प्रहरीको घुमुवा हुँ भन्दै नक्कली पेस्तोल देखाएर रकम असुल्न खोज्ने एक जनालाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले रुपन्देहीकै सिद्धार्थनगर नगरपालिका वडा नं. १३ का ४९ वर्षीय राकेश प्रताप राणालाई पक्राउ गरेको हो।
रुपन्देहीकै ओमसतिया गाउँपालिका वडा नं. ४ स्थित बालापुरमा कोठा भाडामा लिएर बस्दै आएका राणाले नक्कली पेस्तोल देखाउँदै आफू प्रहरीको घुमुवा भएको भन्दै भैरहवामा रकम मागिरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक कृष्ण कुमार चन्दका अनुसार राणाले सिद्धार्थनगर नगरपालिका वडा नं. १३ शान्तिनगरमा स्थानीयसँग १० हजार रुपैयाँ मागिरहेको अवस्थामा पक्राउ गरिएको हो।
पक्राउ पछि राणाको कोठा खानतलासी गर्दा नक्कली पेस्तोल र ५ सय ग्राम गाँजा समेत बरामद भएको प्रहरी नायव उपरीक्षक चन्दले बताए। पक्राउ परेका राणालाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखेर थप अनुसन्धान सुरु गरिएको चन्दले बताए।