीनकै फुवाई अस्पतालमा विकसित गरिएको एक नवीन प्रविधि हो। सन् २००७ मा फुवाई अस्पतालले एसियाकै पहिलो 'एक–स्टप' हाइब्रिड शल्यक्रिया कोठा स्थापना गरेको थियो। यही एक–स्टप हाइब्रिड शल्यक्रिया कोठा नै प्यान प्रोसिड्युर आविष्कारको कोशेढुंगा हो।
भ्यानभित्रका विभिन्न उपकरण। तस्बिरः चेतनाथ आचार्य
सन् २०१० मा प्राध्यापक डा. फान सियाङपिनको नेतृत्वमा एक खोज अनुसन्धान समूहले परम्परागत एक्स–रेको सट्टा अल्ट्रासाउन्ड प्रयोग गरेर उपचार गर्ने प्रयोग सुरू गर्यो। यसलाई थप परिपक्व र विकास गर्दै सन् २०१८ मा यो प्रविधि परिस्कृत बनाइयो।
सन् २०२४ मा फुवाई अस्पतालको नेतृत्वमा प्यान प्रोसिड्युर प्रविधिका लागि अन्तर्राष्ट्रिय मानक जारी गरियो। सन् २०२५ मा प्राध्यापक डा. फान सियाङपिनले संयुक्त राष्ट्र संघको मुख्यालयमा यो प्रविधि प्रस्तुत गरे। संयुक्त राष्ट्र संघको मुख्यालयमा यसरी प्रस्तुत गर्ने उनी पहिलो चिनियाँ चिकित्सक हुन्।
अहिले यो प्रविधि प्रयोग गर्ने देशहरूमा अमेरिकी र युरोपियन विकसित देशबाहेक एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका धेरै विकासशील देशहरू पनि छन्। संयुक्त राष्ट्र संघको सहयोगमा बंगलादेश, कम्बोडिया, लाओस, तान्जानिया, टर्की, उज्बेकिस्तान लगायतका देशहरूमा यस प्रविधिको विस्तार गरिएको छ।
यो प्रविधिलाई विश्व स्वास्थ्य संगठनले मान्यता दिएसँगै संयुक्त राष्ट्रको दिगो विकास प्रवर्द्धन परियोजनामा समावेश गरिएको छ।
यो प्रविधि मुख्य रूपमा संरचनात्मक हृदय रोगको उपचारका लागि विकास गरिएको हो। जन्मजात हृदय रोग जस्तै एट्रियल सेप्टल डिफेक्ट अर्थात् मुटुको माथिल्लो कोठाको भित्तामा भएको प्वाल, भेन्ट्रिकुलर सेप्टल डिफेक्ट अर्थात् मुटुको तल्लो कोठाको भित्तामा भएको प्वाल, पेटेन्ट डक्टस आर्टेरियोसस अर्थात् नवजात शिशुमा रहेको मुटुको रक्तनलीको समस्यासँगै मुटुमा भएका अन्य प्वाल तथा भल्भसम्बन्धी समस्याहरूमा यो विधि निकै सफल र सहज भएको छ।
यस प्रविधिको सबैभन्दा ठूलो विशेषता भनेकै शरीरलाई नचिरिकन, विकिरणरहित र बेहोस नबनाइकन उपचार गर्नु हो। यसले गर्भवती महिला, क्यान्सरका बिरामी, वृद्धवृद्धा र फोक्सोमा गाँठो (पल्मोनरी नोड्युल) भएका उच्च जोखिमका बिरामीहरूलाई पनि सुरक्षित रूपमा उपचार गर्न सम्भव बनाएको छ।
परम्परागत मुटुको शल्यक्रियाको तुलनामा यो निकै कम खर्चिलो भएको जानकारी गराइयो। यसमा महँगो क्याथेटर प्रयोगशाला र एक्स–रे मेसिनको आवश्यकता पर्दैन, जसले लागत घटाउँछ।
