काठमाडौं त्रिपुरेश्वरको राहदानी विभाग क्षेत्र कार्यालय समयमा प्राय: भिडभाड भइरहने ठाउँ हो। नियमित गाडी आउजाउदेखि विभागमा आएका सेवाग्राहीको पनि यहाँ घुइँचो लागिरहन्छ।
त्यही भिडभाडबीच बिहीबार दिउँसो साढे १ बजेतिर मुगुका २५ वर्षीय गणेश नेपालीले सबैको आँखासामु आफ्नै शरीरमा पेट्रोल खन्याएर आत्मदाह गरे।
उनले आफ्नो शरीरमा पेट्रोल खन्याइरहँदा काठमाडौं महानगरपालिकाको नगर प्रहरी गाडी त्यहीँ रोकिएको थियो। जनपद र नगर प्रहरीहरू त्यहीँ उभिएका थिए। गणेशजस्तै अन्य राइड सेयरिङ चालकहरू, स्थानीय र सर्वसाधारणको पनि बाक्लै उपस्थिति थियो।
हामीले शुक्रबार दिउँसो त्रिपुरेश्वरको घटनास्थल पुगेर प्रत्यक्षदर्शीहरूसँग कुरा गर्दा के थाहा पायौं भने, गणेश आगोको रापले छटपटाइरहँदा उनको उद्धारका लागि कोही अघि सरेका थिएनन्।
सुरूमा आगो लाग्दालाग्दै एक व्यक्तिले छेउकै पसलबाट पानीको जर्किन ल्याएर खन्याएका थिए। त्यसपछि अरू पनि केहीले पानी खन्याएर आगो निभाउन मद्दत गरे। तर जसै आगो निभ्यो, ६० प्रतिशतभन्दा बढी ज्यान जलेर भुइँमा छटपटाइरहेका गणेशलाई अस्पताल लैजान कोही अघि सरेनन्।
त्यही बेला एक जना व्यक्तिले प्रत्यक्षदर्शीहरूको भिडबाट निस्केर अर्धमूर्छित अवस्थाका गणेशलाई अस्पताल लैजान पहल गरेका थिए।
दर्जनौं मान्छे मूकदर्शक बनेर उभिएका बेला गणेशलाई उठाउन र अस्पताल लैजान अघि सर्ने ती व्यक्ति थिए — रामेश्वर तामाङ।
घटनास्थल नजिकै रहेको टायल कम्पनीमा काम गर्ने रामेश्वरले भुइँमा छटपटाइरहेका गणेशलाई उठाएका थिए र राहदानी विभागको ३ नम्बर गेटबाट ५० मिटर परसम्म लगेका थिए।
प्रत्यक्षदर्शीहरूका अनुसार उनले नै बोलाएपछि अर्का एक प्रहरी पनि गणेशलाई उठाउन अघि सरेका थिए।
'त्यो बेला एउटै कुरा मात्र मेरो दिमागमा आयो– यो मान्छेलाई जसरी भए पनि अस्पताल पुर्याउनुपर्छ,' रामेश्वरले शुक्रबार सेतोपाटीसँग भने, 'त्यही सोचेर अरू सबै चुपचाप उभिइरहे पनि म आफै अघि सरेर उनलाई उठाएँ। छेउमा प्रहरीहरू थिए। उनीहरूलाई पनि गुहारेँ। कराउँदै बोलाएँ।'
सुरूमा बोलाउँदा कोही नआएपछि गाली गर्दै कराएको उनी बताउँछन्।
त्यसपछि राहदानी विभागको ३ नम्बर गेट अगाडि बसेका एक जना प्रहरी मद्दत गर्न आएको रामेश्वरको भनाइ छ।
'कम्तिमा मूल सडकसम्म लैजान सके ट्याक्सीमा अस्पताल पठाउन सकिन्छ कि भनेर मैले त्यसो गरेको थिएँ,' उनले भने, 'तर ५० मिटरभन्दा बढी हामीले उनलाई लैजान सकेनौं। उनी त्योभन्दा बढी उठिरहनै सकेनन्।'
