जसले व्यवसाय हुर्काए
कोरोना महामारीका बेला भएको लकडाउनले धेरैका योजना रोकिदियो। तर कसैका लागि त्यही कठिन समय नयाँ सुरूआत बन्यो।
'चाइचाइ' त्यस्तै एक नेपाली ब्रान्ड हो।
हाल चाइचाइका आफ्नै तीन वटा पसल छन्। कम्पनीको सामाजिक सञ्जालबाट अर्डर गर्न मिल्छ। काठमाडौं उपत्यकाका विभिन्न मार्ट र सुपरमार्केटहरूमा पनि पाइन्छ।
हाल चाइचाइका ड्र्याजी, रोचर्स, बनबन, बार, कुनाफा लगायतका चकलेट विभिन्न स्वादमा पाइन्छ।
लकडाउनको समयमा जन्मिएको नेपाली चकलेट ब्रान्ड चाइचाइ घरकै एउटा कोठाबाट सुरू भएको हो।
‘लकडाउन नभएको चाइचाइ जन्मिने थिएन,' सञ्चालक शर्मिला श्रेष्ठले भनिन्।
चाइचाइ पारिवारिक व्यवसाय हो। शर्मिलासहित चार जनाको लगानी छ।
लकडाउन भएकाले त्यो बेला शर्मिला र उनका लगानीकर्ता आफन्तहरूको प्रत्यक्ष भेट हुन पाएको थिएन। मेसेन्जरमा ग्रुप बनाएर कुरा गर्थे। सबै नयाँ खानेकुरा बनाउँथे र त्यसबारे छलफल गर्थे।
शर्मिलालाई अनेक परिकार बनाउन रूचि थियो। उनले युट्युब हेर्दै नयाँ परिकार बनाइन्। यही क्रममा चकलेट बनाइन् र आफन्तहरूलाई बाँडिन्।
चकलेट सबैले मनपराए। व्यावसायिक रूपमा बनाउन सुझाव दिए। सुझाव मात्र दिएनन्, आँट र भरोसा पनि दिए। लगानी गर्न तयार भए। यसपछि चार जना मिलेर योजना बनाए।
लकडाउन खुलेर स्थिति सामान्य भएपछि उनीहरूले तीन लाख रूपैयाँ जुटाए। घरकै एउटा कोठामा कारखाना चलाउने तयारी भयो। चीनबाट तीन वटा मेसिन मगाए। मुख्य कच्चा पदार्थ कोको भारतबाट ल्याए।
सबै तयारी पूरा भएपछि दर्ता भयो पूर्ण केशरी ग्रुप। यसकै कम्पनी हो चाइचाइ कन्फेक्सनरी।
कम्पनीको नामबारे शर्मिलाले भनिन्, 'परिवारमा बच्चाहरूले चकलेटलाई चाइचाइ भन्थे। मैले चकलेट दिँदा पनि उनीहरूले मलाई चाइचाइ मामु भनेर बोलाउँथे। बच्चाहरूको त्यही शब्दबाट ब्रान्डको नाम फुरेको हो।'
यसरी व्यावसायिक रूपमै चकलेट उत्पादन गर्ने भएपछि उनीहरूले दुबईबाट प्रशिक्षक बोलाए। चकलेट बनाउन कोठाको तापक्रम पनि मिलाउनुपर्छ। प्रशिक्षकले भनेपछि मात्र थाहा पाए। त्यसै अनुसार कोठाको डिजाइन मिलाए, एसी जोडे।
एक सातासम्म प्रशिक्षकले फरक फरक स्वादमा चकलेट बनाउन सिकाए। काम सिक्न उनीहरूले सय किलो कोको किनेका थिए। बनाउँदै, सिक्दै गए। प्रशिक्षक फर्केपछि करिब दुई महिना चकलेट बनाउने, खाने र खुवाउने क्रम चलिरह्यो।
व्यावसायिक उत्पादन गर्न मेसिन नै चलाउनुपर्थ्यो। मेसिन चलाउन सिक्न भारतबाट अर्का प्रशिक्षक बोलाए। तिनले चार दिनमै दक्ष बनाइदिए र प्याकेजिङको आइडिया पनि दिए।
अनि भने उनीहरू चकलेट उत्पादन गर्न तयार भए।
उनीहरू अलि फरक प्रकारको चकलेट ल्याउन चाहन्थे। यहाँका अधिकांश स्वदेशी उद्योगले बार चकलेट बनाएका थिए। उनीहरूले ड्र्याजीज अर्थात् नट्समा चकलेट लेपन गरिएको मिठाइ बनाउने निधो गरे।
तिहारको मौका पारेर उनीहरूले व्यावसायिक उत्पादन थाले। पहिलो खेपमा २५ बट्टा ड्र्याजिज बनाएका थिए, आफन्तले सबै किनिदिए।
यसपछि चाइचाइ टिमले प्रचारप्रसारका लागि इन्स्टाग्राम पेज बनायो। सुरूमा दिनको एक–दुई बट्टा अर्डर आउँदै थियो। एक पटक एकैचोटि १० बट्टा माग भयो। उनीहरू उत्साहित भए। कोभिडको धङधङी बाँकी भएकाले लामो समय बजारमा विदेशी चकलेट आउन सकेको थिएन। मार्टहरूले फोन नै गरेर चाइचाइ चकलेट अर्डर गर्न थाले।
अनि त व्यवसायले लय समातिहाल्यो!
उनीहरू अर्डर नभएका मार्टहरूमा पनि चकलेट लिएर पुग्न थाले। गएका ठाउँमा 'नेपाली उत्पादन' भनेर राखिदिए। यसरी चाइचाइले बजारमा आफ्नो ठाउँ बनाउँदै गयो। अनि नयाँ स्वादमा पनि बन्न थाल्यो।
शर्मिलाका अनुसार चकलेट उद्योगको सबैभन्दा ठूलो चुनौती गर्मी मौसम हो।
'चकलेट गर्मीमा छिट्टै पग्लिन्छ, त्यसैले भण्डारण र बिक्री दुवैमा विशेष ध्यान दिनुपर्छ,' उनले भनिन्।
आगामी दिनमा काठमाडौं उपत्यकाभित्र १० वटा पसल खोल्ने र चाइचाइलाई अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउने उनीहरूको लक्ष्य छ।
हेर्नुस् चाइचाइ सञ्चालक शर्मिला श्रेष्ठ सेतोपाटीका सुनिता सिटौलाले गरेको कुराकानी-