राजदरबार हत्याकाण्ड क्रममा गोली चल्दाचल्दै छिर्ने पहिलो व्यक्ति हुन्, तत्कालिन राजा वीरेन्द्रका प्रमुख एडिसी सुन्दरप्रताप राना।
अठार वर्षअघिको उक्त हत्याकाण्ड के थियो, कसरी भएको थियो? प्रत्यक्षदर्शी रानाले पहिलोपटक आफ्नो वृत्तान्त सार्वजनिक गर्न लागेका छन्।
२०५८ जेठ १९ गते रातिको उक्त हत्याकाण्ड र राजपरिवारसँग उनको सम्बन्धमा आधारित पुस्तक ‘दरबारको दुःखान्त’ यसै साता प्रकाशित हुँदैछ।
तत्कालीन राजा, रानी र युवराजको एडिसीका रूपमा दरबारमा १७ वर्ष बिताउँदाका अन्य थुप्रै अनुद्घाटित घटनाका साक्षी पनि हुन् उनी। त्यससम्बन्धी हालसम्म बाहिर नआएका निकै महत्वपूर्ण र रोचक प्रसंग यो पुस्तकमा पढ्न पाइन्छ।
‘राजदरबारमा अकल्पनीय हत्याकाण्ड भएयता १८ वर्षभरि मेरो जीवन एकखाले उकुसमुकुस र छटपटीबाट गुज्रियो,’ एडिसी राना भन्छन्, ‘दरबारको दुःखान्त पुस्तक मेरो त्यही छटपटीको अवतरण हो।’

प्रमुख एडिसी रानाले १९ वटा अध्यायमा बाँडिएको यो पुस्तकमा आफूले आँखैअगाडि देखेको जेठ १९ को घटना र त्यसपछिका दृश्यावलीको विस्तृत वर्णन गरेका छन्। उनी भन्छन्, ‘बिलियर्ड हलको प्रलयकारी दृश्य, मेसिनगनको फायर हुँदाहुँदै राजालाई त्यहाँबाट निकाल्दाको क्षण, घाइते राजाको प्राण बचाउन दौडाउँदाको अवस्था र अस्पतालको कोलाहल मेरो आँखाभरि झलझली घुमिरहन्छ।’
पुस्तक दरबार हत्याकाण्डको वरिपरि मात्र घुमेको छैन। तत्कालीन राजपरिवारका सदस्यको स्वभाव, शैली, राजा वीरेन्द्रको रानी ऐश्वर्य, छोरा दीपेन्द्र र भाइहरू ज्ञानेन्द्र–धीरेन्द्रसँगको सम्बन्ध लगायत थुप्रै निजी प्रसंग पनि यसमा समाविष्ट छन्।
राजा वीरेन्द्रले महत्वपूर्ण राजनीतिक निर्णयहरू लिँदाको मनोविज्ञान, गिरिजाप्रसाद कोइराला, मनमोहन अधिकारी, मदन भण्डारी लगायत नेतासँगको व्यक्तिगत सम्बन्ध, भारतसँगको टकराव, चीनसँग हतियार विमानभेदी अस्त्र किन्दाको पृष्ठभूमि, राजदरबारको आन्तरिक समीकरण आदिबारे पनि पुस्तकमा पढ्न पाइन्छ।
समग्रमा राजपरिवारको जीवन र अन्त्यको वृत्तान्त हो– ‘दरबारको दुःखान्त’, जसले नेपालको निकट इतिहास बुझ्न सघाउँछ। यो पुस्तक किताब पब्लिसर्सले प्रकाशन गरेको हो।