विश्व स्वास्थ्य संगठन र संयुक्त राष्ट्र संघको सहयोगमा सञ्चालित परियोजनाहरू अन्तर्गत उज्बेकिस्तानमा यो उपचार निःशुल्क गराइँदैछ। त्यसैगरी चीनको युन्नान प्रान्तमा सञ्चालित 'मोबाइल सर्जिकल भ्यान' मार्फत बिरामीहरूलाई पूर्ण निःशुल्क शल्यक्रिया सेवा प्रदान गरिएको छ।
परम्परागत मुटुको शल्यक्रियामा एक्स–रे (विकिरण/रेडियसन) र हृदय–फोक्सो मेसिन (सिपिबी) प्रयोग गरिन्थ्यो। तर, यो नयाँ प्यान प्रोसिड्युर प्रविधिले ती दुवैलाई पूर्ण रूपमा अल्ट्रासाउन्डले प्रतिस्थापित गर्छ।
अर्थात्, यो प्रविधिमा विकिरण र मेसिन दुवै बिना नै उपचार हुन्छ। झट्ट सुन्दा पत्याउनै गाह्रो। मुटुको शल्यक्रिया आफैमा निकै संवेदनशील र गहन हुन्छ। त्यसमा विकिरण र मेसिन प्रयोग नगरिकन उपचार सम्भव हुनु निकै आश्चर्यको विषय हो।
कार्यक्रम उद्घाटन समारोह सम्पन्न भएपछि हामी प्रदर्शनी कक्षमा गयौं। प्रदर्शनी कक्षमा राखिएको प्यान प्रोसिड्युर प्रणाली जडित भ्यान खोज्दै हामी अर्को क्षेत्रमा पुग्यौं।
प्रस्तुतिमा डा. फानले दाबी गरे अनुसारको भ्यान हेर्न त्यहाँ सबै जना उत्सुक थिए।
भ्यानभित्रको अपरेसन थिएटरको परिचय गराइँदै। तस्बिरः चेतनाथ आचार्य
बाहिरबाट हेर्दा एम्बुलेन्सजस्तो देखिने भव्य गाडीको भित्र अत्याधुनिक मेसिनबाट सुसज्जित थियो। अस्पतालको अपरेसन वार्डजस्तो सबै सुविधायुक्त उक्त चारचक्के गाडीलाई 'मोबाइल सर्जिकल भ्यान' भनिने रहेछ। लगभग १० मिटर लामो कन्टेनर वा बसजस्तै देखिने सवारी साधनमा हामी पनि भित्र पस्यौं।
त्यहाँ केही चिनियाँ र एक जना युक्रेनी युवतीले अंग्रेजी भाषामा फरर त्यसको व्याख्या गर्न थाले। त्यो भ्यानमा सबै आवश्यक चिकित्सा उपकरणहरू जडान गरिएका थिए।
कम्प्युटर स्क्रिनजस्ता विभिन्न डिस्प्लेहरूमा मुटुको धड्कन लगायतका मानव शरीरका विभिन्न मापनहरू देखिने रहेछन्। उनीहरूले भने अनुसार यो सामान्य एम्बुलेन्स नभई जटिल मुटु रोगको निदानका लागि दुर्गम तत् क्षेत्रमै शल्यक्रिया गरिने मोबाइल सर्जिकल भ्यान रहेछ।
यसलाई अस्पतालबाट बाहिर निकालेर बिरामीको घरदैलोमै लगेर सोही क्षेत्रमा तत्काल बिरामी मुटुको शल्यक्रिया गरिने रहेछ। जसले बिरामीलाई दुर्गम क्षेत्रबाट अस्पताल पुर्याउने समय र पैसा बचत हुने रहेछ।
