कपिलवस्तुमा बसले मोटरसाइकलाई ठक्कर दिँदा मृत्यु भएका दुवैको पहिचान खुलेको छ।
आइतबार बिहान १ बजे शुद्धोधन गाउँपालिका-६ बिमियाको हुलाकी सडक खण्डमा लु.प्र.०१–००४ प ३८५६ नम्बरको मोटरसाइकललाई नेपालगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको मध्य पश्चिम जनसेवा यातायातको भे १ ख ४५५२ नम्बरको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु भएको थियो।
मृतकहरू यशोधरा गाउँपालिका–२ पश्चिम भडेहरका ३० वर्षीय रामबहादुर चाइ र २८ वर्षीय सर्जु चाइ रहेको खुलेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रवक्ता रिपेन्द्रकुमार सिंहले जानकारी दिए।
दुर्घटना हुँदा मोटरसाइकल सर्जुले चलाएका थिए। सर्जु र रामबहादुर नजिकका आफन्त पनि हुन्।
दुवैको सदरमुकाम तौलिहवास्थित कपिलवस्तु अस्पतालमा मृत्यु भएको हो। आइतबार बिहान पौने २ बजेतिर दुवै जनालाई चेकजाँच पछि चिकित्सकले मृत घोषणा गरिदिएका थिए।
बसका सह–चालक जिल्ला सल्यान बनगाड कुपिण्डे नगरपालिका –५ खैरागारका २१ वर्षीय सुनिल राना प्रहरीको नियन्त्रणमा छन्।
त्यस्तै बस चालक सुर्खेतको गुर्भाकोट नगरपालिका – २ खरीगैराका २८ वर्षीय श्यामकुमार कामी रुपन्देही प्रहरीको नियन्त्रण पछि कपिलबस्तुमा ल्याइएको डिएसपी सिंहले बताए।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।