आत्मदाह गरेका गणेश नेपालीको घटनामा सोधपुछका लागि बोलाइएका काठमाडौं महानगरपालिकाका तीन जना नगरप्रहरी फर्किएका छन्।
शुक्रबार दुई जना महिला र एक जना पुरूष नगर प्रहरीलाई घटनासँग सम्बन्धित विषय बुझ्न प्रहरी वृत्त कालिमाटीमा बोलाइएको थियो। उनीहरूलाई बिहान अन्दाजी साढे ९ बजेतिरै बोलाइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी पवनकुमार भट्टराईले जानकारी दिए।
उनका अनुसार घटनाबारे बुझेपछि उनीहरू दिउँसो साढे १–२ बजेतिरै फर्किएका थिए।
'घटना विवरणबारे बुझ्न बोलाएका थियौं। थप विषय बुझ्न पर्यो भने समन्वय गर्छौं,' उनले भने।
बिहीबार दिउँसो राहदानी विभागको २ र ३ नम्बर गेट भएको सडकमा नगर प्रहरीले नेपालीको बाइकमा ह्विल लक लगाएको थियो। त्यही विषयमा विवाद भएपछि नेपालीले आफैमाथि पेट्रोल छर्केर आगजनी गरेका थिए।
गम्भीर घाइते भएका उनको वीर अस्पतालमा शुक्रबार बिहान उपचारका क्रममा मृत्यु भएको छ।
यी पनि पढ्नुस्-
जलेर छटपटाइरहेका गणेश नेपालीलाई उठाएर अस्पताल लैजान पहल गरेका रामेश्वर तामाङ
आफू बाइकमै हुँदा ह्विल लक लागेपछि छाडेर हिँडेका गणेशले झन्डै दुई घन्टापछि गरेका थिए आत्मदाह