रसुवाको भोटेकोशीमा भदौ १० गते आएको बाढीपछि बेपत्ता भएका काभ्रेपलाञ्चोकका ३७ जनालाई मृत घोषणा गर्ने प्रक्रिया अघि बढाइएको छ।
यसका लागि जिल्ला प्रशासन कार्यालयले बाढीमा परी बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण एकिन गर्न जिल्लास्थित स्थानीय तहलाई प्रक्रिया र समयसीमा तोकेको छ।
विभिन्न काम एवं भ्रमणका सिलसिलामा त्यहाँ पुगेका जिल्लाका बेपत्ता नागरिकको कानुनी अवस्था एकिन गर्न सरकारले जारी गरेको विशेष प्रक्रियाअनुसार विवरण संकलन तथा प्रमाणीकरण गर्न लागिएको हो।
जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले मंगलबारदेखि भोटेकोशी बाढीमा बेपत्ता भएकाको आधिकारिक विवरण यकिन गर्ने विशेष प्रक्रिया, २०८३ अनुसार काम अघि बढाउने निर्णय गरेको जनाएको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले निर्धारण गरेको प्रक्रियाअनुसार बेपत्ता व्यक्तिहरूको स्थायी ठेगाना रहेको स्थानीय तह, जिल्ला विपद् व्यवस्थापन समिति र प्राधिकरणमार्फत विवरण एकिन गरिनेछ।
यसका लागि बिहीबारदेखि सम्बन्धित स्थानीय तहले वडा कार्यालयमार्फत बढीमा पाँच दिनको समय दिएर निवेदन आह्वान गर्ने व्यवस्था गरिएको विपद् व्यवस्थापन समितिका संयोजक एवं प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए।
अधिकारीका अनुसार बेपत्ता व्यक्तिका परिवारले नाता प्रमाणित हुने कागजात र स्वघोषणासहित निवेदन दिनुपर्नेछ।
परिवारका सदस्य नभएको अवस्थामा भने स्थानीय प्रहरी र वडा सचिवको रोहबरमा सर्जमिन मुचुल्का तयार गरिनेछ।
यस्तै परिवारका सदस्य नभएको हकमा वडाध्यक्षले वडासचिव र स्थानीय प्रहरीको रोहबरमा सर्जमिन मुचुल्का तयार गरी वडामा निवेदन पेस गर्नुपर्ने, वडा समितिले प्राप्त निवेदनमाथि तुरुन्त जाँचबुझ गरी स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा सिफारिस गर्ने र सोही समितिले बेपत्ता व्यक्ति एकिन गर्ने निर्णय गरिएको छ।
प्राप्त निवेदन तथा विवरणमाथि स्थानीय तहले तीन दिनको दाबीविरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउनुपर्ने व्यवस्था रहेको अधिकारीको भनाइ छ । त्यसपछि समितिले पाँच दिनभित्र निर्णय गरी विवरण प्राधिकरण र सम्बन्धित प्रदेश मन्त्रालयमा पठाउने व्यवस्था गरिएको अधिकारीले बताए।
यस प्रक्रियाबाट बेपत्ता व्यक्तिहरूको आधिकारिक विवरण एकिन गरी उनीहरूको कानुनी अवस्था निर्धारण गर्ने बाटो खुल्ने बताइन्छ।
प्रजिअ अधिकारीका अनुसार नेपाल राजपत्रमा असोज २३ गते प्रकाशित विपद्सम्बन्धी केही नेपाल ऐन संशोधन गर्न बनेको अध्यादेश र विशेष प्रक्रिया, २०८३ अनुसार विवरण प्रमाणीकरणको काम अघि बढाउन लागिएको हो।
सम्बन्धित वडा कार्यालयहरूले बेपत्ता व्यक्तिका सम्पर्क व्यक्तिको विवरण कात्तिक ११ भित्र अनिवार्य रूपमा पालिकामा पेस गर्नुपर्ने जनाइएको छ।
त्यसैगरी, अध्यादेश र विशेष प्रक्रियाअनुसार स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको निर्णयसहित कात्तिक १८ भित्र विवरण जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिमा पेस गर्नुपर्नेछ।
स्थानीय तहबाट तोकिएको समयभन्दा अगाडि नै विवरण प्राप्त भएमा कात्तिक १८ अगावै बाँकी प्रक्रिया थालिने प्रजिअ अधिकारीले बताए।
जिल्ला प्रशासन कार्यालय काभे्रपलाञ्चोकका अनुसार जिल्लाका ३७ सम्पर्कविहीन छन् भने चार जनाको मृत्यु पुष्टि भइसकेको छ।
त्यसबेला बेपत्ता भएका चार जना परिवारको सम्पर्कमा आएका थिए।