त्रिपुरेश्वर घटनाबारे सार्वजनिक भएका भिडिओमा पनि घटनास्थलमा रहेका नगर प्रहरी र सर्वसाधारण पानी खोज्न दौडिएको र केही बेरको छटपटाहटपछि भित्रबाट पानी ल्याएर आगो निभाइएको देखिन्छ। आगो निभेपछि रामेश्वर तामाङ र एक जना प्रहरीले गणेशलाई पछाडिबाट समातेर मूल सडकसम्म हिँडाउँदै ल्याएको भिडिओ पनि सार्वजनिक भएको छ।
रामेश्वरले शुक्रबार हामीसँगको कुराकानीमा उक्त घटना सम्झिँदै भने, 'म घटनास्थल पुग्दा केही व्यक्ति पानी हालेर आगो निभाउँदै थिए। तर कसैले छोएका थिएनन्।'
'वरिपरि मान्छेको भिड थियो, काठमाडौं महानगरको गाडी पनि त्यहीँ रोकिएको थियो। तर सबै जना रमिता हेरेजस्तै बसिरहेका थिए, कसैले गाडीमा हाल्न समेत मानेनन्,' उनले अगाडि भने, 'मेरो मनले मानेन।'
उनका अनुसार त्यो बेला सबैले 'यस्तो घटनामा घाइतेलाई छुन हुँदैन, पुलिस केस हुन्छ' भन्दै खासखुस गरिरहेका थिए।
रामेश्वरलाई भने आफूमाथि पनि पुलिस केस होला भन्ने डर वा भिडको गफले छोएन।
'जे परे परोस्, अस्पताल त पुर्याउनैपर्छ भनेर उठाएर हिँडाउन लाग्दा एक जना प्रहरीले साथ दिए। तर १०/१५ कदम हिँडेपछि गणेश ढले,' रामेश्वरले भने, 'त्यहाँ तत्काल ट्याक्सी उपलब्ध थिएन। मोटरसाइकल चालकहरूले चढाउन मानेनन्। नगर प्रहरीको गाडीले पनि लगेन। चोकसम्म पुर्याउन पाए त्यहाँ गुडिरहेका ट्याक्सी रोकेर अस्पताल पुर्याउन सकिन्छ भन्ने मेरो सोच थियो।'
अहिले सामाजिक सञ्जालमा भाइरल भिडिओहरू हेर्दा कतिपयले 'आगोले जलेको घाइतेलाई हिँडाउँदै लगेको' भन्दै टिकाटिप्पणी गरिरहेका देखिन्छन्।
यसबारे प्रस्टीकरण दिँदै रामेश्वरले भने, 'तत्काल कसैको बाइक वा गाडीमा उद्धार गर्न नपाएपछि चोकसम्म भए पनि पुर्याउन सकिएला भनेर हातको भर दिएर उठाएका हौं र थोरै हिँडाएका हौं। हामीले उनलाई धकेलेका होइनौं, बचाउन हिँडाएका हौं। आपतमा के गर्ने, के गर्ने भएर हामीले त्यस्तो उपाय लगाएका थियौं।'
'हाम्रो मनसाय उनलाई दु:ख दिने थिएन। छिटोभन्दा छिटो अस्पताल पुर्याउने थियो,' उनले थपे, 'अरू पनि दुई-चार जना कस्सिएका भए बोकेरै लग्थ्यौं।'
घाइतेलाई हिँडाएर लगिएको विषयमा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले पनि स्पष्टीकरण दिएका छन्।
'यो घटना बाहिर प्रचार भएजस्तो होइन। मान्छे जल्छ भन्ने कसैलाई थाहा हुन्न। आफ्नै आँखा अगाडि कोही जलेको देखेपछि सबै आत्तिन्छन्। कसैले निभाउने प्रयत्न पनि गरेका छन्। आगो निभेर उहाँ उठिसकेपछि तत्काल अस्पताल पुर्याउन पछाडिबाट 'पुस' गर्दै कराएर ट्याक्सी रोकिएको हो,' उनले भने।
'भिडिओमा जे देखिन्छ, त्यो आकस्मिक परिस्थितिमा गरिएको उद्धारको प्रयास थियो,' उनले अगाडि भने, 'एक्कासि यस्तो घटना भएपछि कोही डराए, कोही भागे, कसैले उद्धार गरेका थिए। आकस्मिक रूपमा गरिने प्रतिक्रियाका रूपमा पछाडिबाट 'पुस' पनि गरियो। अनि चोकमा ल्याएर ट्याक्सी रोकेर अस्पताल लगियो।'
