बुधबार भोटेकोशीमा अस्वाभाविक रूपमा उर्लिएको लेदोसहितको भीषण बाढीले रसुवासहित तल्लो तटीय क्षेत्रमा ठूलो विध्वंश मच्चाएको छ।
ठूलो मानवीय र बेहिसाब भौतिक क्षतिको कारण बनेको यो विनाशकारी बाढीको बहाव क्रमशः कम हुँदै गएको छ। यद्यपि बाढीले ल्याएको तबाही र त्यसले दिएको चोटले लामो समयसम्म धेरैलाई सताइरहने निश्चित छ।
घटनामा परेर ज्यान गुमाउनेको संख्या थपिँदै गएको छ। शुक्रबार दिउँसोसम्म ५४७ जनाको मृत्यु भएको छ। कति मानिस बेपत्ता छन् भन्ने यकिन तथ्यांक कसैसँग छैन। सम्पर्कविहीनहरूको संख्यासमेत यकिन हुन नसकेको अवस्था छ।
भौतिक पूर्वाधारमा भएको क्षति त बेहिसाब नै छ।
अमेरिकी भूगर्भ सर्वेक्षण (युएसजिएस) ले यो बाढी हिमाली क्षेत्रमा हिमनदी र गेग्रानसहितको विशाल पहिरो खस्दा उत्पन्न कम्पन करिब ५.२ म्याग्निच्युडको भूकम्पसरह मापन भएको उल्लेख गरेको छ। हिमपहिरोले ल्हेन्दे खोला थुनेपछि भीषण बाढी आएको युएसजिएसको भनाइ छ।
राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले प्लानेट ल्याबको भू–उपग्रह तस्बिर विश्लेषणका आधारमा प्रारम्भिक निष्कर्ष निकालेको छ।
जस अनुसार नेपाल–चीन सीमाको रसुवागढी नाकाबाट करिब २० किलोमिटर उत्तर–पूर्वमा विशाल हिमपहिरो जाँदा चिनियाँ सिमानाको ल्हेन्दे खोला हुँदै भोटेकोशीमा लेदोसहितको भीषण बाढी आएको बताइएको छ।
युएसजिएस तथा प्राधिकरणको प्रारम्भिक अध्ययनले भोटेकोशीको बाढी हिमताल विस्फोटबाट नभएको देखाएको छ। यद्यपि हिमालय क्षेत्रमा लगातार घटिरहेको हिमसतह र त्यसको तीव्र गतिकै कारण हिमताल विस्फोटको जोखिम सधैं उच्च रहेको वैज्ञानिक अध्ययनहरूले देखाएका छन्।
भोटेकोशीमा आएको विनाशकारी बाढी र त्यसले निम्त्याएको बबन्डरसहितको यो घटनाले हिमाली क्षेत्रमा बढ्दै गएको जोखिम र त्यसबारे विभिन्न समयमा भएका वैज्ञानिक अध्ययनका निष्कर्ष फर्केर हेर्न जबरजस्त दबाब दिएको विपद विज्ञहरूको भनाइ छ।
'यस पटक हिमनदी विस्फोट भएर आएको बाढी होइन भन्ने देखिएको छ,' विपद विज्ञ रामकुमार दाहालले भने, 'तर नेपाल हिमताल विस्फोटको उच्च जोखिम क्षेत्रमा रहेको अध्ययनहरूले लगातार देखाउँदै आएका छन्। यसबारे पर्याप्त सजगता र बहस एकदमै जरूरी भइसकेको छ।'
जलवायु परिवर्तनका कारण समग्र हिन्दुकुश हिमालय क्षेत्रमा बढिरहेको यही संकट र त्यसले निम्त्याइरहेको जोखिमबारे अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (इसिमोड) ले डरलाग्दो तथ्यसहितको प्रतिवेदन भर्खरै मात्र सार्वजनिक गरेको थियो।
'एचकेएच ग्ल्यासियर आउटलुक–२०२६' नामक उक्त प्रतिवेदनले हिमालय क्षेत्रमा लगातार घटिरहेको हिमसतह र त्यसले निम्त्याइरहेको जोखिमबारे विस्तृतमा उल्लेख गरेको छ।
इसिमोडका क्रायोस्फियर विशेषज्ञ वैज्ञानिक डा. मोहम्मद फारुक आजमले प्रतिवेदनमा लेखेका छन्, 'हिमालयका हिमनदीहरूमा हिउँ र बरफ पग्लेर सञ्चित पिण्ड रित्तिने क्रम पछिल्ला दुई दशकमा अभूतपूर्व रूपमा तीव्र भइरहेको छ। यो मौसम परिवर्तनको कुरा मात्र होइन, तल्लो तटीय क्षेत्रको खानेपानी, जलविद्युत र समग्र सुरक्षासँग जोडिएको ठूलो वातावरणीय संकट हो।'