त्यहाँ रहेका युक्रेनी र चिनियाँ युवतीले बताए अनुसार यस भ्यानमा विशेषगरी मुटुको शल्यक्रिया गर्दा विकिरण (रेडिएसन) को आवश्यकता पर्दैन। परम्परागत गरिने मुटुको शल्यक्रियामा ठूला एक्स–रे मेसिन र सिसाको पर्खाल (लिड प्रोटेक्सन) चाहिन्छ। भ्यानभित्र जडित प्यान प्रोसिड्युरले अल्ट्रासाउन्ड प्रयोग गर्छ, जसले गर्दा यो भ्यान भारी हुँदैन र महँगो विकिरण उपकरणको आवश्यकता पर्दैन।
साथै यसमा महँगो 'क्याथ ल्याब' पनि चाहिँदैन। यहाँ मुटुको शल्यक्रिया गर्न विशेष 'क्याथेटर प्रयोगशाला' को आवश्यकता हटाइन्छ। यसले गर्दा सम्पूर्ण शल्यक्रिया सेटअपलाई सानो गाडीभित्र अटाउन सम्भव भएको हो।
बाहिरबाट हेर्दा साधारण गाडी अथवा एम्बुलेन्स जस्तो देखिए पनि यो सिंगो अस्पतालको अपरेसन थिएटर जस्तै थियो। त्यसभित्र अल्ट्रासाउन्ड मेसिन, शल्यक्रिया टेबल, बिरामीको मुटुको धड्कन निगरानी गर्ने मोनिटर सज्जित थिए। अझ कुनै कुनै भ्यानमा त उन्नत प्रविधिका रूपमा शल्यक्रिया रोबोट पनि थिए। ती रोबोटलाई विशेषज्ञ डाक्टरले संसारको जुनसुकै कुनाबाट नियन्त्रण गर्न सक्ने रहेछन्।
स्वास्थ्य सम्बन्धी निकै भव्य प्रदर्शनी भएकाले ठूला ठूला कक्षहरूमा अत्याधुनिक प्रविधि, औषधि, उपचार विधि, विभिन्न चिकित्सा उपकरणहरू, परम्परागत चिकित्सा प्रणाली आदिका बारेमा साना तथा ठूला उपकरण र आविष्कार राखिएका थिए।
प्रदर्शनी हेर्ने विभिन्न देशका भिआइपी तथा दूतावासका कूटनीतिज्ञहरू भने प्यान प्रोसिड्युरको भ्यानतिर नै झुम्मिएका थिए।
यस्तो भ्यान विशेषगरी दुर्गम क्षेत्रमा बढी प्रभावकारी हुने रहेछ। चीनका दुर्गम मानिएका युन्नान, तिब्बत जस्ता पहाडी क्षेत्रदेखि लिएर लाओस र कम्बोडिया जस्ता चीनका छिमेकी मुलुकमा पुगेर सेवा प्रदान गरिसकेको जानकारी दिइरहँदा नेपालमा पनि यसको प्रयोग अति आवश्यक हुन सक्छ भन्ने लाग्यो।
अझ आपतकालीन सेवा जस्तैः भूकम्प, बाढी पहिरो, आगलागी जस्ता पूर्वाधार नष्ट भएका ठाउँमा पनि यसले सेवा दिन सक्ने भएकाले यसको प्रभावकारिता अझ बढी रहेको मान्न सकिन्छ।
यसबाट बिरामीको उपचार गर्दा लाग्ने खर्च करिब एक तिहाइसम्म घट्नेछ अर्थात् अन्य प्रणालीबाट उपचार गर्दाभन्दा यो प्रणाली निकै सस्तो रहेछ।
मुटुको धड्कन देखाउने यन्त्र। तस्बिरः चेतनाथ आचार्य
अहिले चीनको फुवाई अस्पतालसँग १२ वटा यस्ता भ्यानहरू तयार रहेको र ती भ्यानले विश्वभर घुम्दै सेवा दिइरहेको जानकारी पनि दिइयो।
एक जना अवलोकनकर्ताले एउटा रोचक प्रश्न गरे — त्यसो भए अब अस्पताल र अपरेसन थिएटर नै नचाहिने भयो होइन?
