मानिस आफूलाई सृष्टिको सर्वश्रेष्ठ प्राणी ठान्छ।
उसैले नियम बनाउँछ, व्यवस्था चलाउँछ र अरू प्राणीमाथि आफ्नो अधिकार जमाउँछ।
तर, त्यही मानिसले बनाएको व्यवस्था जब उसको स्वार्थको हतियार बन्छ, तब त्यसको मारमा अरू मात्रै पर्दैनन्, स्वयं मानिस पनि पर्न थाल्छ। यही मानवीय प्रवृत्ति, सत्ता र व्यवस्थाका विसङ्गतिमाथि व्यङ्ग्य गर्ने नाटक हो काठमाडौँको नयाँ बानेश्वर थापा गाउँ स्थित मण्डला थिएटरमा मञ्चन भइरहेको नाटक ‘भाग भेडा भाग '।
नाटक ‘भाग भेडा भाग 'ले मानिस र जनावरको काल्पनिक संसारमार्फत समकालीन समाजको चित्र प्रस्तुत गर्छ।
अतियथार्थवादी शैलीमा तयार पारिएको नाटकमा जनावरहरू खोरभित्र छन्। उनीहरूको जीवन मानिसले बनाएको नियम र नियन्त्रणमा बाँधिएको छ। आफूलाई मालिक ठान्ने मानिस भने त्यही व्यवस्थाको आडमा आफ्नो स्वार्थ पूरा गरिरहेको हुन्छ।
तर, सधैँ मालिकको आदेश मान्दै आएका खोरभित्रका जनावरले जब आफ्नो अस्तित्व र शक्ति पहिचान गर्न थाल्छन्, तब स्थापित व्यवस्था धरमराउन थाल्छ। जनावरहरूको यही चेतना र विद्रोह नाटकको मुख्य कथ्य बनेको छ।
नाटकको शीर्षक ‘भाग भेडा भाग’ सुन्दा जनावरको कथा जस्तो लाग्छ। तर, मञ्चमा देखिने भेडा र अन्य जनावर केवल पात्र होइनन्, उनीहरू समाजका कमजोर, शोषित र नियन्त्रणमा राखिएका वर्गका प्रतीक हुन्। जनावरमाथि शासन गर्ने मानिसको व्यवहार हेर्दा भने मानिस र जनावरबीचको भिन्नतामाथि नै प्रश्न उठ्छ। कतिपय दृश्यमा जनावरहरू मानिसजस्ता देखिन्छन् भने मानिसहरू नै जनावरभन्दा निकृष्ट लाग्छन्।
नाटकले विशेषगरी विकास र समृद्धिका नाममा निर्माण गरिने योजना तथा तिनको कार्यान्वयनमा हुने बेथितिमाथि व्यङ्ग्य गरेको छ।
जनताको हितका लागि बनाइएका नियम र प्रणालीलाई त्यसैको लाभ लिनेहरूले कसरी आफ्नो स्वार्थअनुकूल प्रयोग गर्छन् भन्ने विषय नाटकमा प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको छ। व्यवस्था बाहिरबाट बलियो देखिए पनि त्यसको जगभित्र स्वार्थ, झूट र बेइमानी लुकेको हुन सक्छ भन्ने सन्देश नाटकले दिन्छ।
यसको प्रस्तुतिमा काल्पनिक संसार र यथार्थ समाजबीचको सम्बन्ध स्थापित गर्ने प्रयास गरिएको छ। जनावरको संसारलाई आधार बनाएर मानवीय प्रवृत्तिको चित्रण गर्नु नाटकको सबल पक्ष हो।
दर्शकले मञ्चमा देखिरहेका पात्र र घटनालाई आफ्नै समाज तथा वरपरको राजनीतिक र सामाजिक परिवेशसँग जोडेर बुझ्न सक्छन्। यही कारण नाटकको व्यङ्ग्य केवल मञ्चमा सीमित रहँदैन, दर्शकलाई आफैँतिर फर्केर सोच्न बाध्य बनाउँछ।
मण्डला थिएटरको बीसौँ ब्याचका प्रशिक्षार्थी कलाकारहरूको सामूहिक प्रस्तुति रहेको नाटकको लेखन तथा निर्देशन संयोग गुरागाईंले गरेका हुन्। उनी स्वयं मण्डलाको दोस्रो ब्याचका विद्यार्थी हुन्। नयाँ पुस्ताका कलाकारसँग सहकार्य गर्दै परम्परागत कथन शैलीभन्दा फरक स्वाद दिने उद्देश्यले नाटक तयार पारेको निर्देशक गुरागाईं बताउँछन्।
नाटकमा क्रिस बम, अनिता थापा, राजेश सेन्चुरी, सन्ध्या नेपाल, यश श्रेष्ठ, महेश गिरी, अंकित सिंह हमाल, निखिला चापागाईं, अस्मिता तामाङ, राजाराम गौतम, आकाश केसीलगायत कलाकारले अभिनय गरेका छन्। मञ्च परिकल्पना संयोग गुरागाईंको रहेको नाटकमा संगीत संयोजन महेन्द्र राज बाठा, प्रकाश परिकल्पना उमेश तामाङ तथा मल्टिमिडियामा प्रतीक राज खड्का, सुजन धिमिरे र अमिर ताम्राकारले काम गरेका छन्।
नयाँ पुस्ताका कलाकारको ऊर्जा र सामूहिक प्रयासमा तयार भएको ‘भाग भेडा भाग’ मनोरञ्जनसँगै सामाजिक प्रश्न उठाउने नाटक हो। यसको कथाले मानिसलाई मालिक र अरूलाई अधीनस्थ ठान्ने सोचमाथि प्रहार गर्छ। व्यवस्थाभित्रका कमजोरी देखाउनु मात्र यसको उद्देश्य होइन, त्यस्तो व्यवस्था निर्माण र सञ्चालन गर्ने मानिसको नियतमाथि पनि प्रश्न गर्नु हो।
नाटकले एउटा गम्भीर प्रश्न छाड्छ– खोरभित्र थुनिएका जनावरहरू स्वतन्त्र हुन खोज्दा दोषी को हुन्छ? खोर बनाउने मालिक, खोरको नियम कि त्यही नियमलाई आफ्नो स्वार्थअनुकूल चलाउने व्यवस्था?
-1793425208.jpg)
-1793425208.jpg)
-1793425207.jpg)
-1793425207.jpg)
-1793425207.jpg)
-1793425207.jpg)
-1793425206.jpg)
-1793425206.jpg)
-1793425205.jpg)
-1793425205.jpg)
-1793425205.jpg)
-1793425204.jpg)
-1793425204.jpg)