उक्त प्रतिवेदनले सन् १९७४ देखि २०२३ सम्मको ५० वर्षे अवधिमा हिमाली हिमनदीहरूमा गरिएका ३०२ वटा वार्षिक स्थलगत मापन र तथ्यांकहरूको विश्लेषण गरेको छ।
सन् १९७४ मा भारतको हिमाञ्चल प्रदेशस्थित गारा हिमनदीबाट सुरू भएको अध्ययनमा सहभागी वैज्ञानिक टोलीका अनुसार उनीहरूले विश्लेषण गरेका कुल ३०२ वटा वार्षिक अवलोकनहरूमध्ये २७० पटक हिमनदीले तीव्र रूपमा बरफ गुमाएको पाइएको थियो। त्यसको दाँजोमा हिउँ थपिएको पाइएको पटक भने ज्यादै न्यून थियो। २७० पटक हिउँ–बरफ घटेको भेटिँदा ३२ पटक मात्र थपिएको पाइएको थियो।
विज्ञहरूका अनुसार हिमालमा हरेक वर्ष हिउँदमा पर्ने नयाँ हिउँले गर्मीमा पग्लेर जाने पुरानो बरफको क्षतिपूर्ति गर्न छाडिसकेको छ।
सन् २००० अघि (१९७४–१९९९) हिमाली हिमनदीहरूमा प्रतिवर्ष औसत ०.३१ मिटर (पानीबराबर) बरफ घट्थ्यो।
तर सन् २००० पछिको अवधि (सन् २०००–२०२३) मा यो दर झन्डै दोब्बर बढेर प्रतिवर्ष ०.६६ मिटर पुगेको प्रतिवेदनमा डा. आजमले लेखेका छन्।
'अझ सन् २०२१ देखि २०२२ को वर्ष त वैज्ञानिक अध्ययन इतिहासकै सबैभन्दा खराब वर्ष बन्यो। त्यो एकै वर्षमा १.१५ मिटर पानी बराबरको बरफ मासियो,' प्रतिवेदनमा उल्लेख छ।
त्यस्तै ५० वर्षको अवधिमा हिमाली हिमनदीहरूले औसतमा २३.९५ मिटर पानीबराबरको सञ्चित बरफ गुमाइसकेका छन्।
वैज्ञानिक भाषामा हिमनदीले 'बरफ वा पिण्ड गुमाउनु' को अर्थ कुनै एकै दिन हिमालको सबै बरफ पग्लेर सकिनु होइन; माथि थपिने नयाँ हिउँभन्दा गर्मी वा बढ्दो तापमानका कारण पग्लेर जाने बरफको मात्रा निरन्तर धेरै हुनु हो। यही प्रक्रियाले तल्लो तटीय नदीहरूमा आकस्मिक र विनाशकारी बाढीको जोखिम बढाउँछ।
डा. आजमका अनुसार हिमनदीहरू पग्लेर खुम्चिँदै जाँदा तिनको फेदमा माटो र गेग्रानको प्राकृतिक बाँधपछाडि पानी जम्मा भएर नयाँ हिमताल बन्छन् र पुराना तालको आकार फैलिन्छ।
'यी हिमताल थामेर राखेको माटो, ढुंगा र बरफको प्राकृतिक बाँध अत्यन्तै कमजोर र खुकुलो हुन्छ,' उनले लेखेका छन्, 'जब तालमा माथिबाट विशाल हिमपहिरो वा पहाड खस्छ अथवा भूकम्प र अत्यधिक पानीको चाप पर्छ, तब त्यो कमजोर बाँध फुटेर क्षणभरमै लाखौं घनमिटर पानी र लेदो तल्लो क्षेत्रमा उर्लिन्छ।'
यसैलाई वैज्ञानिकहरू 'ग्लोफ' अर्थात् हिमताल विस्फोटन बाढी भन्छन्।
हिमाली जोखिम यसरी उच्च बनिरहँदा यसको अनुगमनको दायरा भने ज्यादै सीमित छ। यसबारे अर्को झस्काउने तथ्य पनि इसिमोडले सार्वजनिक गरेको प्रतिवेदनमा उल्लेख छ।
सिंगो हिन्दुकुश हिमालय क्षेत्रमा करिब ६३ हजार ७ सय हिमनदीहरू छन्।
अध्ययन टोलीका अनुसार तीमध्ये अहिलेसम्म केवल ३८ वटा हिमनदीको मात्र प्रत्यक्ष स्थलगत अध्ययन–अनुगमन भएको छ।
'अझ तीमध्ये १७ वटाको अध्ययन बीचैमा रोकिएको छ भने जम्मा १९ वटामा मात्र निरन्तर मापन भइरहेको छ। यसको अर्थ हजारौं अन्य हिमनदीमा के भइरहेको छ भन्नेबारे हामीसँग कुनै नियमित र प्रत्यक्ष तथ्यांक नै छैन,' अध्ययन टोलीले भनेको छ।
