विनाशकारी भोटेकोशी बाढीपछि विभिन्न जलविद्युत आयोजनाको सुरूङभित्र फसेका श्रमिक तथा प्राविधिकहरूको उद्धारका लागि ६ सदस्यीय चिनियाँ विज्ञ टोली परिचालन गरिएको छ।
रसुवास्थित माथिल्लो त्रिशूली–३ 'बी' जलविद्युत् आयोजनाको सुरूङभित्र फसेका व्यक्तिको सुरक्षित उद्धारका लागि सरकारले चिनियाँ विज्ञ टोली परिचालन गरेको हो।
अत्यन्त जोखिमपूर्ण र प्राविधिक रूपमा जटिल मानिएको उद्धार कार्यलाई प्रभावकारी बनाउन उच्च प्राविधिक दक्षता भएको चिनियाँ टोली घटनास्थलमा परिचालन गरिएको ऊर्जामन्त्री विराजभक्त श्रेष्ठको सचिवालयले जनाएको छ।
'चिनियाँ हेलिकप्टरमार्फत त्रिशूली क्षेत्रमा आइपुगेको उक्त टोलीले नेपाली सेनाको विज्ञ टोलीसँग समन्वय र सहकार्य गर्दै सुरूङभित्रको अवस्थाबारे प्राविधिक रेकी गर्नेछ। सुरूङको भौतिक अवस्था, जोखिम र उद्धारको सम्भावनाबारे प्रारम्भिक मूल्यांकनपछि थप उद्धार रणनीति तय गरिनेछ,' सचिवालयले भनेको छ।
सचिवालयका अनुसार प्रारम्भिक प्राविधिक अध्ययनबाट उद्धार सम्भव देखिए रसुवा सीमा क्षेत्रमा 'स्ट्यान्डबाई' रहेका थप चिनियाँ विज्ञलाई समेत तत्काल घटनास्थलमा परिचालन गर्ने तयारी छ।
सुरूङभित्रको अवस्था चुनौतीपूर्ण र जोखिमपूर्ण रहे पनि सरकार, नेपाली सेना र चिनियाँ प्राविधिक विज्ञको संयुक्त प्रयासमार्फत फसेका व्यक्तिहरूको सकुशल उद्धारलाई उच्च प्राथमिकतामा राखिएको मन्त्रालयले जनाएको छ।
यसबीच त्रिशूली–३ 'ए' को सुरूङभित्र फसेकाहरूको उद्धारका लागि समेत चिनियाँ टोली खटाउन खोजे पनि प्रतिकूल मौसमका कारण हेलिकप्टर अवतरण हुन नसकेको मन्त्रालयले जनाएको छ।
मौसममा सुधार आउनासाथ रसुवाका अन्य सुरूङहरूमा पनि चिनियाँ प्राविधिकहरू परिचालन गर्ने सरकारको तयारी छ।
बाढीका कारण माथिल्लो त्रिशूली ३ 'ए' जलविद्युत आयोजनाको सुरूङको प्रवेशद्वारमा थुप्रिएको बाढी, लेदो र भग्नावशेष पन्छाएर भित्र प्रवेश गर्न उद्धार टोलीले खन्ने र बाटो बनाउने कामलाई तीव्र रूपमा जारी राखेको छ। एक्स्काभेटर लगायतका विभिन्न उपकरण तथा औजारहरूको प्रयोग गरी निरन्तर लेदो र भग्नावशेष पन्छाउने काम भइरहेको छ। सुरूङको प्रवेशद्वार नै पुरिएकाले लेदो हटाउने काम पूरा हुनासाथ टोली भित्र प्रवेश गर्ने मन्त्रालयले जनाएको छ।
मन्त्रालयका अनुसार त्रिशूली–३ 'ए' जलविद्युत आयोजनाको सुरूङमा उद्धारका लागि भइरहेको ड्रिलिङ कार्यमा आंशिक सफलता प्राप्त भएको छ।
शनिबार बिहानैदेखि प्राविधिक सहितको सुरक्षाकर्मी टोलीले पुरिएको सुरूङमा जमेको लेदो पन्छाउँदै ड्रिलिङमार्फत मार्ग खोल्ने प्रयास गरिरहेको थियो। त्यस क्रममा सुरूङको माथिल्लो भागमा रहेको 'क्राउन' पहिचान भएको जानकारी घटनास्थलबाट प्राप्त भएको छ। अहिले सुरूङभित्र अक्सिजन पठाउने प्रयास भइरहेको छ।
