भोटेकोशी–त्रिशूली बाढीपछि जलविद्युत आयोजनाका सुरूङभित्र हराइरहेका कामदारको खोजी सुरू भएको ७ दिन बितिसकेको छ। बाढीको पानी, लेदो, ढुंगा र भग्नावशेषले सुरूङका प्रवेशमार्ग थुनिएका कारण उद्धार टोलीलाई भित्र पस्नै कठिन भइरहेको छ।
तर ७ दिन बितिसक्दा पनि सुरूङभित्र मानिस जीवितै हुन सक्ने सम्भावना सकिएको छैन।
भदौ १० को त्यो रौद्र बाढीले सिँगै जलविद्युत आयोजनादेखि सडक, पुल र दर्जनौं गाउँ–सहरहरू बगाएका बेला ती सुरूङभित्र अहिलेसम्म मान्छे सकुशल छन् भनी आस गरिनुको कारण के हो त?
सुरूङभित्र कति हावा बाँकी छ, पानी र लेदो कहाँसम्म छिरेको छ, सुरक्षित खाली भाग छ कि छैन र उद्धारकर्ताहरू भित्रसम्म कहिले पुग्न सक्छन्? — यिनै कुराले अबको सम्भावना निर्धारण गर्छ।
अन्तर्राष्ट्रिय उद्धार इतिहासमा पनि ८, ९, १४ र १७ दिनसम्म भूमिगत फसेका मानिस जीवित उद्धार गरिएका उदाहरण छन्।
तर ती सबै घटनामा बाँच्न सहयोग गर्ने सुरक्षित ठाउँ, सास फेर्न मिल्ने हावा वा बाहिरबाट आपूर्ति तथा सञ्चारको कुनै न कुनै आधार थियो।
र, यिनै आधारमा सुरूङभित्र थुनिएका मानिसका आफन्तजनले आस मारिसकेका छैनन्।
सुरूङको मुख बन्द हुँदैमा अक्सिजन तत्काल सकिन्छ?
बाढीले सुरूङको प्रवेशद्वार (मुख) थुनेपछि बाहिरको हावा भित्र पस्न रोकिए पनि सुरूङभित्र पहिल्यैबाट भएको हावाको ठूलो मात्रा एकै पटक हराउँदैन।
आस नमर्नुको सबभन्दा ठूलो आधार यही हो।
ठूलो भूमिगत संरचनामा सयौं वा हजारौं घनमिटर हावा हुन सक्छ।
उदाहरणका लागि — ५०० मिटर लामो, ५ मिटर चौडा र ५ मिटर अग्लो कुनै भागमा सैद्धान्तिक रूपले १२ हजार ५०० घनमिटर हावा अट्न सक्छ।
यसबाट एउटा महत्त्वपूर्ण कुरा के स्पष्ट हुन्छ भने, सुरूङको मुख थुनिनासाथ भित्रका मानिसलाई सास फेर्न अक्सिजन तुरून्तै समाप्त हुँदैन।
यति मात्र होइन, निर्माणाधीन जलविद्युत आयोजनाका सुरूङमा काम गर्ने मानिसका लागि हावा प्रवाह कायम राख्नु सामान्य सुरक्षा व्यवस्थाको हिस्सा हो।
यसमा बाहिरको हावा फ्यानका माध्यमबाट सुरूङभित्र पठाइन्छ। त्यसका लागि लामो भेन्टिलेसन पाइप प्रयोग गरिएको हुन्छ। माथिल्लो त्रिशूली–३ 'ए' सम्बन्धी नेपाल विद्युत प्राधिकरणको वार्षिक प्रतिवेदनमा सुरूङमा ठूलो भेन्टिलेसन पाइपको व्यवस्था गरिएको देखाइएको छ।
तर यसमा केही चुनौती छन्।
सुरूङभित्र अक्सिजन हुन्छ भन्दैमा धेरै लामो समय थुनिएर बसिरहन मिल्दैन।
मानिसले सास फेर्दा अक्सिजन लिन्छ र कार्बन डाइअक्साइड बाहिर निकाल्छ। बाहिरको हावा भित्र आउन र कार्बन डाइअक्साइड बाहिर जान नसके सुरूङभित्रको हावा क्रमशः असुरक्षित बन्दै जान्छ।
