सन् २००२ को जाडो याममा इन्द्रधारा विष्ट अमेरिकाको एरिजोना पुगेका थिए। चिसो मौसम छल्न त्यहाँ पुगेका अमेरिकी वृद्धवृद्धाहरू तीन–चार महिना त्यहीँ बिताउँथे।
उनी पनि एरिजोनाको टुबक भन्ने ठाउँमा करिब एक साता बसे। त्यहाँ उनकी बहिनी चार महिना पसल चलाउँथिन्।
इन्द्रले त्यहाँ पहिलो पटक न्यानो मौसम खोज्दै आएका वृद्धवृद्धा बिहानदेखि बेलुकैसम्म गल्फ खेलिरहेका देखे। एउटै रिसोर्टको आसपास ३–४ वटा गल्फ कोर्स सञ्चालनमा थिए।
त्यो बेला नेपालका हिमाली क्षेत्रमा पदयात्रा पर्यटनलाई सडकले अतिक्रमण गरिरहेको थियो। वैकल्पिक पर्यटन विकास गर्नुपर्ने देखिन थालिसकेको थियो।
इन्द्रले एरिजोनाबाटै निर्णय गरे — गल्फ खेल मात्रै होइन, पर्यटनको माध्यम पनि रहेछ। अब लोमान्थाङमा गल्फ कोर्स बनाउँछु।
त्यही सोचले दुई दशकपछि उनलाई नेपालको सबभन्दा उचाइमा गल्फ कोर्स बनाउने अभियानसम्म ल्याइपुर्याएको छ।
लोमान्थाङ गाउँपालिका–५ लोवथाङमा समुद्री सतहबाट करिब ४७०० मिटर उचाइमा रहेको 'मुस्ताङ गल्फ कोर्स' ले अहिले खेलकुद र पर्यटनसँगै जलवायु परिवर्तनबारे विश्वको ध्यान खिच्ने प्रयास गरिरहेको छ। लोवथाङ यस्तो ठाउँ हो, जहाँबाट झण्डै ३६० डिग्रीमै लमतन्न हिमाल देखिन्छ। फेदमा माटोको सहर लोमान्थाङ छ।
गल्फ कोर्सका प्रबन्ध निर्देशक रहेका इन्द्रले भने, 'म यसलाई खेल्ने ठाउँ मात्र मान्दिनँ। यो नयाँ पर्यटन गन्तव्य निर्माण गर्ने प्रयोग हो।'
२०७४ सालमा गण्डकी प्रदेश सांसद बनेपछि इन्द्रले तत्कालीन प्रदेश सरकारको नीति तथा कार्यक्रम निर्माणका क्रममा खेलकुद पर्यटनलाई प्राथमिकतामा राख्न सुझाव दिएका थिए।
त्यति बेला उनको तर्क थियो— उच्च हिमाली क्षेत्रमा खेलकुद पूर्वाधार विकास गर्न सके विदेशी खेलाडी समेत ल्याउन सकिन्छ।

उनकै सुझावपछि प्रदेशको पहिलो पञ्चवर्षीय योजनामा मुस्ताङ गल्फ कोर्स परेको थियो।
'पदमार्ग सडकले सखाप पारिसकेका छन्। अब पनि वैकल्पिक पर्यटन विकास गर्न सकिएन भने नेपालले कमाउने ठाउँ गुमाउँछ,' उनले भने, 'लोमान्थाङको गल्फ कोर्स गिनिज बुकमा नाम लेखाउन मात्रै होइन, यहाँको विकासको नयाँ आयाम पनि हो।'
इन्द्रका अनुसार सिक्किममा करिब ३९५० मिटर उचाइ रहेको गल्फ कोर्स विश्वकै अग्लो मानिन्छ। लोवथाङको उचाइ त्योभन्दा ७५० मिटर बढी छ। त्यसैले उनको लक्ष्य यसलाई विश्वकै उच्च स्थानमा रहेको गल्फ कोर्सका रूपमा गिनिज बुक अफ वर्ल्ड रेकर्डमा दर्ज गराउने हो।
गल्फ डाइजेस्ट पत्रिकाले समेत यसलाई विश्वकै अग्लो स्थानको गल्फ कोर्स भनेर उल्लेख गरिसकेको छ।
'विश्व कीर्तिमान त छँदैछ, मेरो सोच गल्फ कोर्स नेपालको पर्यटन प्रवर्द्धनमा तेस्रो गन्तव्य बन्न सक्छ भन्ने हो,' उनले भने।
इन्द्रको कल्पनामा काठमाडौं र पोखरापछि पर्यटक तान्ने अर्को गन्तव्यका रूपमा मुस्ताङलाई खेलकुदसँग जोडेर विकास गर्न सकिन्छ।
यस वर्ष मुस्ताङमा 'टी फर क्लाइमेट' नारासहित गल्फ प्रतियोगिता भएको थियो। विश्वभर जलवायु परिवर्तनको असर बढिरहेका बेला हिमाली क्षेत्रमा त्यसको प्रभाव अझ गम्भीर बन्दै गएकाले यसरी क्रार्यक्रम गरिएको इन्द्र बताउँछन्।
