दसैं भन्नासाथ मेरो मात्र होइन, सायद धेरैको मनमा सबभन्दा पहिले परिवारको सम्झना आउँछ।
यो चार्ड नै यस्तो हो, जसले टाढा भएका आफन्तलाई नजिक ल्याउँछ। परदेश गएकाहरू घर फर्किने समय हो यो।
कामका सिलसिलामा आ-आफ्नो बाटो लागेका परिवारका सदस्यहरू एकै ठाउँमा भेला भएर रमाइलो गर्ने अवसर हो। दसैं नजिकिँदै गर्दा मनमा एउटा छुट्टै उत्साह जाग्छ। अब सबै जना भेट हुन्छौं, सँगै बसेर खान्छौं, रमाइलो गर्छौं भन्ने लाग्छ।
त्यसैले पनि दसैं चार्ड मात्रै होइन, परिवारसँग जोडिने एउटा विशेष अनुभूति पनि हो भन्ने लाग्छ। बाल्यकालको दसैं सम्झिँदा अहिले पनि मन त्यसै रमाउँछ। सायद सबैको मन रमाउँछ।
हाम्रो परिवारमा सबजना भेला भएपछि दसैंको रौनक नै बेग्लै हुन्थ्यो। त्यसबेला मलाई त अझ दक्षिणाको विशेष प्रतीक्षा हुन्थ्यो। टीका लगाएर दक्षिणा पाएपछि भाइबहिनी, दाजु र दिदीहरूसँग कसको कति पैसा भयो भनेर हिसाब गथ्र्यौं। कसले धेरै पायो भनेर एक किसिमको प्रतिस्पर्धा नै चल्थ्यो। कुन आफन्तकोमा जाँदा अलि बढी दक्षिणा पाइन्छ भन्ने पनि थाहा हुन्थ्यो।
घर नवलपरासीको अमरसाबाट चोरमारासम्म मामाघर र आफन्तकोमा टीका लगाउन हिँडेको सम्झना अहिले पनि ताजै छ। हिँड्दा थकाइ लागे पनि दक्षिणा पाइने खुसीले लामो लाग्दैनथ्यो त्यो दूरी।
दसैंमा हाम्रो घरमा टीका लगाउन सबै आफन्त आउनुहुन्थ्यो। घरनजिकै पिङ पनि हालिन्थ्यो। बाबाले घरको गोठमा भएको काठको दलिनमा प्लास्टिकको डोरी बाँधेर पिङ बनाइदिनुहुन्थ्यो। साथीहरू जम्मा हुन्थे। पालैपालो पिङ खेल्थ्यौं। ठूलो पिङ आफै मच्चाउन नसक्दा ठूल्दाइहरूको साथ खोज्थ्यौं। उहाँहरूले पिङ मच्चाइदिँदा लाग्ने आनन्द अहिले सम्झिँदा पनि अनुहारमा मुस्कान आउँछ।
टीका र जमरा दसैंको अभिन्न हिस्सा हो, तर नयाँ लुगामा टीका लाग्ने र कानभरि जमरा राखिदिँदा चाहिँ अलि अप्ठ्यारो लाग्थ्यो। पिङको रमाइलो भने छुट्टै थियो।
घरमा ममीले सेलरोटी बनाउनुहुन्थ्यो। तर मलाई सबभन्दा मन पर्नेचाहिँ ममीले भुटेर बनाएको मासु हो। उहाँले दसैंमा बनाएको त्यो मासुको स्वाद अहिले पनि बिर्सिएको छैन। सायद खानेकुराको स्वादभन्दा पनि त्यससँग जोडिएको माया विशेष हुने रहेछ। दसैं आउँदा अहिले पनि ममीको हातको त्यही मासुको याद आउँछ।
दसैंको अर्को विशेष सम्झना घर रङ्ग्याउने काम हो। पहिले हाम्रो घर सानो थियो। दसैं आउन लागेपछि घरका सामान बाहिर निकाल्थ्यौं अनि भित्ताहरूमा चुना लगाएर घर रङ्याउँथ्यौं। घरको भित्री भागदेखि बाहिरसम्म सफा गर्ने र रङ लगाउने काममा हामी पनि सहभागी हुन्थ्यौं। अहिले घर ठूलो भएको छ, रङ पनि लामो समय टिक्ने खालका छन्। तर दसैं आउनुअघि घरलाई नयाँ बनाउने त्यो पुरानो चलन सम्झिँदा मनमा छुट्टै खुसी आउँछ।
यति धेरै रमाइला सम्झनाबीच दसैंमा सबभन्दा धेरै याद आउने व्यक्ति भने मेरा हजुरबुवा हुनुहुन्छ। उहाँ अहिले यो संसारमा हुनुहुन्न। वि.स. २०७१ सालमा उहाँले यो संसार छाड्नुभएको थियो।
तर उहाँले मलाई गर्नुभएको माया र दिनुभएको आशीर्वाद अझै पनि मनमा ताजै छन्। टीका लगाउन जाँदा आफू हिँडेको ठाउँमा मलाई पनि सँगै लिएर जानुहुन्थ्यो। उहाँले आशीर्वाद दिँदा साँच्चै मनदेखि केही पाइरहेको छु जस्तो लाग्थ्यो। हजुरबुवा बितेपछि आएको दसैं मेरा लागि सबभन्दा खल्लो बन्यो। टीका लगाउन नपाएको भन्दा पनि मलाई माया गर्ने, आशीर्वाद दिने मान्छे नै नहुँदाको पीडा ठूलो थियो। अरूका घरमा दसैंको रौनक देख्दा हाम्रो घरमा भने त्यो माया दिने हजुरबुवा हुनुहुन्न भन्ने कुराले मन दुख्थ्यो। अहिले पनि दसैं आउँदा उहाँको सम्झना सबभन्दा पहिले आउँछ।
