नेपाल चलचित्र निर्देशक समाजले कानुन, न्याय तथा संसदीय व्यवस्था मन्त्रालय र युएनडीपीसँग मिलेर जातीय विभेदविरुद्ध लघु फिल्म प्रतियोगिताको घोषणा गरेको छ। निर्देशक समाज र युएनडीपीद्वारा जारी सूचनाअनुसार फिल्मले जात व्यवस्था उन्मुलनसम्बन्धी विषयलाई ३ मिनेटभित्र प्रस्तुत गर्नु पर्नेछ।
प्रतियोगितामा पहिलो हुने फिल्मले २ लाख, दोस्रो हुनेले १ लाख ५० हजार र तेस्रो हुनेले ५० हजार रुपैंया प्राप्त गर्ने छन्।
‘फिल्मले जात प्रथा र त्यसले उब्जाएको समस्यालाई बुझाउने र जात प्रथा उन्मुलनसम्बन्धी विद्यमान कानुन लागु गर्न प्रेरित गर्नुपर्ने छ,’ युएनडीपीद्वारा जारी सूचनामा भनिएको छ।
जो कोहीले सहभागी हुन पाउने प्रतियोगितामा भिडियोको प्राविधिक गुणस्तर १०८० सम्म हुनुपर्ने र मोबाइलले खिचेका फिल्म पनि प्रतियोगितामा स्विकार गरिने आयोजकले जनाएको छ।
प्रतियोगितामा अभिनय गरेका फिल्म, एनिमेसन, भ्वाइस ओभर, साइलेन्ट वा मोन्टाज, सन्देश प्रवाह गर्ने दृश्य मात्रै पनि सहभागी हुन सक्नेछन्। तर सामुदायिक भावनालाई चोट पुर्याउने वा आरोपित गर्ने फिल्मलाई प्रोत्साहित गर्न नसकिने उल्लेख छ।
इच्छुक सहभागीले डिसेम्बरको १० तारिखसम्म फिल्म निर्धारित ठेगानामा पठाइ सक्नुपर्ने छ। यसरी प्राप्त फिल्मलाई सामाजिक सञ्जालमा देखिएको प्रभाव र ३ सदस्यीय निर्णायकले समितिको मूल्यांकनका आधारमा विजेता घोषणा गरिने बताइएको छ।
सामाजिक सञ्जालमा प्राप्त प्रतिक्रियालाई ५० प्रतिशत र निर्णायकको ५० प्रतिशत गरी उत्कृष्ट तीन फिल्म छनौट हुनेछन्।
प्रतियोगिताका लागि प्राप्त फिल्म युएनडीपीको पेजमा राखिने छ। फिल्मले पाउने दर्शक, अन्तरक्रिया र प्रभावका आधारमा मूल्यांकन हुने युनडीपीले जनाएको छ।