मध्य दिल्लीका धेरै भागमा इन्टरनेट सेवा रोक्न 'ज्यामर'हरू राखिएकाले शनिबार दिउँसो केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको खबर जन्तर-मन्तरस्थित आन्दोलन स्थलसम्म पुग्न केही समय लाग्यो।
तर जसै खबर पुग्यो, जन्तर-मन्तरमा खुसीको लहर दौडियो।
प्रदर्शनकारीहरू नाच्न थाले। कसैले राष्ट्रिय गान गाए, कसैले आँसु बगाए। कतिपयले एकअर्कालाई अँगालो हाले र उफ्रिए। अनि, 'इन्कलाब जिन्दाबाद' र 'भारत माता की जय' को नारा आन्दोलन स्थलभरि गुञ्जियो।
कनट प्लेस, संसद मार्ग, टोलस्टोय मार्ग खुसियाली मनाउने केन्द्र बने।
यहाँसम्मको यात्रा सजिलो भने थिएन।
३६ दिनसम्म चलेको यो आन्दोलन क्रममा सामाजिक अभियानी सोनम वाङचुक र कम्तिमा ३ जना विद्यार्थीले भोक हड्ताल गरेका थिए। वाङचुकलाई जबर्जस्ती अनसन स्थलबाट हटाइएको थियो। जुलाई २० मा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रयोग गरेर विद्यार्थी आन्दोलन दबाउन खोजेको थियो। त्यस क्रममा १०० जनाभन्दा बढी प्रदर्शनकारी र त्यति नै प्रहरी घाइते भएका थिए। सरकारले सूचना प्रवाहमा रोक लगाउन दिल्लीका मुख्य भागहरूमा इन्टरनेट सेवा बन्द गरेको थियो भने प्रदर्शनकारीहरूको आवागमनमा बाधा पुर्याउन कम्तिमा १८ वटा मेट्रो स्टेसन बन्द गरिएका थिए।
केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले 'एक्स' (ट्विटर) मा आफ्नो राजीनामा पोस्ट गर्नु केही मिनेटअघिसम्म पनि संसद मार्गमा लाठीचार्ज र अश्रुग्यास प्रहारका घटना भइरहेका थिए।
दिउँसो १:५६ बजे टोलस्टोय मार्गको प्रवेशद्वार नजिकै रहेको जन्तर-मन्तर आन्दोलन स्थलअगाडि प्रहरी बुथको झ्यालका सिसाहरू केही प्रदर्शनकारीले फोडेपछि अश्रुग्यास प्रहार गरिएको थियो। दिउँसो २:०५ बजे प्रहरीले अर्को पटक अश्रुग्यास प्रहार गरे। प्रदर्शनकारीहरूले गरेको ढुंगामुढाबाट पाँच जना प्रहरी घाइते भएको हिन्दुस्तान टाइम्सले लेखेको छ।
प्रधानको राजीनामापछि कक्रोच जनता पार्टी (सिजेपी) को प्रतिनिधिमण्डलले केन्द्रीय मन्त्रीहरूसँग बैठक गरेका थिए। त्यसपछि आन्दोलनका संस्थापक ३० वर्षीय अभिजीत दिप्केले भने, 'यो ठूलो जीत हो। यसले देश संविधान अनुसार चल्छ भन्ने देखाउँछ। तर यो केवल सुरूआत मात्र हो... म भारतका प्रधानन्यायाधीश सूर्य कान्तलाई धन्यवाद दिन चाहन्छु। हामीलाई साङ्लो भनिदिनुभएकोमा उहाँलाई धन्यवाद। यदि उहाँले त्यसो नभन्नुभएको भए, म भारत आउने थिइनँ र यो आन्दोलन सुरू हुने थिएन।'
सिजेपीले आन्दोलन समाप्त भएको घोषणा गरेपछि केही प्रदर्शनकारी जन्तर-मन्तरबाट फर्कन थालेका थिए भने केही जितको खुसियाली मनाउन आइरहेका थिए।
प्रदर्शनकारीहरूले 'चक दे इन्डिया' र 'रङ दे बसन्ती' जस्ता लोकप्रिय हिन्दी गीतहरू लाउडस्पिकरबाट घन्काएर खुसी साटेका थिए।
आन्दोलन स्थलतर्फ आउँदै गर्दा मन्त्रीको राजीनामाबारे थाहा पाएका २० वर्षीय कानुन स्नातक अवनीश नमनले हिन्दुस्तान टाइम्ससँग भने, 'यो जीत एकदमै व्यक्तिगत लाग्छ। म र मेरो साथी जुलाई २० देखि यहाँ आइरहेका छौं। हामीमाथि अश्रुग्यास प्रहार गरियो, तर यो निर्णयले मलाई धेरै खुसी बनाएको छ। हाम्रो पुस्ताले अक्सर हामी केही गर्न सक्दैनौं, सधैं फोनमै झुन्डिरहन्छौं भनेर सुन्नुपर्छ... आज हामीले हाम्रो फोनबाट के गर्न सक्छौं भनेर देखाइदिएका छौं। हामीले शिक्षामन्त्रीलाई राजीनामा गर्न बाध्य तुल्यायौं।'
