सामाजिक सन्देशमूलक नाटक ‘उत्सर्ग’ मञ्चन भइरहेको छ।
नेपाल होचा पुड्का संघले स्थानीय निकायको सहकार्यमा निर्माण गरेको यो नाटक चार दिनदेखि काठमाडौंका विभिन्न स्थानमा मञ्चन भइरहेको छ।
यसमा अधिकांश होचा पुड्का कलाकारले नै अभिनय गरेका छन्।
नाटकमा निश्चल श्रेष्ठ, अनिता थापा, सरु दहाल, राजेन्द्र गिरि, रिया घिमिरे, सुर्या खान, लालुमाया पाख्रीन र निशल दुलाललगायत कलाकारहरूको अभिनय छ।
राजु खतिवडाले लेखेको नाटकलाई रंगकर्मी जेबी डिसीले निर्देशन गरेका छन्।
डिसी दुई दशकदेखि रंगकर्ममा व्यस्त छन्।
होचा पुड्का संघसँग लामो समयदेखि सहकार्य गर्दै उनले उनीहरूका विषयवस्तुमा आधारित सामाजिक नाटकहरूको निर्देशन गर्दै आइरहेका छन्।
समाजमा प्रचलित भ्रम र डरविरुद्ध सचेतना फैलाउने उद्देश्यले नाटक तयार गरिएको संघले जनाएको छ। उचाइ कम भएका महिलाहरू (होचा पुड्का) आमा बन्न सक्छन् वा सक्दैनन् भन्ने विषयलाई उजागर गर्ने प्रयास गरेको छ।
नाटकमार्फत प्रजनन स्वास्थ्य, परिवार नियोजन तथा महिला अधिकारका विषयमा जनचेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको संघले जनाएको छ।
समाजमा अझै पनि होचा पुड्का महिलाको मातृत्व क्षमताबारे रहेका भ्रम र पूर्वाग्रहलाई हटाउन नाटकले सशक्त सन्देश दिने अपेक्षा गरिएको छ।
काठमाडौंका विभिन्न स्थानमा मञ्चन सकिएपछि नाटक पोखरा र हेटौंडाका विभिन्न स्थानमा पनि प्रदर्शन गरिने संघले जनाएको छ।