पत्रकार तथा गायक खेम रिसाल एक दशकपछि नयाँ गीत 'भुलेकै जाती' लिएर आएका छन्। यम बरालको शब्द तथा संगीत रहेको गीतको एरेन्ज मदन केसीले गरेका हुन्।
‘छाडी जाने निर्मोहीलाई भुलेकै जाती,
पाइन्छ नि जिन्दगीमा अरू पनि साथी’
गीतमा प्रेममा बिछोड भए पनि निराश नभई जीवनलाई अघि बढाउनुपर्ने भाव व्यक्त गरिएको छ। गीतको लिरिकल भिडिओ सार्वजनिक गरिएको छ भने म्युजिक भिडिओ पनि केही समयपछि निर्माण गर्ने तयारी रहेको गायक रिसालले बताए।
दुई दशकदेखि पत्रकारितामा सक्रिय खेमको संगीतप्रति पनि सानैदेखि रूचि रहँदै आएको छ। उनले २०७३ सालमा पहिलो गीतिसंग्रह 'थालनी' सार्वजनिक गरेका थिए।
'मैले सानैदेखि दुईवटा सपना लिएर हिँडेको थिएँ। एउटा गायक बन्ने र अर्को टेलिभिजन प्रस्तोता तथा पत्रकार बन्ने। दुईमध्ये पत्रकारितालाई पेसा बनाएर अघि बढें। संगीत सौखमै सीमित रहेजस्तो भएको छ,' खेमले भने, 'तर अब समय मिलाएर गीत-संगीत सार्वजनिक गरिरहने कोसिसमा छु। नयाँ गीतमा यम बराल दाइसँग सहकार्य गर्न पाउँदा औधी खुसी छु। उहाँ मेरा आइडलमध्ये एक हुनुहुन्छ।'
खेमका अनुसार उनका थप तीन गीत रेकर्डिङको तयारीमा छन्।
पुतलीसडकस्थित ए लेभल स्टुडिओमा रेकर्ड गरिएको गीतको रेकर्डिङ अनिष लिम्बुले गरेका हुन्। गोविन्द सोनीले मिक्सिङ तथा मास्टरिङ गरेका छन्। गीतमा नगेन्द्र राईको बाँसुरी, सञ्जीव लिम्बुको गिटार, हेमन्त कान्छा रसाइलीको सारंगी र मदन रेग्मीको मादल सुन्न सकिन्छ।
'भुलेकै जाती' गीत खेम रिसाल क्रिएट्सको युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।