राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता गणेश कार्कीले मान्छेको ज्यान भन्दा भारी तर्क नगर्न कार्यकर्ताहरूलाई आग्रह गरेका छन्।
मुगुका गणेश नेपालीले आत्मदाह गरेको घटनाका विषयमा सरकार र पार्टी जोगाउन सामाजिक सञ्जालमा मान्छेको ज्यान भन्दा भारी तर्क नगर्न अनुरोध गरेका हुन्।
'मान्छे र नियम मध्ये कुन रोज्ने भनेर कसैले प्रश्न गर्छ भने त्यो मुर्खता हो । र पनि जबाफ दिनु पर्छ भने म मान्छे रोज्छु । तपाई के रोज्नु हुन्छ?,' उनले फेसबुकमा लेखेका छन्, 'प्रीय रास्वपाका र सरकारका समर्थकहरू, सरकार र पार्टी जोगाउन मान्छेको ज्यान भन्दा भारी तर्क नगरौँ ल!'
उनले नियम मान्दा मान्छेलाई गाह्रो हुन्छ भने र नियम मान्नु भन्दा मर्न सजिलो हुन्छ भने, या त नियम पुनरावलोकन गरिनु पर्छ, या त नियमका बारेमा मान्छेलाई बुझाउन अझ बढि मिहिनेत गर्नु पर्ने बताए।
उनले दिनमा १८ जनाले आत्महत्या गर्ने देश हो भनेर बुझ्न र किन त्यसो हुन्छ भने खोज्नुपर्ने बताए।
'आत्महत्याको कारण या त मानसिक समस्या हुन्छ, या त आवेग हुन्छ। दुवै कम गर्न सकिन्छ । त्योबारेमा कुरा गरौँ, जानकारी बाँडौँ ल,' उनले भनेका छन्।