प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराई अहिलेसम्म साना–ठूला गरेर १० हजारभन्दा धेरै मुटुका अपरेसनमा संलग्न भएका छन्।
त्रि.वि. मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरको कार्डियोथोरासिक भास्कुलर सर्जरी विभागका विभागीय प्रमुख समेत रहेका प्रा. डा. भट्टराईले हरेक दिन ५–६ वटा अपरेसन हुने बताए।
'आज यो अन्तर्वार्ता दिन आउनुभन्दा अघि पनि मैले तीन वटा अपरेसन गरेर आएको हुँ। अब गएर पनि अपरेसन छ। अधिकांश अपरेसन पूर्वनिर्धारित हुन्छन् भने कहिलेकाहीँ इमर्जेन्सी अपरेसन पनि गर्नुपर्छ। इमर्जेन्सी त रातिको समयमा पनि हुन सक्छ,' उनले भने, 'म आफै मुख्य सर्जनका रूपमा गरेको, टोलीमा रहेर गरेको र सहयोगीका रूपमा सहभागिता जनाएको गरी करिब १० हजार मुटुको अपरेसनमा संलग्न भएको छु। त्यसबाहेक रक्तनली र फोक्सोका अपरेसन जोड्ने हो भने यो संख्या १२–१५ हजार जति पुग्छ।'
सामान्य ठानिने सिस्टको अपरेसनदेखि जटिलभन्दा जटिल खालको ओपन हार्ट सर्जरी आफूले गरेको उनले बताए।
प्रा.डा. भट्टराईका अनुसार झन्डै ७ वर्षअघि एक गर्भवती महिलाको मुटुको मुख्य नशा फुटेर ल्याइएको थियो। तत्काल अपरेसन नगरे आमा र बच्चा दुवैको ज्यान जान सक्ने अवस्था थियो।
'हामीले ६ घण्टा लगाएर अपरेसन गर्यौं। पहिलो चरणमा स्त्रीरोग तथा प्रसूति विभागको सहयोगमा बच्चा निकाल्यौं। जन्मिँदासम्म बच्चा निलो भइसकेको थियो। बच्चालाई ३–४ घण्टा भेन्टिलेटरमा राखेर बचाउन सक्यौं,' उनले भने।
बच्चा निकालेपछि आमाको समेत सफल अपरेसन गरेर दुवै जनाको ज्यान बचाएको भन्दै उनले आफूले गरेका हजारौं अपरेसनमध्ये यो नै सबैभन्दा खुसीको क्षण रहेको बताए।
अहिले पनि आमा र बच्चा दुवै नियमित परीक्षणका लागि उनलाई भेट्न आउँछन्।
नेपालमा अहिले जटिलदेखि नयाँ प्रविधिसम्मका अधिकांश कार्डियाक सर्जरी सम्भव भइसकेको प्रा. डा. भट्टराईको भनाइ छ।
'काखीमा सानो घाउ बनाएर पनि ठूलो शल्यक्रिया गर्न सकिन्छ। मुटुको भल्भ फेर्ने, जन्मजात मुटु रोगको अपरेसन लगायत धेरै प्रकारका उपचार नेपालमै उपलब्ध छन्। जन्मिनेबित्तिकै अपरेसन गर्नुपर्ने केही मुटु रोगको उपचार पनि अहिले सम्भव भइसकेको छ,' उनले भने, 'कृत्रिम मुटु प्रत्यारोपण र मुटु प्रत्यारोपण मात्र हामीले अझै सुरू गर्न सकेका छैनौं। त्यसबाहेक संसारमा उपलब्ध अधिकांश कार्डियाक सर्जरी नेपालमै सम्भव भइसकेका छन्। हामी ती सेवा पनि सुरू गर्ने योजनामा छौं। त्यसका लागि केही समय लाग्छ।'
डा. भट्टराईका अनुसार नेपालमा सबभन्दा धेरै हुने अपरेसन भनेको मुटुको भल्भ फेर्ने हो।
अर्को, मुटुको नशा बन्द हुँदा एन्जियोप्लास्टी गर्नुपर्ने अवस्था पनि धेरै हुन्छ। अहिले नेपालमा जन्मजात मुटु रोगमध्ये मुटुमा प्वाल हुने समस्याको पनि उपचार गर्न सकिन्छ।
मुटु रोगको प्रकृतिका आधारमा यसको उपचार हुने उनले बताए। जस्तै, उच्च रक्तचाप औषधिले नियन्त्रण गर्न सकिन्छ। तर कतिपयमा उच्च रक्तचापकै कारण मिर्गौला फेल हुन सक्छ र मिर्गौला प्रत्यारोपण समेत गर्नुपर्ने अवस्था आउन सक्छ। त्यस्तै, मुटुको चाल बिग्रिएर हुने कार्डियाक एरिथमियाका कतिपय बिरामी औषधि खाएरै निको हुन सक्छन्।
प्रा. डा. भट्टराईका अनुसार मुटुको आफ्नै प्राकृतिक 'ब्याट्री' हुन्छ। दाहिने आलिन्द (राइट एट्रियम) को माथिल्लो भागमा रहेको साइनोएट्रियल (एसए) नोडले विद्युतीय संकेत उत्पादन गर्छ। ती संकेत मुटुभित्र फैलिएका सञ्चार प्रणालीमार्फत फैलिन्छन् र त्यसैले मुटु नियमित रूपमा धड्किन्छ। मुटुलाई शरीरबाट निकालेर केही समय टेबलमा राख्दा पनि केहीबेर आफै धड्किन सक्छ, किनकि त्यसको आफ्नै विद्युतीय प्रणाली हुन्छ। तर अक्सिजन र आवश्यक पोषण नपाएपछि त्यो पनि बन्द हुन्छ। मुटुको चाल नियन्त्रण गर्ने यही प्रणाली बिग्रिए समस्या सुरू हुन्छ।
