भदौ १० गते भोटेकोशी–त्रिशूली नदीमा विनाशकारी बाढी आउनुका कारणबारे हामीले यसअघि दुईवटा स्टोरी लेख्यौं।
पहिलो स्टोरीमा हामीले लेख्यौं — त्यस दिन बिहान लाङटाङ लिरूङ हिमालको उत्तरी भिरालो पाखामा बरफ मात्र फुटेको थिएन, हिमनदीको विशाल भाग र त्यो हिमनदी मुनिको चट्टानी पहाडको ठूलो हिस्सा नै फुटेर तल खसेको थियो। त्यसले ल्याएको ढुंगा, माटो र गेग्रानयुक्त बहाव ल्हेन्दे खोलामा मिसिएपछि पानीको ठूलो परिमाण थपियो। र, झन् ठूलो लेदो–गेग्रानयुक्त बाढी बन्यो।
(हेर्नुहोस्: लाङटाङमा हिमनदी सहितको पहाड कसरी खस्यो? वैज्ञानिकहरू के भन्दै छन्?)
दोस्रो स्टोरीमा हामीले लाङटाङमा पहाड खसेपछि सुरूआती ७ मिनेटमा के–के भए, त्यसबारे विस्तारमा चर्चा गर्यौं।
(हेर्नुहोस्: नयाँ भिडिओ र स्याटलाइट तस्बिरले देखाएको 'लाङटाङमा पहाड खसेपछिको ७ मिनेट')
यी त भए विपदको सुरूआत पछिका दृश्य।
यसै क्रममा अहिले एउटा नयाँ वैज्ञानिक तथ्य बाहिर आएको छ, जसले विपद सुरू हुनुभन्दा अगाडिदेखि लाङटाङको त्यस क्षेत्रमा भइरहेको भौगर्भिक हलचलको कथा भन्छ।
त्यो भौगर्भिक हलचलले नै भदौ १० गतेको विपद निम्त्याउने आधार तयार पारेको आकलन गरिएको छ।
एक अमेरिकी भौगर्भिक वैज्ञानिकले राडार इमेज विश्लेषणका आधारमा विनाशकारी बाढी आउनुभन्दा ७ दिनअघिसम्म लाङटाङको उच्च हिमाली क्षेत्रको जमिन बिस्तारै तल सरिरहेको बताएका छन्।
अमेरिकाको भर्जिनिया टेक विश्वविद्यालयका भूगर्भ वैज्ञानिक तथा सहायक प्राध्यापक मनुचेहर सिर्जाइले अगस्ट ३० (आइतबार) मा यस्तो विश्लेषण सार्वजनिक गरेका हुन्।
उनले युरोपको 'कोपरनिकस सेन्टिनल–१' स्याटलाइटबाट प्राप्त राडार इमेज हेरेर अगस्ट २६ (भदौ १०) मा हिमनदी र त्यसमुनिको चट्टानी पहाड खस्नुअघि नै त्यो क्षेत्र बिस्तारै तलतिर सरिरहेको विश्लेषण गरेका छन्।
उनले यस्तो विश्लेषण गर्न सन् २०२६ जनवरी ८ देखि अगस्ट १९ सम्म स्याटलाइटबाट प्राप्त तस्बिर र तथ्यांकहरू केलाएका छन्।
यसबीच त्यहाँको जमिन प्रतिमहिना करिब १० मिलिमिटरका दरले तल सरिरहेको उनको भनाइ छ।
भूगर्भ वैज्ञानिक सिर्जाइले अन्तिम तथ्यांक संकलन गरेको ७ दिनपछि नै लाङटाङ क्षेत्रमा हिमनदी फुटेर त्यो सँगसँगै चट्टानी पहाडको ठूलो हिस्सा तल खसेको थियो। र, विनाशकारी बाढी निम्त्याएको थियो।
उनले 'एक्स' (ट्विटर) मार्फत सार्वजनिक गरेको आफ्नो विश्लेषणमा लेखेका छन्, 'हिमचट्टान खस्नुअघि नै उक्त भिरालो हिमाली पाखामा १० एमएम प्रतिमहिनाका दरले जमिन तल सरिरहेको देखिन्छ।'
भन्नुको मतलब, भदौ १० गते लाङटाङमा हिमनदी र पहाड खस्नुअघि नै त्यहाँको जमिन पूर्ण रूपमा स्थिर थिएन। त्यसका केही भागमा स्याटलाइटले नाप्न सक्ने गरी सूक्ष्म रूपमा हलचल भइरहेको थियो।
तर यसको अर्थ वैज्ञानिकहरूले त्यही बेला यहाँको पहाड खस्दैछ भनेर थाहा पाइसकेका थिए भन्ने होइन।
यो विश्लेषण विपद आइसकेपछिको अवस्थाका आधारमा गरिएको हो।
विपद कहाँबाट सुरू भएको हुन सक्छ भन्ने थाहा भएपछि सिर्जाइले त्यसअघिका स्याटलाइट तथ्यांक फर्केर हेर्दा यस्तो नतिजा देखेका हुन्।
त्यसैले यो उनको भविष्यवाणी होइन।
बरू दुर्घटनाअघि त्यहाँ के भइरहेको थियो भनेर बुझ्ने प्रारम्भिक वैज्ञानिक प्रयास हो।
प्रतिमहिना १० मिलिमिटर भनेको कति ठूलो हो?