उद्धार टोलीले प्वालमार्फत पनि अक्सिजन तथा आवश्यक उपकरण पठाउने र सुरूङमा थुप्रिएको लेदो हटाउँदै उद्धारको बाटो खोल्ने प्रयास जारी राखेको जनाएको छ।
भौगोलिक जटिलता र उद्धारमा ढिलाइका कारण रसुवा र नुवाकोटका ११ वटा जलविद्युत आयोजनामा कार्यरत ८९८ जना श्रमिक अझै सम्पर्कविहीन छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था (इप्पान) का अनुसार रसुवा जिल्लाका ६ वटा जलविद्युत आयोजना र नुवाकोटका ५ जलविद्युत आयोजनामा कार्यरत श्रमिकहरू सम्पर्कविहीन छन्।
शनिबारसम्म विभिन्न आयोजनाबाट ३६१ जनाको जीवितै उद्धार गरिएको छ भने माथिल्लो त्रिशूली–१ को सुरूङभित्र मात्रै अझै ३०० जना फसेका छन्।
सम्पर्कविहीन रहेका श्रमिकहरूको विवरण —
रसुवाका ६ आयोजना:
• माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट): ५७६ जना (अहिलेसम्म २५४ जनाको उद्धार भएको र ३०० जना सुरूङमा फसेको)
• रसुवागढी (१११ मेगावाट): ९३ जना
• लाङटाङ खोला (२० मेगावाट): ४२ जना (१८ जनाको जीवितै उद्धार, सुरूङभित्रका २५ जना अझै फसेको)
• चिलिमे (२२ मेगावाट): ८ जना
• मैलुङ खोला (५ मेगावाट): ७ जना
• रसुवा–भोटेकोशी (१२० मेगावाट): ४ जना
नुवाकोटका ५ आयोजना:
• माथिल्लो त्रिशूली–३ 'बी' (३७ मेगावाट): १२२ जना (११ जनाको जीवितै उद्धार)
• माथिल्लो त्रिशूली–३ 'ए' (६० मेगावाट): ४२ जना
• मिडल त्रिशूली गंगा (१९.६ मेगावाट): २ जना
• त्रिशूली (२४ मेगावाट): १ जना
• देवीघाट (१४.९ मेगावाट): १ जना
लाङटाङ खोला आयोजनाबाट जीवितै उद्धार गरिएका १८ जना सुरूङभित्र फसेका भने नभएको आयोजनाले जनाएको छ।
लाङटाङ आयोजनाका प्रबन्ध निर्देशक तथा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पानका सचिव विजयमोहन भट्टराईका अनुसार यो आयोजनामा ६० जना कर्मचारी सम्पर्कविहीन थिए। उनीहरूमध्ये २५ जना सुरूङभित्र काम गरिरहेका श्रमिक थिए। बाँकी अन्य काममा संलग्न थिए।
'मेरो आयोजनामा प्राविधिक कर्मचारी र श्रमिकहरू रेस्क्यू टनेलभित्र काम गरिरहेका थिए। तत्कालै उद्धार गर्ने संयन्त्र भएको भए रेस्क्यू टनेल भित्र काम गरिरहेकालाई उद्धार गर्न त्यति असहज हुने थिएन जस्तो मलाई लाग्छ। तर आजसम्म पनि उद्धार हुन सकेन,' उनले सेतोपाटीसँग भने।
उनका अनुसार यो आयोजनाको सुरूङ चिलिमे जलविद्युत आयोजनाको ५०० मिटर जति दुरीमा छ। ठ्याक्कै स्याफ्रुबेसीको पारीपट्टी पर्छ। तर उद्धार टोली समयमा पुग्न नसक्दा त्यहाँ फसेकाहरूको उद्धार गर्न नसकिएको उनले दुखेसो पोखे।