कानुनी प्रणालीप्रतिको विश्वासमाथि प्रश्न उठाउने नेपाली रुपान्तरण नाटक 'प्राइमा फेसिए' यतिबेला टेकुस्थित कौशी नाटकघरमा नियमित मञ्चन भइरहेको छ।
एकजना सफल वकिल, जो यौन दुराचारका आरोपित पुरुषहरूको पक्षमा वकालत गर्दै कानुनी प्रणालीप्रति दृढ विश्वास राख्छिन्। तर जब उनी स्वयं यौन हिंसाको शिकार बन्छिन्, उनको न्याय प्रणाली प्रतिको दृष्टिकोण नै बदलिन्छ। अदालतको प्रक्रिया, प्रमाणको कठोर मापदण्ड र पितृसत्तात्मक संरचनाले न्यायमा पार्ने प्रभावबारे उनले गम्भीर प्रश्न उठाउन थाल्छिन्। यही कथावस्तु वरिपरि नाटक घुमेको छ।
नेपाली संस्करणमा टेस्साको भूमिकामा कलाकार पशुपति राई एकल अभिनयमा प्रस्तुत भएकी छन्। नाटकको अनुवाद दुर्गा कार्कीले गरेकी हुन् भने आकांक्षा कार्कीले निर्देशन गरेकी हुन्।
नाटकले विशेषगरी यौन हिंसाका मुद्दामा पीडितले भोग्नुपर्ने कानुनी जटिलता, प्रमाणको उच्च अपेक्षा र सामाजिक दृष्टिकोणबीचको अन्तरलाई सशक्त ढंगले उजागर गर्दछ। ‘प्राइमा फेसिए’ शब्द ल्याटिन भाषाबाट आएको हो, जसको अर्थ ‘पहिलो नजरमै’ वा ‘प्रारम्भिक आधारमा’ भन्ने हुन्छ।
मूल नाटककी लेखिका सुजि मिल्लरले #MeToo आन्दोलनपछिको सन्दर्भमा लेखेको यो कृति विश्वका विभिन्न देशमा मञ्चन हुँदै आएको छ।
निर्देशक कार्कीका अनुसार नेपालमा यौन हिंसा र सहमति जस्ता विषयमा खुला संवाद आवश्यक भएकाले नाटक सान्दर्भिक बनेको हो। 'कानुन कागजमा प्रगतिशील देखिए पनि व्यवहारमा सामाजिक सोच परिवर्तन हुन समय लागिरहेको छ,' उनले बताएकी छन्।
नाटकको पोस्टर डिजाइन स्पृहा श्रेष्ठ, ब्याकस्टेज आशीष काफ्ले, लजिस्टिक्स/थिएटर व्यवस्थापन अर्जुन निरौला, बक्स अफिस दीक्षा न्यौपाने, सेट निर्माण शिव परियार, वेशभूषा/प्रचार रञ्जना भट्टराई, लाइट बिनिता लामा गुरुङ, संगीत रजत, सेट डिजाइन जेनी सुनुवार तथा सहायक निर्देशक/प्रोडक्सन म्यानेजरमा सबिता अधिकारी रहेका छन्।
फागुन ७ गतेदेखि सुरु भएको नाटक फागुन १६ (फेब्रुअरी १९–२८, २०२६) सम्म मञ्चन हुनेछ। नाटक हरेक दिन साँझ ५:१५ बजे प्रदर्शन भइरहेको छ भने शनिबार दिउँसो १ बजे अतिरिक्त शोसमेत राखिएको छ। १३ वर्षमाथिका दर्शकका लागि उपयुक्त मानिएको नाटकमा ‘ट्रिगर वार्निङ’ समेत उल्लेख गरिएको छ।
-1771690220.jpg)

-1771690220.jpg)
-1771690220.jpg)
-1771690222.jpg)
-1771690222.jpg)
-1771690222.jpg)
-1771690222.jpg)
-1771690221.jpg)
-1771690221.jpg)
-1771690221.jpg)
-1771690221.jpg)
-1771690220.jpg)