भूमिगत उद्धारसम्बन्धी अनुसन्धानले पनि कम अक्सिजन र उच्च कार्बन डाइअक्साइडलाई सुरूङ तथा खानीभित्रको प्रमुख खतराका रूपमा औंल्याएको छ।
त्यसैले महत्त्वपूर्ण कुरा के हो भने, 'भित्र अक्सिजन छ' भन्नु मात्र पर्याप्त हुँदैन। भित्रको हावा अझै सास फेर्न योग्य छ कि छैन भन्नेले ठूलो अर्थ राख्छ।
दिन घर्किँदै जाँदा अक्सिजनको मात्रा घट्ने र कार्बन डाइअक्साइड बढ्दै जाने भएकाले सास फेर्न समस्या हुन थाल्छ।
त्यसमाथि सुरूङमा पानी भरिँदै गएपछि हावाको ठाउँ पानीले ओगट्छ। त्यसपछि त झन् सास फेर्न पुग्ने अक्सिजन कम हुँदै जान्छ।
त्यस्तै, भेन्टिलेसन प्रणाली सामान्य अवस्थामा चलिरहेको थियो भन्दैमा बाढीपछि पनि त्यही प्रणालीले काम गरिरहेको छ भन्ने निष्कर्ष निकाल्न मिल्दैन।
बाढीले फ्यानको विद्युत आपूर्ति काटेको हुन सक्छ। भेन्टिलेसन पाइप भत्काएको हुन सक्छ। पाइप पानीले बगाएको हुन सक्छ। वा, प्रवेशमार्ग नै अवरूद्ध भएको हुन सक्छ।
त्यसैले अहिले सुरूङभित्रको वास्तविक अक्सिजन र कार्बन डाइअक्साइड मापन गर्नु नै सबभन्दा महत्त्वपूर्ण काममध्ये एक हो।
यहाँ एउटा अर्को प्रश्न पनि उठ्छ — के मानिस चुपचाप बसेमा अक्सिजन लामो समय पुग्छ?
केही हदसम्म।
शारीरिक गतिविधि बढ्दा शरीरलाई चाहिने शक्ति बढ्छ। आरामसँग बस्दा शक्ति खपत कम हुन्छ। त्यसैले स्थिर भएर बसिरहेको व्यक्तिले सक्रिय काम गरिरहेको व्यक्तिभन्दा तुलनात्मक रूपमा कम अक्सिजन खपत गर्छ।
भन्नुको मतलब, सुरूङभित्र थुनिएको अवस्थामा मानिसहरू शान्त भएर बसेका छन् भने त्यो ठाउँमा भएको अक्सिजनले उनीहरू धेरै दिन बाँच्न सक्छन्।
'एयर पकेट' किन जीवनको आधार बन्न सक्छ?
सुरूङको सबै भाग पानीले भरिएको छैन भने मानिसहरू बसेको स्थानमाथि वा वरिपरि हावाका लागि खाली ठाउँ रहन सक्छ।
वैज्ञानिक अध्ययनले भूमिगत वा हिउँभित्र पुरिएका मानिसमा पनि 'एयर पकेट' का कारण सास फेर्न मिल्ने समय बढाउन सक्ने देखाएको छ।
यसको अर्थ, सुरूङभित्र एउटा ठूलो खाली भाग रहेमा त्यहाँ मानिस केही समय टिक्न सक्छन्।
बाढीले सुरूङको केही भाग पानीले भरिए पनि अर्को भागमा हावा अड्किएर रहेको हुन सक्छ। मानिस त्यो भागमा छन् र उनीहरूको श्वासनली पानीभन्दा माथि छ भने उनीहरू तुरून्तै डुबेर ज्यान गुमाउनबाट जोगिन सक्छन्।
तर यसमा पनि केही चुनौती छन्।
एयर पकेट स्थायी सुरक्षा होइन। मानिसको संख्या धेरै भयो भने कार्बन डाइअक्साइड छिटो बढ्छ र अक्सिजन छिटो घट्छ। पानी बढ्दै गए हावाको परिमाण घट्छ।
त्यसैले एयर पकेटको आकार, त्यहाँ रहेका मानिसको संख्या र हावा बाहिर–भित्र हुने दर निर्णायक हुन्छ।
सुरूङको मुख नै फेला पार्न किन यति गाह्रो भयो?
