तारे होटलहरू छिर्नेबित्तिकै देखिन्छ— आकर्षक लबी, सफा चिटिक्क कोठाहरू, थरी थरी स्वादिला परिकार अनि पाहुनालाई मुस्कानसहित स्वागत गर्ने कर्मचारीहरू।
यस्तो वातावरण तयार गर्न पर्दा पछाडि दिनरात खट्ने ठूलो समूह हुन्छ।
त्यस्तै एक समूहको नेतृत्व गर्ने व्यक्ति हुन् कोमल प्रसाद न्यौपाने।
उनी नेपाल तथा विश्वका विभिन्न मुलुकमा सञ्चालित तारे होटल तथा रेस्टुरेन्टहरूमा ३६ वर्षदेखि निरन्तर सेवा दिइरहेका छन्।
उनले सेफका रूपमा मात्रै होइन, होटल खुलाउने कन्सल्टेन्टका रूपमा पनि आफ्नो छुट्टै पहिचान बनाएका छन्।
होटलको भान्सा कस्तो बनाउनेदेखि मेनु तयार गर्ने, कर्मचारी छनोट गर्ने, सेवा प्रणाली विकास गर्ने र ग्र्यान्ड ओपनिङसम्मको सम्पूर्ण तयारीमा उनको भूमिका हुन्छ।
'होटल, रेस्टुरेन्ट, बैंक्वेट र मोटेल गरी ३० भन्दा बढी संस्थाको प्रि–ओपनिङ सेटअप गरिसकेको छु,' उनले भने।
नुवाकोटको बेलकोटगढीमा जन्मिएका कोमलले सन् १९९० मा होटल सोल्टीबाट आफ्नो यात्रा सुरू गरेका हुन्।
उनको यात्रा ६ महिना कुक तालिम लिएर सुरू भएको थियो। अहिले उनी सोल्टी होटलमै एक्जुकेटिभ सेफका रूपमा कार्यरत छन्।
चितवन र शिवपुरीमा विस्तार भइरहेका सोल्टीका नयाँ परियोजनाको सेटअप र सञ्चालन तयारीमा संलग्न भएर काम गरिरहेको उनी बताउँछन्।
'अहिले चितवन शाखाको रिनोभेसनपछिको ग्र्यान्ड ओपनिङको तयारी गरिरहेको छु। त्यसपछि शिवपुरीको नयाँ शाखामा पनि काम छ। विभिन्न शाखामा गएर सेटअप र तालिम दिने काम निरन्तर गरिरहेको छु,' उनले भने।
उनले नेपालका अधिकांश पाँचतारे होटलमा काम गरिसकेका छन्। त्यस्तै, दुबई, कतार, बहराइन, कुवेत, सिंगापुर, पोर्चुगल र साउदी अरेबिया लगायत विभिन्न देशका प्रतिष्ठित होटलमा पनि आफ्नो सीप र अनुभव आदानप्रदान गर्ने अवसर पाएको उनले बताए।
हाल उनी होटल सञ्चालनको प्रारम्भिक तयारी (प्रि–ओपनिङ) र होटल व्यवस्थापन परामर्शका स्थापित विज्ञ मानिन्छन्।

कोमल आफूलाई नेपालमा उत्पादन (किचन) र व्यवस्थापन (सर्भिस) दुवै क्षेत्रमा समान दक्षता हासिल गरेको पहिलो होटल म्यानेजमेन्ट कन्सल्टेन्ट भएको दाबी गर्छन्
'म नेपालको पहिले हेड सेफ पनि हुँ,' उनले दाबी गर्दै भने।
उनका अनुसार हस्पिटालिटी उद्योगमा दुईवटा आधारभूत पक्ष हुन्छन्—प्रोडक्सन र म्यानेजमेन्ट।
प्रोडक्सन भनेको खाना बनाउने सम्पूर्ण प्रक्रिया हो भने म्यानेजमेन्ट भनेको पाहुनालाई सेवा दिने सम्पूर्ण प्रणाली। अन्तर्राष्ट्रिय होटल उद्योगमा प्रोडक्सनतर्फको सबैभन्दा उच्च जिम्मेवारी एक्जुकेटिभ सेफको हुन्छ भने सेवातर्फ जनरल म्यानेजरको।
यी दुवै क्षेत्रको अनुभव हासिल गरेपछि मात्रै होटल कन्सल्टेन्टको भूमिका निर्वाह गर्न सकिने उनी बताउँछन्।
