भदौ १० गते बिहान साढे ९ बजेको हुँदो हो।
माथिल्लो त्रिशूली जलविद्युत आयोजना (२१६ मेगावाट) को पावर हाउसको क्याम्प एक्कासि हल्लियो।
केही साथीहरूसहित हामी त्यही क्याम्पमा सुतेका थियौं।
बिहान ५ बजे उठ्ने, खाजा बनाउने र त्यहाँ कार्यरत विदेशीहरूलाई खाजा खुवाउने काम गर्थ्यौं हामी।
खाजा खुवाइसकेपछि र खाना बनाउनुअघि हामीलाई आराम गर्न केही समय हुन्थ्यो। झन्डै डेढ–दुई घन्टा।
यही बीचमा हामी क्याम्पमै रहेको बेडरूममा आराम गर्थ्यौं। त्यो बिहान आराम गरिरहँदा मेरो आँखा लागेछ।
एक्कासि क्याम्प नै ढलाउलाजस्तो हल्लियो। त्यहाँ रहेका अर्का एक जना दाइ र म जुरूक्कै उठ्यौं। भूकम्प आएजस्तो लाग्यो। तन्द्रामै हामी घरबाहिर निस्कियौं र सुरक्षित ठाउँतिर भाग्यौं।
हामी बस्ने क्याम्प मैलुङ खोला त्रिशूलीमा मिसिने दोभानतर्फ छ। भूकम्प गयो भन्ठानेर फराकिलो ठाउँ खोज्दै म र अर्का साथी त्रिशूलीतिर भाग्यौं।
त्यहाँको दृश्य देखेपछि हंशले ठाउँ छोड्यो।
लगभग ५० मिटर अगाडि ज्वालामुखी विस्फोट भएजसरी माटोका लेदो र ढुंगाहरू त्रिशूलीमा उम्लिँदै बगिरहेका थिए। त्यसले क्याम्प अगाडिका घरहरू पनि सोहोरिसकेको थियो।
पारिपट्टिको जलविद्युत आयोजनाको कार्यालयको नामनिसान थिएन।
त्रिशूली उर्लिएको रहेछ। तर पानी होइन, लेदोको ठूलो पहाडै बोकेर।
यति भेउ पाउन हामीलाई लगभग पाँच सेकेन्ड जति लाग्यो होला।
हामी फरक्कै सुरूङको मुखतिर फर्कियौं। मैलुङ खोलातर्फको अलि वर केही अरू कामदारहरू जम्मा भएका हामीले दौडिँदा दौडिँदै देख्यौं।
त्यहाँ जम्मा भएकाहरू दुई/तीन सय जना थिए होलान्। कोही पहाड चढ्दै थिए। कोही रोइरहेका थिए, कसैलाई आयोजनाकै सेफ्टी डिपार्टमेन्टका कर्मचारीले सम्हाल्दै थिए।
बेहोस भएर ढलेकाहरूलाई केहीले बोकेर सुरक्षित ठाउँमा लैजाँदै थिए।
एक मिनेट पनि लागेन हामीलाई त्यो ठाउँ पुग्न। मैले एकछिन सास रोकेँ र कपडा लगाएँ। रत्ति ढिला नगरी त्यहाँबाट भीर चढ्न थालेँ। अघि सँगै भागेको साथी कता गयो पत्तो भएन।
ठाडै उकालो, चट्टान र बुट्यानमा समाउँदै म भएभरको बल लगाएर सक्दो छिटो पहाड उक्लिन थालेँ। बुट्यान समाउँदा कहिले काँडा पर्थे। अत्तालिएको बेला त्यस्ता काँडाले घोच्दा पनि नदुख्दो रहेछ।
अत्यासले आँखाबाट आँसु आएका थिए। तर आँसु पुछ्ने हात बुट्यान र चट्टान समात्दै थिए। आँसुले बाटो नदेखिने, तलबाट बढिरहेको बाढी सामुन्ने नै आइपुगे जसरी भयानक आवाज आइरहेको थियो। तर पछाडि फर्केर हेर्ने हिम्मत थिएन।
