झापाको शिवसताक्षीमा गोल्डकप फुटबल प्रतियोगिता हुने भएको छ। वडा नम्बर ७ को बालसेवा आधारभूत विद्यालयको खेल मैदानमा प्रथम संस्करणको ‘एनी फाक्तेप गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको हो।
स्थानीय फाक्तेप फुटवल क्लबको आयोजनामा उक्त प्रतियोगिता हुने बुधबार आयोजकले पत्रकारलाई जानकारी जानकारी दिएको हो।
मङ्सिर ११ गतेदेखि १८ गतेसम्म हुने प्रतियोगितामा पाँच जिल्लाका टिम सहभागी हुने छन्।
झापा, इलाम, मोरङ, सुनसरी र सिन्धुलीका टिमले सहभागिता जनाउने आयोजक समितिका अध्यक्ष बमप्रसाद चेम्जोङले बताए। उनका अनुसार झापाका जलथल एफसी, काँकडभिट्टा फुटबल क्लब, रोयल स्पोर्टिङ क्लब दमक र आयोजक फाक्तेप फुटबल क्लब शिवसताक्षीले सहभागिता जनाउने छन्।
यस्तै, इलामको इलाम फुटबल क्लब, मोरङको पथरी स्पोर्टिङ क्लब, सुनसरीको धरान फुटबल क्लब र सिन्धुलीको दुधौली स्पोर्टिङले पनि प्रतियोगितामा सहभागिता जनाउने भएका छन्।
प्रतियोगिताको विजयी टिमले नगद १ लाख १ हजार र उपबिजेताले ५१ हजार मेडल, ट्रफी र प्रमाण पत्र पाउने छन्। यस्तै, प्रतियोगिताको म्यान अफ द सिरिजका बिजेताले ५ हजार, सर्वाधिक गोलकर्ताले ५ हजार, उत्कृष्ट मिड फिल्डरले ५ हजार नगद पुरस्कार पाउने आर्थिक संयोजक दीपक शेर्माले बताए।
कनकाई गार्मेन्टद्वारा उत्पादित एनी ब्रान्ड सो प्रतियोगिताको मुख्य प्रायोजक बनेको छ।
यसैबीच, एनी ब्राण्डका सञ्चालक सन्तोष थोप्राले बुधबार पत्रकार सम्मेलनमा ग्रार्मेन्टबाट उत्पादित एनी ब्राण्डका जर्सी आयोजक फाक्तेप फुटबल क्लबका खेलाडीलाई प्रदान गरेका छन्।