हिमालय क्षेत्रका अध्ययन गरिएका ३८ हिमनदीहरूमध्ये नेपालका मेरा, पोकाल्डे, रिक्खा साम्बा, वेस्ट छाङग्री नुप र याला गरी पाँच वटा छन्।
प्रतिवेदनले सोलुखुम्बुको मेरा र मुस्ताङ/म्याग्दी क्षेत्रको रिक्खा साम्बा हिमनदीलाई सिंगो मध्य हिमालयको अवस्था दर्शाउने उत्तम प्रतिनिधि हिमनदीका रूपमा उल्लेख गरेको छ।
नेपालका लागि हिमताल विस्फोटको जोखिम आफ्नै भूगोलको दायरामा मात्र सीमित छैन। भारतीय र चिनियाँ भूगोलमा रहेका हिमतालहरूबाट पनि नेपाल उच्च जोखिममा छ।
सन् २०१९–२० मा इसिमोडले नेपाल सरकारको जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा गरेको विस्तृत अध्ययन अनुसार नेपाललाई प्रत्यक्ष असर पार्न सक्ने ४७ वटा हिमताल अति उच्च जोखिममा छन्।
तीमध्ये नेपालभित्र २१ वटा, भारतमा १ वटा र चीन (तिब्बत) तर्फ २५ वटा छन्। चीनतर्फका २५ वटा जोखिमयुक्त हिमतालमध्ये २४ वटा त सोझै नेपालको कोशी जलाधार क्षेत्रसँग जोडिएका छन्।
यसको अर्थ सीमापार तिब्बतमा हिमताल फुट्दा वा विशाल हिमपहिरो जाँदा त्यसको विनाशकारी असर नेपाली भूभाग, विशेष गरी भोटेकोशी, सुनकोशी, तमोर र अरूणजस्ता नदी तटीय क्षेत्रमा पर्छ।
भोटेकोशीमा त यो नियति दोहोरिँदै आएको छ।
सन् २०१६ मा तिब्बततर्फको हिमताल ज्याङमु पो फुट्दा भोटेकोशीमा आएको विनाशकारी बाढीले तातोपानी नाका, मितेरी पुल र अरनिको राजमार्गका दर्जनौं किलोमिटर सडक तहसनहस पारेको थियो।
त्यसअघि सन् १९८५ मा सोलुखुम्बुको थामेनजिकैको दिच्छो हिमताल फुट्दा ठूलो भौतिक क्षति भएको थियो।
हालै सन् २०२४ मा थामेमै फेरि हिमताल फुटेर आएको बाढीले सिंगो बस्ती बगाएको घटना अझै ताजा छ।
'अहिलेसम्म विस्फोट भएका हिमताल ती ४७ भित्रका होइनन्,' विपद विज्ञ रामकुमार दाहालले भने, 'यसअघि थामेमा विस्फोट भएको हिमताल ४७ बाहिरकै हो।'
बुधबारको भोटेकोशी बाढीको वास्तविक र विस्तृत कारण प्राविधिक तथा भौगर्भिक अनुसन्धानपछि मात्रै सार्वजनिक होला। तर यो घटनाले हिमालमा खतराको घण्टी बजिसकेको स्पष्ट सन्देश दिएको दाहालले बताए।
'यो पहिलो पटक बजेको खतराको घण्टी होइन,' उनले थपे, 'यसअघि पनि बारम्बार यस्ता संकेतहरू देखिएका छन्, क्षतिहरू भोगिएका छन्। अब यसबारे गम्भीरता अत्यावश्यक भइसकेको छ।'
इसिमोडको प्रतिवेदनले हिमाली देशहरूलाई केही महत्त्वपूर्ण सुझाव पनि दिएको छ।
हिमनदी अनुगमनको दायरा व्यापक बनाउन, नेपाल, चीन र भारतजस्ता हिमाली देशहरूबीच वास्तविक समयको तथ्यांक आदानप्रदान गर्न र जल–मौसम सम्बन्धी पूर्वसूचना प्रणालीलाई तल्लो तटीय बस्तीसम्म जोड्न सुझाव दिएको छ।
डा. आजम प्रतिवेदनको निष्कर्षमा अगाडि लेख्छन्, 'अब हिमनदी अध्ययन प्रयोगशाला वा वैज्ञानिकको अनुसन्धानको विषय मात्र रहेन। यो तल्लो तटीय क्षेत्रका करोडौं मानिसको जीवन बचाउने र विपौ व्यवस्थापन गर्ने पूर्वसर्त बनिसकेको छ।'
वैज्ञानिकहरूले यस्तो जोखिम र संकट पानी बग्ने नदीमा मात्रै नभई, पानी उत्पादन गर्ने मूल हिमालमै गम्भीर रूपमा भित्रिइसकेको औंल्याएका छन्।