यहाँ करिब १० मिलिमिटर प्रतिमहिनाका दरले पहाड तल सरिरहेको थियो भन्नुको मतलब त्यो ठाडै तल धस्सिरहेको थियो भनेर बुझ्न मिल्दैन।
स्याटलाइटबाट प्राप्त तथ्यांकका आधारमा फरक समयमा लिइएका राडार इमेजको नाप तुलना गरेर जमिनको अत्यन्त सानो हलचल पनि पत्ता लगाउन सकिन्छ।
युरोपेली अन्तरिक्ष एजेन्सी 'इएसए' का अनुसार यस्तो प्रविधिले केही मिलिमिटरसम्मको हलचल पनि मापन गर्न सक्छ। बादल लागेको बेला वा रातको समयमा पनि राडारले यस्तो तथ्यांक निकाल्न सक्छ।
तर यहाँ समस्या के हो भने, राडारले जमिनमा आएको हलचल त मापन गर्छ, तर जमिन ठाडो वा तेर्सो कतातिर सर्यो भन्ने छुट्टाछुट्टै नाप्दैन।
यसले नाप्ने भनेको स्याटलाइटबाट हेर्दा भूसतहमा आउने विचलन मात्र हो। त्यसैले राडारले दिने तथ्यांकलाई भिरालो पाखाको बनोट र स्याटलाइटको अवस्थितिसँग मिलाएर व्याख्या गर्नुपर्छ।
सिर्जाइले आफ्नो प्रारम्भिक विश्लेषणमा यहाँको जमिन 'तलतिर सरिरहेको' भनेका छन्।
मुख्य वैज्ञानिक प्रश्न यहीँबाट सुरू हुन्छ।
त्यो सामान्य हिमनदीको चाल थियो कि अस्थिरताको संकेत?
हिमनदी आफैमा स्थिर वस्तु होइन। त्यो स्वाभाविक रूपमा पनि सर्छ। अर्थात्, त्यसमा स्वाभाविक रूपले नै हलचल भइरहेको हुन्छ।
त्यसैले हिमनदी क्षेत्रमा हलचल देखियो भन्दैमा के त्यसलाई ठूलो पहाड खस्न लागेको संकेत मान्न मिल्छ?
अहिले थाहा हुन बाँकी सबभन्दा महत्त्वपूर्ण प्रश्न यही हो — सिर्जाइले लाङटाङको भिरालो पाखामा जसरी जमिन सरिरहेको देखे, त्यो हिमनदीमा आउने स्वाभाविक हलचल मात्र थियो, वा भदौ १० गते हिम–चट्टानको पहाड नै खस्ने गरी उत्पन्न भइरहेको भौगर्भिक अस्थिरताको संकेत थियो?
यसको उत्तर खोज्न केही थप कुरा थाहा हुनुपर्छ।
जस्तो — उक्त क्षेत्रमा सामान्य अवस्थामा हिमनदी कति गतिमा सर्छ? जनवरीदेखि अगस्टसम्म त्यहाँको जमिनी हलचल उस्तै थियो कि अगस्ट २६ नजिकिँदै जाँदा तीव्र हुँदै गएको थियो?
त्यो हलचल मुख्य रूपमा हिमनदीमा थियो कि चट्टानमा पनि थियो?
र, सबभन्दा महत्त्वपूर्ण प्रश्न त, त्यति बेला राडारको तथ्यांक विश्लेषणबाट धेरै हलचल देखिएको ठाउँ पछि पहाड भत्किएको क्षेत्रसँग ठ्याक्कै मिल्छ कि मिल्दैन?