'कन्सल्टेन्टको काम भनेको होटल खुलेपछि मात्र होइन, खुल्नुअघि नै सुरू हुन्छ,' उनी भन्छन्, होटलको किचन कस्तो बनाउने, मेनु कसरी तयार गर्ने, कति जनशक्ति आवश्यक पर्छ, हाउसकिपिङदेखि मानव संसाधन, लेखा प्रणाली, बगैँचा व्यवस्थापन, बिक्री तथा बजार प्रवर्द्धनसम्मका सबै पक्षको योजना तयार गर्नु नै प्रि–ओपनिङ हो।'
होटल मालिक, आर्किटेक्ट र इन्जिनियरसँग बसेर सोचलाई व्यवहारमा उतार्ने जिम्मेवारी कन्सल्टेन्टकै हुने उनी बताउँछन्।
प्रि–ओपनिङको अन्तिम चरणमा ट्राभल एजेन्सी, कर्पोरेट क्षेत्र, गैरसरकारी संस्था र अन्य सरोकारवालालाई बोलाएर होटलको सेवा, खानाको स्वाद, कोठा र मूल्यबारे जानकारी गराइन्छ।
उनीहरूबाट प्राप्त सुझावका आधारमा आवश्यक सुधार गरेपछि मात्रै होटल पूर्ण रूपमा खोल्ने अभ्यास रहेको उनी बताउँछन्।
कोमल होटल द्वारिकालाई आफ्नो करिअरको सबभन्दा महत्त्वपूर्ण उपलब्धिमध्ये एक मान्छन्। आफू त्यहाँ आबद्ध हुँदा होटलमा जम्मा ६ वटा कोठा रहेको उनी स्मरण गर्छन्।
'आज त्यो होटल १०३ कोठामा विस्तार भएको छ र अन्तर्राष्ट्रिय पाटा अवार्डसमेत जित्न सफल भएको छ। द्वारिकाको प्रसिद्ध कृष्णार्पण रेस्टुरेन्टको नामकरण र मेनु निर्माण पनि मैले नै गरेको थिएँ।'

उनको व्यावसायिक यात्रामा केही ऐतिहासिक क्षण पनि जोडिएका छन्। तत्कालीन राजा वीरेन्द्र शााहका लागि दरबारमै पुगेर पटक पटक खाना बनाउने अवसर पाएको उनले बताए।
उनले तत्कालीन अमेरिकी प्रथम महिला हिलारी क्लिन्टनको स्वागत गर्ने अवसर समेत पाएका थिए।
३६ वर्षअगाडि जुन उत्साहका साथ यो क्षेत्रमा प्रवेश गरेका थिए अहिले पनि उनी उस्तै उत्साहका साथ अघि बढिरहेका छन्।
कामसँगै आफूले सिकेको सीप नयाँ पुस्तालाई सिकाउन सक्रिय छन्।
आफ्नो अनुभव साट्न कोमलले उनले काठमाडौंको बसुन्धारामा होटल म्यानेजमेन्ट ट्रेनिङ स्कुल सञ्चालन गरेका छन्। होटल क्षेत्रमा दक्ष जनशक्ति उत्पादनलाई आफ्नो सामाजिक दायित्वका रूपमा लिएको उनले बताए।
पैसा छैन भन्नेहरूका लागि निःशुल्क तालिम दिने उनले बताए।
हस्पिटालिटी क्षेत्रमा भविष्य बनाउन चाहने युवालाई उनको सुझाव छ, 'टाइमपासका लागि यो क्षेत्रमा नआउनुस्। लक्ष्य बनाएर आउनुस्। मेहनत, अनुशासन र सिक्ने इच्छा भए यही पेसाले नेपालमा मात्रै होइन, संसारभर चिनाउँछ।'
कोमल गत निर्वाचनअघि साउदी अरबमा काम गरिरहेका थिए।
मतदानका लागि साउदीबाट आएका उनी त्यसपछि विदेश फर्किने तयारीमा थिए। तर इरान र अमेरिका युद्धका कारण मध्यपूर्वी मुलुकमा फैलिएको त्रासका कारण उनी फर्किएनन्।
उनी पुनः अन्तर्राष्ट्रिय परियोजनामा जाने तयारीमा छन्।
'लन्डनबाट प्रस्ताव आइसकेको छ। डेनमार्कमा खुल्न लागेको नेपाली रेस्टुरेन्टको किचन सेटअप र उपकरण जडानका लागि पनि निमन्त्रणा आएको छ। त्यहाँ पनि केही समय पछि जाने योजनामा छु,' कोमलले भने।