प्रदर्शनकारीहरूका अनुसार, अन्य आन्दोलनको तुलनामा यो प्रदर्शनमा दिल्ली मात्र होइन, टाढा टाढाका राज्यबाट पनि युवा विद्यार्थीहरू निरन्तर रूपमा सहभागी हुन आएका थिए।
चिकित्साशास्त्र अध्ययन गरिरहेकी २५ वर्षीया खुसी जस्ता धेरैका लागि आन्दोलनमा सहभागी भएको पहिलो पटक थियो।
हरियाणामा स्नातकोत्तर गरिरहेका २३ वर्षीय अक्षय चौहान विगत केही दिनले 'आजका युवाहरूमा भगत सिंह, डा. बीआर अम्बेडकरको भावना जीवितै छ' भन्ने देखाएको बताउँछन्।
आन्दोलन स्थलमा राजस्थानको कोटाका एक १८ वर्षीय युवा एउटा पातलो कापी लिएर अन्य प्रदर्शनकारीको अटोग्राफ संकलन गरिरहेका थिए।
'म घरबाट निस्कँदा मेरो आमाबुबाले यो आन्दोलन नक्कली हो भन्नुभएको थियो। उहाँहरूले म समय बर्बाद गरिरहेको छु, कसैले हाम्रो कुरा सुन्ने छैन भन्नुभएको थियो। म ती मानिसहरूको अटोग्राफ लिइरहेको छु, जो जुलाई २० देखि मसँगै आन्दोलनमा उभिएका थिए,' उनले भने।
२४ वर्षीया भिडिओ सम्पादक खुसी चोपडा लगायतका केही प्रदर्शनकारीले भने एक जना मन्त्रीको राजीनामा मात्रै पर्याप्त नभएको बताए।
'एक जनाको राजीनामाको अर्थ के हुन्छ र? यो एउटा अद्भूत उपलब्धि हो तर प्रधानको ठाउँमा उस्तै व्यक्ति आयो भने के हुन्छ? हामीलाई समग्र शिक्षा प्रणालीमा सुधार चाहिएको छ। धेरै एजेन्सीहरू र अधिकारीहरूले विद्यार्थीहरूलाई निराश बनाए। प्रणालीगत परिवर्तन आवश्यक छ अन्यथा यो केवल सांकेतिक जित मात्र हुनेछ,' उनले भनिन्।
दिल्लीकी २१ वर्षीया विद्यार्थी याशिकाले भनिन्, 'म र मेरा साथीहरू सुरूको दिनदेखि यहाँ आइरहेका छौं। आज दिउँसो मात्र हामीले अश्रुग्यासको सामना गर्यौं। त्यसको एक मिनेटपछि नै मन्त्रीले राजीनामा दिएको खबर आयो। म तपाईंलाई हाम्रो खुसी व्यक्त गर्न सक्दिनँ। हामी एकअर्कालाई चिन्दैनथ्यौँ तर हामी सबैले अँगालो हाल्यौं। हामीले आज जितको स्वाद चाख्यौं।'
मुम्बईबाट आएका २५ वर्षीय विशालले भने, 'आन्दोलनबाट भएको ठूलो कुरा के हो भने मानिसहरू अब डराएका छैनन्। उनीहरूले आफ्नो शक्ति महसुस गरेका छन् र अझै पनि परिवर्तन ल्याउन सकिन्छ भन्ने महसुस गरेका छन्।'
साँझ ६ बजे, सिजेपी प्रवक्ता अशुतोष रांका ठूलो हुटिङबीच मञ्चमा चढे र सरकारसँगको बैठकपछि भएका घटनाक्रमबारे प्रदर्शनकारीहरूलाई जानकारी गराए।
'हाम्रा तीनवटै माग पूरा भएका छन् भन्न पाउँदा खुसी लागेको छ। राजीनामाबारे तपाईंहरूलाई पहिले नै थाहा छ। उनीहरू आत्महत्या गरेका विद्यार्थीका परिवारलाई सम्मानजनक क्षतिपूर्ति दिन पनि सहमत भएका छन्। उनीहरूले हामीविरूद्ध दायर भएका सबै जाहेरी फिर्ता लिइने र जुलाई २० मा प्रदर्शन गर्नेहरूमाथि कुनै कानुनी कारबाही नगरिने आश्वासन पनि दिएका छन्,' उनले भने।
'हाम्रा प्राथमिक मागहरू पूरा भएकाले, हामी तपाईंहरूलाई शान्तिपूर्ण रूपमा आन्दोलन फिर्ता लिन अनुरोध गर्दछौं। धन्यवाद। हामी छिट्टै भेट्नेछौं,' उनले सम्बोधन अन्त्य गरे।