रसुवाको भोटेकोशी–त्रिशूलीमा आएको बाढीका कारण १३ वटा जलविद्युत आयोजनामा क्षति पुगेको छ।
नेपाल विद्युत प्राधिकरणका अनुसार ३५४ मेगावाट बिजुली उत्पादन गरिरहेका र निर्माणाधीन ३९४ मेगावाट क्षमताका गरी कुल ७४८ मेगावाट क्षमताका आयोजनामा क्षति पुगेको हो।
कुन आयोजनामा कति क्षति पुगेको छ भन्ने यकिन विवरण आइसकेको छैन। तर केहीमा पूर्ण क्षति भएको आकलन छ।
क्षति पुगेका १३ वटा जलविद्युत आयोजनाको निर्माण लागत एक खर्ब ४५ अर्ब ४७ करोड रूपैयाँ देखिन्छ।
कम्पनीहरूको वार्षिक वित्तीय विवरण, केही रेटिङ कम्पनीहरूको विवरण र आयोजना सुरू गरिँदा भएको वित्तीय व्यवस्थापन (फाइनान्सियल क्लोजर) को आधारमा यस्तो लागत निकालिएको हो।
♦ क्षति पुगेकामध्ये सन् १९८४ मा सञ्चालनमा आएको १४.१ मेगावाटको देवीघाट जलविद्युत आयोजना ७५ करोड रूपैयाँमा निर्माण भएको थियो।
♦ त्यस्तै १११ मेगावाटको रसुवागढी हाइड्रोपावरको कुल लागत करिब २० अर्ब ६५ करोड रूपैयाँ हो।
♦ २२.१ मेगावाटको चिलिमे जलविद्युत आयोजना बनाउन २ अर्ब ४७ करोड रूपैयाँ लागेको थियो।
♦ ६.४२ मेगावाटको माथिलो मैलुङ 'ए' को लागत करिब ९५ करोड रूपैयाँ हो।
♦ २० मेगावाटको परीक्षणको चरणमा रहेको लाङटाङ खोला जलविद्युत आयोजनाको लागत ५ अर्ब १८ करोड रूपैयाँ थियो।
♦ १२० मेगावाटको निर्माणाधीन रसुवा भोटेकोशी आयोजनाको लागत २४ अर्ब ९५ करोड रूपैयाँ हो।
♦ ३७ मेगावाटको निर्माणधीन त्रिशुली 'बी' जलविद्युतको अनुमानित लागत ६ अर्ब ५७ करोड रूपैयाँ थियो। यसले आफ्नो वित्तीय विवरणमा ७० प्रतिशत बराबर रकम (४ अर्ब ६० करोड रूपैयाँ) नबिल बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंकबाट ऋण लिएको उल्लेख गरेको छ।
♦ २४ मेगावाटको त्रिशुली जलविद्युत करिब साढे २२ करोड रूपैयाँमा बनेको थियो। पछि कुलमान घिसिङ विद्युत प्राधिकरणको कार्यकारी निर्देशक भएका बेला मर्मतसम्भार लगायतमा थप ७५ करोड रूपैयाँ खर्च गरेका थिए। त्यसैले यसको कुल लागत ९५ करोड ५० लाख रूपैयाँ पुगेको छ।
♦ २०६७ सालतिर बनेको ६० मेगावाटको त्रिशुली 'ए' को लागत १० करोड ९० लाख अमेरिकी डलर थियो। सो समय प्रतिडलर विनिमयदर ७५ रूपैयाँ थियो। त्यस हिसाबले यो आयोजना ८ अर्ब १७ करोड ५० लाख रूपैयाँमा बनेको हो।
♦ एसियाली विकास बैंक लगायतको ऋण सहयोगमा बन्दै गरेको २१६ मेगावाटको माथिल्लो त्रिशुली 'ए' को अनुमानित लागत ६४ करोड ७० लाख डलर हो। यो बनेको समयमा डलरको भाउ प्रति रूपैयाँ ११३ रूपैयाँ थियो। त्यस हिसाबले यसको लागत ७३ अर्ब ११ करोड १० लाख रूपैयाँ हुन्छ।
♦ त्यस्तै, ५ मेगावाटको मैलुङ खोला जलविद्युतको लागत ९० करोड रूपैयाँ थियो।
♦ १५.६ मेगावाटको निर्माणाधीन मिडल त्रिशुली गंगा हाइड्रोको लागत ४२ करोड २० लाख रूपैयाँ थियो।
♦ २५ मेगावाटको नुवाकोट सोलार आयोजनाको लागत ४० करोड रूपैयाँ थियो।
यी आयाजनामा दुई किसिमले बीमा गरिएको हुन्छ। निर्माणधीन आयोजनाको इन्जिनियरिङ बीमा गरिएको हुन्छ। यस अन्तरगत शतप्रतिशत नै बीमा गरिएको हुन्छ। जति निर्माण सम्पन्न हुँदै गएको हुन्छ, त्यति नै बीमांक रकम बढ्ने भइरहन्छ।
तर सञ्चालनमा आइसकेका आयोजनाको बीमा सम्पत्ति बीमा अन्तर्गत गरिएको हुन्छ। बैंकको कर्जा बाँकी रहेका सञ्चालनमा रहेका आयोजनाहरूको कर्जा रकम बराबरकै बीमा भएको हुन्छ।
अन्यमा भने आयोजनाहरूले कति सम्पत्तिको बीमा गरेका छन्, त्यसै अनुसार दाबी भुक्तानी पाउने बीमा प्राधिकरणले बताउँदै आएको छ।
निर्जीवन बीमा कम्पनीहरूले यस्तो बीमाको भार सबै आफै राखेका हुँदैनन्। केही भार यहाँका पुनर्बीमा कम्पनीमा र केही बाह्य पुनर्बीमा कम्पनीमा सारेका हुन्छन्।
निर्माणाधीन आयोजनाको बीमा रकमको करिब ७० देखि ८० प्रतिशत पुनर्बीमा कम्पनीहरूमा भार सारिएको हुन्छ। सम्पत्ति बीमामा भने कतिपय कम्पनीले आफै ५० प्रतिशतसम्म भार लिएर बाँकी पुनर्बीमा कम्पनीमा सार्छन्।
यसरी सम्पत्ति बीमा अन्तर्गत पुनर्बीमा कम्पनीमा सारिने रकममध्ये ३० प्रतिशत रकम यहीँको पुनर्बीमा कम्पनीमा अनिवार्य सार्नैपर्ने व्यवस्था छ।
उदाहरणका लागि, यदि एक करोड रूपैयाँको सम्पत्ति बीमा गरिएको छ भने ५० लाख निर्जीवन कम्पनी आफैले तिर्ने गरेर भार लिएको हुन सक्छ। बाँकी ५० लाख रकम पुनर्बीमा गरिएको हुन सक्छ। यो बाँकी ५० लाख रकमको ३० प्रतिशत अर्थात् १५ लाख बराबरको बीमा दायित्व यहीँका पुनर्बीमा कम्पनीमा सारिएको हुन्छ।
अहिले हामीकहाँ नेपाल पुनर्बीमा र हिमालयन रि इन्सुरेन्स गरेर दुइटा पुनर्बीमा कम्पनी छन्। यी कम्पनीले कति भार आफै लिएका हुन्छन् त कति अन्य विदेशी पुनर्बीमा कम्पनीहरूमा सारेका हुन्छन्।