नेपालमा भोटेकोशीसहित विभिन्न नदीमा आएका बाढी, हिमाली क्षेत्रमा बढ्दो प्राकृतिक जोखिम र पछिल्ला विपदले उनलाई चिन्तित बनाएको छ। त्यसैले यस पटक हिमालको टुप्पोबाटै जलवायु परिवर्तनबारे विश्वको ध्यानाकर्षण गराउने प्रयास गरिएको उनी बताउँछन्।
'जलवायु न्याय पाउनुपर्छ भनेर हो,' इन्द्रले भने, 'हिमालको टुप्पोबाटै यसको आवाज उठाउनुपर्छ भनेर हामीले टी फर क्लाइमेट नारा राखेका हौं।'
यो प्रतियोगिताको पाँचौं संस्करण हो। मुस्ताङमा खेल्न आउने विदेशीको संख्या अहिले पनि ठूलो छैन, वर्षमा करिब १०–१२ जना विदेशी गल्फर आउँछन्। तर हेर्न आउनेको संख्या सयौं भइसकेको छ। इन्द्रका लागि यही सम्भावनाको सुरूआत हो।
अब यहाँ क्लब हाउस बनाउनुपर्नेछ। मैदानको हरियाली थप व्यवस्थित गर्नुपर्नेछ। यसका लागि सरकारको सहयोग आवश्यक रहेको उनी बताउँछन्।
यो प्रतियोगिताले कीर्तिमान पनि बनाएको छ। करिब ४७०० मिटर उचाइमा पहिलो पटक व्यावसायिक गल्फ प्रतियोगिता भएको हो।
प्रतिकूल मौसमका कारण प्रोफेसनलतर्फको खेल १४ होलमा सीमित गरियो। नेपालका नम्बर एक गल्फर भुवन नगरकोटीले २ अन्डर खेल्दै उपाधि जिते। निरज तामाङ ३ ओभर सहित दोस्रो भए। दिनेश प्रजापति ५ ओभर सहित तेस्रो र सञ्जय लामा ६ ओभर सहित चौथो भए। स्वास्थ्य समस्याका कारण जयराम श्रेष्ठले फ्रन्ट नाइनपछि प्रतिस्पर्धा छाडे।
भुवनलाई 'हिमालयन मास्टर' घोषणा गर्दै ७५ हजार रूपैयाँ नगदसहित मास्टर कोट प्रदान गरियो। दोस्रो भएका निरजले ५० हजार तथा तेस्रो, चौथो र पाँचौं स्थानका खेलाडीले २५–२५ हजार रूपैयाँ पाए।
चौथो संस्करणसम्म प्रतियोगिता एम्योचरमा सीमित थियो। पहिलो पटक व्यावसायिक खेलाडीलाई पनि समेटिएको इन्द्रले बताए।


एम्योचरको पाँचौं संस्करणको उपाधि बाबु कुमार पौडेलले जिते। मौसमका कारण एम्योचर खेल पनि १५ होलमा सीमित गरियो। बाबुले २८ अंक बनाए।भक्तराज गुरूङ २५ अंकसहित रनरअप भए। समान २५ अंक बनाएका जीवराम गुरूङलाई अन्तिम पाँच होलको काउन्टब्याकका आधारमा पछि पार्दै भक्तराज दोस्रो बने।
ग्रस विनर उदिमकुमार राई बने। दुई ह्यान्डिक्याप भएका उनले १७ अंक बनाए।
सिनियरतर्फ जीवराम गुरूङ विजेता बने। लेडिजतर्फ आस्था दुलालले २६ अंकसहित उपाधि जितिन्। बालकाशी गुरूङ २१ अंकसहित रनरअप भइन्। महिलातर्फ सहभागी सबैले १८ होल पूरा गरेका थिए।
मोस्ट बर्डिज बाबु कुमार पौडेलले तीन बर्डिजसहित जिते। लंगेस्ट ड्राइभ राम तामाङ र क्लोजेस्ट टू द पिन जान्वी गुरूङ बने।
लोमान्थाङ गाउँपालिकाले सुरूदेखि नै मुस्ताङ गल्फ कोर्सलाई सहयोग गर्दै आएको गाउँपालिका अध्यक्ष टासी नोर्बु गुरूङ बताउँछन्। उनका अनुसार गल्फले लोमान्थाङलाई खेलकुद पर्यटनको नयाँ गन्तव्यका रूपमा स्थापित गर्न सक्छ।
'स्पोर्ट्स टुरिजम प्रवर्द्धन गर्न यसले ठूलो भूमिका खेलेको छ,' अध्यक्ष टासी नोर्बुले भने, 'उच्च गुणस्तरको पर्यटक गल्फले ल्याउँछ।'
उनका लागि खेलाडीहरू खेल्न मात्रै आएका छैनन्, हिमालबाट विश्वलाई एउटा सन्देश पनि सुनाइरहेका छन्।
इन्द्रको अभियान भने अझ ठूलो लक्ष्यतिर हेरिरहेको छ—विश्वकै अग्लो गल्फ कोर्सको कीर्तिमान र त्यसै मैदानबाट जलवायु संकटबारे विश्वलाई सुनाउने हिमाली आवाज।