पहाड चढिरहेका धेरै मान्छेहरू चिच्याइरहेका थिए, कराइरहेका थिए। मेरो भने मुखबाट एक शब्द पनि निस्किएको थिएन। सायद अत्यासले होला।
मस्तिष्कमा बाँच्नुपर्छ भन्ने चाहिँ थियो।
अघिल्लो राति पानी परेकाले घाँस चिसै थियो। कैयौंपटक भिजेका घाँसमा चिप्लिएँ। त्यसरी चिप्लिँदा फेरि केही तल पुग्थेँ। बल लगाएर फेरि माथि उक्लिन्थेँ।
डरले खुट्टाहरू लगलग काँपेका थिए। त्यसले भनेको ठाउँमा खुट्टा टेकिएको थिएन।
मसँगै धेरै मानिसहरू पहाडमा उक्लिँदै थिए। मानौं हामी पहाड चढ्ने प्रतिस्पर्धामा छौं। मभन्दा अघि रहेकाहरू चिप्लिँदा मेरो टाउकामा पर्थे। म पनि चिप्लँदा पछाडिका मान्छेको टाउकामा पर्थेँ।
हामी सक्दो एक–अर्कालाई आड दिएर उकालो चढिरहेका थियौं।
जिन्दगीमा भगवानप्रति त्यति विश्वास राख्दिनँ। कहिल्यै भगवान गुहारेको पनि सम्झना छैन। तर मैलुङको भीर चढ्दा मैले भगवान सम्झिएँ। गाउँकै प्रसिद्ध मन्दिरको नाम मनमनै लिएँ र भाकल गरेँ— मलाई बचाइदेऊ!
पहाड चढ्ने क्रम त्यसैगरी लगभग १५/२० मिनेट चल्यो होला। पछाडि फर्केर हेरेको थिइनँ। खोला यहाँसम्म आउँदैन होला भनेर डाँडामा पुगेपछि रोकिएँ। अरू पनि थामिए।
भिरकै आड लिएर बुट्यान समात्दै एकछिन अडिएँ। त्यसपछि त्रिशूलीतिर हेरेँ। त्यसको रौद्र रूप अझै साम्य भइसकेको थिएन, उल्टो बढिरहेको थियो। तर म भएको ठाउँसम्म आउँदैन भन्ने लाग्यो।
तलतिर हेर्दा जलविद्युत आयोजनाको कार्यालय, स्टोर, मैलुङ बजार बगाइसकेको थियो। त्रिशूली ३ 'ए' को ड्याम हुँदै सल्लेटार पनि बगाइसकेको थियो। मैलुङ खोलातर्फ रहेकाले हाम्रो क्याम्प भने लगेको रहेनछ। बाढी आँगनसम्मै पुगेको थियो।
बाढीको यस्तो रूप फिल्ममा पनि हेरेको छैन मैले। आवाज भयानक थियो। बाढीको लप्का त्यसले सिर्जना गरेको तुवाँलोमाथि पनि मडारिरहेको थियो।
त्यहाँ अडिँदा बल्ल मैले घरपरिवार सम्झिएँ। आफन्त र सँगै काम गरेका साथीहरू सम्झिएँ। उनीहरू कहाँ छन् भन्ने अत्तोपत्तो थिएन।
बाढीको खबर घरपरिवारले पनि थाहा पाए होलान् भन्ने लाग्यो। खबर गर्नुपर्छ भनेर गोजी छामेँ तर मोबाइल त क्याम्पमै छुटेछ।
वरपर भएकाहरू पनि रोइकराइ गरेर फोन गरिरहेका थिए। कसैका परिवार नै छुटेका थिए, कोही मान्छेहरू परिवार नै बाढीले लग्यो भनेर रोइरहेका थिए। यताउती फोन गरिरहेका थिए।