म सानैदेखि गीत गाउँथेँ, तर व्यावसायिक रूपमा व्यस्त हुन थालेपछि दसैं, तिहार र तीज जस्ता चाडपर्वमा परिवारसँगै बस्न सधैं सम्भव नहुने रहेछ। मेला-महोत्सव र कार्यक्रमका कारण कहिले देशकै अर्को ठाउँमा त कहिले विदेशमा पुग्नुपर्छ। पहिले दसैंमा परिवारसँग रमाउने समय हुन्थ्यो, अहिले भने अरूलाई रमाइलो गराउँदै हिँड्नुपर्ने अवस्था छ।
एकपटक कतारमा कार्यक्रम हुँदा यस्तै भयो। हामी दसैंको टीकाअघि नै नेपाल फर्किने योजनामा थियौं। तर विविध कारणले कार्यक्रम पछाडि सर्यो। आयोजकले कार्यक्रम नगरी नजान आग्रह गरेपछि म, रमेशराज भट्टराई दाइ र सम्झना भण्डारी त्यहीँ बस्यौं। अन्ततः कतारमै दसैंको टीका लगाएर कार्यक्रम गर्यौं। कार्यक्रम रमाइलो भयो, तर घरमा परिवारसँग टीका लगाउँदाको आनन्द त्यहाँ कहाँ हुनु!
घरमा फोन गर्दा मन नरमाइलो हुन्थ्यो। दाइहरूले टीका लगाइदिँदा आँखाबाट आँसु झर्थे। त्यो दसैंले परिवारसँग टाढा हुँदा चाडपर्व कति खल्लो हुँदो रहेछ भन्ने महसुस गरायो।
अहिले दसैंको खुसी पनि पहिलेको जस्तो नहुँदोरहेछ। बाल्यकालमा पाँच–दस रूपैयाँ दक्षिणा पाउँदा पनि कति खुसी हुन्थ्यौं!
नयाँ कपडा लगाउने, पिङ खेल्ने र आफन्तकोमा जाने योजनाले दसैं आउनुअघि नै मन रमाउँथ्यो। अहिले उमेरसँगै जिम्मेवारी थपिएका छन्। कामको व्यस्तता छ। विवाहपछि ससुराली र आफन्तकोमा पनि पुग्नुपर्ने हुन्छ। तर श्रीमतीसँगै बसेर टीका लगाउँदाको खुसी भने आफ्नै ठाउँमा छ। परिवार विस्तार हुँदै जाँदा जिम्मेवारी थपिए पनि सँगै हुने खुसी अझ विशेष लाग्छ।
यतिबेला म सांगीतिक कार्यक्रमको शिलशिलामा अस्ट्रेलियामा छु। टीकाको दुई दिनअघि (सोमबार) नेपालको फ्लाइट छ। काठमाडौं पुगेपछि त्यहाँबाट दीपा (श्रीमती) सँग नवलपुर घर पुगेर ममी-बाबासँग टीका लगाउनेछु। घरमा परिवारसँग दसैं मनाएपछि त्यसपछि काठमाडौं आएर ससुराली र आफन्तकोमा जानुपर्नेछ। टीकापछि गुल्मीमा सांगीतिक कार्यक्रम पनि तय छ। त्यसैले यसपालिको दसैंमा परिवारसँग भेट्ने खुसीसँगै कामको व्यस्तता पनि हुनेछ।
विदेशमा कार्यक्रम गर्न जाँदा नेपाली दाजुभाइ तथा दिदीबहिनीले सबभन्दा पहिले सोध्ने प्रश्न हुन्छ, 'टीकाअघि घर जानुहुन्छ नि?'
उहाँहरूलाई परिवारको धेरै याद आउँदो रहेछ। म स्टेजमा गाउँघरको कुरा गर्छु, गीत गाउँछु र ‘घरमा नाचेझैं नाच्नु है’ भन्छु। त्यसपछि धेरै जना भावुक हुनुहुन्छ। कार्यक्रम सकिएपछि आएर घर र परिवारको याद आएको सुनाउनुहुन्छ।
विदेशमा बस्ने नेपालीलाई भेट्दा मलाई लाग्छ, नेपाललाई माया गर्न कहिलेकाहीँ नेपालबाट टाढा हुनुपर्ने रहेछ। उहाँहरूले नेपालको राजनीति, समग्र गतिविधि, गीतसंगीत र कलाकारका गतिविधिसम्म चासोका साथ पछ्याउनुभएको पाउँछु। जहाँ भए पनि आफ्नो माटो, घर र आफन्तको माया उस्तै हुँदो रहेछ।
यसपालिको दसैंमा सबै नेपालीले आफ्ना प्रियजनसँग खुसी साट्न पाऊन्। सबैको जीवनमा सुख, शान्ति र समृद्धि आओस्। सम्पूर्ण नेपालीलाई विजया दशमीको हार्दिक शुभकामना।
(गायक अर्जुन सापकोटासँग सुशील नेपालले गरेको दसैं विशेष कुराकानीमा आधारित।)