जबाफमा तिनै युक्रेनी युवतीले भनिन्, 'त्यसो होइन, यो प्यान प्रोसिड्युर अस्पतालभित्र पनि व्यापक रूपमा प्रयोग गरिन्छ। वास्तवमा, यो प्रविधिको जन्म नै अस्पतालको शल्यक्रिया कोठाबाट भएको हो र यसको मुख्य उपयोग स्थिर अस्पताल सेटिङमै हुन्छ। मोबाइल भ्यान भनेको यसको पहुँच विस्तार गर्ने एउटा थप माध्यम मात्र हो।'
त्यसपछि एक जना पाकिस्तानीले भने, 'भनेपछि यो सडकमा कुदिरहने अस्पताल रहेछ। गाडीभित्रै सबै सुविधासम्पन्न अस्पताल।'
त्यसपछि निकैबेर हाँसोको फोहोरा मच्चियो।
यो प्रविधि विशेष 'क्याथेटर प्रयोगशाला' वा ठूला विकिरण उपकरणको आवश्यकता नपर्ने भएकाले सामान्य शल्यक्रिया कोठामा पनि सजिलै गर्न सकिने एक चिनियाँ चिकित्सकले बताएपछि सबैको चित्त बुझ्यो।
यो प्रणालीको प्रयोगले जटिल मुटुको शल्यक्रियालाई पनि बहिरंग सेवाका रूपमा सम्भव बनाएको छ। बिरामी शल्यक्रिया गरेकै दिन अस्पतालबाट घर फर्किन सक्छन्, जसले खर्च र अस्पताल बसाइको झन्झट दुवै घटाउँछ।
शरीर नचिरिकन शल्यक्रिया गरिने भएकाले यो अत्यधिक सुरक्षित अनि विकिरणरहित र बेहोस नगराइकन मुटुको शल्यक्रिया गरिने भएकाले गर्भवती महिला, क्यान्सरका बिरामी र फोक्सोमा गाँठो (पल्मोनरी नोड्युल) भएका उच्च जोखिमका बिरामीहरूलाई पनि सुरक्षित उपचार सम्भव बनाएको दाबी चिनियाँले गरेका छन्।
अझ यसमा उन्नत रोबोटिक प्रणालीसँग जोडेर टाढाबाट (रिमोट शल्यक्रिया) समेत गर्न सकिन्छ। अल्ट्रासाउन्डले मुटुको त्रि–आयामी (थ्रीडी) संरचना वास्तविक समयमा देखाउँछ, जसले शल्यक्रियालाई अझ प्रभावकारी बनाउँछ।
प्यान प्रोसिड्युर प्रणालीका बारेमा चीनले विभिन्न देशका चिकित्सकहरूलाई तालिम पनि उपलब्ध गराउने रहेछ। अध्ययनहरूका अनुसार, करिब १० वटा शल्यक्रियाको प्रत्यक्ष तालिम पाएपछि एक डाक्टरले सुरक्षित रूपमा आफै यो प्रक्रिया गर्न सक्षम हुने जानकारी दिएपछि बेइजिङस्थित नेपाली दूतावासकी अधिकारी सन्जु महर्जनले नेपाली चिकित्सकहरूलाई पनि तालिम दिनुहुन्छ कि भनेर प्रश्न गरिन्।
जबाफमा यातायात र बसोबास तथा खानाको खर्च दिन नसक्ने तर तालिम चाहिँ निःशुल्क दिन सकिने जबाफ चिनियाँ पक्षले दिएपछि महर्जन उत्साही भएकी थिइन्।
यसमा रोबोटिक सर्जरी पनि गरिन्छ। यही वर्ष फ्रान्सबाट चीनमा बसेका बिरामीको यसरी नै सफल शल्यक्रिया गरिएको रहेछ।
चिकित्सा प्रणालीमा परम्परागत शल्यक्रियाको सीमा तोडेको प्यान प्रोसिड्युर विकिरण र कन्ट्रास्ट एजेन्ट (रंग) प्रयोग नभएकाले उच्च जोखिमका बिरामीहरूको हितमा छ। मुटु रोग बाहेक पेटका रोगहरू विशेषगरी अग्नाशयको स्युडोसिस्टको उपचारका लागि अल्ट्रासाउन्ड–निर्देशित पर्क्युटेनियस ड्रेनेज प्रयोगबाट गर्ने अभ्यास पनि सुरू भएको छ।