त्यस्तोमा शोकमा रहेका उनीहरूसँग फोन माग्ने हिम्मत भएन। अलिअलि सम्झिएका फोन नम्बर पनि दिमागबाट हराइसकेका थिए।
झन्डै ४५ मिनेट भिरमै अडेर बसेँ। त्यसपछि त्रिशूली पनि केही साम्य भयो। हातखुट्टा काँप्न भने छाडेको थिएन।
धेरै जनाका मोबाइल, कपडा र महत्त्वपूर्ण सामानहरू क्याम्पमै थिए। फोन भएका केही मानिसहरू बाढीको अपडेट लिँदै थिए। तल्लो तटीय क्षेत्रमा पनि सखापै पारेको भनिरहेका थिए। अब थप बाढी आउँदैन भन्ने भएपछि हामी क्याम्पतर्फै झर्यौं।
डर अझै हराएका थिएनन्, ओर्लिँदा खुट्टै अझै काँप्ने रहेछ।
क्याम्प छिरेर हतारहतार एउटा झोलामा मोबाइल र एक–दुई जोर कपडा राखेँ र फेरि सुरक्षित ठाउँतिर लागेँ। फोनको चार्ज पनि १० प्रतिशत मात्रै रहेछ। नेटवर्क पनि थिएन।
त्यसपछि फेरि डाँडातिरै चढ्यौं। पहिले बसेको ठाउँबाट केही दायाँतर्फ तिरू गाउँ जाने गोरेटो बाटो छ। त्यही गोरेटोबाट हामी उक्लियौं। माथि अझै खुलस्त देखिने ठाउँबाट हामी काम गर्दै आएको जलविद्युत आयोजना, किनमेल गर्ने बजार, बैंक, सशस्त्रको क्याम्प, नेपाली सेनाको क्याम्प सबै ठाउँ बगरमा परिणत भएका देखिए।
केही बेर हेर्दा मन भारी भयो। सम्हालिएर बस्यौं र उद्धारको प्रतीक्षा गर्यौं। अहिले बालेन सरकार छ, पुरानोजस्तो होइन, चाँडै उद्धार गर्छ भन्ने लाग्यो।
तर दुई घन्टा बितिसक्दा पनि आकाशमा हेलिकप्टर देखिएन। बालेन सरकारले त यति लापरबाही नगर्नुपर्ने हो!
फेरि सम्झेँ— म जस्ता उद्धार गर्नुपर्ने कति होलान्। यत्रो विपत्तिमा त बाँचे भने अब सुरक्षित हुन किन सक्दिनँ र!
डाँडाबाट आफन्तहरूलाई फोन गरेर आफू सुरक्षित रहेको जानकारी गराएँ। चार्ज धेरै बाँकी नरहेको र नेटवर्क पनि आउने–जाने गरिरहेकाले त्यति सजिलै सम्पर्क हुन पनि सकिरहेको थिएन।
साढे ४/५ बजिसकेको थियो। त्यति बेलासम्म उद्धार नभएपछि हामी साथीहरू सल्लाह गरेर तल क्याम्पमै झर्यौं। क्याम्प भवन जोगिएकाले खानेकुराको समस्या थिएन।
क्याम्पमा आएको केही बेरमा सेनाको हेलिकप्टर पनि आयो। दुई–चार जना आए र अवलोकन गरे। खानेकुरा छ कि छैन भनेर सोधे। हामीले खानेकुराको समस्या छैन भन्यौं। त्यसपछि बेहोस भएका केही सिकिस्तहरूलाई लिएर सेनाको हेलिकप्टर फर्कियो।

बिहानदेखि केही नखाएकाले हामी सबै भोकै थियौं। साँझ परेपछि खानेकुराको प्रबन्ध गर्नतर्फ लाग्यौं। तर किचनमा हिजो सँगै काम गरेका केही साथीहरू आज थिएनन्। जुटेकाहरू जति मिलेर खाना बनायौं र खुवायौं।