रामेश्वरका अनुसार, घटनास्थलबाट उद्धार गर्दा गणेशको घुँडाभन्दा माथिको भाग जलिसकेको थियो भने हात र जीउको छाला उक्किएको थियो। पीडाले उनको आँखामा आँसु थियो।
दस-पन्ध्र पाइला हिँडेर गणेश सडकमै ढलेपछि मात्र प्रहरीहरू सक्रिय भएको रामेश्वरले बताए।
'त्यसपछि केही व्यक्तिले एउटा गुडिरहेको ट्याक्सी जबर्जस्ती रोकेका थिए,' उनले भने, 'घटनास्थलबाट उद्धार गर्न १५ देखि २० मिनेट लागेको थियो।'
घाइते छटपटाइरहेका बेला आसपासका मानिस सहयोग गर्नुको साटो मोबाइल तेर्स्याउन र रमिते बनेर हेर्न व्यस्त रहेकामा उनले दु:ख पनि व्यक्त गरे।
यसरी रामेश्वरकै पहलमा वीर अस्पताल पुर्याइएका गणेशको शरीर ६५ प्रतिशत जलिसकेको चिकित्सकहरूले बताएका थिए।
सरकारले बिहीबार राति नै उनलाई एयर एम्बुलेन्समार्फत भारतको नयाँदिल्लीस्थित एम्स अस्पताल लैजाने तयारी गरेको थियो। यसको खर्च सरकारले नै बेहोर्ने निर्णय गरिएको थियो।
प्रधानमन्त्री कार्यालयका अनुसार गणेशलाई थप र विशिष्ट उपचारका लागि भारत लैजाने सम्पूर्ण तयारी पूरा भइसकेको थियो। काठमाडौंस्थित भारतीय दूतावाससँग राति नै सम्पर्क गरेर रातारात भारत लैजाने चाँजो मिलाइएको थियो। उनलाई भारत लैजान एयर एम्बुलेन्सको व्यवस्था पनि गरिएको थियो।
एम्स अस्पताल लैजान सबै बन्दोबस्त भइसकेको अवस्थामा वीर अस्पतालको बर्न आइसियू वार्डमा भेन्टिलेटरमा रहेका नेपालीको स्वास्थ्य अस्थिर भयो। त्यस्तो अवस्थामा अन्यत्र स्थानान्तरण गर्दा झन् ज्यानको जोखिम हुने चिकित्सकहरूले सुझाव दिए।
वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयरका डा. निर्मण ज्ञवाली सहित २१ जना स्वास्थ्यकर्मीको विशेष टोली गणेशको उपचारमा खटिएको थियो।
तर अथक प्रयासका बाबजुद शुक्रबार बिहान ११:२० बजे उपचारकै क्रममा गणेशको मृत्यु भयो।
उनको मृत्युको खबरले दु:खी हुँदै रामेश्वरले हामीसँग भने, 'साह्रै दु:ख लाग्यो, जे भए पनि आफूलाई नै जलाउन हुँदैन थियो।'
मुगुको सोरू गाउँपालिका-१ का गणेश तीन वर्षदेखि काठमाडौंमा राइड सेयरिङ चालकको काम गरिरहेका थिए। कृषि प्राविधिक पढेका उनले भर्खरै मात्र किस्तामा नयाँ बाइक किनेका थिए। किस्ता तिर्न बिहानैदेखि काममा खटिने गरेको उनकी बहिनीले बताएकी छन्। बिहीबार पनि उनी बिहान ५ बजे नै घरबाट निस्केका थिए।
भक्तपुरको कमलविनायक बस्ने गणेश परिवारका कान्छा छोरा हुन्। उनका श्रीमती र छोरी छन्।
कसरी भएको थियो यो घटना?