सुरूङको मुख अर्थात् प्रवेशद्वार सामान्य अवस्थामा सजिलै पहिचान गर्न सकिन्छ। तर पहाडबाट तलतिर ढुंगा–माटो सहितको लेदोयुक्त बाढी आएको अवस्थामा मुख वरिपरिको भूभाग नै बदलिन सक्छ।
बाढीले सडक काट्न सक्छ। पुल बगाउन सक्छ। नदीको दिशा बदल्न सक्छ। सुरूङको मुखअगाडि माटो, बालुवा, ठुल्ठूला ढुंगा र काठ थुपारेर पुरानो प्रवेशमार्गलाई पूरै छोप्न सक्छ।
यो घटनामा यस्तै भएको देखिन्छ।
विशाल बाढीले जलविद्युत आयोजनाहरूको सुरूङ भएको ठाउँमा भूगोल नै परिवर्तन गरिदिएको छ। यसले कतिपय सुरूङहरू इन्जिनियरिङ नक्सा प्रयोग गरेर पत्ता लगाउनुपरेको छ। केही ठाउँमा सुरूङभित्र लेदो बाढी पसेकाले उद्धार टोली चिप्लो गेग्रानमा धसिँदै अघि बढिरहेका भिडिओहरू देखिन्छन्।
यसले पनि उद्धारमा समस्या ल्याएको छ।
मुख थुनिनु र र सुरूङ पूरै पुरिनु एउटै कुरा हो?
होइन।
यही भिन्नता यो घटनाको उद्धारका सम्बन्धमा बुझ्न सबभन्दा महत्त्वपूर्ण छ।
बाढीले सुरूङको मुखमा ठूलो गेग्रान थुपारेर बन्द गरिदिन सक्छ। तर त्यसको पछाडि मुख्य सुरूङको ठूलो भाग संरचनात्मक रूपमा खुलै रहन सक्छ।
अर्थात् — सुरूङको मुख पुरियो भन्दैमा भित्रका मानिसलाई सास फेर्न हावा सकियो भन्ने निष्कर्ष सिधै निकाल्न मिल्दैन।
तर अर्को अवस्था धेरै जटिल हुन्छ।
यदि बाढीको पानी, हिलो र ठूला ढुंगा सुरूङको मुखबाट भित्री भागसम्म पुगेका छन् भने मानिस बसेको सुरक्षित ठाउँ पनि डुबानमा पर्न सक्छ।
माथिल्लो त्रिशूली–३ 'ए' मा उद्धार टोलीले सुरूङको माथिल्लो भाग अर्थात् 'क्राउन' सम्म पानी, हिलो र ठूला ढुंगा पुगेको बताएका छन्। सेनाले त्यस ठाउँमा पानी निकाल्ने र हावा पठाउने काम गरिरहेको छ।
यसले एउटा कुरा देखाउँछ — बाढीको प्रभाव सुरूङको मुखभन्दा भित्रसम्म पुगेको छ।
तर यसले भूमिगत पावरहाउस वा त्यसभित्रका सबै कोठा पानीले भरिसकेका छन् भन्ने प्रमाण दिँदैन।
त्यो जान्न अझै प्रत्यक्ष पहुँच वा मापन आवश्यक हुन्छ।
के मुख खुलेपछि उद्धार तुरून्त हुन्छ?