माथिल्लो भागको चाल बिग्रिँदा धेरैजसो कम जटिलता हुन्छ भने तल्लो भागको चाल बिग्रिँदा गम्भीर समस्या आउन सक्ने उनले बताए।
'भर्खर जन्मिएको बच्चाको मुटु प्रतिमिनेट करिब १४० पटक धड्किन्छ। उमेर बढ्दै जाँदा सामान्य अवस्थामा यो ६० देखि ९० पटकसम्म हुन्छ। तर व्यायाम गर्दा, शारीरिक काम गर्दा वा भावनात्मक अवस्थामा मुटुको चाल बढ्न सक्छ,' प्रा. डा. भट्टराईले भने।
धेरैले मुटुलाई भावनासँग पनि जोडेर हेर्छन्। मुटुलाई जीवनको प्रतीकका रूपमा हेरिने भएकाले भावनासँग जोडिएको उनको बुझाइ छ।
उनी भन्छन्, 'तिमी मुटुभन्दा प्यारो' भन्ने उखान पनि यही कारणले प्रचलित भएको हो। किनकि मुटु ४–५ मिनेट बन्द भयो भने जीवन नै समाप्त हुन सक्छ।'
यस्तो अत्यावश्यक अंगको अपरेसनका लागि आवश्यक पर्ने सर्जनको भने नेपालमा अभाव हुँदै गएको उनले बताए।
केही वर्षसम्म सिटिभिएस (कार्डियोथोरासिक एन्ड भास्कुलर सर्जरी) अध्ययन गर्ने चिकित्सक नै नपाएको भन्दै उनले २ वर्षयता मात्र कोटा पूरा भएको जानकारी दिए।
'धेरै इमर्जेन्सी हुने, कामको चाप धेरै हुने र आम्दानी पनि अपेक्षाकृत कम हुने भएकाले धेरैले यो विषय रोज्दैनन्। म प्राध्यापक हुँ। आवश्यकता परे राति २–३ बजे पनि अस्पताल आउनुपर्छ। मलाई पनि आराम गर्न मन लाग्छ, तर बिरामीको उपचार प्राथमिकतामा राख्नैपर्छ। रेजिडेन्सी गरिरहेका चिकित्सकले पनि यही जिम्मेवारी बुझ्नुपर्ने हुन्छ,' उनले भने, 'म यो क्षेत्रमा यस्ता सबै कुरा बुझेरै आएको हुँ। मलाई बुवाले इन्जिनियर पढ्न भन्नुभएको थियो। तर मैले चिकित्सा पेसा रोजेँ अनि सर्जरीमै काम गर्ने निर्णय लिएँ।'
रूसमा एमबिबिएस अध्ययन गरेका भट्टराईले त्रिवि शिक्षण अस्पतालमा मेडिकल अफिसर भएर काम गरेका थिए। त्यही बेला उनले कार्डियाक सर्जरी विभागमा काम गरेका थिए। त्यसपछिको सर्जरी अध्ययन भने इटालीबाट गरेका हुन्। अमेरिकाबाट समेत फेलोसिप गरेका भट्टराईले आफू जन्मेकै ठाउँमा काम गर्न मन लागेर नेपाल आएको बताए।
उनी हरेक वर्ष देशका विभिन्न भागमा निःशुल्क मुटु स्वास्थ्य शिविरमा सक्रिय हुन्छन्। अहिलेसम्म १ सय ४२ वटा निःशुल्क मुटु स्वास्थ्य शिविर सञ्चालन गरेको भन्दै उनले देशभरिका झन्डै २ लाख जनाको मुटु परीक्षण गरेको समेत बताए।
'हामीले देशभरि मुटु परीक्षण गरेर १ हजारदेखि १२ सय जनाको ओपन हार्ट सर्जरी लगायतका उपचार गराएका छौं। सक्नेले आफ्नै खर्चले उपचार गराएका छन् भने कतिपयको हामीले सहयोग जुटाएर गराएका छौं,' उनले भने, 'यसरी गरेर सम्भव हुँदैन। सरकारले नै कम्तीमा सातै प्रदेशमा विशेषज्ञ सहितको मुटु उपचार केन्द्र स्थापना गर्नुपर्छ। त्यसपछि मात्र बिरामीलाई केही राहत मिल्छ।'
उनका अनुसार बिरामीले थाहा नपाएको तर अवश्य बुझ्नुपर्ने कुरा के हो भने धेरैजसो मुटु रोग सुरूमा थाहा नै हुँदैन। जन्मजात मुटु रोग होस् वा बाथ मुटु रोग, समयमै पहिचान भए उपचार धेरै सहज हुन्छ। त्यसैले बच्चाहरूको मुटु परीक्षण गराउनु आवश्यक छ। सामान्य इको परीक्षणबाट पनि जन्मजात समस्या पत्ता लाग्न सक्छ।
उनी भन्छन्, 'यदि छातीको देब्रे वा बीच भागमा बारम्बार दुख्ने, हिँड्दा वा सामान्य काम गर्दा गाह्रो हुने जस्ता लक्षण देखिए भने त्यसलाई बेवास्ता गर्नु हुँदैन। मलाई पनि मुटुरोग हुन सक्छ भन्ने चेतना राखेर समयमै परीक्षण गराए ठूलो दुर्घटनाबाट जोगिन सकिन्छ।'
(प्राध्यापक एवं वरिष्ठ मुटुरोग विशेषज्ञ डा. अनिल भट्टराईसँग सेतोपाटीका लागि सञ्जीव बगालेले भिडिओ कुराकानी गरेका छन्।)