काठमाडौंकी श्रीयुक्ता भट्टराई अहिले अमेरिकाका तीन अस्पतालमा काम गरिरहेकी छन्।
रोड आइल्यान्ड राज्यको प्रोभिडेन्सस्थित रोड आइल्यान्ड अस्पताल, द मिरियम अस्पताल र प्रोभिडेन्स भिए मेडिकल सेन्टर (भेट्रान्स अस्पताल) मा उनी मिर्गौला रोग विशेषज्ञ (नेफ्रोलोजिस्ट) हुन्।
यी तीनवटै अस्पताल राज्यका प्रमुख शिक्षण अस्पताल तथा स्वास्थ्य सेवा सञ्जाल अन्तर्गत पर्छन्। एउटै विशेषज्ञ चिकित्सकले आवश्यकता अनुसार यी अस्पतालमा सेवा दिने व्यवस्था छ।
श्रीयुक्ताले मिर्गौला रोग विशेषज्ञका रूपमा बिरामीको उपचार, परामर्श तथा मिर्गौला प्रत्यारोपण सम्बन्धी सेवा दिँदै आएकी छन्।
सन् २०१३ मा काठमाडौं मेडिकल कलेजबाट एमबिबिएस सकेर उनी सन् २०१५ मा अमेरिका गएकी हुन्। त्यहाँ गएपछि आवश्यक परीक्षा दिने, कलेज खोज्ने लगायत प्रक्रिया पूरा गर्न उनलाई एक वर्ष लाग्यो।
सन् २०१६ मा उनी अमेरिकाको ओहायो राज्यस्थित यङ्सटाउन सहरको सेन्ट एलिजाबेथ यङ्सटाउन अस्पतालमा इन्टरनल मेडिसिन रेसिडेन्सीमा भर्ना भइन्।
'अमेरिकामा रेजिडेन्ट डाक्टरले ९० प्रतिशत काम गर्ने हो, १० प्रतिशत पढ्ने हो। हुन त त्यो गराइ पनि पढाइ नै हो,' उनले भनिन्, 'सैद्धान्तिकभन्दा प्रयोगात्मक पढाइ धेरै हुन्छ भन्नु उपयुक्त हुन्छ। मैले पनि त्यही गरेँ। रेजिडेन्ट डाक्टरले पाउने पारिश्रमिकले आफ्नै खर्च पनि पुग्छ। त्यसैले बाहिर अरू कुनै काम गर्नुपरेन।'
इन्टरनल मेडिसिनमा एमडी सकेपछि उनी सन् २०१९ मा रोड आइल्यान्ड गइन्। रोड आइल्यान्ड अस्पतालमा उनका श्रीमान रेसिडेन्सी गरिरहेका थिए। उनले पनि त्यहीँ काम गरिन्।
उनले त्यहाँ सन् २०२४ सम्म काम गरिन्। उनी इन्टरनल मेडिसिन विभागमा थिइन्। टाउकोदेखि खुट्टासम्मका समस्या भएका बिरामी तथा छाला, न्युरोलोजी, कार्डियोलोजी, फोक्सो र मिर्गौला लगायत सबै खालका बिरामीको उपचार गरिन्।
त्यसपछि श्रीयुक्ताले नेफ्रोलोजीमा फेलोसिप सुरू गरिन्। उनको फेलोसिप केही समयअघि मात्र सकिएको हो।
'पछिल्ला दुई वर्षदेखि म नेफ्रोलोजीमा मात्र केन्द्रित भएर मिर्गौलाका बिरामी हेर्छु। अहिले म त्यहाँ कन्सल्टेन्ट नेफ्रोलोजिस्टको भूमिकामा छु। मिर्गौला सम्बन्धी समस्याको क्षेत्र निकै फराकिलो छ,' उनले भनिन्।
उनका अनुसार उच्च रक्तचाप पनि नेफ्रोलोजीले हेर्छ। मिर्गौलाको काम गर्ने क्षमतामा आएको परिवर्तन, सोडियम र पोटासियमको असन्तुलन, मिर्गौलाको छान्ने क्षमतामा आएको समस्या तथा वंशाणुगत कारणले हुने मिर्गौला रोग लगायत धेरै प्रकारका बिरामी हुन्छन्।