आवश्यक छैन।
मुख भेटिनु भनेको उद्धारको सुरूआत हो। त्यसपछि हिलो हटाउनुपर्छ। पानी निकाल्नुपर्छ। सुरूङ सुरक्षित छ कि छैन हेर्नुपर्छ। भत्किएको भाग पार गर्नुपर्छ।
र, मानिस भेटिएपछि उनीहरूलाई सुरक्षित तरिकाले बाहिर निकाल्नुपर्छ।
कहिलेकाहीँ सिधा बाटोभन्दा ड्रिलिङ वा वैकल्पिक बाटो सुरक्षित हुन सक्छ।
अन्य अन्तर्राष्ट्रिय अभ्यासहरूले पनि सिधा बाटोबाट भन्दा वैकल्पिक बाटोबाट सफल उद्धार भएको देखाएको छ।
खाना नभए मानिस कति दिन बाँच्न सक्छ?
यहाँ अर्को भ्रम हटाउन जरूरी छ।
सात दिनसम्म खाना नपाउनुले मात्र जीवन सकिँदैन।
मानिसको शरीरमा ऊर्जा भण्डार भएर बसेको हुन्छ। केही दिन खाना नपाउँदा शरीरले पहिले ग्लाइकोजिन र त्यसपछि बोसो तथा अन्य स्रोत प्रयोग गरेर ऊर्जा जुटाउन थाल्छ।
मानिसमा गरिएको ब्रत सम्बन्धी अध्ययनमा सात दिनसम्म क्यालोरी नलिँदा पनि शरीरले वैकल्पिक ऊर्जा स्रोत प्रयोग गरेको देखिएको छ।
तर यसको अर्थ लामो समय भोकै बस्नु सुरक्षित हुन्छ भन्ने होइन। लामो समयमा भोकै रहँदा मांसपेसी घट्ने, रक्तचाप कम हुने, मेटाबोलिक समस्या र अन्य जटिलता हुन सक्छन्।
आपतकालीन उद्धारको हिसाबले ७ दिनसम्म खाना नपाउनुभन्दा पानी नपाउनु धेरै छिटो समस्याको कारण बन्न सक्छ।
मानव शरीरमा पानीको कमी हुँदा रक्तसञ्चारमा समस्या, अंगहरूमा असर र अन्ततः रक्तसञ्चार प्रणालीमा असर पर्न सक्छ।
शरीरमा पानीको मात्रा करिब १५–२० प्रतिशत गुम्दा मृत्युको जोखिम हुने र तातो वातावरणमा यो अवस्था केही दिनमै आउन सक्ने विभिन्न अध्ययनले देखाएका छन्।
त्यसैले सुरूङभित्र खाना उपलब्ध छ कि छैन भन्दा तत्कालका लागि पानी छ कि छैन भन्ने बढी महत्त्वपूर्ण हुन्छ।
तर सुरूङभित्र पानी देखिनु भनेको पिउन मिल्ने पानी हुनु होइन। बाढीको हिलो पानीमा माटो, सूक्ष्मजीव लगायत अन्य प्रदूषक तत्त्व हुन सक्छन्। त्यसैले 'सुरूङभित्र पानी छ' भनेर मात्र थुनिएका मान्छेहरूलाई पर्याप्त पिउने पानी छ भन्न सकिँदैन।
अन्तर्राष्ट्रिय समाचार संस्था एपीले उद्धार विज्ञहरूलाई उद्धृत गर्दै सफा पिउने पानीलाई यस्तो अवस्थामा बाँच्ने मुख्य आधारमध्ये एक मानेको छ।
लेदो सुरूङभित्रै पसेको छ भने बाँच्ने सम्भावना किन घट्छ?