त्यसैगरी गम्भीर अग्नाशयशोथको जटिलताको उपचारमा पनि अल्ट्रासाउन्ड–निर्देशित पिसिडी प्रयोग भइरहेको छ। ३ देखि ५ सेन्टिमिटरभन्दा सानो कलेजोको क्यान्सरको उपचारमा अल्ट्रासाउन्ड–निर्देशित पर्क्युटेनियस इथेनोल इन्जेक्सन (पिइआई) जस्ता प्रविधिहरू पनि यसै सिद्धान्तमा आधारित छन्।
प्रदर्शनी कक्षबाट फर्किएपछि मैले प्यान प्रोसिड्युर प्रविधिबारे इन्टरनेटमा विभिन्न सामग्रीहरूको खोजी गरेँ। खोजी गर्दा भेटिएको एक सामग्रीमा यसका मुख्य ३ फाइदाहरू उल्लेख रहेछन्।
पहिलो फाइदा — यो अत्यधिक सुरक्षित छ। यसमा विकिरण शून्य हुन्छ र शरीरलाई नचिरिकन उपचार गरिन्छ। छालामा एउटा सानो सुईले प्वाल मात्र पारेर मुटुको शल्यक्रिया गरिन्छ। छाती चिरिरहनु पर्दैन।
भ्यान भित्रको डिजिटल डिस्प्ले। तस्बिरः चेतनाथ आचार्य
विकिरण शून्य हुने भएकाले गर्भवती महिला, बालबालिका र क्यान्सरका बिरामीजस्ता संवेदनशील व्यक्तिहरूका लागि यो निकै सुरक्षित मानिन्छ। त्यसमाथि बिरामीलाई बेहोस नबनाइकन शल्यक्रिया गरिन्छ।
दोस्रो फाइदा — यो विधिबाट उपचार गर्दा सर्वसुलभ र सहज पहुँच हुनु हो। यसमा महँगो उपकरणको आवश्यकता पर्दैन। प्यान प्रोसिड्युर प्रविधिबाट उपचार गर्दा महँगो 'क्याथेटर प्रयोगशाला' चाहिँदैन।
अल्ट्रासाउन्ड मेसिन भएकाले, यो प्रविधि मोबाइल एम्बुलेन्स अर्थात् सवारी साधनभित्रै पनि गर्न सकिन्छ। यसले गर्दा टाढा–दुर्गम क्षेत्रका बिरामीहरूको घरैमा पुगेर पनि मुटुको जटिल शल्यक्रिया गर्न सम्भव हुन्छ।
तेस्रो फाइदा —यो सिक्न सजिलो र छिटो छ। परम्परागत विधिको तुलनामा चिकित्सकहरूले यो प्रविधि छोटो समयमै सिक्न सक्छन्। प्रकाशित विभिन्न रिपोर्ट अनुसार, अफ्रिकी डाक्टरहरूले करिब १० वटा शल्यक्रिया अभ्यास गरेपछि आफै यो गर्न सक्षम भएका छन्।
यो प्रणाली विशेष गरी मुख्य रूपमा संरचनात्मक हृदय रोग (स्ट्रक्चरल हार्ट डिजिज) मा प्रयोग हुन्छ। विशेष गरी मुटुमा प्वाल परेका 'एट्रियल सेप्टल डिफेक्ट' र 'पेटेन्ट फोरामेन ओभेल' जस्ता समस्याको निदानमा यो निकै प्रभावकारी देखिन्छ।
यसबाहेक अन्य जन्मजात मुटु सम्बन्धी समस्यामा पनि यो प्रणाली प्रभावकारी देखिएको छ।
हालसम्म ६० भन्दा बढी मुलुक (अमेरिका, जर्मनी, फ्रान्स, रसिया, अफ्रिकी देशहरू र एसियाली देशहरू) मा यो प्रणाली फैलिसकेको छ र विश्वभर २ लाखभन्दा बढी बिरामीको उपचार यस प्रविधिबाट भइसकेको छ।
समग्रमा भन्नुपर्दा प्यान प्रोसिड्युर प्रणाली जडित भ्यान पाकिस्तानीले भने जस्तै यो सडकमा गुडिरहेको अस्पताल हो भनेर बुझ्दा अत्युक्ति नहुने रहेछ।