यो घटनालाई लिएर फरक फरक धारणा बाहिर आए पनि गणेश कसरी आत्मदाह गर्ने अवस्थासम्म पुगे भन्नेबारे अझै धेरै अन्योल र प्रश्नहरू कायम छन्।
प्रहरीले घटनाको छानबिन क्रममा तीन जना नगर प्रहरीसँग सोधपुछ सुरू गरेको छ। सँगसँगै, यो घटना कसरी भएको थियो भन्ने विषयमा उपलब्ध भिडिओ फुटेजहरू पनि केलाइरहेको छ।
हामीले पनि घटनास्थलमा रहेका पसलका सञ्चालक, प्रत्यक्षदर्शी स्थानीय तथा बिहीबार घटनास्थलमै रहेका राइडरहरूसँग कुराकानी गरेका छौं।
प्रहरीको प्रारम्भिक अनुसन्धान र हामीले घटनास्थलका प्रत्यक्षदर्शीसँग गरेको कुराकानीका आधारमा गणेश बिहीबार बिहान अन्दाजी ११ बजे यात्रु लिएर राहदानी विभाग पुगेका थिए।
उनी यात्रु ओरालेर राहदानी विभागको २ नम्बर गेट अगाडि उभिएका थिए। विभाग छिर्ने मुख्य गेट नै यही हो। यहाँबाट लगभग २०० मिटर तल ३ नम्बर गेट पर्छ। यही गेट नजिकै विश्व निकेतन स्कुल र क्याम्पस छन्।
गणेश राहदानी विभागको २ नम्बर गेट अगाडि मोटरसाइकलसहित उभिएको केही बेरमै काठमाडौं महानगरपालिकाको नगर प्रहरी टोली उनलाई त्यहाँबाट हटाउन गएको थियो। त्यस क्रममा एक महिला नगर प्रहरीले गणेशलाई त्यो ठाउँमा बाइक रोकेर नबस्न भनेकी थिइन्।
उनले गणेशसहित त्यहाँ रहेका अन्य राइडरलाई पनि विभागको २ नम्बर गेटबाट धपाउँदै ३ नम्बर गेटसम्म पुर्याएकी थिइन्।
यसरी धपाउँदै जाने क्रममा २ र ३ नम्बर गेटको बीचमा ती नगर प्रहरी र गणेशबीच विवाद भएको प्रत्यक्षदर्शीहरूले बताएका छन्।
विवादकै बीच ती महिला नगर प्रहरीको मोबाइल भुइँमा झरेको थियो। उनले मोबाइल टिप्न खोजेकै बेला गणेश बाइक हुइँक्याएर ३ नम्बर गेट अगाडि पुगेको एक प्रत्यक्षदर्शीले बताए।
त्यसपछि ती नगर प्रहरी पनि गणेश भएको ठाउँसम्म पुगिन्। आफूले कुरा गर्दागर्दै भाग्न खोजेको र मोबाइल पनि झारिदिएको भन्दै गणेशको बाइकमा ह्विल लक लगाइदिइन्। उनको मोबाइल गणेशकै कारण खसेको थियो कि थिएन भन्ने प्रस्ट छैन।
त्यही बेला एक प्रत्यक्षदर्शीले 'मोटरसाइकलमा बस्दाबस्दै (ह्विल लक) लगाइदिएको?' भनी गणेशलाई सोधेको भिडिओमा सुनिन्छ।
यसरी चालक सँगै हुँदाहुँदै बाइकमा ह्विल लक लगाउनु सामान्य कुरा होइन। सामान्यतया नो पार्किङमा छाडिएका गाडी वा बाइकमा मात्र ह्विल लक लगाइन्छ। कसैले नो पार्किङमै रोकेर बसेको छ भने पनि तुरून्तै गाडी हटाउन भनिन्छ, ह्विल लक लगाइँदैन। यहाँ भने गणेश आफै बाइकमा हुँदाहुँदै नगर प्रहरीले ह्विल लक लगाएर बढी नै कडिकडाउ गरेको देखिन्छ।