सुरूङभित्र पर्याप्त अक्सिजन भए पनि लेदोयुक्त बाढी पसेको छ भने बाँच्ने सम्भावना कम हुँदै जान्छ।
किनभने, अब समस्या हावामा मात्र सीमित रहँदैन।
पानी र हिलोले मानिसलाई प्रत्यक्ष डुबाउन सक्छ। ठूला ढुंगा र लेदोयुक्त बाढीले शरीर थिच्न सक्छ।
हिलोले हावा अट्ने ठाउँ पनि साँघुरो पार्न सक्छ।
शरीर लगातार चिसो पानीमा परेर गल्छ, घाइते हुन सक्छ। अनि, घाइते भए उपचार नपाउँदा अवस्था झन् बिग्रिन सक्छ।
त्यसैले सुरूङभित्रको वास्तविक अवस्था बुझ्न सबभन्दा महत्त्वपूर्ण प्रश्न हो — पानी र लेदो मानिस बसेको ठाउँसम्म पुगेको छ कि छैन?
'७ दिन बित्यो' भनेको अब आशा सकियो?
होइन।
तर जोखिम पक्कै बढेको छ।
यहाँ विश्वका अघिल्ला उद्धार अभियानहरू धेरै महत्त्वपूर्ण हुन्छन्।
चीन, वाङजियालिङ – ८ दिन
सन् २०१० मा चीनको वाङजियालिङ कोइलाखानीमा ठूलो मात्रामा पानी पसेको थियो। ११५ जना कामदार आठ दिनपछि जीवित उद्धार भए।
उनीहरू धेरै दिन भूमिगत रहेर फोहोर पानी र उपलब्ध वस्तुको सहारामा बाँचेका थिए। घटनास्थलमा पानी निकै ठूलो मात्रामा पसेको थियो।
यो उदाहरण भोटेकोशीसँग तुलनात्मक रूपमा उपयोगी छ, किनभने यहाँ पनि मुख्य समस्या भूमिगत संरचनामा पानी पस्नु थियो।
दक्षिण कोरिया – ९ दिन
सन् २०२२ मा दक्षिण कोरियाको बोङ्गवामा दुई खानी कामदार २२१ घन्टा, अर्थात् ९ दिनभन्दा बढी भूमिगत फसेका थिए।
उनीहरू करिब १९० मिटर गहिराइमा थिए। कफी खाएर र पछि तलतिर बगेको पानी पिएर बाँचे। उद्धार हुँदा उनीहरू स्थिर अवस्थामा थिए।
तर यो घटनाको एउटा महत्त्वपूर्ण शिक्षा पनि छ — उनीहरू पूर्ण डुबानमा थिएनन्। सुरक्षित बस्ने ठाउँ भेटेका थिए।
जर्मनी, लेन्गेडे – १४ दिन
सन् १९६३ मा जर्मनीको लेन्गेडेको फलाम खानीमा पाँच लाख घनमिटर पानी र हिलो भूमिगत खानीमा पस्यो। त्यहाँ १२९ जना मानिस थिए।
तीमध्ये ११ जना १४ दिनपछि जीवित उद्धार भए। एउटा आधिकारिक प्राविधिक अध्ययनले उक्त घटनालाई जटिल उद्धारको उदाहरणका रूपमा प्रस्तुत गरेको छ।
यो उदाहरण भोटेकोशीका लागि महत्त्वपूर्ण छ, किनभने यहाँ पनि लेदोयुक्त पानी पसेको छ।
चीन, हुशान – १४ दिन
सन् २०२१ मा चीनको हुशान सुन खानीमा विस्फोटपछि फसेका ११ जना कामदार १४ दिनपछि जीवित उद्धार भए।
भारत, सिल्कयारा – १७ दिन
सन् २०२३ मा उत्तराखण्डको सुरूङ पुरिँदा ४१ जना कामदार १७ दिनसम्म फसे। साँघुरो पाइपमार्फत खाना, पानी र अन्य सामग्री पुर्याउँदै अन्ततः सबैलाई जीवित निकालिएको थियो।
यी घटनाको सबभन्दा ठूलो शिक्षा यही हो — थुनिएका मानिसको ठाउँ थाहा भएपछि हावा, पानी र सञ्चार पुर्याउन सकियो भने उद्धार गर्न समय प्राप्त हुन्छ।
भोटेकोशीमा सफल उद्धारको आशा गर्ने आधार पनि यिनै हुन्।
त्यसो भए भोटेकोशीमा ७ दिनसम्म उद्धार नहुनु स्वाभाविक हो?
