बागलुङमा मोबाइलको लोभमा एक जना युवाको हत्या भएको छ।
बडिगाड गाउँपालिका-१ बस्ने १७ वर्षीय लजिन थापाको हत्या भएको घटनामा प्रहरीले चार जनालाई पक्राउ गरी प्रहरीले अनुसन्धान अघि बढाएको हो।
डिएसपी रामेश्वर त्वातीका अनुसार लजिन थापा साउन २ गतेदेखि सम्पर्कबिहीन थिए।
त्यसपछि प्रहरीले उनको खोजी गरेको थियो।
खोजी गर्ने क्रममा साउन ९ गते बिहान सवा ९ बजे उनको शव फेला परेको डिएसपी त्वातीले बताए।
उनको शव मनखोलामा घोप्टो परेको अवस्थामा फेला परेको थियो।
शव फेला परेपछि प्रहरीले चार जनालाई पक्राउ गरी सोधपुछ गरेको थियो। पक्राउ पर्नेमा १९ वर्षीय सुदीप विक, २० वर्षीय रेमबहादुर विक र दुई जना नाबालक छन्।
सोधपुछको क्रममा कारण आइफोन चोर्ने प्रयास गरेको बताएका छन्।
‘उनीहरू एकै गाउँका हुन्। लजिनले आइफोन लिएका रहेछन्। त्यही चोर्न खोजे। नदिएपछि हत्या भएको हो,’ डिएसपी त्वातीले भने, ‘कुटपिट र ढुंगाले पनि हिर्काएको भनेका छन्।’
घटनामा अरू कुनै कारण नदेखिएको पनि उनले बताए।
जिल्ला प्रहरी कार्यालय बागलुङले थप अनुसन्धान प्रक्रिया अघि बढाएको छ।