यी प्रश्नको जबाफ सिर्जाइको अहिलेको एउटा प्रारम्भिक विश्लेषणले दिँदैन।
हामीले यसबारे त्रिभुवन विश्वविद्यालय केन्द्रीय वातावरण विभागका सह–प्राध्यापक तथा हिमनदी विज्ञ सुदीप ठकुरीसँग कुरा गर्दा उनले सिर्जाइको विश्लेषणले दिने तथ्यांक हिमनदी मुनिको चट्टानी पहाडकै भएको बताए।
'हिमनदीका लागि महिनाको १० एमएम हलचल एकदमै सामान्य हो। यसमा त्योभन्दा बढी नै हलचल भइरहेको हुन्छ। त्यसैले प्राध्यापक सिर्जाइले राडार इमेजका आधारमा जमिनी हलचलको जुन तथ्यांक दिएका छन्, त्यो हिमनदीको नभई चट्टानी सतहकै हो,' उनले सेतोपाटीसँग भने।
जमिनी हलचलको तथ्यांकबाट त्यस क्षेत्रको सतहमुनि केही गतिविधि भइरहेको छ र त्यसले पछि कुनै परिणाम दिनसक्छ भनेर बुझ्नुपर्ने उनी बताउँछन्।
'यसले हिमनदीमुनिको चट्टानी सतह चर्केर चिरा परिरहेको छ वा पहिले नै परेको चिरा बिस्तारै सर्दैछ भन्ने संकेत दिन्छ। समग्रमा यसको निष्कर्ष भनेको भूसतह स्थिर छैन भन्ने नै हो,' उनले भने।
पहिरो जाँदा पनि त्यहाँको जमिनमा यस्तै हलचल मापन गरिने उनको भनाइ छ।
सात दिनअघिको तथ्यांक किन महत्त्वपूर्ण छ?
सिर्जाइको विश्लेषणलाई चासोपूर्वक हेरिनुको एउटा कारण त्यसको समय हो।
उनले प्रयोग गरेको सेन्टिनल–१ राडारको अन्तिम इमेज अगस्ट १९ को हो।
संयोगको कुरा, त्यसको सात दिनपछि नै यो विपत्ति आयो।
त्यसैले दुर्घटना हुनुभन्दा केही दिनअघिसम्मको सतहको हलचल स्याटलाइटमा पक्कै सुरक्षित छ।
यसले एउटा महत्त्वपूर्ण तर कठिन प्रश्न जन्माउँछ — यदि अगस्ट २६ (भदौ १० गते) मा यो विपद नआइदिएको भए अगस्ट १९ को तथ्यांक हेरेर त्यहाँ असामान्य खतरा विकास भइरहेको थियो भनेर वैज्ञानिकले चिन्न सक्थे?
अहिले हामीसँग यसको उत्तर छैन।
सिर्जाइ स्वयंले पनि आफ्नो प्रारम्भिक नतिजा प्रस्तुत गर्दै यही प्रकारको प्रश्न उठाएका छन् — के स्याटलाइट राडार प्रयोग गरेर उच्च हिमाली क्षेत्रको हिमनदी तथा हिमचट्टान प्रणालीमा विकास हुँदै गएको अस्थिरता र पहाड नै खस्ने घटना विपदअघि नै पहिचान गर्न सकिन्छ?
यो प्रश्नको उत्तर पाउन अर्को महत्त्वपूर्ण तथ्य चाहिन्छ — हिमाली क्षेत्रका कति हिमनदी वा पहाडी पाखामा यस्तै जमिनी हलचल देखिन्छ तर कहिल्यै पहाड खस्दैन?
यदि धेरै ठाउँमा सामान्य रूपमा यस्तो हलचल हुन्छ भने १० मिलिमिटरको संकेतबाट मात्र खतरा छुट्याउन सकिँदैन।
तर यदि पहाड खसेको भूभागमै असामान्य हलचल थियो र विपदको दिन नजिकिँदै जाँदा त्यो हलचल निरन्तर बढेको देखियो भने यसको वैज्ञानिक महत्त्व धेरै बढ्छ।
अहिले के भन्न सकिन्छ, के भन्न सकिँदैन?
सिर्जाइले सार्वजनिक गरेको सामग्री पूर्ण वैज्ञानिक निष्कर्ष होइन। उनी आफैले यसलाई 'प्रारम्भिक विश्लेषण' भनेका छन्।
तर उनको विज्ञता यही क्षेत्रमा छ।
भर्जिनिया टेकमा उनी भूगर्भ विज्ञानका सहायक प्राध्यापक हुन्। स्याटलाइट र राडार इमेज प्रयोग गरेर पृथ्वीको सतहमा हुने सूक्ष्म हलचल अध्ययन गर्नु उनको प्रमुख अनुसन्धान क्षेत्र हो।
त्यसैले उनले देखाएको राडार इमेजलाई गम्भीरतापूर्वक लिनुपर्ने पर्याप्त आधार छ।
तर त्यसबाट अहिले नै 'लाङटाङको विपत्ति ७ दिनअघि नै भविष्यवाणी गर्न सकिन्थ्यो' भन्न मिल्दैन।
'महिनामा १० मिलिमिटरका दरले जमिन सरेपछि पहिरो आउँछ' भन्न पनि मिल्दैन।
अहिले यति मात्र भन्न सकिन्छ — अगस्ट २६ मा भत्किएको हिम–चट्टान क्षेत्र आसपास दुर्घटनाअघि नै स्याटलाइटले मापन गर्न सक्ने हलचल भइरहेको थियो।
अब अनुसन्धानले पत्ता लगाउनुपर्ने कुरा त्यो हलचलको चरित्र हो।
के त्यो सामान्य थियो? कि असामान्य?