यो प्रश्नलाई दुई भागमा हेर्नुपर्छ।
पहिलो — विपदको भौतिक अवस्था।
बाढीले यहाँको भौतिक अवस्था जटिल बनाइदिएको छ। भू–आकृति बदलिएको छ। सडक र पहुँचमार्ग क्षतिग्रस्त छन्। सुरूङका मुख पुरिएका छन्। सुरूङभित्र पानी र हिलो छ। ठूला ढुंगा र माटोको थुप्रो हटाउन भारी उपकरण चाहिएको छ।
कतिपय ठाउँमा बाढीले थुपारेका ढुंगा र माटोको रासले सुरूङको मुख नै हराएको छ। त्यो कहाँ थियो भनेर पत्ता लगाउनै कठिन भइरहेको छ।
यस्तो अवस्थामा पहिलो केही दिनसम्म उद्धार टोलीले केवल 'मानिस निकाल्ने' काम होइन, पहिले सुरूङसम्म पुग्ने बाटो खोल्ने काम गर्नुपरेको देखिन्छ।
दोस्रो — उद्धारको गति।
यसमा केही प्रश्न उठेका छन्।
सुरूङ उद्धार गर्ने क्षमता वा विशेषज्ञता भएको टोली सरकारले कति समयपछि परिचालन गर्यो?
मुख खोतल्ने, भित्र हावा कति छ भनेर मापन गर्ने र हावा कम हुँदै गएको छ भने वैकल्पिक बाटोबाट हावा पठाउने योजना कति छिटो सुरू भयो?
विदेशी विशेषज्ञ टोलीलाई कहिले औपचारिक रूपमा बोलाइयो?
यी प्रश्नले आलोचनाका आधार दिन्छन्।
स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था इप्पान नेपालका अध्यक्ष मोहनकुमार डाँगीले सुरूङमा फसेकाहरूको उद्धारका लागि विदेशी विज्ञ टोली परिचालन गर्न ढिलाइ भएको बताउँदै आएका छन्।
सबभन्दा बढी मान्छे हराइरहेको माथिल्लो त्रिशूली–१ मा कोरियाले आफू पनि उद्धारमा खटिने चासो देखाएको थियो। तर नेपालले अनुमति नदिँदा भारतीय र चिनियाँ बाहेक अन्य मुलुकका प्राविधिकहरू उद्धारमा संलग्न हुन पाएका थिएनन्। अहिले भने कोरियाको पनि एउटा टोली खटिएको जनाइएको छ।
कोरियन टाइम्सका अनुसार खोज, उद्धार तथा राहत कार्यक्रममा सहयोगका लागि कोरियाबाट ४४ सदस्यीय विपद राहत टोली बुधबार बिहान ६ बजे नेपाल आइपुग्दैछ।
यस सम्बन्धमा नेपाल विद्युत प्राधिकरणका पूर्वकार्यकारी निर्देशक कुलमान घिसिङले पनि सुरूङमा फसेका मानिसहरूको उद्धारमा आयोजनाका प्राविधिक जनशक्तिसँग पर्याप्त समन्वय हुन नसकेको बताएका छन्।
उनका अनुसार उद्धार टोलीले सम्बन्धित जलविद्युत आयोजनाका इन्जिनियर र परियोजना व्यवस्थापकसँग सुरूदेखि नै समन्वय गरेर योजना बनाएको भए उद्धार कार्य थप प्रभावकारी र छिटो हुन सक्थ्यो।
मंगलबार सेतोपाटीसँगको कुराकानीमा घिसिङले उद्धारको नेतृत्व गरिरहेको नेपाली सेनाले सुरूङभित्र प्रवेश गर्नुअघि सम्बन्धित आयोजनाका प्राविधिकसँग छलफल गरेर योजना बनाउनुपर्ने बताएका छन्।