यही कारण गणेशले 'म मोटरसाइकलमा बस्दाबस्दै किन ह्विल लक लगाएको?' भन्दै नगर प्रहरीसँग प्रतिवाद गरेका थिए।
नगर प्रहरीले 'नो पार्किङमा सवारी रोकेपछि किन नलगाउने?' भन्ने जबाफ दिइन्।
आफ्नो मोबाइल फुटाइदिएकोमा त्यसको क्षतिपूर्ति कसले तिर्ने भन्दै प्रश्न पनि गरिन्।
गणेशले ह्विल लक खोलिदिन निरन्तर आग्रह गर्दा पनि नगर प्रहरी नमानेपछि आफ्नो बाइक छाडेर वरिपरि डुलिरहेको एक स्थानीय प्रत्यक्षदर्शीले बताए।
प्रहरीका अनुसार ह्विल लक लाग्नेबित्तिकै गणेशले आत्मदाह गरेका थिएनन्।
'उहाँहरूबीच विवाद भयो। विवाद भएपछि ह्विल लक लाग्यो,' जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले भने, 'त्यो विवाद भएको करिब दुई घन्टापछि मात्रै आत्मदाह गरिएको देखिन्छ।'
विवाद भएको करिब दुई घन्टापछि दिउँसो १:४० बजेतिर महानगरपालिकाको मोटरसाइकल उठाउने ट्रक त्यहाँ आइपुगेको उनको भनाइ छ।
महानगरको ट्रकले मोटरसाइकल उठाउन खोजेपछि दिउँसो १:४० देखि १:४५ को बीचमा गणेशले आत्मदाह गरेको एसपी भट्टराईले बताए।
यसबारे स्थानीय प्रत्यक्षदर्शीले भने अनुसार गणेशले करिब १ बजेतिरै आफ्नो बाइकको पेट्रोल बोतलमा भरेका थिए।
'बाइकबाट पेट्रोल झिकेको त मैले देखेको हुँ, तर किन झिके भनेर सोच्दा पनि सोचिएन, सोध्दा पनि सोधिएन,' राहदानी विभागको ३ नम्बर गेट अगाडि बसेका एक राइडरले भने, 'त्यसको करिब आधा घन्टापछि गणेशले बोतलमा भरेको पेट्रोल आफ्नो जीउमा खन्याए र आगो सल्काए।'
राहदानी विभागको ३ नम्बर गेटसँगै रहेको एक पसल सञ्चालकका अनुसार गणेशले पेट्रोल खन्याएर आगो सल्काउँदा महानगरको गाडी र प्रहरीको गाडी त्यहीँ थियो। उनी आगो लागेपछि छट्पटिँदै ३ नम्बर गेटबाट विश्व निकेतन स्कुलको गेटसम्म पुगेका थिए।
आगो सल्किएर छटपटाउँदै दुई-तीन पटक भुइँमा लडिबुडी गरेपछि सुरूमा नगर प्रहरीले म्याटले छोप्न खोजेको उनले बताइन्।
आगो लाग्दा म्याटले छोप्न हुन्न भनेर अरू प्रत्यक्षदर्शीले भनेपछि आफ्नो पसल आएका एक ग्राहकले नै जर्किनको पानी खन्याइदिएको ती पसल सञ्चालकले जानकारी दिइन्।
त्यसपछि आसपास रहेका अरू मान्छेले पनि अघि सरेर पानी खन्याएका थिए।
***