के त्यो क्रमशः बढ्दै गएको थियो?
के हिमनदीसँगै त्यसमुनिको चट्टान पनि चलिरहेको थियो?
र, के पछि भत्किएको भागले दुर्घटनाअघि नै छुट्टै किसिमको व्यवहार देखाइरहेको थियो?
यी प्रश्नको उत्तर आएपछि मात्र यो हलचल वास्तवमै विपत्तिको 'पूर्वसंकेत' थियो कि थिएन भन्ने स्पष्ट हुनेछ।
हिमनदी विज्ञ सुदीप ठकुरी नेपालजस्तो उच्च जोखिमयुक्त हिमाली भूभागमा नियमित स्याटलाइट अनुगमनको आवश्यकता औंल्याउँछन्।
'बादल लागेका बेला र रातको समय पनि लगातार अनुगमन गर्न सकिने यस्तो राडार इमेजको विश्लेषणबाट हामी जोखिमयुक्त क्षेत्रमा आउने मिहिन परिवर्तनहरू मापन गर्न सक्छौं,' उनले भने, 'यो अनुगमनले सम्भावित विपद त टार्न सकिँदैन, तर विपद व्यवस्थापनको तयारीका लागि हामीलाई पर्याप्त समय उपलब्ध हुनेछ।'
अमेरिकी भूगर्भ वैज्ञानिक सिर्जाइले अगस्ट ३० सार्वजनिक गरेको यो राडार इमेज अघिल्लो साता वा त्योभन्दा अगाडि नै सार्वजनिक गरेर 'रेड फ्ल्याग' देखाएका भए (सतर्क गराएका भए) जोखिमयुक्त ठाउँमा विपद व्यवस्थापनको पर्याप्त तयारी गर्न सकिने र यति धेरै मानवीय क्षति नहुने ठकुरीको भनाइ छ।
हामीले ठकुरीलाई यो पनि सोध्यौं, 'नेपालमा यस्ता जोखिमयुक्त ठाउँ हजारौं छन्, के सबै ठाउँमा नियमित अनुगमन गर्न सम्भव होला?'
जबाफमा उनले भने, 'सबै ठाउँमा गर्न त पक्कै सम्भव हुँदैन। तर जोखिम पहिचान गरिएका ठाउँमा मात्र भए पनि गर्न सकिन्छ। त्यसले केही न केही संकेत दियो भने पनि क्षति कम गर्न धेरै सहयोग हुन्छ।'
वातावरण तथा जलवायु परिवर्तनमा अध्ययन गर्ने 'ग्लोबल इन्स्टिच्युट फर इन्टरडिसिप्लिनरी स्टडिज' का संस्थापक निर्देशक उत्तमबाबु श्रेष्ठले पनि सिर्जाइको प्रारम्भिक विश्लेषणलाई महत्त्वपूर्ण बताएका छन्।
'भूउपग्रहका तस्बिरहरूमा राडारको विशेष महत्त्व हुन्छ। यसले भूउपग्रह राखिएको आकाशबाट जमिनसम्म मापन गर्दा बीचमा हुने बादलले छेक्दैन,' उनले आफ्नो फेसबुकमा लेखेका छन्, 'अन्य स्याटलाइटले खिचेको तस्बिर हाम्रो फोनको क्यामेरा जस्तै हो भने राडर सेन्सर भएको स्याटलाइटले थर्मल गनले शरीरको ज्वरो नापेजस्तै पृथ्वीको सतहको परिवर्तन नाप्न सक्छ।'
उनी अगाडि लेख्छन्, 'यस्ता तस्बिरहरू केलाउने हो भने नेपालले अब कुन ठाउँमा खतरा छ र कहाँको जमिन बिस्तारै सर्दै गइरहेको छ भनेर हेर्न तथा पहिरो जाने ठाउँको पहिचान गर्न सघाउँछ भन्ने मेरो सैद्धान्तिक बुझाइ हो।'
त्यसैले अमेरिकी वैज्ञानिक सिर्जाइको यो विश्लेषणले नेपालका लागि एउटा ठूलो प्रश्न उठाएको छ —
हाम्रा हिमाली क्षेत्रमा ठूलो विपत्ति आउनुअघि प्रकृतिले यस्तै सूक्ष्म संकेत दिइरहेको हुन्छ भने ती संकेत नियमित रूपमा हेर्ने र बुझ्ने प्रणाली हामीसँग किन नबनाउने?
***