'सम्बन्धित हाइड्रोपावरका इन्जिनियरहरूलाई साथमा राखेर उद्धार टोलीले योजना बनाएर अघि बढ्नुपर्थ्यो,' उनले भने, 'प्रोजेक्टसँग सम्बन्धित टिमसँग निकै ढिलो सम्पर्क गरियो। कतिपय आयोजनाले आफै उद्धारमा जान खोजेका रहेछन्। तर हेलिकप्टर उपलब्ध नगराएको भन्ने गुनासो पनि गरेका छन्।'
उद्धार अभियानमा समन्वय गर्ने र जलविद्युत आयोजनाको संरचना बुझेर काम गर्ने अनुभवको कमी स्पष्ट देखिएको घिसिङको भनाइ छ।
'हाइड्रोपावर आयोजनाका सम्बन्धितलाई तिमीहरू उद्धारको योजना बनाऊ, हामी कार्यान्वयनमा सहयोग गर्छौं भन्नुपर्थ्यो,' उनले भने, 'के गरौं भन्ने उहाँहरूको पनि मनसाय होला। तर आफ्नै हिसाबले काम गर्न खोज्दा अनुभवको कमी देखियो।'
उनले आयोजनासँग सम्बन्धित प्राविधिक र कर्मचारीलाई आवश्यक स्रोतसाधन, खासगरी हेलिकप्टर उपलब्ध गराउन सके उद्धारमा तीव्रता आउन सक्ने बताए।
'काम गर्न खोजेको देखिन्छ। तर अनुभव देखिएन,' उनले भने, 'समन्वय गर्ने कुरामा पनि अनुभव भएन।'
उद्धारमा कहाँ के भइरहेको छ?
भोटेकोशी–त्रिशूलीमा विनाशकारी बाढी आएको सात दिन बितिसक्दा पनि ११ वटा जलविद्युत आयोजनामा कार्यरत झन्डै ९०० जना प्राविधिक, कर्मचारी तथा श्रमिकहरू अझै सम्पर्कविहीन छन्।
सम्पर्कविहीनहरूको ठूलो संख्या सुरूङ र पावरहाउसभित्र फसेको सम्बन्धित जलविद्युत आयोजनाहरूले जनाएका छन्।
इप्पानले कुन आयोजनामा कति कर्मचारी तथा श्रमिक सम्पर्कविहीन छन् भन्ने विवरण सार्वजनिक गरेको छ, जुन यस प्रकार छ —
रसुवाका ६ आयोजना:
• माथिल्लो त्रिशूली–१ (२१६ मेगावाट) : ५७६ जना सम्पर्कविहीन (अहिलेसम्म २५४ जनाको उद्धार, ३०० जना सुरूङमा फसेको)
• रसुवागढी (१११ मेगावाट) : ९३ जना
• लाङटाङ खोला (२० मेगावाट) : ४२ जना (१८ जनाको उद्धार, सुरूङभित्र अझै २५ जना फसेको)
• चिलिमे (२२ मेगावाट) : ८ जना
• मैलुङ खोला (५ मेगावाट) : ७ जना (सुरूङमा नफसेको)
• रसुवा–भोटेकोशी (१२० मेगावाट) : ४ जना
नुवाकोटका ५ आयोजना:
• माथिल्लो त्रिशूली–३ 'बी' (३७ मेगावाट) : १२२ जना (११ जनाको उद्धार)
• माथिल्लो त्रिशूली–३ 'ए' (६० मेगावाट) : ४२ जना
• मिडल त्रिशूली गंगा (१९.६ मेगावाट) : २ जना
• त्रिशूली (२४ मेगावाट) : १ जना
• देवीघाट (१४.९ मेगावाट) : १ जना
कुल सम्पर्कविहीन संख्या सार्वजनिक भए पनि सुरूङ तथा पावरहाउसभित्र ठ्याक्कै कति जना फसेका छन् भन्ने यकिन आँकडा आइसकेको छैन।
इप्पानको तथ्यांक अनुसार कम्तिमा ३२५ जना सुरूङभित्र फसेको देखिन्छ।