नेपाली, चाइनिज र कोरियन, भारतीय कामदारहरू थियौं। साढे ३ सय बढी कामदारहरू एक भएर बसेका थियौं।
खाना खाएपछि छलफल गर्यौं। दिउँसै पनि बेला–बेला बाढी बढ्छ भनेर खबरहरू आएपछि दुई पटक भीर उक्लिने र ओर्लिने गर्दा शरीर लखतरान भइसकेको थियो।
राति फेरि बहाव बढ्यो भनेपछि उकालो चढ्यौं। ओडारजस्तो ठाउँमा बस्यौं। चिसो ढुंगामा जाग्राम बसेर रात कटायौं।
सेनाले अवलोकन गरिसकेको भएकाले बिहान हामी सबेरै उद्धारको आशमा क्याम्पमा झर्यौं। मैले आफ्नो कोठामा भएका अरू महत्त्वपूर्ण सामान र कागजात झोलामा राखेँ। बाहिर खुला ठाउँमा आएर उद्धार कुर्यौं।
मध्याह्न १२ बजेपछि सेनाको हेलिकप्टर आयो। सेनाले बिस्कुट, चाउचाउ र पानी जस्ता खाद्यान्न लिएर आएको रहेछ। त्यसपछि उद्धार सुरू भयो। हेलिकप्टरमा एक पटकमा ४/५ जना मात्रै बस्न मिल्ने रहेछ।
साँझ नपरून्जेल हेलिकप्टर उद्धार भइरहेको थियो। सुरूमा घाइते, महिला, बालबालिकाहरूलाई उद्धार गरिएको थियो। त्यसो हुँदा हामीले त्यो रात पनि मैलुङमै बिताउनुपर्ने भयो।
११ गतेको रात पनि त्यसरी नै कट्यो। डाँडामा गयौं, जाग्राम बस्यौं र भोलिपल्ट सबेरै क्याम्पमा झर्यौं।
भोलिपल्ट उद्धार गर्न हेलिकप्टर आउने ठाउँमा मानिसहरू अझै बढेका रहेछन्। त्यहाँबाट उद्धार हुन्छ भन्ने खबर पाएपछि गाउँका मानिसहरू पनि आएका रहेछन्।
म केही साथीहरूसहित लाइनमा बसेँ। हेलिकप्टरले ८/१० खेप ओसारेपछि मेरो पालो आयो। हेलिकप्टरबाट नुवाकोटको त्रिशूलीस्थित नेपाली सेनाको क्याम्पमा ओर्लियौं।
सेनाले क्याम्पमा खानेकुरा र स्वास्थ्य जाँचको व्यवस्था गरेको रहेछ।
त्यहाँ ओर्लिनेबित्तिकै रसुवामा फेरि बाढी आयो भन्ने खबर आयो। साथीहरूको चिन्ता लाग्यो, उनीहरू सुरक्षित रहेको खबरले मन केही शान्त भयो।
त्रिशूलीबाट हामीले काम गरेको जलविद्युत आयोजनाले नै काठमाडौंसम्म ल्याउन गाडीको व्यवस्था गरेको थियो। दिउँसो ३ बजे काठमाडौं आइपुगेर गौशालाको एउटा होटलमा बस्यौं। कम्पनीले नै व्यवस्था गरेको थियो।
दुई रात, तीन दिन नसुत्दा पनि निद्रा भने पटक्कै लागेन। जिउ होटलको बेडमा थियो तर दिमागमा मैलुङकै त्यही डाँडा, भयानक परिस्थिति र बाँच्नका लागि गरेको संघर्षका दृश्यहरू घुमिरहेका थिए।
(त्रिशूली जलविद्युत आयोजनामा कार्यरत विशाल विश्वकर्मासँग सेतोपाटीका विष्णु विश्वकर्माले गरेको कुराकानीमा आधारित)