सन् २०१० मा धुलिखेल अस्पतालमा क्लिनिकल प्राक्टिस गर्दाको अनुभव र अमेरिका पुगेपछि देखेको स्वास्थ्य प्रणालीमा उनले धेरै फरक पाएकी थिइन्।
अमेरिकामा हरेक विभागका सहायक विभागसमेत आधुनिक प्रविधियुक्त रहेको उनले बताइन्।
उनको जिम्मेवारी विशेषगरी मिर्गौला प्रत्यारोपण क्रममा दाता उपयुक्त छ कि छैन भन्ने मूल्यांकन गर्नु र प्रत्यारोपण गरिएका बिरामीको औषधि व्यवस्थापन गर्नु हो। अर्थात् मिर्गौला प्रत्यारोपणको तयारीदेखि पछिको बिरामीको अवस्थाको निगरानीसम्म गर्नुपर्छ।
'किड्नी फिजिसियन भएकाले शल्यक्रिया हुने क्रममा भने मेरो प्रत्यक्ष भूमिका हुँदैन,' उनले भनिन्।
श्रीयुक्ताको एक छोरा छन्। तीनवटा अस्पतालको काम र छोराको हेरचाहले दैनिकी निकै व्यस्त हुन्छ।
'छोरालाई डे–केयरमा छोडेर म अस्पताल जान्छु। त्यहाँ दिलोज्यान दिएर काम गर्छु। ड्युटी सकिएपछि फेरि छोरालाई लिन जान्छु। सुरूमा सुरक्षित पेसा भनेर डाक्टरी रोजेकी थिएँ। बिस्तारै यसमै रमाउन थालेँ। अहिले निकै आनन्द लागिरहेको छ,' उनले भनिन्।
आफू डाक्टर बन्नुलाई उनी पारिवारिक विरासत पनि मान्छिन्। आफ्ना दुई फुपू डा. प्रतिभा पाण्डे र डा. सुधा खकुरेलका कारण पनि यस क्षेत्रमा लाग्न प्रेरणा मिलेको उनले बताइन्।
'मेरो हजुरआमा कुन्तादेवी भट्टराई महिलाहरू स्वतन्त्र र क्षमतावान हुनुपर्छ भन्ने मान्यता राख्नुहुन्थ्यो। मेरा दुई फुपू चिकित्सक हुनुहुन्थ्यो भने अर्की एक फुपू गैरसरकारी संस्थामा काम गर्नुहुन्थ्यो,' उनले भनिन्।
श्रीयुक्ता अहिले पनि महिनामा दुई दिन धुलिखेल अस्पतालका विद्यार्थीसँग जूममार्फत अन्तरक्रिया गर्छिन्।
एउटा कक्षामा यताको अनुभव सुनाउने र अर्को कक्षामा उताको अनुभव साटासाट गर्ने गरेको उनले बताइन्। अब पाँच वर्षसम्म विशेषगरी नेफ्रोलोजीसम्बन्धी अनुभव यसरी नै आदानप्रदान गर्ने योजना रहेको उनको भनाइ छ।
यस पटक १६ दिन नेपाल बस्दा १४ दिन धुलिखेल अस्पतालकै विद्यार्थीसँग बिताएको उनले बताइन्।
'मैले क्लिनिकल प्राक्टिस गर्दाको समयमा धुलिखेल अस्पतालमा ग्यास्ट्रोइन्टरोलोजी, कार्डियोलोजी र इन्टरनल मेडिसिन लगायतका सेवाहरू व्यवस्थित थिए। तर अन्य विभाग त्यति व्यवस्थित भइसकेका थिएनन्। अहिले धुलिखेल अस्पताल धेरै व्यवस्थित र आधुनिक भइसकेको छ,' उनले भनिन्।
'अबको पाँच वर्षमा नेफ्रोलोजीका लागि कस्ता फेलोसिप कार्यक्रम ल्याउन सकिन्छ भन्ने विषयमा पनि मैले काम गर्ने योजना बनाएकी छु। यसका साथै ग्लोबल हेल्थमा पनि काम गर्ने मेरो इच्छा छ।'