सबभन्दा धेरै मानिस सम्पर्कविहीन रहेको माथिल्लो त्रिशूली–१ जलविद्युत आयोजनामा खोजतलास तथा उद्धारको काम अझै कठिन अवस्थामा छ।
सुरूङको मुख ठूला ढुंगाले पूरै बन्द भएको र आवश्यक मेसिन समेत बिग्रिएकाले उद्धारमा खटिएको माउन्टेन रेस्क्यू टोली सुरूङभित्र प्रवेश गर्न सकेको छैन।
उद्धारलाई तीव्रता दिन कम्पनीले नेपाल माउन्टेनियरिङको विशेष माउन्टेन रेस्क्यू टिम खटाएको छ। तर यहाँ सुरूङको मुख नै घरजत्रा ठूला ढुंगाले बन्द पाइएको छ।
त्यस्तै, यहाँको ड्याम साइटमा पहिलेदेखि नै चिनियाँ टोलीले काम गरिरहेको छ। त्यहाँ पनि सुरूङभित्र ठूलो ढुंगा आएर बाटो बन्द रहेको प्राविधिकहरूले बताएका छन्।
यसबीच माउन्टेन रेस्क्यू टोलीले सम्पर्कविहीन व्यक्तिहरू कतै जीवित अवस्थामा फसेका छन् कि भनेर जमिन र हवाई दुवै माध्यमबाट खोजी गरेको छ। तर हालसम्म कोही फेला परेका छन्।
नेपाली सेनाको टोली पनि फिल्डमा पुगेको छ। तर आवश्यक स्रोतसाधनको अभावमा तत्काल प्रभावकारी उद्धार गर्न सकिएको छैन।
माथिल्लो त्रिशूली–३ 'ए' मा सुरूङको मुख फेला परिसकेको छ। मुखमा थुप्रिएका ढुंगा–माटो हटाएर भित्र छिर्ने बाटो बनाइएको छ। सुरूङभित्र पानी रहेको पत्ता लागेपछि पम्प प्रयोग गरेर निकाल्ने काम भइरहेको छ। सुरूङभित्र पानी भरिएकाले उद्धार चुनौतीपूर्ण बनेको देखिन्छ।
त्यस्तै, लाङटाङ खोला जलविद्युत आयोजनाको सुरूङभित्र करिब १०० मिटरसम्म उद्धारकर्ता प्रवेश गरे पनि त्योभन्दा अगाडि जान सकेनन्। करिब १५० मिटर भित्र पुग्नुपर्ने भए पनि बाटोमा ठुल्ठूला ढुंगा भेटिएपछि उद्धारकर्ताहरू रोकिएका थिए।
चिलिमे जलविद्युत आयोजनाको सुरूङमा पनि मुखनिर १५ मिटर जतिको ठाउँ मात्र खुलेको छ। त्यहाँबाट उपकरण लैजान सकिएको छैन।
माथिका यी विवरणले उद्धार कार्य रोकिएको छैन भन्ने देखाउँछ।
तर मानिसहरू भएको ठाउँसम्म अझै पुग्न सकिएको छैन।
उद्धारकर्ताका लागि अब सबभन्दा महत्त्वपूर्ण के हो?
उद्धारकर्ताहरूले अब 'कति मिटर सुरूङ खनियो?' भनेर मात्र हेरेर पुग्दैन। भित्रको वातावरणबारे जानकारी पनि चाहिन्छ।
भित्र हावा छ कि छैन?
कार्बन डाइअक्साइड कति छ?
पानी कति उचाइमा छ?
हिलो कति गहिरो छ?
एयर पकेट बाँकी छ?
भित्रबाट कुनै आवाज वा जीवनका संकेत आइरहेका छन्?
बाहिरबाट हावा, पानी वा सञ्चार पुर्याउन सकिन्छ?
यी तथ्य भेटिएपछि मात्र थुनिएका मानिसहरूको जीवित उद्धारको वास्तविक अनुमान गर्न सकिन्छ।
तर यी सबै सूचक सकारात्मक छन् भन्ने अपेक्षामा कसैले पनि आस मारिसकेका छैनन्।
***