पुस १६ गतेदेखि साधना घरमा कमेडी ड्रामा 'भट्टी टेल्स्' मञ्चन हुने भएको छ। जेम्स ढकालको लेखन तथा निर्देशनमा तयार नाटक १८ दिनसम्म मञ्चन हुनेछ।
अस्कर इन्टरनेशनल कलेज सुकेधाराको 'साधना घर' प्रेक्षालयमा हुने नाटकको अहिले रिहर्सल चलिरहेको लेखक तथा निर्देशक ढकालले जानकारी दिए।
उनका अनुसार नाटकमा १३ जना पात्रहरु छन्, जसको कथा एउटा भट्टीको वरिपरि घुम्छ। उनी भन्छन्, 'कथामा १३ जना पात्र छन्, दुई पात्र केन्द्रमा छन्। बाँकी कलाकार उनीहरुको जीवनमा ठोक्किन आइपुग्छन्।'
भट्टीमा आउने मानिसहरूलाई अक्सर जड्याहाका रूपमा मात्रै हेरिन्छ। तर उनीहरू पनि आफ्नै जीवनका उतारचढावसँग जुधिरहेका पात्र हुन्। ढकाल भन्छन्, 'यस्ता पात्रहरू अक्सर बेवास्ता गरिएका हुन्छन्, 'भट्टी टेल्स्' तिनै बेवास्ता गरिएका पात्रहरुको कथा चित्रण गर्ने नाटक हो।'
नाटकमा सुदाम सिके, बेदना राई, रूपेश लामा, ऋषिकेश बस्याल, तुफान थापा, प्रकृति कार्की, माइकल महत, शुभम् गणेश, सुब्रत राज सिलवाल, गुड्डु, प्रान्जल पान्डे, सुदिप एटी, थार्चेन लामाको मुख्य भूमिका छ। अस्कर कलेजका १४ औं ब्याचका विद्यार्थी ढकालले यसअघि ढाकर नाटक निर्देशन गरेका छन् भने प्ले द सिस्टम, गिल्टी अर नट गिल्टीलगायत नाटकमा अभिनयसमेत गरेका छन्।
अस्कर कलेजको प्रस्तुति रहेको नाटक फ्रेंकलिन एजुकेसन कन्सल्टेन्सीको सहकार्यमा बनेको हो। नाटक तयार पार्न कथा घेराको पनि महत्वपूर्ण रहेको निर्देशक ढकालले बताए। कमेडी ड्रामा विधाको 'भट्टी टेल्स्' माघ ३ सम्म मञ्चन हुनेछ।
मंगलबारबाहेक हरेक साँझ ५ः१५ मा मञ्चन हुने नाटक शनिबारको दिन १ बजे अतिरिक्त समयमा समेत मञ्चन हुने छ।

