प्यांक्रियाज ग्रन्थीले हाम्रो शरीरमा इन्सुलिन उत्पादन गर्छ।
इन्सुलिनको मुख्य काम भनेको हाम्रो शरीरमा हुने सुगर नियन्त्रण गर्नु हो। हामीले जे खाना खाए पनि भित्र गएर अन्ततः ग्लुकोज बन्छ।
इन्सुलिनले जति सुगर नियन्त्रण गर्छ, हाम्रो शरीरमा सुगर पनि त्यति नै नर्मल देखिन्छ। इन्सुलिन उत्पादन गर्ने ग्रन्थीले ५०–६० प्रतिशतसम्म काम गर्न छाडेपछि हामीलाई सुगर देखिने हो।
त्यो ग्रन्थीले काम नगर्ने विभिन्न कारण हुन्छन्। वंशाणुगत कारण, प्रतिरोधी क्षमता अनि इन्सुलिन प्रतिरोध लगायतले असर गर्छ। खानपिनमा लापरबाही, व्यायामको अभाव लगायतले पनि सुगर लाग्छ।
अनि कस्तो अवस्थामा इन्सुलिन चाहिन्छ त? के इन्सुलिन सधैं चाहिन्छ?
इन्सुलिन लगाउने मापदण्ड हुन्छ। कोही बिरामीको सुगर ७०० सम्म पनि हुन सक्छ। ग्लुकोजको मात्रा धेरै भए भर्ना गरेर नसाबाटै इन्सुलिन दिइरहेका हुन्छौं। नसाबाट इन्सुलिन दिएर सुगर नियन्त्रणमा आउन थालेपछि छालामुनि इन्सुलिन दिइन्छ।
छालामुनि औषधि दिइसकेपछि बिस्तारै इन्सुलिनको मात्रा घटाएर औषधि दिइन्छ। त्यसपछि क्रमशः खाने औषधि मात्र दिने अनि खाने औषधि पनि घटाउन सकिन्छ।
कति यस्ता बिरामी छन्, जसको सुगर ५००/६००/७०० थियो तर पछि उनीहरूलाई औषधि समेत छुटाइएको हुन्छ।
अहिले रिभर्स डायबिटिजको कुरा आइरहेको छ। यसलाई मधुमेहको 'रेमिसन' समेत भनिन्छ। यो भनेको औषधि खान नपर्ने गरी सुगर नियन्त्रणमा आउनु हो।
कतिले इन्सुलिनको कुरा गर्नासाथ मेरो अन्तिम अवस्था आयो कि भनेर सोच्छन्, तर यथार्थ त्यस्तो होइन। अन्तिम अवस्था आउन नदिन नै इन्सुलिन दिइने हो। इन्सुलिन दिइयो भने भोलिका दिनमा औषधि खान नपर्ने समेत हुन सक्छ।
त्यसैले रगतमा चिनीको मात्रा धेरै भएका बिरामीले इन्सुलिन लगाउनु राम्रो हुन्छ। एक पटक इन्सुलिन लगाएपछि जीवनभर लगाउनुपर्ने हुँदैन।
धेरै बिरामीले यसबारे निकै चासो राख्छन्।
'डाक्टर साब, मैले यो इन्सुलिन बाँचुन्जेल लगाउने हो' भनेर समेत भनिरहेका हुन्छन्।
नयाँ र पुराना बिरामीको हकमा धेरै फरक हुन्छ। जस्तो पुराना बिरामी, जसले ५ वर्षभन्दा धेरै पहिलेदेखि औषधि खाएका छन्, उनीहरूको प्यांक्रियाज धेरै नै काम नगर्ने भइसकेको हुन्छ।
नयाँको हकमा फरक हुन्छ।
कहिलेकाहीँ सुगर नियन्त्रणमा नआएको कारणले धेरै खालका औषधि खान परिरहेको हुन्छ। त्यसको सट्टामा इन्सुलिन लिँदा फाइदा हुन्छ।
शरीरमा इन्सुलिन र बीटा सेल फङ्सन परीक्षण गरेर हेर्नुपर्छ। इन्सुलिनको उत्पादन नै छैन भने इन्सुलिन लगाउनुपर्ने हुन्छ। इन्सुलिन लगाइयो भने सुगरले गर्ने हानिबाट बचाउन सक्छ।
शल्यक्रिया गरेका बिरामी र गर्भवतीलाई पनि सुगर देखिएमा इन्सुलिन नै सुरक्षित ठानिन्छ। सुत्केरी भएपछि भने ट्याबलेट दिइन्छ। ८० प्रतिशतको सुगर सामान्य हुन सक्छ।
टाइप–१ डायबिटिजका बिरामीले जीवनभर इन्सुलिन लिनुपर्छ। टाइप–१ डायबिटिज बच्चा उमेरमै देखिन्छ।
कतिलाई ६–६ वर्षको, कतिलाई १०–१२ अनि कतिलाई १५–२० वर्षको उमेरमा देखिन्छ। कहिलेकाहीँ ४० वर्षकै उमेरमा पनि देखिन सक्छ भनिन्छ।
परिवारमा कसैलाई पनि सुगर छैन भने टाइप–१ डायबिटिजको आशंका गरेर यसको परीक्षण गरिन्छ।
तर यस्तो डायबिटिज एक प्रतिशतलाई मात्र देखिन्छ। अर्थात् नेपालको सन्दर्भमा जतिलाई सुगर देखिन्छ, त्यसको एक प्रतिशतलाई टाइप–१ देखिन्छ।
हामीले आज कुरा गरेको इन्सुलिनको विषय टाइप–२ डायबिटिजसँग सम्बन्धित छ।
सकेसम्म त सुगर हुन दिनु हुँदैन। भइसक्यो र इन्सुलिन पनि जरूरी पर्यो भने त्यसपछि सुगर नियन्त्रण गरेर औषधि खान नपर्ने अवस्थासम्म पुर्याउन के गर्ने भन्ने हो।
सन्तुलित भोजन हुनुपर्छ। व्यायाम जरूरी छ।
धेरैले मसँग समय छैन भन्छन्, तर दिनमा १ घण्टा शरीरका लागि दिनु जरूरी छ। आज यो पार्टी र त्यो पार्टी भनेर हामीले लापरबाही गरिरहेका हुन्छौं। पार्टीमा जानै परेमा त्यहाँ गएर कार्बोहाइड्रेट कम खाने, फाइबर र प्रोटिन धेरै खान सकिन्छ।
हामीले भान्सा ठीक राख्यौं भने स्वास्थ्य पनि धेरै ठीक हुन्छ। चिल्लो, चिनी कम गर्नुपर्छ।
(वरिष्ठ थाइराइड, मधुमेह तथा हर्मोन रोग विशेषज्ञ डा. बजरंग कुमार रौनियार ओम अस्पताल र स्टिम सेन्टरमा कार्यरत छन्।)